काठमाडौंको व्यस्त सडकमा सूर्योदय हुनुअघि नै सुनिता न्हेम्हाफुकीको दिनचर्या सुरु भइसक्छ। एग्री नेपालकी सीईओ रहेकी न्हेम्हाफुकी २० वर्षअघि खाली हात, शून्यबाट सपना बोकेर सफलताको यात्रामा हिँडेकी थिइन्। उनीसामु न कुनै ‘लिगेसी’ थियो, न परिवारको स्थापित व्यवसाय, न कुनै ठूलो पुँजी। थियो त केवल एउटा अदम्य साहस- केही गर्नुछ, केही बन्नुछ, देशले आफूलाई चिन्नुपर्छ।
आज न्हेम्हाफुकीको कम्पनीले नेपालको कृषि क्षेत्रमा मेसिनरी र प्रविधिको नयाँ अध्याय लेख्दै छ। उनको वित्तीय विवरणमा जुन अंक छन्, ती कुनै पुरुष उद्यमीको भन्दा कम छैनन् र उनको नाम अब उद्यमीको परिभाषामा थपिन पुगेको छ। यो कुनै अपवाद होइन। यो एउटा लहरको सुरुवात हो-एउटा यस्तो लहर जसलाई अब कसैले रोक्न सक्दैन।
नेपाली समाजमा एक समय उद्योग व्यवसायको कुरा उठ्दा मस्तिष्कमा जुन अनुहार झल्कन्थ्यो, त्यो अनुहार सधैं पुरुषको हुन्थ्यो। महिला भनेको चुल्होचौको, घरका चार भित्ता, अर्काको संसारमा हराउने जीवन मात्र। यही परिभाषा पुस्तादेखि पुस्तासम्म सर्दै आएको थियो, यही संस्कार बालिकाको मनमा रोपिँदै आएको थियो। तर, यो परिभाषा आज टुक्राटुक्रा भएर भत्किइरहेको छ र यसलाई भत्काउने हात स्वयं ती महिलाकै छन्, जसलाई कुनै बेला ‘के गर्न सक्छस् र?’ भनेर हेलाँ गरिएको थियो, जसको सपनालाई ‘बढी उडिस्’ भनेर खुँदिएको थियो।
चुल्होबाट कम्पनीको बोर्डरुमसम्म
पछिल्लो राष्ट्रिय आर्थिक गणनाले एउटा तथ्य सार्वजनिक गरेको छ-नेपालका करिब ३० प्रतिशत व्यवसाय आज महिलाको स्वामित्वमा छन्। साना तथा मझौला उद्योगमा उनीहरूको सहभागिता २५ देखि ३० प्रतिशतसम्म पुगेको छ। यो केवल एउटा तथ्यांक होइन। यो एउटा सामाजिक भूकम्पको आँकडा हो, जसले वर्षौंदेखि गाडेर बसेको लैंगिक विभेदको जरालाई हल्लाउन थालेको छ।
सूचना प्रविधिका गल्लीहरूमा महिला नेतृत्वका स्टार्टअपहरू सफ्टवेयर र डिजिटल सेवाको झन्डा उठाएर हिँडिरहेका छन्।
हस्तकला एवं गार्मेन्टको संसारमा पस्मिना र ढाकाका अनगन्ती धागाहरू महिलाका हातबाट बुनिएर विश्व बजारमा नेपाली पहिचान बोकेर पुगिरहेका छन्। काठमाडौंका कारखानादेखि लिएर सुदूरपश्चिमका दुर्गम गाउँसम्मका महिलाहरू स्थानीय कच्चा पदार्थलाई अन्तर्राष्ट्रिय उत्पादनमा रुपान्तरण गर्दैछन्। यसरी उनीहरू केवल आफ्नो आम्दानी बढाइरहेका छैनन्, नेपालको निर्यात व्यापारको आधार पनि मजबुत गरिरहेका छन्।
सूचना प्रविधिका गल्लीहरूमा महिला नेतृत्वका स्टार्टअपहरू सफ्टवेयर र डिजिटल सेवाको झन्डा उठाएर हिँडिरहेका छन्। हिमालका छहारीमा होमस्टे र ट्राभल एजेन्सी चलाउने महिलाले पर्यटन क्षेत्रलाई नयाँ उचाइ दिएका छन् भने जमिनमा अर्गानिक खेती, पुष्प व्यवसाय र खाद्य प्रशोधनको माध्यमबाट उनीहरूले परम्परागत खेतीलाई व्यावसायिक उद्यमको सम्मानजनक रूप दिएका छन्। जलविद्युत् र ठूला निर्माण क्षेत्रमा पनि महिलाका पदचाप सुनिन थालेका छन्- एउटा यस्तो संसार, जहाँ उनीहरूको प्रवेश केही दशकअघिसम्म अकल्पनीय मानिन्थ्यो।
