काठमाडौं। इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित ४० भन्दा बढी अधिकारीको हत्यापछि अमेरिकाले यो युद्धलाई ठूलो सफलता माने। तर, १७ औँ दिनसम्म आइपुग्दा परिस्थिति परिवर्तन भएको छ। युद्ध अन्त्य हुने कुनै स्पष्ट चित्र देखिँदैन।
आफूमाथि हमला गरी देशको सर्वोच्च नेतासहित उच्च अधिकारीको हत्यापछि इरानले हर्मुजको जलडमरुम हुँदै तेल आपूर्ति बन्द गरिदिएको छ। जसले विश्वव्यापी अर्थतन्त्रमा सीधा प्रभाव पारेको छ।
युद्ध थप चर्किंदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन (नाटो)सँग सहयोग युद्ध थप बलियो बन्न साथ मागेका छन्। उनले बन्द भएको हर्मुजको जलडमरुम फेरि खोल्न अपिल गर्दै नाटोको साथ मागेका हुन्।
यद्यपि, नाटो देशहरूले हर्मुजको जलडमरुम हुँदै आफ्ना युद्धपोतहरू नपठाउने स्पष्ट पारेको छ। यो निर्णय त्यस्तो समयमा आएको हो- जब अमेरिकी राष्ट्रपति ट्रम्पले चेतावनी दिएका थिए। ट्रम्पले नाटो देशहरूले इरानले रोकेको महत्त्वपूर्ण समुद्री मार्ग खोल्न मद्दत नगरे नाटोको भविष्य खतरामा पर्ने चेतावनी दिएका थिए।
जर्मनीले भन्छ- यो युरोपमा युद्ध होइन
द गार्जियनको एक रिपोर्टअनुसार जर्मनीले स्पष्ट रूपमा आफूहरू इरान-अमेरिका-इजरायल युद्धमा सामेल नहुने बताएका छन्। जर्मनले यो युद्धमा कुनै पनि सैन्य कारबाहीमा भाग नलिने उल्लेख गरेको हो।
जर्मन चान्सलर फ्रेडरिक मर्जले भने, 'यस विषयमा कहिल्यै कुनै निर्णय भएको छैन, त्यसैले जर्मनीको सैन्य योगदानको कुनै प्रश्न उठ्दैन।' तर, उनले इरानको वर्तमान सरकारलाई उल्टाउनु पर्ने बताउँदै बम विस्फोट गर्नु सही दृष्टिकोण नभएको बताए।
जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि अमेरिकालाई प्रश्न गरे। उनले भने, 'यो युरोपेली युद्ध होइन, जब अमेरिकी नौसेना आफैँ यति शक्तिशाली छ, केही युरोपेली जहाजहरूले के गर्न सक्छन्?'
बेलायतले भन्यो- हामी इरान युद्धमा तानिने छैनौँ
बेलायती प्रधानमन्त्री केयर स्टाररले आफूहरू इरान-अमेरिकाको ठूलो युद्धमा नतानिने बताएका छन्। उनले स्वीकार गर्दै भने, 'स्थिर तेल बजार कायम राख्नका लागि होर्मुजको जलडमरुम पुन: खोल्नु आवश्यक छ। तर यो सजिलो काम होइन।'
युरोपेली देशहरूले सैन्य कारबाहीको सट्टा कूटनीतिलाई जोड दिएका छन्। होर्मुजको जलडमरुम महत्त्वपूर्ण भएको बताउँदै यसले विश्वको तेल र ग्यास आपूर्तिको लगभग २० प्रतिशत हिस्सा ओगट्ने स्पष्ट पारेको छ। जुन हाल इरानबाट प्रभावित छ।
इटालीले के भन्यो?
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले संकटको समाधान संवादबाटै गर्नुपर्ने बताए। उनको देश कुनै पनि नौसेना मिसन विस्तार गर्ने पक्षमा नभएको बताए।
उनले युरोपेली संघका विद्यमान मिसनहरू केवल समुद्री डाकू विरोधी र रक्षा उद्देश्यका लागि मात्र भएको बताउँदै तिनीहरूलाई युद्धमा रुपान्तरण गर्न नसकिने बताए।
अष्ट्रेलिया, फ्रान्स र जापानले पनि आफ्ना युद्धपोतहरू अमेरिका र इजरायललाई साथ दिने गरी नपठाउने स्पष्ट पारेका छन्।
ट्रम्पको अपील-युरोपेली संघको अस्वीकार
अर्कोतर्फ, ट्रम्पले आफ्ना सहयोगीहरूलाई दबाब दिइरहेका छन्। उनले भने, 'समुद्री मार्गबाट लाभान्वित हुने देशहरूले यसको सुरक्षामा भाग लिनुपर्छ।'
ट्रम्पले विशेष गरी बेलायतसँग असन्तुष्टि व्यक्त गरे। यद्यपि उनले बेलायतले इरानविरुद्धको युद्धमा साथ दिने आशा गरेका छन्।
युरोपेली संघका विदेशमन्त्रीहरूले पनि आफ्नो लाल सागर मिसनलाई होर्मुजमा विस्तार गर्न अस्वीकार गरेका छन्। ईयू विदेश नीति प्रमुख काजा कालासले भने, 'हाल मिसनको दायरा विस्तार गर्ने कुनै इच्छा छैन।'
युरोपेली देशहरू पनि अमेरिका र इजरायली युद्ध उद्देश्यमा स्पष्टता चाहन्छन्। इस्टोनियाका विदेशमन्त्रीले ट्रम्पको रणनीति के हो? र उनको भविष्यको योजना के हुनेछ? भनेर बुझ्नुपर्ने बताएका छन्। एजेन्सी