नेपालमा दुईपांग्रे विद्युतीय सवारीसाधन (ईभी) प्रवेश गरेको एक दशक भइसक्यो। विगतको तुलनामा अहिले बजार विस्तार हुँदै गएको छ। पछिल्लो समय विद्युतीय सवारीसाधनमा मानिसको रुचि बढ्दै गएको छ। सरकारले पनि विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा सघाउँदै आएको छ। यद्यपि बजार विस्तार हुँदै जाँदा उपभोक्ताले स्पेयर पार्टस् अभाव र ब्याट्री परिवर्तनको झन्झटका कारण समस्या भोग्दै आएका छन्। बेलाबेला सरकारले नीति परिवर्तन गर्दा बिजुली गाडीको बजारमा चिन्ता बढ्ने गरेको याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालका प्रबन्ध निर्देशक उम्मिद श्रेष्ठ बताउँछन्। पेट्रोलियम सवारीसाधनको तुलनामा १५ गुणाभन्दा बढी सस्तो पर्ने हुँदा दुईपांग्रे ईभी प्रयोग पछिल्लो समय बढ्दै गएको उनको बुझाइ छ। हाल नेपालमा दुईपांग्रे ईभीको अवसर, चुनौती र समस्याको विषयमा कुजु नेपाल प्रालिका एमडी श्रेष्ठसँग क्यापिटलकर्मी कमला भण्डारीले गरेको कुराकानीः
पछिल्लो समय नेपाली बजारमा दुईपांग्रे ईभी प्रयोग बढ्दै गएको छ। यसलाई तपाइले कसरी हेर्नुभएको छ?
नेपाली बजारमा दुईपांग्रे विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग बढ्दै जानुलाई सकारात्मक रूपमा लिनुपर्छ, किनभने अब भविष्य भनेकै इलेक्ट्रिक हो। अहिले विश्वभरि नै यातायात क्षेत्रमा इलेक्ट्रिकमै ट्रान्सफर्मेसन भइरहेको छ। नेपालका लागि यो झन् आवश्यक छ। सरकारले पेट्रोलियम आयात गर्न बाहिर पठाउनुपर्ने ठूलो मात्राको विदेशी मुद्रा बचत गर्न सक्छ। यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक असर पार्छ। त्यसैगरी नेपाल हाइड्रोपावरमा आधारित देश भएकाले स्वदेशमै उत्पादन भएको विद्युत् प्रयोग बढ्छ, जसले देशलाई फाइदा पुर्याउँछ। साथै, ईभीले वातावरण प्रदूषण कम गर्छ र हरित (ग्रीन) तथा स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्याउँछ। यसले नेपाललाई पनि स्वच्छ र स्वस्थ देशको रूपमा अघि बढाउन मद्दत गर्छ। अर्को महत्त्वपूर्ण पक्ष भनेको ईभी प्रयोगकर्ताको खर्च बचत हुन्छ। ईभी स्कुटर प्रयोग गर्दा इन्धन र मर्मत खर्च कम हुने भएकाले त्यसबाट बचत भएको रकम मानिसले आफ्नो जीवनस्तर सुधार्न वा बचत गर्न सक्छन्। त्यसैले ईभी प्रयोग बढ्नुपर्छ। स्कुटर सेग्मेन्टमै हेर्ने हो भने पनि ईभी स्कुटरको ग्रोथ राम्रो भइरहेको देखिन्छ।

नेपालमा दुईपांग्रे ईभी ब्रान्ड यति धेरै भित्रिएका छन् कि गनिसाध्य छैन। यति धेरै ईभी प्रवेशले बजारमा कस्तो असर गर्छ?
