काठमाडौं। आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरूको चुनावी रणभूमि परम्परागत सभा–समारोहबाट सामाजिक सञ्जालमा सरेको छ। चुनावी प्रचारप्रसारका लागि छुट्टै सफ्टवेयरको विकास भइसकेको छ र यसले नयाँ व्यवसायिक अवसर पनि खोलेको छ।
राजनीतिक दल तथा उम्मेदवारहरू निर्वाचनमा होमिएपछि अहिले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल प्लेटफर्महरूमा यस्ता सफ्टवेयरहरू देखिन थालेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकअनुसार २०८१ फागुनसम्म इन्टरनेट ग्राहकको घनत्व १३५.३६ प्रतिशत र मोबाइल टेलिफोन ग्राहकको घनत्व १०२.१ प्रतिशत रहेको छ। यो तथ्यांकलाई मध्यनजर गर्दै राजनीतिक दलहरूले एकै पटक धेरै मानिससम्म पुग्दा व्यापक प्रभाव पर्ने भएकाले उम्मेदवारहरूले प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गर्न थालेका छन्।
देशका ठूला शहर काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, विराटनगर, धनगढीलगायतमा सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आवद्ध भएकाले आधुनिक प्रचार शैली प्रभावकारी हुनु स्वाभाविक हो। पछिल्लो केही दशकयता दूरदराजका गाउँघरसम्म पनि सूचना र प्रविधिको पहुँच भएकाले यसको प्रभाव पर्ने निश्चित प्राय: छ।
सरकारी तथ्यांकअनुसार पछिल्लो समय वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ७५ हजार ५९१ र पुन: श्रम स्वीकृति लिनेको संख्या एक लाख ६३ हजार ९२४ जना रहेका छन्। उनीहरूले श्रम स्वीकृति लिई मलेसिया, कतार, साउदी अरेबिया, कुवेतलगायतका मुलुकमा पुगेका छन्। यी मानिसहरूलाई प्रभावमा पार्न सकियो भने यसवर्षको निर्वाचनमा प्रभाव पार्ने दृढ अठोटका साथ विभिन्न सफ्टवेयरहरू आइरहेका छन्।
चुनावी प्रचारमा सक्रिय सफ्टवेयर कम्पनीहरू
अहिले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा यस्ता पेज तथा सफ्टवेयरहरू प्रशस्त मात्रामा भेटिन्छन्। गत मंगलबार रिनेक्स टेक नामक पेजले चुनावी अभियानका दल तथा उम्मेदवारहरूलाई आह्वान गरेको छ। सो पेजमा चुनावी अभियानका लागि भरपर्दो डिजिटल पार्टनर भन्दै आफ्नो विज्ञापन गरेको छ।
१२ सय फलोअर र १३ सय लाइक भएको उक्त सफ्टवेयर कम्पनीले "एजेण्डा प्रस्तुत गर्ने स्मार्ट तरिका" भन्दै स्पष्ट सन्देश प्रवाह गर्ने, अर्थपूर्ण विषयवस्तु खोज अध्ययन, लक्षित दर्शकसम्म सही सन्देश र परिणाममा आधारित डिजिटल प्रचार गर्ने जस्ता सेवाहरू उल्लेख गरेको छ।
अर्को प्रचारप्रसारका लागि सेवा उपलब्ध गराउने सफ्टवेयर कम्पनी एमपीजी सोलुसन हो। यो सफ्टवेयरले विषयवस्तुहरूलाई सामाजिक सञ्जाल प्लेटफर्महरूको माध्यमबाट बढीभन्दा बढी मानिसहरूको पहुँचमा निकै कलात्मक र रणनीतिक तवरबाट प्रचारप्रसार गर्ने गरेको छ। सो कम्पनीले लक्षित वर्गसम्म निकै रोचक तरिकाले सन्देश प्रवाह गर्छ। १२ सय फलोअर्स भएको सो कम्पनीले चुनावी अभियानलाई प्रभावकारी बनाउन सहज होस् भन्दै जनवरी १२ मा आफ्नो विज्ञापन सामाजिक सञ्जाल मार्फत प्रचार गरेको थियो।