यी व्यवसायको वित्तीय स्वास्थ्य उत्साहजनक छ। महिला नेतृत्वमा सञ्चालित उद्यममा लगानी र खर्चको सन्तुलन स्वस्थकर देखिएको छ। वित्तीय विश्लेषकका अनुसार महिलाहरू लगानीमा बढी विवेकशील र दीर्घकालीन सोचका साथ अगाडि बढ्ने भएकाले उनीहरूले सञ्चालन गरेका कम्पनीमा वित्तीय जोखिम तुलनात्मक रूपमा कम हुने गर्छ। अल्पकालीन नाफाको लोभमा दीर्घकालीन स्थायित्वसँग सम्झौता गर्ने प्रवृत्ति महिला नेतृत्वमा कम देखिन्छ र यही विशेषताले उनीहरूका व्यवसायलाई संकटको घडीमा पनि अडिग बनाउँछ।
मुस्ताङजस्तो पर्यटकीय क्षेत्रमा स्थानीय उत्पादनले विश्वबजार पाउन सक्छ भन्ने उनको विश्वास ठोस र परिपक्व थियो।
रोजगारी सिर्जनामा पनि उनीहरूको योगदान असाधारण छ। पहिले ‘पकेट मनी’का लागि मात्र काम खोज्ने सोच राख्ने महिलाहरू आज हजारौंलाई रोजगारी दिने ‘जब क्रियटर’ बनेका छन्। उनीहरू केवल स्वरोजगार भइरहेका होइनन्, रोजगारदाता बनिरहेका छन्, समुदायको आर्थिक चक्रलाई चलायमान बनाइरहेका छन्। यो परिवर्तन केवल आर्थिक मात्र होइन- एउटा सामाजिक क्रान्तिको पहिलो अध्याय हो।
शून्यबाट सुरुः रसाइलीको पाँच हजार रुपैयाँको महाकाव्य
यो यात्रा फूल बिछ्याइएको बाटो थिएन। एक-एक पाइला हिँड्नका लागि महिलाहरूले जुन मूल्य चुकाएका छन्, त्यो मूल्यको हिसाब गर्न कुनै पनि तराजु पुग्दैन।
महिला उद्यमी सुकुन रसाइलीको कुरा सुन्दा लाग्छ- उनको जिन्दगी आफैँमा एउटा उपन्यास हो, जसको हरेक पृष्ठमा संघर्ष छ, हरेक अध्यायमा एउटा नयाँ विजय छ। ’मैले यो व्यवसाय सुरु गर्दा मेरो खातामा जम्मा पाँच हजार रुपैयाँ मात्र थियो,’ रसाईली भन्छिन्, उनको आवाजमा कुनै गुनासो छैन, बरु एउटा अटुट आत्मबलको गहिरो चमक छ। मुस्ताङको हावापानीमा हुर्केका स्याउबाट सुकुटी बनाएर पर्यटकलाई बेच्ने सोचले उनलाई अगाडि बढायो। यो सोच साधारण थियो, तर यसको पछाडि एउटा असाधारण दूरदर्शिता लुकेको थियो। मुस्ताङजस्तो पर्यटकीय क्षेत्रमा स्थानीय उत्पादनले विश्वबजार पाउन सक्छ भन्ने उनको विश्वास ठोस र परिपक्व थियो।
आज उनी होटल, उद्योग र सामाजिक सेवाका धागोहरू एकसाथ थामेर हिँडिरहेकी छन्। सबेरै उठेर दिनको ढाँचा बुन्ने काम सुरु हुन्छ- होटल व्यवस्थापन, उद्योग निरीक्षण, सामाजिक दायित्वलगायत सबैलाई उनले एउटा सुन्दर लयमा बाँधेकी छन्। तर, यो सफलताका पछाडि उनले झेलेको संघर्ष अनुमान गर्न गाह्रो छ।
‘महिलाका लागि धेरै काम गर्छौं’ भनेर भाषण गर्ने मानिसको कमी नेपालमा छैन। तर, व्यवहारमा? परिवारदेखि समाजसम्मै अवरोधको एउटा लामो पर्खाल खडा भएको हुन्छ’, रसाइली भन्छिन्, ‘यद्यपि चुनौतीसँगै स्वदेशमै केही गर्ने अवसर र सम्भावना पनि प्रशस्त छन्। ती अवसरको खोजी हामी आफैंले गर्नुपर्छ।’
पाँच हजार रुपैयाँबाट सुरु भएको यात्राले आज कैयौं मानिसलाई रोजगारी दिइरहेकी छन्। यो संख्या आफैंमा उनको सबभन्दा सशक्त जवाफ हो।
बैंकको कुरा उठाउँदा उनको आवाजमा एउटा तीखो पीडा झल्किन्छ। सरकारले महिला उद्यमीका लागि १५ लाखसम्मको बिनाधितो सहुलियत कर्जा नीति ल्याएको छ। कागजमा यो नीति अत्यन्तै राम्रो छ। तर, कागजदेखि जमिनसम्मको दूरी कहिलेकाहीँ अकासजत्रो हुन्छ। बैंकहरूले कार्यविधि स्पष्ट नभएको भन्दै अझैसम्म धितो माग्ने गर्छन्। ‘कृषि विकास बैंकबाट ऋण लिएँ। सहुलियत कर्जामा परिसकेपछि पनि बैंकले मेरो लालपुर्जा फिर्ता दिएको छैन। यस्तो समस्या मजस्ता हजारौं महिला उद्यमीको छ,’ उनको भोगाइ छ।
यो व्यक्तिगत कथा मात्र होइन-यो एउटा प्रणालीगत विफलताको दर्पण हो। तैपनि रसाइलीले हार मानेकी छैनन्। ‘मान्छेमा इच्छाशक्ति र म केही गर्छु भन्ने अठोट भए शून्यबाट पनि सफल हुन सकिन्छ। मेरो आफ्नै नाममा जग्गाको लालपुर्जा भएकाले बैंकबाट ऋण लिन र व्यवसाय विस्तार गर्न केही सहज भयो,’ उनले भनिन्। पाँच हजार रुपैयाँबाट सुरु भएको यात्राले आज कैयौं मानिसलाई रोजगारी दिइरहेकी छन्। यो संख्या आफैंमा उनको सबभन्दा सशक्त जवाफ हो।
रसाइली यात्राले अझ एउटा महत्वपूर्ण सन्देश दिन्छ-महिला उद्यमीको सफलता केवल उनकै उपलब्धि होइन। जब एउटी महिला आर्थिक रूपमा सक्षम बन्छिन्, उनको परिवार सक्षम बन्छ, उनको समुदाय सक्षम बन्छ। उनले सिर्जना गरेको रोजगारीले अरूका परिवार पाल्छ। उनले उत्पादन गरेको वस्तुले देशको अर्थतन्त्रमा योगदान पुर्याउँछ।
पुँजीको पर्खाल र जोशीको आँट
ऊर्जा व्यवसायी सुमन जोशी महिला उद्यशीलताको अर्को आयामको कुरा गर्छिन्। एउटा यस्तो आयाम, जो प्रायः मञ्चमा बोलिँदैन, तर जसको छाया हरेक महिला उद्यमीको जीवनमा परिरहेको हुन्छ।
नेपाली समाजमा छोरीको हुर्काइ र ‘ग्रुमिङ’ नै मौलिक रूपमा फरक हुन्छ। छोरालाई सानैदेखि पारिवारिक व्यवसाय सम्हाल्ने, पुँजीमा अधिकार राख्ने, निर्णय गर्ने गरी तयार पारिन्छ। उनीहरूले हेर्ने घरमा व्यवसायको कुरा हुन्छ, लगानीको हिसाब हुन्छ, बजारको विश्लेषण हुन्छ। छोरीहरूलाई विवाह र अर्काको घरको जिम्मेवारीका लागि तयार गरिन्छ।
यो ‘ग्रुमिङ’को फरकपनले उनीहरूमा आत्मविश्वासको कमी र व्यावसायिक स्पष्टता अभाव उत्पन्न गर्छ। यो कमी तत्काल देखिँदैन, तर जब उनीहरू व्यवसायको दुनियाँमा पाइला टेक्न खोज्छन्, तब यो खाडल गहिरो महसुस हुन्छ।
