काठमाडौं। पछिल्लो समय नेपाली अटोमोबाइल बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएपछि व्यवसायीहरुले गाडीमा प्रदान गर्दै आएका विभिन्न छुट तथा आकर्षक अफरहरु बन्द गर्न थालेका छन्। कम्पनीहरुबीच देखिएको तीव्र प्रतिस्पर्धा, ‘प्राइस वार’ (मूल्य युद्ध) र अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण अफरलाई निरन्तरता दिन नसकिने निष्कर्षमा व्यवसायीहरु पुगेका हुन्।
अहिले अधिकांश व्यवसायीहरूले आफ्ना अफरहरू पूर्ण रूपमा बन्द गरेका छन्। यसको मुख्य कारण अफर केन्द्रित अत्यधिक प्रतिस्पर्धा हो। एकातिर आन्तरिक बजारमा व्यवसायीहरूबीच कडा प्रतिस्पर्धा बढेको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा गाडीको मूल्य समेत वृद्धि भएको छ। यस्तो अवस्थामा ‘प्राइस वार’ मा उत्रिँदा दीर्घकालीन रूपमा व्यवसाय नै धराशायी हुने जोखिम देखिएपछि व्यवसायीहरूले अफर बन्द गर्ने निर्णय गरेका हुन्।
जनवरी–फेब्रुअरी व्यापारका हिसाबले अफ–सिजन नै हो। त्यसमा पनि अहिले देशको समग्र सेण्टिमेन्ट, राजनीतिक गतिविधि र आगामी निर्वाचनले बजारमा प्रत्यक्ष प्रभाव पारेको छ। यस्तो अवस्थामा धेरै ठूलो प्रमोसन गरेर पनि अपेक्षित परिणाम नआउने भएकाले अफरहरु खासै नराखेको लक्ष्मी इन्टरकन्टीनेन्टलका महाप्रबन्धक दिपक थपलिया बताउँछन्।
‘जनवरी–फेब्रुअरी व्यापारका हिसाबले अफ–सिजन नै हो,’ उनले भने, ‘त्यसमा पनि अहिले देशको समग्र सेण्टिमेन्ट, राजनीतिक गतिविधि र आगामी निर्वाचनले बजारमा प्रत्यक्ष प्रभाव पारेको छ। यस्तो अवस्थामा धेरै ठूलो प्रमोसन गरेर पनि अपेक्षित परिणाम आउँदैन।’
जनवरी–फेब्रुअरी व्यापारका हिसाबले अफ–सिजन नै हो। त्यसमा पनि अहिले देशको समग्र सेण्टिमेन्ट, राजनीतिक गतिविधि र आगामी निर्वाचनले बजारमा प्रत्यक्ष प्रभाव पारेको छ।
उनकाअनुसार विगतको तुलनामा अहिले ‘एक्सट्रिम’ लेभलका अफरहरू छैनन्। यसको कारण स्टक कम हुनु र नयाँ सिजनको सुरुवात (नेपाली क्यालेन्डर अनुसार) हुन बाँकी हुनु हो। अहिले कम्पनीहरू डिलर कन्भेन्सन, वार्षिक योजना र बिजनेस क्यालेन्डर बनाउन व्यस्त छन्। माघको १५–२० गतेपछि मात्र नयाँ योजनाहरू आउने थपलियाले बताए।
पुस र माघ भनेको अटोमोबाइलमा अलि कम व्यापार हुने महिना हो। यहि समयमा पनि व्यापारमा सुस्तता आउन नदिन व्यवसायी निरन्तर रुपमा नगद छुट, एक्सचेञ्ज क्याम्पहरु आयोजना गरी ग्राहकलाई जागरुकता गराउन लागि पर्ने गर्थे। बजारमा तीब्र प्रतिस्पर्धा भएकाले कम्पनीहरुबिच कसले धेरै नगद छुट दिने भन्ने होड नै चल्थ्यो।