त्यस्तै अर्को एक्सटेन नामक सफ्टवेयरले उम्मेदवारको एजेण्डा र कलात्मक विषयवस्तुलाई लक्षित क्षेत्रका मतदातासम्म पुर्याउने र डिजिटल प्रचारको सेवा दिँदै आएको छ। गत मंगलबार सो कम्पनीले सामाजिक सञ्जाल मार्फत आफ्ना सेवाहरूको प्रचार गरेको थियो, जसमा "नीति, विचार र भिजनलाई सही दर्शकसम्म सही तवरले पुर्याउने" र "चुनावी अभियानका लागि डिजिटल रणनीति निर्माण गर्ने" जस्ता सेवाहरू उल्लेख गरिएको छ।
यस्ता कम्पनीहरू प्रतिनिधि मात्र हुन्। अहिले डिजिटल प्रचारप्रसारका लागि विभिन्न कम्पनीहरू सञ्चालनमा छन् र चुनावी मैदानमा रहेका उम्मेदवारहरूको एजेण्डा र विषयवस्तु बनाएर प्रचारप्रसारमा उद्यत भएर लागिरहेका छन्।
एक हप्तामा सबैभन्दा बढी खर्च गर्ने दल र उम्मेदवारहरू
मुलुकमा चुनावी सरगर्मी बढेपछि अहिले यस्ता सफ्टवेयरको माध्यमबाट आकर्षक तवरले विषयवस्तुको निर्माण गरी सामाजिक सञ्जाल प्लेटफर्महरूको माध्यमबाट राजनीतिक प्रचारप्रसार व्यापक बढेको छ। मेटा एड लाइब्रेरीका अनुसार पछिल्लो एक साताको विवरणमा डिजिटल प्रचारका लागि सबैभन्दा बढी राष्ट्रिय परिवर्तन पार्टी नाम गरेको पेजले डिस्कलेमर राखेर २४६ अमेरिकी डलर खर्च गरेको तथ्यांक छ। राष्ट्रिय स्वतन्त्र पार्टी ओखलढुंगा नामक पेजले डिस्कलेमर राखेर १०० डलर खर्च गरेको छ। अर्को राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नामक पेजले डिस्कलेमर बिना १०० अमेरिकी डलर खर्च गरेको छ।
मोरङ क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका नेता सुनिल शर्माले डिस्कलेमर राखेर १०० अमेरिकी डलर खर्च गरेर विज्ञापन गरेको पाइएको छ। त्यस्तै उज्यालो नेपाल पार्टीको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पर्यटन व्यवसायी श्री गुरुङले डिस्कलेमर राखेर १०० अमेरिकी डलर खर्च गरेको तथ्यांक देखिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले पनि डिस्कलेमर नराखी १०० अमेरिकी डलर खर्च गरेर प्रचारप्रसार गरेको मेटाको तथ्यांक छ। सोही क्रममा हवाई उड्डयन क्षेत्रमा आफ्नो छवि बनाएका वीरेन्द्र बहादुर बस्नेतको गतिशील लोकतान्त्रिक दलले पछिल्लो एक हप्तामा डिस्कलेमर राखी १०० अमेरिकी डलर खर्च गरी आफ्नो र पार्टीसँग सम्बन्धित विषयवस्तु सामाजिक प्लेटफर्महरूमा प्रचार गरेका छन्।
पुराना दलहरू डिजिटल प्रचारमा पछाडि
यसरी डिजिटल प्रचारमा नयाँ नेता तथा नयाँ दलहरू शीर्ष स्थानमा रहेको पाइन्छ। पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा समाजवादी दल तथा चर्चित उम्मेदवारहरूले पनि डिजिटल प्रचारका लागि खर्च गरेको विवरण मेटा एड लाइब्रेरीमा भने फेला पर्न सकेन।
यसले परम्परागत दलहरू अझै पनि पुरानै प्रचार शैलीमा अल्झिएको र नयाँ दलहरूले भने प्रविधिको पूर्ण उपयोग गर्दै मतदातासम्म पुग्ने आधुनिक रणनीति अपनाएको देखिन्छ। फागुन २१ को चुनावमा यो डिजिटल प्रचारले कति प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ।