काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा विनियोजन गर्दा सम्बन्धित मन्त्रालयबाट आएका योजनामा मात्रै रकम विनियोजन हुने बताएका छन्। मंगलबार अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। यसअघिजस्तो खल्तीबाट योजना छुट्याएर बजेट बाँडिने चलन अब बन्द गरिने उनको भनाइ छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरू बजेट निर्माण प्रक्रियामा नीतिगत बहसभन्दा पनि स–साना आयोजना बोकेर बजेट माग्न आइरहेको बताए।
सांसदहरूले अझै पनि आफ्नो निर्वाचन क्षेत्रका सडक, खानेपानी, सिँचाइजस्ता खुद्रा योजनाका लागि बजेट माग गरिरहेको उनको दाबी छ।
अर्थमन्त्री वाग्लेले कुनै पनि आयोजना सीधै अर्थ मन्त्रालयले प्रविष्ट नगर्ने स्पष्ट पारेका छन्। अहिलेको अभ्यासअनुसार सम्बन्धित विषयगत मन्त्रालयबाट प्रस्ताव भएर आएका योजनालाई मात्रै अर्थ मन्त्रालयले अन्तिम स्वीकृति दिने उनले बताए।

सडक आयोजना भए भौतिक पूर्वाधार, खानेपानी भए खानेपानी मन्त्रालयजस्ता सम्बन्धित निकायबाटै योजनाहरू अगाडि बढ्नुपर्ने सिद्धान्तमा सरकार दृढ रहेको उनको भनाइ छ। संघीय बजेट अब ठूला नीतिगत प्राथमिकता, १६औं आवधिक योजना, मध्यमकालीन खर्च संरचना र शासकीय सुधारको मार्गचित्रसँग मेल खाने योजनामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन्।
अर्थमन्त्री वाग्लेले भने, ‘सांसदहरू मसित व्यक्तिगत रूपमा पनि, समूहगत रूपमा पनि आएर भेटघाट गरिराख्नुभएको छ। यद्यपि मैले के स्पष्ट पारेको छु भने धेरैजसाे बजेट माग्न नै आउनुहुन्छ। नीतिगत कुराभन्दा पनि बजेटकै सना–साना प्रोजेक्टकै माग गरेर आउनुभएको छ।’
वाग्लेले केही समयदेखि सेयर बजार सीमित समूहको कब्जामा रहेको बताए। सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप उनले लगाए।
साना र स्थानीय प्रकृतिका आयोजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन हुनुपर्ने भएकाले संघीय बजेटमा समेट्न कठिन हुने अर्थमन्त्रीले स्पष्ट पारेका छन्। यद्यपि सांसदले दिएका सुझावलाई कुन हदसम्म संघीय बजेटमा फिट गर्न सकिन्छ भन्नेबारे मन्त्रालयहरूले अहिले पनि अभ्यास गरिरहेको उनले बताए।
वैशाख ३१ पछि बजेट निर्माण प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्ने र जेठ १५ गते बजेट प्रस्तुत हुने दिनसम्म यो प्रक्रिया जारी रहने उनले जानकारी दिए। वर्तमान सरकारले बजेट प्रक्रिया सुरु भइसकेपछि मात्र जिम्मेवारी सम्हालेकाले तयारीका लागि समय कम भएको स्वीकार गर्दै उनले सांसदका चासोलाई सकेसम्म समेट्ने प्रतिबद्धता जनाएका छन्।
बिहीबारको संसद् बैठकमा बजेटको सिद्धान्त तथा प्राथमिकता पेस हुने भएकाे उनले जानकारी दिए। अर्थमन्त्री वाग्लेले बिहीबार बस्ने संसद् बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेस हुने बताएका छन्। उनले सिद्धान्त तथा प्राथमिकतामा सांसदले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश गर्नेसमेत जानकारी दिए।
वाग्लेले केही समयदेखि सेयर बजार सीमित समूहको कब्जामा रहेको बताए। सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप उनले लगाए।
विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिको कब्जामा गएको यथार्थ स्वीकार गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे। अर्थमन्त्री वाग्लेले नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे। केही समूहले बजारमा कृत्रिम प्रभाव सिर्जना गरेर राजनीतिक नेतृत्वसम्म प्रभावित पार्ने अवस्था सिर्जना भएको दाबी गरे।
उनले भने, ‘संस्थान र पुँजी बजारसम्बन्धी पनि धेरै रिफर्म गरिँदै छ । स्टक एक्सचेन्जको पुनः संरचनाका लागि गठन गरिएको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गछौं।’