अहिले टु–ह्वीलर सेग्मेन्टमा हेर्दा नेपालमा अत्यधिक धेरै ब्रान्ड प्रवेश गरेका छन्। यसले केही नकारात्मक असर पनि पारेको छ। अहिले ब्रान्डेड र नन–ब्रान्डेड गरी झन्डै ७० वटा ब्रान्ड नेपालमा उपलब्ध छन्। उपत्यकामा मात्र होइन, बाहिरी जिल्लामा पनि थुप्रै ब्रान्ड आएका छन्। कतिपय ब्रान्ड आएर बन्द भइसकेका छन् भने कतिपय काठमाडौं छिर्न नपाउँदै अन्य क्षेत्रमा व्यापार गरेर बन्द भएका उदाहरण पनि छन्।
यसमा केही हदसम्म सरकारको भूमिका, विशेषगरी नीति तहको भूमिका आवश्यक देखिन्छ। कुन स्तर र मापदण्ड पूरा गरेका ब्रान्डलाई बजार प्रवेश दिने भन्ने स्पष्ट नीति आउनु जरुरी छ। अहिले ट्रान्सफर्मेसनको चरणमा भएकाले सरकार पनि विस्तारै नीति लिएर आउला भन्ने अपेक्षा गर्न सकिन्छ। भविष्यमा कम्तीमा यति स्ट्यान्डर्ड पूरा गरेका ब्रान्डलाई मात्र प्रवेश दिने भन्ने स्पष्ट मापदण्ड आयो भने बजार आफैं क्रमशः सुधार हुँदै जान्छ।
नन–ब्रान्डेड भनेकै सबै खराब हुन्छन् भन्ने होइन। तर, समस्या के देखियो भने कतिपय मानिस केवल ट्रेडिङको उद्देश्यले मात्र इलेक्ट्रिक स्कुटर भित्र्याइरहेका छन्। बेचिसकेपछि आफ्टर सेल्स सर्भिस नदिने प्रवृत्ति देखियो। आफ्टर सेल्स सर्भिस नहुँदा प्रयोगकर्तामा इलेक्ट्रिक स्कुटरप्रति विश्वास घट्न गयो। त्यसैगरी धेरै प्रडक्ट ओईएम भएर आएका छन्, जसले गर्दा गुणस्तर र वारेन्टीको प्रश्न उठ्छ। सुरुमा सस्तो र आकर्षक देखेर मानिसले किन्छन्, तर पछि सर्भिस, वारेन्टी र पाट्र्सको अभाव हुँदा ईभी भनेकै यस्तै हो भन्ने नकारात्मक धारणा विकास भएको छ। यसले गर्दा मानिस अझै किन्ने कि नकिन्ने भन्ने द्विविधामा छन्। स्कुटर वा बाइक मध्यम वर्ग र न्यून आय भएका वर्गका लागि ठूलो लगानी हो।
यो लक्जरी होइन, दैनिक आवश्यकता हो। भोलि एक–दुई महिनामै बिग्रियो भने के गर्ने भन्ने डर हुन्छ। किनिसकेपछि सर्भिस पाइन्छ कि पाइँदैन भन्ने अन्योलले रोक्छ। त्यसैले चारपांग्रे ईभी जस्तो छिटो ट्रान्सफर्मेसन दुईपांग्रेमा देखिएको छैन। दुईपांग्रे ईभीमा बिस्तारै मात्र मानिस आकर्षित भइरहेका छन्। अहिले राम्रा र स्थापित ब्रान्ड पनि बजारमा आइसकेका छन्। नन–ब्रान्डेडसँगै ब्रान्डेड प्रडक्ट पनि आएपछि मानिसमा ईभी नै भविष्य हो भन्ने सोच विस्तारै सकारात्मक रूपमा विकास हुँदै गएको छ। विशेषगरी पछिल्लो समय प्रतिष्ठित भारतीय ब्रान्ड नेपाल भित्रिएपछि मानिसले इलेक्ट्रिकलाई भविष्यको सवारीसाधनका रूपमा लिन थालेका छन्। यसले इलेक्ट्रिक इन्डस्ट्रीको ग्रोथमा सकारात्मक प्रोत्साहन दिएको छ। यद्यपि केही नयाँ ब्रान्डले बजारलाई अलि डिस्टर्ब गरेर नकारात्मक प्रभाव पारेका छन्।
अहिले विश्वभरि नै यातायात क्षेत्रमा इलेक्ट्रिकमै ट्रान्सफर्मेसन भइरहेको छ। नेपालका लागि यो झन् आवश्यक छ। यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक असर पार्छ। त्यसैगरी नेपाल हाइड्रोपावरमा आधारित देश भएकाले स्वदेशमै उत्पादन भएको विद्युत् प्रयोग बढ्छ, जसले देशलाई फाइदा पुर्याउँछ।
अहिले दशकौंदेखि चलेका पुराना र स्थापित इन्धन ब्रान्ड ईभीमा सिफ्ट हुँदा उत्पादन सुरु गरेको ६ महिना वा १ वर्षमै बन्द भएका पनि छन्। यस्तो अवस्थामा नयाँ ब्रान्डलाई बजारमा टिकिरहन कत्तिको सम्भव छ?
बजारमा टिक्न सबैभन्दा पहिले त उत्पादन गुणस्तरीय हुनुपर्छ। त्यसका साथै, उपभोक्ताको वास्तविक आवश्यकता के हो भन्ने कुरा बुझ्न जरुरी छ। यदि कुनै ब्रान्डले मानिसको आवश्यकता र उचित मूल्यबीच सन्तुलन मिलाउन सक्यो भने मार्केट बनाउन सक्छ। कुन ब्रान्ड आएर बन्द भयो भन्ने कुरा म ठ्याक्कै भन्न सक्दिनँ, तर राम्रो र स्थापित ब्रान्डको हकमा हेर्ने हो भने उनीहरूको आर एन्ड डी (रिसर्च र डेभलपमेन्ट) बलियो हुन्छ। कुनै पनि नयाँ प्रविधि सुरु गर्दा सुरुआती चरणमा केही उतारचढाव आउनु स्वाभाविक हो। कुनै ब्रान्डले केही समयका लागि उत्पादन रोक्नु वा बन्द गर्नुका पछाडि प्रविधिलाई अझ परिस्कृत बनाउने रणनीति पनि हुन सक्छ। अब ईभी नै भविष्य हो भन्ने कुरामा कसैलाई शंका छैन। त्यसैले त विश्वभरका ठूला कम्पनीहरूले यसमा अर्बौं लगानी गरिरहेका छन्। सुरुआती चरणमा संघर्ष भए पनि राम्रो भिजन भएका कम्पनी विस्तारै स्थापित हुँदै जान्छन्। नयाँ ब्रान्डका लागि सबैभन्दा ठूलो चुनौती भनेको विश्वास जित्नु हो। यदि उनीहरूले गुणस्तरमा सम्झौता नगरी, बिक्रीपछिको सेवालाई बलियो बनाएर लैजान सके भने बजारमा टिक्न असम्भव छैन।

याडिया नेपालका लागि नयाँ ब्रान्ड हो। अन्य पुराना ब्रान्डको तुलनामा नयाँ भएर पनि यसले बजारमा कसरी यति छिटो विश्वास र सफलता पाउन सफल भयो?
