काठमाडौं। मोबाइल सेवाप्रदायक एनसेलले नेपालका तीन सहरमा ‘क्रियटर्स मेला’ सञ्चालन गरेको छ। नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्यमा माघ ३ देखि सुरु भएको यो मेलामा कन्टेन्ट क्रियटरलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसर प्रदान गर्ने विश्वास एनसेलको छ।
चितवनबाट सुरु मेला माघ १० मा नेपालगञ्ज र माघ १६ र १७ गते काठमाडौंमा हुनेछ। सन् २०२३ मा सुरु भएदेखि नै क्रियटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ।
कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रियसनमार्फत सशक्त बनाउने अनि डिजिटल नेपालको उद्देश्यमा टेवा पुर्याउने लक्ष्यलाई आत्मसात गर्दै आएको छ। ‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीका योजनालाई कार्यान्वयनयोग्य सीप तथा वास्तविक अवसरमा बदल्नेमा केन्द्रित हुने एनसेलले जनाएको छ।
‘क्रियटर्स मेलाले उदीयमान तथा स्थापित क्रियटरलाई डिजिटल कन्टेन्टको युगमा महत्त्वपूर्ण अनि प्रभावशाली सामग्री सिर्जना गर्न आफ्नो सीप तिखार्ने अवसर प्रदान गर्नेछ’, एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्।
विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरलाई आफ्ना सामाग्रीलाई थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्नेछ।
नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रियटर्स मेलाले सिर्जनात्मक क्रियाकलापमार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न सहयोग पुर्याउने अमेरिकी प्रतिबद्धता झल्काउने बताए।
क्रियटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ। मेलाका सहभागीलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्न प्रोत्साहन गरिएको छ। क्रिएटरले ‘एनसेल फोरजीले तपाईँको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर भिडियो तयार पार्नुपर्नेछ। प्रतिस्पर्धीले उक्त भिडियोमा एनसेललाई ट्याग गरेर आफू सहभागी सहरलाई पनि ह्यासट्याग गरी भिडियो अपलोड गर्नुपर्नेछ।
प्रत्येक सहरमा एक जना विजेता छनोट गरिनेछ र उनीहरूले नगद पुरस्कार ५०,००० रुपैयाँ प्राप्त गर्नेछन्। त्यसबाहेक विजयी प्रतिस्पर्धीले आगामी दिनमा एनसेल फाउन्डेसनका विभिन्न क्रियाकलापमा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन्।
सन् २०२३ बाट सुरु भएदेखि यो कार्यक्रममा हालसम्म ५,००० भन्दा बढी क्रियटर संलग्न भइसकेको एनसेलले बताएको छ। मेलामा विभिन्न सत्र सञ्चालन गरिनेछन्। कुनै विषय वा व्यक्तिमा केन्द्रित ‘स्पट लाइट’ सत्रदेखि प्यानल छलफल अनि विभिन्न विषयवस्तुमा विमर्श क्रियटर्स मेलामा हुनेछ।