यो प्रश्न उनका लागि चुनौती थियो र त्यसको जवाफ उनले कामद्वारा दिइन्, शब्दबाट होइन।
‘एक महिलाले जब ठूलो उद्योग वा व्यवसाय गर्ने आँट गर्छिन्, तब सबभन्दा ठूलो चुनौती वित्तीय स्रोतको आउँछ,’ जोशी भन्छिन्, ’पुँजीमा आफ्नो स्वामित्व नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले समेत श्रीमान् वा परिवारको सम्पत्तिमा निर्भर नजरले हेरेर विश्वास गर्न हिच्किचाउँछन्।’
शताब्दीयौंदेखि आफ्नो नाममा सम्पत्ति राख्ने अधिकारबाट वञ्चित महिलाहरू जब ऋणका लागि बैंक पुग्छन्, त्यहाँ उनीहरूलाई के पाइन्छ? न धितो छ, न जमानत। व्यवसायको सपना छ, विचार छ, क्षमता छ, तर बैंकको आँखामा यी केही पनि ‘सुरक्षा’ होइनन्। यो सामाजिक र मानसिक पर्खाल नाघेर व्यवसायमा प्रवेश गर्नु नै महिलाका लागि सबभन्दा ठूलो संघर्ष हो। तर, जोशी आशावादी छन् र उनको आशावाद अनुभवको जगमाथि उभिएको छ।
‘कुनै पनि व्यक्ति एकपटक व्यवसायमा होमिइसकेपछि त्यहाँ स्त्री वा पुरुष भन्ने हुँदैन। बजारमा सबैका लागि चुनौती एउटै हो। यदि घरपरिवारबाट थोरै मात्र सहयोग पाउने हो भने महिलाले जुनसुकै क्षेत्रमा पनि आफूलाई अब्बल सावित गर्न सक्छन्,’ जोशी भन्छिन्।
महिला आर्थिक रूपमा सक्षम हुनु भनेको आफू मात्र सबल हुनु होइन-परिवारको आर्थिक भारमा साझेदारी गर्दै सामाजिक प्रतिष्ठा र आत्मविश्वास बढाउनु पनि हो। यो भनाइ व्यावसायिक सत्य मात्र होइन, एउटा सामाजिक सुधारको खाका पनि हो।
‘के गर्न सक्छस् र?’: श्रेष्ठविरुद्धमा उठेको आवाज
नेपालमा सौन्दर्य व्यवसायीको रूपमा परिचित ब्युटिसियन कमला श्रेष्ठको कथाले यो प्रश्नको जवाफ दिन्छ- महिलालाई ‘अन्डरस्टिमेट’ गर्ने समाजविरुद्ध उनकै काम र सफलता एउटा मुखर प्रतिवाद हो। ‘महिलालाई जहिले पनि कमजोर ठानिन्छ। बाहिरको त कुरै छाडौं, सुरुमा आफ्नै घरपरिवारले समेत विश्वास गर्दैनन्,’ श्रेष्ठ भन्छिन्, ‘मैले सानो व्यवसाय गर्छु, अलिकति आर्थिक सहयोग गर न भन्दा पनि के गर्न सक्छस् र? भनेर क्षमतामा शंका गरिन्छ।’ परिवारले नै भरोसा नगरेपछि समाजबाट सहयोग पाउनु त झनै कठिन हुन्छ।
श्रेष्ठले यो ‘के गर्न सक्छस् र?’लाई आफ्नो ऊर्जाको स्रोत बनाइन्। यो प्रश्न उनका लागि चुनौती थियो र त्यसको जवाफ उनले कामद्वारा दिइन्, शब्दबाट होइन।
एग्री नेपालकी सीईओ सुनिता न्हेम्हाफुकी त्यो भूमिमा काम गर्छिन्, जहाँ महिला उपस्थिति अझैसम्म असाधारण मानिन्छ।
श्रेष्ठले विभिन्न संघसंस्थामा आबद्ध भएर काम गर्दा एउटा मुख्य समस्या पहिल्याएकी छन्-सञ्चार र जानकारी अभाव। सरकारले महिलाका लागि बिनाधितो ऋण र सुविधा ल्याएको छ, तर दुर्गमका वास्तविक महिला उद्यमीसम्म त्यो पुग्न सकेको छैन। जसलाई खाँचो छ, उसले पाउँदैन। जो सक्षम छ, उसैले मात्र सुविधा लिइरहेको अवस्था छ। अझ बैंकको झन्झटिलो प्रक्रियाले त कतिपय महिलालाई मानसिक तनाव र गहिरो चोटसम्म पुर्याउने गरेको यथार्थ उनी सुनाउँछिन्।