हुन त अटो ब्रान्डहरुले वर्षमा थुप्रै किसिमका ग्राहकलक्षित अफरहरु ल्याउँदै आएका छन्। चाडपर्व लक्षित, नयाँ वर्ष लक्षित, अटो मेला लक्षित जस्ता धेरै अफर हरेक वर्ष आउने गरेका छन्। यो सिजनमा पनि कम्पनीहरुले विन्टर अफर र एक्सचेञ्ज क्याम्प आयोजना गरि ग्राहकलाई आकर्षण गर्ने गरेकोमा यस वर्ष भने आन्तरिक प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय मूल्यवृद्धिका कारण कम्पनीहरुले अफर बन्द गरेका छन्।
केही समयअघिसम्म पनि ग्राहक तान्नका लागि कम्पनीहरुबिच ‘प्राइस वार’ चलिरहेको नै थियो। तर, यसले व्यवसायको दिगोपनमा नै धक्का पुग्ने देखिएपछि अहिले अफरहरु कटौती गरिएको एक व्यवसायी बताउँछन्। बजारमा एकपछि अर्को ब्राण्डले अफर ल्याउँदा व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढेको थियो। नाफा घटाएर अफर दिँदा व्यवसाय नै संकटमा पर्न सक्ने देखिएपछि अहिले व्यवसायीहरु सचेत भएका हुन्।
अटो बजारमा माग घट्ने सम्भावना रहेको भन्दै व्यवसायीहरूले अवस्था सहज भएमा पुनः अफर योजना ल्याउने संकेत गरेका छन्।
अफर र छुटको होडबाजीमा लाग्दा व्यवसाय कमजोर हुने डरले अहिले व्यवसायीहरुले अफरहरु बन्द गरेर पर्ख र हेरको नीति अपनाएको उनको भनाइ छ। अहिले विश्व बजारमा कच्चा पदार्थ र उत्पादन लागत बढेका कारण गाडीको मूल्य महँगो भएको छ। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सस्तो मूल्य वा भारी छुटमा गाडी बेच्न व्यवसायीलाई असम्भव बनेको छ। अहिलेको अवस्थामा गाडीको मूल्य स्थिर राख्नु नै चुनौतीपूर्ण बनेको छ।
‘अहिले व्यवसायीहरुले अफरहरु सबै बन्द गरेका छन्। अफरका लागि एकदमै धेरै प्रतिस्पर्धा भयो,’ उनी भन्छन्, ‘अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा गाडीको मूल्य पनि बढ्यो। आन्तरिक प्रतिस्पर्धा र बढ्दो लागतका बीच ‘प्राइस वार’ गरेर जाँदा व्यवसायीहरु आफैं सकिने अवस्था आएकाले अहिले यो कदम चालिएको हो,’ अर्का अटो व्यवसायी भन्छन्।
व्यवसायीहरूका अनुसार आयात लागत, ढुवानी खर्च र विदेशी मुद्राको विनिमय दरमा आएको उतार चढावले सवारीसाधनको मूल्य बढाएको छ। यस्तो अवस्थामा अफर निरन्तर राख्न कठिन बन्दै गएको उनीहरूको भनाइ छ। बजारमा प्रतिस्पर्धा तीव्र भए पनि लागत व्यवस्थापन चुनौतीपूर्ण भएपछि अफर बन्द गर्नुपर्ने अवस्था आएको व्यवसायीहरू बताउँछन्।
यसले उपभोक्तामा सवारी खरिदप्रतिको निर्णयमा समेत प्रभाव पार्ने देखिएको छ। अटो बजारमा माग घट्ने सम्भावना रहेको भन्दै व्यवसायीहरूले अवस्था सहज भएमा पुनः अफर योजना ल्याउने संकेत गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा गाडीको मूल्य बढेको र आन्तरिक रूपमा अस्वस्थ प्रतिस्पर्धा मौलाएकाले व्यवसायीहरूले सबै प्रकारका अफरहरू बन्द गर्ने निर्णय गरेका छन्। यस्तो अवस्थामा अफर दिँदा व्यवसाय नै संकटमा पर्ने निष्कर्ष व्यवसायीहरूको छ।