काठमाडौं। आगामी फागुन ३० देखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनका लागि चुनावी सरगर्मी तीव्र भएको छ।
संस्थालाई निकास दिने र फुटको संघारमा रहेको एनआरएनएको एकता जोगाउने सवालमा अधिकांशको रोजाइमा रोबिन शेरचन परेका छन्। रोबिन नेतृत्वमा आए मात्र संस्थाको एकता जोगिन सक्छ भन्ने आशामा ठूलो संख्यामा अभियन्ता उनलाई समर्थन गर्न एकठाउँमा उभिने भएसँगै उनको पक्षमा माहोल तातेको हो।
शेरचनको पक्षमा धेरै अभियन्ताको ओइरो लागेपछि अहिले उनलाई टिम मिलाउनै हम्मे परेको छ। यद्यपि, आपसी छलफलबाट टिमको नामावली लगभग टुंगो लागेको सम्बद्ध स्रोतले जनाएको छ। रोबिनलाई नेकपा एमाले निकट प्रवासी नेताहरूको साथ र समर्थन रहेको छ। उनले एकतालाई निष्कर्षमा पुर्याउने र सबैलाई समेटेर लैजाने भएपछि कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासका संगठनले पनि रोबिनलाई नै साथ दिने सहमति जनाएका छन्।
एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट र देवमान हिराचन पनि खुलेर रोबिनकै पक्षमा उभिएका छन्। त्यस्तै शेरचनले एकताको अभियान सुरु गरेपछि संस्थापक अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछानेसहित शेष घले, आरके शर्मा र महेश श्रेष्ठ लाइनका मानिसहरू पनि रोबिन शेरचनकै टिममा अटाउने बताइएको छ।
सबै राजनीतिक तथा वैचारिक समूहलाई समेटेर टिम बनाइएकाले यो टिम निकै बलियो र समावेशी देखिएको एक अभियन्ताले बताए। प्रारम्भिक छलफलबाट मुख्य पदाधिकारीको खाका तयार भइसकेको छ। अध्यक्षमा रोबिन शेरचन रहनेछन् भने उपाध्यक्षमा लोक दाहाल, खगेन्द्र न्यौपाने (मलेसिया), मनोज गोर्खाली, प्रवीण गुरुङ, बुद्धि सुवेदी, चिरञ्जीवी घिमिरे (क्यानडा) र सुनील शाहको नाम आएकाे छ।
त्यसैगरी युवा उपाध्यक्षमा सुपेन्द्र घिसिङको नाम तय भएको छ भने महिला उपाध्यक्षमा यास्मिन बेगम र टीका गुरुङ दुवैले इच्छा जाहेर गरेकाले उनीहरू दुवैलाई मिलाएर लैजाने सहमति भएको छ। महासचिवमा रामशरण पक्कापक्कीजस्तै हुँदा उपमहासचिवमा पारसमणि पोखरेल, दीपक गौतम र रोबिन वज्राचार्यको नाम आएको छ। उनीहरुमध्येबाट नाम टुंग्याएर अघि बढ्ने गरी छलफल भएको छ ।
त्यस्तै सचिव पदमा माधव दुलाल, शिशिर नेपाल, राजेन्द्र अर्याल, अभिमन्यु बस्नेत , शिवप्रसाद पौडेल र टंक गैरेलगायतका नाम अगाडि आएको छ। कोषाध्यक्षमा अस्ट्रेलियाका अनिल पोखरेल, सह–कोषाध्यक्षमा दधिबल खड्का, मोहम्मद मुक्तदा र युवा संयोजकमा नविन न्युरेको नाम टुंगो लागेको छ। क्षेत्रीय संयोजक (आरसी÷डिआरसी)लगायतका पदको टुंगो भने पछिल्लो चरणको छलफलबाट लगाइने बताइएको छ।
यसरी एनआरएनएका ठूला र प्रभावशाली पक्ष मिलेर गएपछि दोस्रो पक्ष निकै दबाबमा परेको स्रोतले बतायो। पछिल्लो समीकरणसँगै हेमराजको अवस्था कमजोर बन्न पुगेको र उनलाई बोक्ने बद्री केसी मात्र रहेको चर्चा एनआरएनए वृत्तमा चल्न थालेको छ। उसो त अन्तिम समयमा सहमतिमै नेतृत्व चयन गर्न पहल पनि भइरहेको छ।
त्यस्तै आगामी फागुन ३० गतेदेखि हुने महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ। यस महाधिवेशनबाट एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, एक महिला उपाध्यक्ष र एक युवा उपाध्यक्ष निर्वाचित हुनेछन्। त्यसैगरी, एक महासचिव, दुई उपमहासचिव, ६ सचिव र एक महिला सचिवको निर्वाचन हुनेछ। आर्थिक कार्यभार सम्हाल्न एक कोषाध्यक्ष, तीन सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष चयन हुने व्यवस्था छ।
यसका साथै, एक महिला संयोजक, एक युवा संयोजक, ६ वटा क्षेत्रबाट एक–एक जना गरी ६ क्षेत्रीय संयोजक र १७ क्षेत्रीय उपसंयोजक निर्वाचित हुनेछन्।