नेपालमा याडिया सन् २०२० मा लञ्च भएको हो। त्यसैले ४–५ वर्षको अवधिलाई नयाँ नै मान्न सकिन्छ। तर, विश्व बजारमा यसको इतिहास अर्कै छ। याडिया सन् २००१ मा स्थापना भएको दुईपांग्रे ईभी ब्रान्ड हो, जसको २५ वर्ष लामो इतिहास छ। अन्य धेरै कम्पनीहरू पेट्रोलबाट इलेक्ट्रिकमा आइरहेका छन्। तर, याडिया सुरुदेखि नै इलेक्ट्रिकमा मात्र केन्द्रित छ। यो लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा स्थापित छ। आजका ग्राहक स्मार्ट छन् उनीहरूले इन्टरनेटमार्फत ब्रान्डको लिगेसी सजिलै बुझ्न सक्छन्। याडियाको उत्पादन प्लान्ट चीनमा मात्र सीमित छैन। यसको भियतनाम, इन्डोनेसियामा पनि प्लान्टहरू छन्। हाल १५० भन्दा बढी देशमा यसको उपस्थिति छ। यही बलियो अन्तर्राष्ट्रिय लिगेसी र गुणस्तरका कारण नेपालमा पनि यो एक भरपर्दो ईभी ब्रान्ड बन्न सफल भएको हो।
हामीले हरेक वर्गको आवश्यकता र बजेटलाई ध्यानमा राखेर प्रडक्ट लाइनअपमा ल्याएका छौं। हामीसँग लाइसेन्स नचाहिने स्कुटरदेखि लिएर बाइकसम्मको प्रडक्ट छ। लाइसेन्स नहुनेका लागि १ लाख रुपैयाँमुनिको ‘कुल जोय’ ईभी साइकल, जसले ६० किमि रेन्ज दिन्छ। यो विद्यार्थी, डेलिभरी पर्सन र वृद्धवृद्धा सबैलाई उपयुक्त हुन्छ। अर्काे भनेको १५० किमि रेन्ज भएको १ लाख ८५ हजार मूल्यमा पाइने स्कुटर छ। यो सामान्य उपभोक्ताले खरिद गर्न सक्ने स्कुटर हो। यो अहिले अट सेलिङ मोडल हो।
यदि ग्राहकले हाम्रा प्रडक्टलाई मूल्य र सुविधा अनुसार तुलना गरे भने हामीसँग हरेक बजेटका लागि उपयुक्त विकल्पहरू उपलब्ध छन्। प्रिमियम प्रडक्ट पनि आउँदैछन्। हाम्रा प्रडक्ट रेन्जमा ग्राहक आवश्यकताअनुसार विकल्प उपलब्ध हुन्छ। डेलिभरीको कुरा गर्दा सस्तो लाइसेन्स आवश्यक नपर्ने स्कुटर पनि छन्।
हाम्रो कम्पनीमा सेवालाई प्राथमिकता दिइएको छ। एउटा ग्रुप च्याट नै छ, जहा हाम्रा इन्जिनियर र एआई इन्जिनियर २४सै घन्टा अनलाइन रहन्छन्। हामी जुनसुकै समय काम गरिरहेका हुन्छौँ र केही समस्या परेमा तत्काल सहयोग गर्छौं।
यदि ग्राहकलाई मोडर्न टाइपको स्कुटर वा अलि हेभी बाइक चाहिन्छ भने, हाम्रो भिलाक्स एथ विकल्प पनि उपलब्ध छ। हाम्रा प्रडक्टको सबैभन्दा ठूलो विशेषता भनेको उच्च गुणस्तर, उचित मूल्य र राम्रो रेन्ज सबैमा उपलब्ध छ। तर, आजको बजारमा प्रडक्ट मात्र बेच्नु पर्याप्त होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्टर सेल्स सर्भिस हो। हामी हाम्रो वारेन्टी र कमिटमेन्टमार्फत ग्राहकलाई विश्वास दिलाउँछौं। यदि प्रडक्टमा कुनै समस्या आयो भने हामी समाधान दिन तयार छौं। यसले ग्राहकमा विश्वास र सुरक्षा प्रदान गर्छ।
आजको दिनमा १ लाख ८५ हजार रुपैयाँमा १५० किलोमिटरसम्म रेन्ज दिने स्कुटर आउँछ। जुन पहिले ३ लाख ७० हजारमा ७०–८० किलोमिटर मात्रै पाइन्थ्यो। त्यसैले मिडल क्लास कस्टमरका लागि यो प्रडक्ट सुपर हिट भयो। रेन्ज पनि राम्रो वारेन्टी पनि लिथियम जस्तै भएपछि सबैको बजेटमा पनि पर्यो। अहिले पनि केही कस्टमरलाई लिथियम नै चाहिन्छ। पहिला ८० किलोमिटर रेन्ज दिने बाइक ३ लखा ७० हजार पथ्र्यो। आज त्यही बाइक एलएफपी ब्याट्रीमा २ लाख आसपासमा ११० किलोमिटर रेन्ज अझ राम्रो वारेन्टीमा आउँछ। यसरी हेर्दा हाम्रो कम्पनीले मार्केटको आवश्यकता बुझेर ग्राहकको बजेट र आवश्यकतालाई ध्यानमा राखेर सही प्रडक्ट सही समयमा ल्यायो। त्यसैले हामीले जनरल मास कभर गर्न सक्यौं र मार्केटमा लिड गर्न सक्यौं।
याडियाको बाइक स्कुटरमा ग्राफिन ब्याट्री र लिथिएम ब्याट्री आउँछ भन्नुभयो। यी दुईटामा फरक के छ?