श्रेष्ठका अनुसार पछिल्लो एक दशकमा विवाहित महिलाहरू हरेक क्षेत्रमा सक्रिय भएर अगाडि बढिरहेका छन्। अहिले महिलाहरू शिक्षित, प्रतिभावान् र सक्षम छन्-शिक्षा पाएपछि कोठाभित्र सीमित हुने कुरै भएन। तर बाहिर निस्कँदा पनि पुरानो समस्या उही छ-बालबच्चा, परिवार, सामाजिक रीतिरिवाज सबै सम्हाल्नुपर्छ। महिलाको यो दोहोरो भूमिकालाई कसैले उचित मूल्यांकन गर्दैन।
तैपनि श्रेष्ठ अहिलेको अवस्थाप्रति आशावादी छन्। अहिले महिलाले विभिन्न तालिम, शिक्षा र अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गरिरहेका छन्। कृषि, हस्तकला, पर्यटन, शिक्षा, निर्माण र स्टार्टअपजस्ता क्षेत्रमा उनीहरूको सक्रियता बढ्दो छ। समग्रमा भन्नुपर्दा आज महिला नेतृत्वमा सञ्चालन भएका व्यवसाय उत्साहजनक र प्रगतिशील दिशामा अघि बढिरहेका छन्।’
सिमानाहरू तोड्ने न्हेम्हाफुकीः ‘मेल-डोमिनेटेड’ क्षेत्रमा महिला उपस्थिति
एग्री नेपालकी सीईओ सुनिता न्हेम्हाफुकी त्यो भूमिमा काम गर्छिन्, जहाँ महिला उपस्थिति अझैसम्म असाधारण मानिन्छ। कृषि मेसिनरी र प्रविधि संसार परम्परागत रूपमा पुरुषको दुनियाँ मानिएको छ। यहाँ ठूला यन्त्र छन्, प्राविधिक भाषा छ र एउटा अलिखित नियम छ–यो काम महिलाले गर्दैनन्। न्हेम्हाफुकीले यो नियमलाई सुरुमा अनुभव गरिन्, बुझिन् र त्यसपछि यसलाई अस्वीकार गरिन्।
‘मेरा लागि व्यवसाय सजिलो थिएन किनकि यो लेगेसी बोकेको व्यवसाय होइन। मैले शून्यबाट सुरु गरेर सिक्दै-सिक्दै, सानो लगानीबाट अघि बढ्दै यहाँसम्म आइपुगेकी हुँ,’ उनी भन्छिन्, ‘मेल-डोमिनेटेड क्षेत्र, विशेषगरी मेसिन र प्रविधिसम्बन्धी क्षेत्रमा काम गर्दा अझैसम्म यो महिलाको काम होइन भन्ने सोच भेटिन्छ।’
यी सबै संघर्षका कथाका बाबजुद र सायद यिनकै कारणले नेपालमा महिला उद्यमशीलताले जुन गति लिएको छ, त्यो अपूर्व छ।
समाजले महिलाले गर्ने व्यवसाय भनेको अचार बनाउने, बुटिक खोल्ने वा ब्युटिपार्लरजस्ता स-साना काम मात्र हुन् भन्ने बुझाइ राखेको छ। न्हेम्हाफुकी यो ‘बाउन्ड्री’को कुरा गर्दा मुस्कान छाड्छिन् किनकि उनी आफैं त्यो बाउन्ड्रीलाई धकेल्दै त्यसपारि पुगेकी महिला हुन्। उनले कृषि मेसिनरी क्षेत्रमा बनाएको प्रतिष्ठा, उनको कम्पनीले हासिल गरेको वित्तीय स्थिरता र उनले गरेका व्यावसायिक निर्णयले। यी सबैले मिलेर एउटा नयाँ मानदण्ड स्थापित गरेका छन्, उद्यमशीलतामा लिंगको नभई दूरदर्शिता र परिश्रमको महत्व हुन्छ।
