काठमाडौं। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमा दक्षता अभिवृद्धिको सुखद् संकेत देखिए पनि समग्र तस्बिर भने केही निराशाजनक छ। पछिल्लो चार वर्षको तथ्यांकले करिब ७० प्रतिशत श्रमिक अझै पनि कुनै सीप तालिम नलिई विदेश गएको देखाएको छ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म श्रम स्वीकृति लिएर २९ लाख ८१ हजार ९८० जना श्रमिक वैदेशिक रोजगारीमा गए। यसमध्ये ८ लाख ५८ हजार ६३८ जना अर्थात् २८ दशमलव ८ प्रतिशत बिना कुनै सीप तालिम विदेश गएका छन्।
सरकारले वैदेशिक रोजगारीका लागि जान इच्छुक युवायुवतीलाई उचित सीप तालिम उपलब्धतामा वर्षेनी करोडौँ रुपैयाँ खर्च गरे पनि जति आउनुपर्ने थियो। त्यसअनुसार नआएको यस क्षेत्रका सम्बद्ध अधिकारीहरूले बताउँदै आएका छन्।
विभिन्न स्तरको सीप तालिम
पछिल्लो चार वर्षमा उच्च सीप तालिम लिएर मात्र दुई हजार ५१ जना विदेश गएका छन्। जसमा एक हजार ५६६ जना पुरुष र ४८५ जना महिला छन्। कुल श्रमिकको तुलनामा यो संख्या शून्य दशमलव ०७ प्रतिशत मात्र हो। त्यस्तै व्यावसायिक सीप हासिल गरेर ८ हजार ९७७ जना विदेश गएका छन्। जो कुल श्रमिकको शून्य दशमलव ३० प्रतिशत हो। यो संख्या आर्थिक वर्ष २०७८/७९ मा मात्र ६८० रहेको थियो भने २०८१/८२ मा ४ हजार ३७२ पुगेको छ।
सबैभन्दा ठूलो समूह अर्धदक्ष श्रमिकको रहेको छ। यो अवधिमा दुई लाख ७४ हजार ७२९ जना अर्धदक्ष श्रमिक विदेश गएका छन्। जो कुल संख्याको ९ दशमलव २१ प्रतिशत हो। आर्थिक वर्ष २०७८/७९ मा ५४ हजारको हाराहारीमा रहेको यो संख्या २०८१/८२ मा झण्डै एक लाख अर्थात् ९९ हजार ७२३ जना पुगेको छ।
दक्ष कामदारको संख्या पछिल्लो तीन वर्ष लगातार पाँच लाखको हाराहारीमा रहे पनि हालसम्म १८ लाख ३७ हजार ५८५ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका छन्। यो कुल संख्याको ६१ दशमलव ६० प्रतिशत हो। आर्थिक वर्ष २०७८/७९ मा दुई लाख ९१ हजारको हाराहारीमा रहेको यो संख्या अहिले बढेर पाँच लाखको हाराहारीमा पुगेको छ।
यी सबै तथ्यांकलाई जोड्दा उच्च सीप, व्यावसायिक सीप, अर्धदक्ष र दक्ष गरी कुल २१ लाख २३ हजार ३४२ जना श्रमिकले कुनै न कुनै स्तरको सीप र दक्षता लिएर विदेश गएका छन्। यो कुल श्रमिकको ७१ दशमलव २ प्रतिशत हो। तर, यसमा पनि सबैभन्दा बढी संख्या दक्ष कामदारको हो। जसले परम्परागत सीप र अनुभवलाई जनाउँछ भने उच्च तथा व्यावसायिक सीप तालीम लिएर जानेको संख्या अत्यन्त न्यून रहेको छ।
वैदेशिक रोजगार विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले पछिल्लो समय युवायुवतीले आफ्नो क्षमता, सीप, तालिम तथा अनुभव लिएर श्रम गन्तव्यतर्फ जानु निकै सुखद रहेको बताए। अहिलेको विश्व परिवेशमा परम्परागत सीप तालिम लिएर जानेभन्दा पनि समयसापेक्ष मिल्दोजुल्दो, विश्व बजारले खोजेको सीप सिकेर जान निकै आवश्यक हुने उनको भनाइ छ। अहिलेको सीप, प्रविधि र विश्वव्यापी बजारसँग आएको परिवर्तनलाई मध्यनजर गरेर हालको मागलाई सम्बोधन हुने किसिमको तालिम सिक्नु अपरिहार्य भएको उनको बुझाइ छ।