हामीसँग ग्राफिन ब्याट्री र लिथियम ब्याट्री छ। यी दुवै ब्याट्री टेक्नोलोजी हुन्। ग्राफिन भनेको लिड–एसिड टेक्नोलोजीकै एडभान्स भर्सन हो। लिड–एसिड टेक्नोलोजीमै ग्राफाइट प्रयोग गरेर यसलाई अलिकति एडभान्स बनाइएको हुन्छ। मार्केटमा पाइने सामान्य लिड–एसिड ब्याट्रीको कुरा गर्दा, त्यसको एउटा लाइफ–साइकल हुन्छ। त्यो लाइफ–साइकल सकेपछि ब्याट्री एक्कासि बन्द हुँदैन, त्यो बिस्तारै डिग्रेड हुँदै जान्छ। सामान्य लिड–एसिड ब्याट्रीको लाइफ–साइकल करिब ३००–४०० साइकल हुन्छ। त्यसको वारेन्टी करिब ६–७ महिना मात्र हुन्छ। यसमा ओभर चार्जिङ भयो भने ब्याट्री फुल्ने डर हुन्छ। नेपालमा प्रायः राती चार्ज गरेर सुत्ने बानी हुन्छ, त्यसैले यस्तो समस्या देखिन्छ। आजभोलि चार्जर र कन्ट्रोलरमा अटो कट–अफ टेक्नोलोजी आएको छ, तर लिड–एसिड ब्याट्रीको क्वालिटी त्यति स्टेबल हुँदैन। त्यसैले लिड–एसिड सस्तो पर्छ तर आयु छोटो हुन्छ।
ग्राफिन ब्याट्री लिड–एसिडकै परिवार हो, तर ग्राफाइट टेक्नोलोजी प्रयोग गरेर धेरै एडभान्स बनाइएको हो। हाम्रो ग्राफिन ब्याट्रीमा २ वर्ष वा २० हजार किलोमिटर वारेन्टी छ। यसको ब्याट्री लाइफ–साइकल ८०० देखि १००० साइकलसम्म छ। लिड–एसिडमा ६ महिना वारेन्टी हुन्छ भने ग्राफिनमा २ वर्ष यो ठूलो फरक हो। अब मार्केटमा अरू ब्रान्डका ग्राफिन ब्याट्री पनि छन्, तर धेरैजसोमा १ वर्ष मात्रै वारेन्टी हुन्छ। याडियाको केसमा भने, हामी आफैं हाई–क्यापासिटी ग्राफिन ब्याट्री बनाउँछौं। त्यो टेक्नोलोजी प्याटेन्टेड छ, केही वर्षसम्म कपी गर्न नपाइने। त्यसैले हामी दुक्क भएर लामो वारेन्टी दिन सक्छौं।
अब लिथियम ब्याट्रीतर्फ आउँदा पहिला हामीसँग एनएमसी लिथिएम ब्याट्री थियो, जुन महँगो पथ्र्यो। त्यसलाई टर्नेरि ब्याट्री पनि भनिन्छ। अहिले टेक्नोलोजी परिवर्तन भएर चेन्ज भएर एलएफपी आइरन फस्फेट ब्याट्री आएको छ। यसले कस्ट कम गरिदिएको छ। पहिला हामीले एनएमसी ब्याट्रीको स्कुटर ल्याउँदा ८० किलोमिटर रेन्ज भएको स्कुटरको मूल्य करिब ३ लाख ७० हजार थियो। त्यो बेला कस्ट धेरै भएकाले मध्यम वर्गका ग्राहकले माग गर्न गाह्रो भयो।
सामान्य लिड–एसिड ब्याट्रीको लाइफ–साइकल करिब ३००–४०० साइकल हुन्छ। त्यसको वारेन्टी करिब ६–७ महिना मात्र हुन्छ। यसमा ओभर चार्जिङ भयो भने ब्याट्री फुल्ने डर हुन्छ। नेपालमा प्रायः राती चार्ज गरेर सुत्ने बानी हुन्छ, त्यसैले यस्तो समस्या देखिन्छ।
केही समय राम्रो बिक्री भयो, तर पछि मार्केट शिथिल भयो। त्यसपछि हामीले ग्राफिन ब्याट्री लञ्च ग¥यौं। त्यो बेला अरु प्रख्यात ब्रान्डले पनि उही ब्याट्री प्रयोग गरिरहेका थिए, तर सबैको कस्ट हाई थियो। ग्राफिन ब्याट्री लञ्च भएपछि लिथियम जस्तै २ वर्ष २० हजार किलोमिटर वारेन्टी थियो। ब्याट्रीको लाइफ–साइकल पनि करिब लिथियमजस्तै थियो।

अहिले दुईपांग्रे ईभीको ‘आफ्टर सेल्स सर्भिस’ र स्पेयर पाट्र्स उपलब्धतामा मुख्य समस्या देखिएको छ। उपभोक्ताका यस्ता गुनासा कसरी सम्बोधन गर्नुहुन्छ?