२० वर्षको यात्रामा उनले देखेकी छन्- व्यवसायको संसारमा टिक्ने सूत्र एउटै हो, स्त्री वा पुरुष जोसुकैका लागि। ‘एकपटक व्यवसायमा होमिइसकेपछि त्यहाँ स्त्री वा पुरुष भन्ने हुँदैन। बजारमा सबैका लागि चुनौती एउटै हो,’ यो भनाइ उनको मात्र होइन, नेपालका सफल महिला उद्यमीहरू एकसुरमा भन्ने गर्छन्।
परिवर्तनको हावाः आशाको नयाँ भोर
यी सबै संघर्षका कथाका बाबजुद र सायद यिनकै कारणले नेपालमा महिला उद्यमशीलताले जुन गति लिएको छ, त्यो अपूर्व छ। काठमाडौंका सडकदेखि सपिङ मलसम्म, गाउँका साना कृषि फार्मदेखि ठूला सफ्टवेयर कम्पनीसम्म महिला उपस्थिति अब बाक्लिँदो छ। हरेक क्षेत्रमा महिलाको पदचाप बढ्दैछ र यो पदचाप केवल संख्यामा मात्र होइन, गुणस्तरमा पनि।
महिला नेतृत्वमा सञ्चालन भएका व्यवसायले उत्पादन गुणस्तर, ग्राहक सन्तुष्टि र वित्तीय अनुशासनमा उल्लेखनीय प्रदर्शन गरिरहेका छन्। आम्दानीको दृष्टिकोणले पनि यी व्यवसायहरू सम्मानजनक रूपमा अगाडि बढिरहेका छन्। कुनैले लाखौंको कारोबार पार गरिसकेका छन् भने कुनैले करोडौंको कम्पनी खडा गरेका छन्।
सरकारले पनि यो लहरलाई सघाउन केही कदमहरू चालेको छ-दर्ता तथा नवीकरण शुल्कमा छुट। सहुलियतपूर्ण कर्जा र प्रविधिमा पहुँच बढाउने नीतिहरू आएका छन्। यी नीतिको कार्यान्वयन अझै अपूर्ण छ-तर दिशा सही छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले पनि नेपाली महिला उद्यमीलाई सम्मान गर्न थालेका छन्। यो सम्मान केवल सहानुभूतिको होइन, वास्तविक उपलब्धिको पहिचान हो।
नेपालमा महिला उद्यमशीलताको यात्रा अझ लामो छ। अझ धेरै पर्खालहरू भत्काउनुछ, अझ धेरै ढोकाहरू खोल्नुछ।
घर र व्यवसाय दुवै सन्तुलन मिलाउने महिला क्षमताले कार्यस्थलमा अनौठो कार्यकुशलता ल्याएको छ। जब तपाईंले घर र व्यवसाय दुवै एकसाथ सम्हाल्नुपर्छ, तब समयको प्रत्येक क्षण मूल्यवान् हुन्छ र यो मूल्यबोधले व्यवसाय सञ्चालनमा विशेष प्रकारको दक्षता ल्याउँछ। थुप्रो अध्ययनले देखाएका छन्-महिला नेतृत्वमा सञ्चालित संस्थाहरूमा कर्मचारीको मनोबल उच्च हुने, टिम वर्क बलियो हुने र दीर्घकालीन दृष्टिकोण अपनाइने गर्छ।
अर्थतन्त्रको नयाँ खम्बाः महिलाले बदलिरहेको नेपालको आर्थिक नक्सा
आज नेपालको आर्थिक संरचनामा महिलाहरूको योगदान केवल सांख्यिक मात्र नभई गुणात्मक परिवर्तन हो। हस्तकला र गार्मेन्टमा महिलाले नेपाली पस्मिनालाई विश्वको सर्वोत्कृष्ट फेसन ब्रान्डसम्म पुर्याएका छन्। पर्यटनमा महिला सञ्चालित होमस्टेले ‘अथेन्टिक’ नेपाली अनुभवको माग पूरा गरिरहेका छन्। विदेशी पर्यटक यी होमस्टेमा केवल बास बस्न होइन, एउटा परिवारसँग जोडिन आउँछन्। कृषि प्रशोधनमा महिलाले स्थानीय उत्पादनलाई ब्रान्ड दिएका छन्, बजार दिएका छन् र यसरी एउटा मूल्य- शृंखला तयार गरेका छन्, जसले किसानदेखि उपभोक्तासम्म सबैलाई फाइदा पुर्याउँछ।
