काठमाडौं। पाँचतारे होटलको मान्यता पाउन काठमाडौं उपत्यकाभित्र एक सय र उपत्यकाबाहिर ८० कोठा अनिवार्य छ। जसका कारण अहिले अधिकांश होटल व्यवसायीले कोठाको गुणस्तर, सेवाभन्दा कोठाको संख्या बढाउने मात्र ध्यान दिइरहेका छन्।
व्यवसायीहरुले सरकारी मापदण्डलाई पालना गर्नका लागि कोठाको संख्यामा मात्र लगानी गर्दा त्यसमा दिनुपर्ने गुणस्तरहरू पूरा गर्न नसकेको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको थियो।
होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएन अफ नेपाल (हान)ले पनि गुणस्तरमा ध्यान नदिई कोठाको संख्या मात्र आधार मान्दा समस्या उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराइरहेको छ। सोही अवस्थमा पर्यटन विभागले मापदण्ड संशोधनको गृहकार्य अगाडि बढाएको हो।
विभागका निर्देशक हिमाल गौतमले तारे होटलको मापदण्ड संशोधनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजकत्वमा समिति गठन भएको जानकारी दिए। छिमेकी मुलुकसहित अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित मापदण्डलाई नेपालले पनि लागू गर्ने गरी नेपालको मापदण्ड संशोधनका लागि गृहकार्य थालिएको उनले बताए।
सुरुमा तारे होटलको मापदण्ड दिन विभागले पटक-पटक अनुगमन गर्ने गरे पनि दिएपछि भने कुनै अनुगमन नहुने गरेको गुनासो सरोकारवालाको छ।
‘अहिलेको विद्यमान मापदण्डमा कोठाको संख्याको आधारमा मात्र तारे होटलको मान्यता पाउने स्थिति हुँदा धेरै समस्या भएको छ,’ निर्देशक गौतमले भने, ‘अन्तर्राष्टिय प्राक्टिसलाई हेरेर संशोधन गर्छौं, त्यसका लागि विभिन्न उपसमिति समेत गठन भएको छ।’
तारे होटलको अनुमति विभागले दिने गर्छ। सुरुमा तारे होटलको मापदण्ड दिन विभागले पटक-पटक अनुगमन गर्ने गरे पनि दिएपछि भने कुनै अनुगमन नहुने गरेको गुनासो सरोकारवालाको छ। जति बेला नवीकरणको बेला हुन्छ, त्यो बेला मात्र कडाई गर्नुको सट्टा बेला-बेलामा नियमित अनुगमन गर्ने र कडाई गर्ने प्रावधान विभागले नल्याए पर्यटन क्षेत्रमै नकरात्मक सन्देश फैलिन सक्ने चेतावनी पर्यटन व्यवसायीले दिँदै आएको छ।
पर्यटन विभागले २०८२ साउनमा सार्वजनिक गरेको तथ्यांकअनुसार एकदेखि पाँचतारे होटलको संख्या २१४ पुगेको छ। पछिल्लो एक वर्षमा तीन हजार २७० बेड थपिएका छन्। तारे होटलमा बेड संख्या २० हजार ३४३ पुगेको विभागको तथ्यांकमा उल्लेख छ।
यस्तो छ अहिलेको मापदण्ड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै स्तरका तारे होटलका लागि एकरुप ल्याण्डस्केपिङ र सेवा सुविधासम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। मापदण्डअनुसार होटल बलियो भू-धरातलमा निर्माण भएको हुनुपर्ने, खुला र आकर्षक प्रवेशद्वार, मौसमी फूल फुल्ने बगैँचा तथा होटल परिसरभित्रै घुम्न, डुल्न र आराम गर्न मिल्ने शान्त र मनोरञ्जनपूर्ण वातावरण अनिवार्य गरिएको छ। साथै, होटल परिसर पूर्ण रुपमा धुलो र धुँवामुक्त हुनुपर्ने छ।
चार तारेदेखि पाँच तारे डिलक्स होटलले कुल क्षेत्रफलको ४० प्रतिशतमा मात्र संरचना बनाउन पाउनेछन्। सबै स्तरका होटलले वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गर्नुपर्ने छ। होटल संरचना भवन ऐन २०५५, नियमावली २०६६ र राष्ट्रिय भवन संहिता २०६० अनुसार स्वीकृत हुनुपर्ने र ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई अवरोध नहुने गरी निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
होटलको नाम र तारे स्तर नेपाली र अंग्रेजी दुवै भाषामा प्रवेशद्वार तथा कागजपत्रमा स्पष्ट खुलाउनुपर्ने छ। पार्किङ क्षमतामा पनि मापदण्ड तोकिएको छ। तीन तारे वा सोभन्दा माथिल्लो स्तरका होटलले २४ घन्टा रुम सर्भिस दिनुपर्ने छ।
साथै, सबै होटलसँग बसपार्क र विमानस्थलसम्म ग्राहक पुर्याउने सुविधा हुनुपर्ने व्यवस्था गरिएको छ। चार तारेभन्दा माथिका होटलमा लकर, खेलकुद सुविधा, ट्राभल डेक्स र धर्मअनुसार प्राथना कक्ष अनिवार्य गरिएको छ।