अहिलेको समयमा ग्राहक आफैं पनि सचेत हुन जरुरी छ। हामी सस्तोका पछाडि मात्र लाग्नुहुँदैन। हामीले बुझ्नुपर्छ कि मूल्यअनुसारकै गुणस्तर प्राप्त हुने हो। आजका दिनमा हरेक व्यक्तिको हातमा मोबाइल छ। कुनै पनि उत्पादनबारे थोरै ‘रिसर्च’ गर्नेबित्तिकै सत्यतथ्य थाहा भइहाल्छ। आफ्नो आवश्यकता के हो र कस्तो खाले उत्पादन चाहिएको हो भन्नेमा उपभोक्ता प्रस्ट हुनुपर्छ। बजारमा धेरै ब्रान्ड छन्, अलिकति बुझ्ने हो भने कुन राम्रो छ भन्ने सजिलै थाहा पाउन सकिन्छ। त्यसैले सामान किन्नुअघि सम्बन्धित ब्रान्डको इतिहास र गुणस्तरबारे अलिकति अध्ययन गर्नुपर्छ।
हाम्रो कम्पनीमा सेवालाई प्राथमिकता दिइएको छ। एउटा ग्रुप च्याट नै छ, जहा हाम्रा इन्जिनियर र एआई इन्जिनियर २४सै घन्टा अनलाइन रहन्छन्। हामी जुनसुकै समय काम गरिरहेका हुन्छौँ र केही समस्या परेमा तत्काल सहयोग गर्छौं। साथै, हामीले पर्याप्त मात्रामा स्पेयर पार्टस् पनि स्टकमा राखेका छौं ताकि ग्राहकले पार्टपुर्जा नपाएर कुर्नु नपरोस्।
हामी विश्वका १५१ देशमध्ये पहिलो हौं। यदि मैले यहाँ एउटा सानो गल्ती गरें भने त्यसको असर बाँकी १४९ देशका ब्रान्ड इमेजमा पनि पर्छ। त्यसैले हामी गुणस्तरमा सम्झौता गर्दैनौं। आज सामान बेचेर भोलि भाग्ने योजनामा छैनौं। दीर्घकालीन रूपमा ग्राहकलाई सेवा दिने लक्ष्यका साथ आएका हौं। बजारमा अरूभन्दा भिन्न देखिनुको मुख्य कारण नै हाम्रो ‘आफ्टर सेल्स सर्भिस’ हो। अहिले नेपालभर हाम्रा ४० बढी डिलर भइसकेका छन्। सन् २०२६ सम्ममा हामी थप १० देखि १५ वटा डिलर विस्तार गर्ने योजनामा छौं। यीमध्ये ५–६ वटा त अर्को दुई महिनाभित्रै सञ्चालनमा आउनेछन्।
उपत्यकामा मुख्य सोरुम टंगालमा छ। बालाजु, युएन पार्क, ललितपुर, ग्वार्को, गठ्ठाघरमा सोरुम छन्। अब कुलेश्वर र कलंकीतिर खोज्दै छौं भने हात्तीगौंडामा खोलिसकेका छौं। उपत्यका बाहिर भरतपुर, हेटौंडा, वीरगञ्ज, इनरुवा, राजविराज, इटहरी, विराटनगर, बिर्तामोड, बुटवल, भैरहवा, दाङ र नेपालगञ्जमा हाम्रो उपस्थिति छ।
उपत्यका बाहिर हरेक सोरुमसँगै डेडिकेटेड सर्भिस सेन्टर पनि छन्। वर्कसप देख्नेबित्तिकै ग्राहकमा एक प्रकारको विश्वास र ढुक्क हुने वातावरण सिर्जना हुन्छ। मैले किनेको सामान बिग्रियो भने बनाउने ठाउँ छ भन्ने भरोसा हामीले ग्राहकबाट पाएका छौं। काठमाडौंको सामाखुसीमा हाम्रो वर्कसप छ। नागपोखरी र ललितपुरमा नयाँ सर्भिस सेन्टर खोल्दै छौं। ग्राहकलाई जहाँ पनि र जुनसुकै बेला सुविधा होस् भन्ने हिसाबले हामी अगाडि बढिरहेका छौं। यही सेवा र विश्वास नै आज बजारमा हाम्रो पहिचान बन्न सफल भएको छ।
तपाईंको बुझाइमा अहिलेको बजार विद्युतीय दुईपांग्रेका लागि चुनौती कि अवसर?