यी महिला उद्यमीले देशभित्रै रोजगारी सिर्जना गरिरहेका छन् भन्नुको एउटा विशेष अर्थ छ। लाखौं युवाहरू वैदेशिक रोजगारीका लागि देश छाड्दैछन्। गाउँका सबै जिम्मेवारी महिलाको काँधमा थपिँदैछन्। यस्तो अवस्थामा जब एउटी महिला उद्यमी बनेर समुदायमा रोजगारी सिर्जना गर्छिन्, त्यो दोहोरो सेवा हो- व्यावसायिक र सामाजिक दुवै। उनले आफ्नो गाउँ वा सहरमा बनाएको उद्यम एउटा लंगर हो- जसले समुदायलाई पलायनबाट बचाउन मद्दत गर्छ।
महिला उद्यमी संघर्षले आउँदो पुस्तालाई बाटो देखाउँछ, उनीहरूको सफलताले सपना देख्ने साहस दिन्छ।
महिला उद्यमीले वित्तीय अनुशासनमा देखाएको परिपक्वतालाई उद्योग विश्लेषकले पटक-पटक उद्धृत गरिरहन्छन्। ऋण लिएपछि समयमा फिर्ता गर्ने, अनावश्यक खर्च कटौती गर्ने, र नाफालाई पुनः व्यवसायमा लगाउने चक्र महिला उद्यमीमा बढी देखिन्छ। यसले उनीहरूका व्यवसायलाई दीर्घकालीन र टिकाउ बनाउँछ।
भविष्य अझ उज्यालो क्षितिज
नेपालमा महिला उद्यमशीलताको यात्रा अझ लामो छ। अझ धेरै पर्खालहरू भत्काउनुछ, अझ धेरै ढोकाहरू खोल्नुछ। तर, जुन गतिमा परिवर्तन आइरहेको छ, त्यो गतिले आशावादी बनाउँछ। परिवर्तनका लागि चाहिने कुराहरू स्पष्ट छन्-परिवारको साथ र विश्वास, बैंकिङ प्रक्रियाको सरलीकरण, सूचना र तालिमको पहुँच अनि सबैभन्दा महत्वपूर्ण पाटो भनेको समाजको मानसिकतामा परिवर्तन। महिलाको नेतृत्व क्षमतामाथि भरोसा, उनीहरूको निर्णयमा सम्मान र सफलतामा खुसीलगायत स-साना चीजले ठूलो परिवर्तन ल्याउन सक्छन्।
महिला उद्यमीहरू भन्छन्, ‘हामी एक दिन यस्तो स्थानमा पुग्नेछौं, जहाँ महिलाको सफलतालाई साँचो अर्थमा उत्सवको रूपमा मनाइने छ।’ यो उत्सव अब टाढा छैन किनकि ती महिला जो कुनै बेला चुल्होचौकामा सीमित थिए, आज नेपालको अर्थतन्त्रको आँधी बनेर उड्दैछन् र आँधीलाई कसैले रोक्न सक्छ?
रसाइलीको शब्दमा भन्ने हो भने ‘मान्छेमा इच्छाशक्ति र म केही गर्छु भन्ने अठोट भए शून्यबाट पनि सफल हुन सकिन्छ।’ यो वाक्य आज लाखौं नेपाली महिलाको मूलमन्त्र बन्दै छ। यही मूलमन्त्रले नेपालको भविष्यको आर्थिक नक्सा कोर्दै छ-एउटा यस्तो नक्सा, जहाँ हरेक सफल व्यवसायपछि एउटा आँटिली महिलाको कथा छ, जहाँ हरेक उत्पादनपछि एउटा संघर्षको इतिहास छ र जहाँ हरेक सफलतापछि एउटा समाजको बदलिएको दृष्टिकोण छ।
महिला उद्यमी संघर्षले आउँदो पुस्तालाई बाटो देखाउँछ, उनीहरूको सफलताले सपना देख्ने साहस दिन्छ। नेपाली महिला अब केवल गृहिणीमा सीमित छैनन्-उनीहरू आत्मनिर्भरता, आर्थिक सशक्तीकरण र समावेशी विकासका जीवन्त संवाहक बनिरहेका छन्। देशको अर्थतन्त्रको नयाँ खम्बा उनीहरू नै हुन् र यो खम्बा दिनानुदिन बलियो हुँदै छ, अझ उचो उठ्दै छ।