पछिल्लो समय सीप सिकेर श्रम गन्तव्यका लागि विभिन्न मुलुकमा जानु निकै सकारात्मक रहेको आप्रवासन विज्ञ डा. मीना पौडेलले बताइन्। राज्य र वैदेशिक रोजगारी व्यवसायीहरूलाई आमसञ्चार माध्यमको लगातारको खबरदारी तथा विज्ञहरूको सुझावपछि सरकार र व्यवसायी जिम्मेवार भएका कारण अहिलेको परिणाम आउनु सकारात्मक पक्ष हो। कानुन कार्यान्वयनमा राज्य तथा निकाय लागि पर्नु राम्रो हो। तर मानिसहरू स्वदेशी श्रम बजारमा काम नपाएर विदेश जाँदा पनि दक्षता लिएको देखिएको हुनसक्ने उनको बुझाइ छ।
अहिलेको परिवेशमा श्रम बजारको विषयमा सबैको चेतना फेरिएको छ भने कार्यान्वयन पक्षमा झिनो सुधार तथा व्यवस्थापनमा सुधार भएको छ। यी सबैलाई विश्लेषण गर्दा श्रम बजारको संकुचन, व्यवस्थापनमा थोरै सुधार र विश्व श्रम बजार पनि प्रतिस्पर्धी हुँदै गएको छ। यसलाई यो कोणबाट हेर्नुपर्ने उनले बताइन्।
अधिवक्ता तथा आप्रवासन विज्ञ सोम लुइँटेलले सरकारी तथ्यांकलाई हेर्दा सीप सिकेर जानेको संख्यामा परिवर्तन आउनु निकै सुखद् पक्ष रहेको बताए। सीप सिकेर युवायुवती श्रम गन्तव्य मुलुकतर्फ प्रस्थान गर्दा ठगी, शोषण तथा चुनौती कम हुने, कामअनुसारको पारिश्रमिक पाउने तथा रोजगारदाताको व्यवहार र बुझाइमा सकारात्मक हुने उनले बताए।
तर, श्रम विज्ञ रामेश्वर नेपालको यस विषयमा फरक बुझाइ रहेको छ। सरकारले सीप सिकेर श्रम गन्तव्य मुलुकतर्फ जाँदा श्रमिकको पारिश्रमिक बढी हुने तथा श्रमिकले विदेशमा भोग्ने समस्यालाई निर्मूलीकरण गर्ने भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको देखिन्छ।
सरकारले सीप सिक्ने विषयलाई उच्च प्राथमिकता दियो। तर, चलाखीपन गर्नेहरूले के गरे भने श्रम स्वीकृति लिने बेलामा कागजमा सर्टिफिकेट समावेश गरेको भए पनि उनीहरूले सीप सिकेर सर्टिफिकेट ल्याए कि ल्याएनन् भन्ने मुख्य कुरा रहेको उनको बुझाइ छ।
प्रशासनिक तथ्यांकले सीप सिकेर जानेको संख्या वृद्धि भयो भने पनि सीप सिकेको वा नसिकेको भनेर छुट्याएर हेर्नुपर्ने नेपालले बताए। सीप सिकेर जानु श्रमिकको हित गर्छ, आर्थिक उपार्जनमा सहयोग गर्छ। तर, उनलाई के लाग्छ भने सीप सिकेको भनेर प्रमाण पेश गरे पनि सीप सिक्यो कि सिकेन भन्नेमा उनलाई राम्रो शंका छ। जुन मात्रामा आँकडा वृद्धि भएको छ। सीप सिकेको आँकडा वृद्धि भएको भन्ने उनलाई लाग्दैन।
लैङ्गिक विभाजन हेर्दा हालसम्म पुरुषको संख्या २६ लाख ८६ हजार ९१ जना रहेको छ। महिलाको संख्या मात्र दुई लाख ९५ हजार ८८९ जना रहेको विभागले जनाएको छ। यसले वैदेशिक रोजगारीमा पुरुषको बाहुल्यता फराकिलो रहेको देखाउँछ। कुल श्रमिकमा पुरुषको हिस्सा ९० दशमलव ०८ प्रतिशत रहेको छ भने महिलाको हिस्सा ९ दशमलव ९२ प्रतिशत मात्र रहेको छ।
वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क सीप विकास तालिम प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ८६६ जनालाई विभिन्न १५ वटा ट्रेडमा १८० घण्टाको तालिम प्रदान गरिएको छ। बोर्डले विशेष गरी इलेक्ट्रिसियन, हाउस पेन्टर, सौन्दर्यकला, प्लम्बर र वेटरलगायत विभिन्न विधामा तालिम दिएको छ।
सबैभन्दा बढी सुनसरी जिल्लाका नागरिकले यो तालिमको लाभ लिएका छन्। सबैभन्दा कम पाँचथरका नागरिकहरूले लाभ लिएको तथ्यांक छ। त्यस्तै यसबाट ५५ जिल्लाका २३० वटा स्थानीय तहका नागरिकहरूले लाभ लिएको बोर्डले उल्लेख गरेको छ।
यसका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ५५ करोड ५८ लाख ३० हजार विनियोजन गरेकोमा ८४ दशमलव ११ प्रतिशत खर्च भएको छ। सरकारीतर्फबाट दुई करोड २८ लाख विनियोजनमा २ करोड १६ लाख ८३ हजार अर्थात् ९५ दशमलव १० प्रतिशत खर्च भएको छ भने कल्याणकारी कोषबाट २ अर्ब ५१ करोड ८६ लाख २५ हजार विनियोजनमध्ये दुई अर्ब ११ करोड ८५ लाख ९ हजार ७२० अर्थात् ८४ दशमलव १२ प्रतिशत खर्च भएको तथ्यांक छ। आर्थिक वर्ष २०८१/८२ मा एक हजार ४८० जना महिला कामदारलाई अभिमुखीकरण तालिमबापत १० लाख ३६ हजार रुपैयाँ शोधभर्ना गरिएको बोर्डको सचिवालयले जनाएको छ।
नयाँ गन्तव्यमा नेपाली श्रमिक
रोजगारीको खोजीमा नेपाली श्रमिकहरू पछिल्ला वर्षहरूमा विश्वका विभिन्न मुलुकसम्म फैलिएका छन्। देशभित्र सीमित रोजगारीका अवसर, न्यून आम्दानी र आर्थिक स्थायित्वको खोजीले उनीहरूलाई वैदेशिक श्रमतर्फ आकर्षित गरेको देखिन्छ।
आकर्षक तलब, सुरक्षित कार्य वातावरण तथा अतिरिक्त सुविधाका कारण नेपाली श्रमिकहरू परम्परागत रूपमा गन्तव्य मानिँदै आएका खाडी मुलुकमा मात्र सीमित रहेनन्। बरु युरोप, एसिया, अमेरिका र अन्य विकसित राष्ट्रहरूतर्फ पनि पुग्न थालेका छन्।
पछिल्लो समय बहराइन, क्रोएसिया, साइप्रस, जापान, कुवेत, मलेसिया, माल्दिभ्स, अजरबैजान, माउरिटस, ओमान, पोर्चुगल, कतार, रोमानिया, साउदी अरेबिया, टर्की, संयुक्त अरब इमिरेट्स र पोल्याण्ड लगायतका विभिन्न देशमा नेपाली श्रमिक पुगेका छन्। पहिले मुख्यतः खाडी मुलुक र मलेसियामा केन्द्रित वैदेशिक रोजगारी अहिले विविध पेशा र क्षेत्रतर्फ विस्तार हुँदै गएको छ।
निर्माण, उद्योग र घरेलु काममा मात्र नभई स्वास्थ्य, सेवा, कृषि, प्रविधिलगायत अन्य क्षेत्रमा पनि नेपाली श्रमिकहरूको उपस्थिति बढ्दो क्रममा छ। यसले नेपाली श्रमशक्तिको क्षमता र अनुकूलनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन थप सघाउ पुगेको छ।
वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। श्रमिकहरूले पठाउने रेमिट्यान्सले देशको आर्थिक स्थायित्वमा सहयोग पुर्याउनुका साथै धेरै परिवारको जीवनस्तर उकास्न मद्दत गरेको छ। यद्यपि, अवसरसँगै चुनौतीहरू पनि रहेकाले सुरक्षित, सम्मानजनक र व्यवस्थित वैदेशिक रोजगारी सुनिश्चित गर्न सरोकारवालाहरूको सक्रिय भूमिका आवश्यक देखिन्छ।