अहिलेको अवस्थामा अवसर र चुनौती दुवै छन्। चुनौती किन छ भने इन्धन दुईपांग्रे सवारीसाधनले वर्षौंदेखि बजार ओगटेर बसिरहेका छन्। अहिले उपभोक्ताका लागि रिसेल भ्यालु र ‘रेन्ज एन्जाइटी’ दुईवटा कुरा मुख्य छन्। पेट्रोल बाइक वा स्कुटर लिएर जहाँ पनि जान सकिन्छ। बाटोमा इन्धन सकिएला कि भन्ने डर हुँदैन। ईभी बाइक स्कुटर किन्दा धेरैलाई बाटोमै चार्ज सकियो भने के गर्ने भन्ने चिन्ता हुन्छ। चार्ज १५–२० प्रतिशतमा झर्दा मानिस आत्तिन थाल्छन्। कहिलेकाहीँ कम्पनीले ८० किलोमिटर रेन्ज भन्छ, तर चलाउँदा ७० किलोमिटर मात्र दिन्छ। यो धेरै हदसम्म ‘राइडिङ ह्याबिट’मा पनि भर पर्छ। धेरै गतिमा कुदाउने वा पटक–पटक ब्रेक लगाउने गर्दा रेन्ज घट्छ। हुन त पेट्रोल बाइकमा पनि कम्पनीले भनेजस्तो माइलेज आउँदैन। तर त्यहाँ तनाव छैन किनभने ठाउँ–ठाउँमा पेट्रोल पम्प छन्, जहाँ केही मिनेटमै इन्धन भर्न सकिन्छ। हामी त्यही बजारको हिस्सा लिन खोज्दै छौं।
अहिले चारपांग्रे ईभीले एकैचोटि पिकअप लिँदै छ। तर, स्कुटर र बाइक अलि सुस्त गतिमा छन्। यसको मुख्य कारण रेन्ज नै हो। गाडीको रेन्ज ३००–४०० किलोमिटरसम्म हुन्छ, जसले गर्दा गन्तव्यमा पुगेर ढुक्कले चार्ज गर्न सकिन्छ। तर, बाइकको रेन्ज ८० देखि १५० किलोमिटरसम्म मात्र हुने भएकाले लामो यात्रामा निस्कँदा अझै पनि मानिसमा ढुकचुक हुन्छ। विशेषगरी काठमाडौं बाहिरबाट आउने जाने वा पहाडी भेगमा यात्रा गर्नेका लागि यो अझ बढी चुनौतीपूर्ण छ।
तर अवसर पनि छ। भविष्य इलेक्ट्रिक नै हो भन्ने कुरामा कसैको दुई मत छैन। बाइक किन्ने र बेच्ने दुवैलाई यो कुरा थाहा छ। दैनिक कामकाजका लागि मानिस अब आँखा चिम्लेर ईभी रोज्दैछन्। आजभोलि पेट्रोल बाइक सोरुममा जाँदा पनि तपाईंहरूसँग इलेक्ट्रिक छ कि छैन? भनेर सोध्न थालिसकेका छन्। विशेषगरी पुराना स्थापित र प्रतिष्ठित ब्रान्डले ईभी स्कुटर ल्याइदिए हुन्थ्यो भन्ने चाहना उपभोक्तामा देखिन्छ। मानिस यति सचेत भइसकेका छन् कि दैनिक ७०–९० किलोमिटर यात्रा गर्नेहरू पनि अब विस्तारै ईभीतर्फ आकर्षित भइरहेका छन्।
सेकेन्ड ह्यान्ड ईभीको रिसेल भ्यालु नहुने समस्यालाई कम गर्न के गर्न सकिन्छ?
हामी रिसेल भ्यालु किन खोज्छौं? पक्कै पनि आफ्नो लगानीको केही हिस्सा फिर्ता आओस् भन्ने चाहना हुन्छ। तर, ईभीको हकमा ग्राहकले किनेकै दिनदेखि यसले बचत गर्न सुरु गरिसकेको हुन्छ। यदि कुनै सामान्य ब्रान्ड नभई एउटा स्थापित र गुणस्तरीय ईभी खरिद गरियो भने त्यसले गुड्दागुड्दै आफ्नो लगानी गरेको पैसा उठाइसकेको हुन्छ। महिनाको ४–५ हजार रुपैयाँ पेट्रोलमा खर्च गर्नेले पनि वर्षको ठूलो रकम जोगाउँछन्। दैनिक ८०–९० किलोमिटर चलाउने डेलिभरी वा राइड सेयरिङ गर्नेले महिनामा २२ देखि २५ हजार रुपैयाँ बचाइसकेका हुन्छन्। जस्तै, महिनाको ४० हजार आम्दानी भयो भने पेट्रोलमा खर्च गरेपछि लगभग २० हजार मात्रै बचत हुन्छ। तर, ईभीमा आएपछि पेट्रोल खर्च हट्यो, मर्मतसम्भार कम भयो। २२–३० हजारसम्म बच्छ। महिनामा झन्डै २० हजार बचत भयो। एक वर्षमा हेर्दा स्कुटर किनेको पैसा नै उठिसक्छ।
ईभीको मुख्य लागत नै यसको ब्याट्री हो। यसको वारेन्टी सकिएपछि त स्कुटर खरिद गरेको आधा पैसा ब्याट्रीमै खर्च गर्नुपर्ने हुन्छ। त्यो हिसाबले त सञ्चालन खर्च कम भए पनि काम भएन नि?
ईभीले गुड्दागुड्दै आफ्नो खरिद मूल्य उठाइसकेको हुन्छ। यदि कुनै सामान १० रुपैयाँमा खरिद गरियो त्यसले एक वर्षमै अर्को १० रुपैयाँ बराबरको बचत गरिदियो भने लगानी उठ्यो। अब २ रुपैयाँ खर्च गरेर ब्याट्री फेर्दा थप बचत हुन्छ। इन्धन सवारीसाधनमा यस्तो बचतको सम्भावनै हुँदैन। रिसेल भ्यालुको कुरा गर्दा आजको दिनमा छैन। तर, भविष्यमा हुन सक्छ। भविष्यमा इन्धन सवारीसाधन विस्थापित हुँदै जाँदा र ईभीको बजार झन् बलियो भएपछि यसको रिसेल भ्यालु पनि पक्कै राम्रो आउनेछ। ईभी चलाउनेले धेरै बचत र सहजतामा अभ्यस्त भइसकेका हुन्छन् कि उनीहरूलाई पछि पेट्रोल बाइक वा स्कुटरमा फर्कन मनै लाग्दैन।
सुरु–सुरुमा दुईपांग्रे ईभीप्रति ग्राहकको एकदमै मोह थियो। अहिले विस्तारै भंग हुँदै गएको छ। कारण के हो?
धेरै मानिसले ईभी किन्दा पर्याप्त अनुसन्धान नगरेको देखिन्छ। लगानी गर्ने नै भएपछि राम्रो र गुणस्तरीय कुरामा गर्नुपर्छ, जसले प्रतिफल पनि राम्रो दिन्छ। बजारमा रिसेल भ्यालु छैन भन्नेले सायद राम्रो ब्रान्डका ईभी प्रयोग नगरेजस्तो लाग्छ। हामीसँग यस्ता ग्राहक पनि छन्, जसले ५ वर्षअघि पहिलो पटक हाम्रो स्कुटर खरिद गरेका थिए। उनीहरूले अझै पनि त्यही स्कुटर चलाइरहेका छन्। उनीहरूले यो ५ वर्षको अवधिमा पेट्रोलमा हुने कति धेरै खर्च जोगाए होलान्। अब पेट्रोल स्कुटरमा जाँदैनन्।
सुरुका दिनमा नयाँ प्रविधि भएकाले ग्राहक अलि डराउँथे। केही बिग्रिहाले के गर्ने, कसरी बनाउने भनेर आत्तिन्थे। नयाँ कुरा आउँदा त्यस्तो हुनु स्वाभाविकै पनि हो। तर, अहिले हामीले सर्भिस दिइरहेका छौं। त्यस्तो केही छैन। हामीसँग अहिले पर्याप्त स्पेयर पार्टस् र दक्ष सर्भिस टिम छ। केही समस्या आइहाले पनि तुरुन्तै पार्टस् फेरेर समस्या समाधान हुन्छ। अहिले ग्राहक निकै विश्वस्त छन्। उनीहरूलाई थाहा छ, ब्याकअपका लागि सर्भिस सेन्टर र पार्टस् सधैं उपलब्ध छन्।
ब्याट्री परिवर्तन गरेर चलाउने ग्राहक पनि छन्?
धेरैलाई लाग्छ, ईभीको ब्याट्री छिट्टै फेर्नुपर्छ। कतिपयले त अहिलेसम्म ब्याट्री नफेरी पनि चलाइरहेका छन्। म आफैं पनि विगत ५ वर्षदेखि ईभी चलाइरहेको छु। म धेरै टाढा त जाँदिनँ। दिनको १० किलोमिटर जति चलाउँछु। तर, अहिलेसम्म यसको सर्भिसिङ गरेको छैन। समयसँगै ब्याट्रीको रेन्जमा केही गिरावट आउनु स्वाभाविकै हो। सुरुमा ६० किलोमिटर रेन्ज दिने स्कुटरले ५ वर्षपछि ४०–४५ किलोमिटर देला। तर, रेन्ज घटे पनि स्कुटरको उपयोगिता सकिँदैन। मैले चिनेका कतिपय ग्राहकले १०–२० हजार किलोमिटरभन्दा बढी स्कुटर चलाइसकेका छन्। त्यति गुड्नु भनेको त्यो स्कुटरले आफ्नो लगानी उठाउनु हो। पेट्रोल स्कुटर भएको भए यति गुड्दा पेट्रोल र मर्मतमै लाखौं खर्च भइसक्थ्यो।
बजारमा जस्तासुकै ब्रान्डको प्रवेशले ईभी बजारमा विश्वसनीयता घटेको विश्वास गर्नुहुन्छ?
सुरुका दिनमा केही नराम्रा अनुभव पक्कै थिए। एकपटक अनुभव भोगेको मान्छेले यो नराम्रो हो भनेर अरुलाई सचेत गराउँछ। तर, बजारमा सुरु–सुरुमा आएका कमसल ब्रान्ड र गुणस्तरहीन उत्पादन विस्तारै हराएर गइसकेका छन्। अहिले बजारमा एक प्रकारको ‘फिल्टर’ भएको छ। गुणस्तरीय सामान नबेच्नेहरू टिक्न सकेनन्, जसले गर्दा अहिले राम्रा ब्रान्ड मात्र बाँकी छन्। पहिलेका तुलनामा अहिलेका ग्राहक निकै सचेत भइसकेका छन्। उनीहरूलाई अब थाहा छ कि कस्तो उत्पादन किन्नुपर्छ र कुन ब्रान्ड भरपर्दो छ। आफ्नो आवश्यकता के हो र कुन ब्रान्डले त्यो पूरा गर्छ।
सुरु–सुरुमा नराम्रा उत्पादनले हाम्रो व्यवसायमा पनि केही नकारात्मक असर परेको थियो। अरूको कमजोरीका कारण समग्र ईभी क्षेत्रलाई नै मान्छेले शंकाको नजरले हेर्थे। अहिले पनि केही चुनौती त छन्, तर मानिसले बुझिसकेकाले राम्रो सर्भिस दिनेलाई बजारमा विश्वास गर्न थालिएको छ।
ईभी स्कुटरमा जति हल्ला गरियो। पर्फर्मेन्स त्यसको तुलनामा एकदमै कम भयो। धेरै उपभोक्ताको पैसा नै फस्यो। यसरी उपभोक्ताको विश्वास गुम्दा बजार कसरी अघि बढ्छ?
हामीसँग हरेक व्यक्तिको आवश्यकताअनुसारका उत्पादन उपलब्ध छन्। ईभीको मुख्य पर्फर्मेन्स भनेकै ब्याट्री र मोटर हो। जति उच्च क्षमताको मोटर भयो, स्कुटरको पर्फर्मेन्स त्यति नै राम्रो हुन्छ। बजारमा सबै विकल्पहरू छन्, तर हामीले के रोज्छौं भन्ने कुराले फरक पार्छ। सस्तो स्कुटर खरिद गरेर पछि उकालोमा तानेन वा सोचेजस्तो चलेन भनेको गुनासो सुनिन्छ। सस्तो मोटर र कम क्षमताको ब्याट्री भएको स्कुटर समथर बाटोका लागि मात्र उपयुक्त हुन्छ, उकालोका लागि होइन। ईभी किन्नुअघि ‘होमवर्क’ गर्नु जरुरी छ। आफूलाई कस्तो प्रयोजनका लागि चाहिएको हो, त्यो स्पष्ट हुनुपर्छ। काठमाडौंको भित्री सडकमा मात्र हिँड्छु, डाँडा चढ्नुपर्दैन भने सामान्य रेन्ज र मोटरले काम चल्छ। यदि अलि टाढा जानुपर्छ वा उकालो बाटो बढी हिँड्नुपर्छ भने लङ रेन्ज भएको ब्याट्री र शक्तिशाली मोटर भएको स्कुटर नै रोज्नुपर्छ। मोटर राम्रो र लामो रेन्ज भएको स्कुटरको मूल्य अलि बढी पर्छ। आफ्नो आवश्यकता नबुझी सस्तो मात्र खोज्दा पछि दुःख पाइन्छ।
ईभी स्कुटरमा देखिएका विकृति रोक्न राज्यबाट, तपाईंहरूले र उपभोक्ताले के गनुपर्छ?
ईभीका लागि नीतिगत तहबाटै निश्चित मापदण्ड तोकिनु आवश्यक छ। यदि सरकारले ईभी आयात र बिक्री वितरणमा कडा मापदण्ड राख्ने हो भने बजारमा जस्तो पायो त्यस्तै गुणस्तरहीन उत्पादन भित्रिन पाउँदैनथे। सरकारले मोटर पावर कति हुनुपर्छ, मटेरियलको गुणस्तर कस्तो हुनुपर्छ, ब्याट्रीको स्पेसिफिकेसन कस्तो हुनुपर्छ, वारेन्टी कम्तीमा कति हुनुपर्छलगायतका स्पष्ट नीति हुनुपर्छ। जस्तै, ६ महिनाको वारेन्टी नेपालमा स्वीकार छैन। कम्तीमा वारेन्टी २ वर्ष दिनैपर्छ। यस्ता मापदण्ड राखेपछि मेरो विचारमा कम्पनीले बजारमा राम्रा प्रडक्ट ल्याउन सक्छ र ग्राहक पनि ढुक्क हुन्छन्।