काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले सरकारले ल्याएको बजेटको चर्को विरोध गरेका छन् । प्रनिधिसभाको आईतबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेट माथिको छलफलमा सहभागी हुदै सत्तारुढ दलका सांसदहरु भीम रावल, पम्फा भुसाल, नविना लामा, गजेन्द्र बहादुर महत लगायत अधिकांश सांसदले सरकारको आलोचना गरे ।
सांसद गजेन्द्र बहादुर महतले सरकारको बजेटलाई गुटहरुको बजेटको संज्ञा दिए । उनले बजेट निर्माण गर्ने क्रममा जनताका प्रतिनिधिसंग औपचारीक कुरा गर्ने तर शिर्षगत विनियोजनमा कर्मचारीहरुसंग मिलेमतो गर्ने गरिएको गुनासो गरे ।
उनले भने “अहिलेको बजेट कर्मचारीले चलाएको बजेट छ । अहिलेको दलालले चलाएको बजेट छ । अहिलेको बजेट भित्रियबाट चलाएको बजेट छ । अहिलेको बजेट गुटबाट चलेको बजेट छ । ”
सांसदहरुलाई सरकार गठनको बेलामा मात्रै प्रयोग गर्ने गरिएको भन्दै उनले सांसदहरुलाई बाटो खर्च दिएर घर फर्काउन आग्रह गरे । उनले भने “यत्ति बजेट ल्याउन मन्त्री नै चाहिन्छ ? सचिवले ल्याउन सक्थे यत्ति बजेट , म यतातिर पनि अनुसन्धानमा लागिरहेको छु यो बजेट ल्याउन हामी माननीय हरु कहाँ जानुपर्छ । गुटको भेलामा जानुपर्छ कि ? कहीँ भेटी चढाउन पर्छ कि ? कर्मचारीहरुको सेवा गर्नुपर्छ कि? के गर्नुपर्छ । यो मन्त्रीले चलाएको बजेट नै होइन । कर्मचारीको सेटिङमा मात्रै आएको देखिरहेको छु । माननीयको बजेट आएकै छैन । माननीयको बजेट एउटा कुनामा छ । सबै कर्मचारीले सेटिङ गरेको बजेट मात्रै छ । अब माननीयहरु चाहिदैन । माननीयहरुलाई सरकार गठन गरिसकेपछि बाटो खर्च दिएर ल जाउ घर । यहाँ सचिवहरु छदैछन् । सिडिओहरु छदैछन् । जे भन्यो हस् हस् हस् भनिहाल्छन् । हामी माननीय त हस् भन्दैनौ । हाम्रै सरकार भए छ भन्दैनौ । अर्काको सरकार भए त झन किन भन्थ्यौ र हामीले ? हस् हस् भन्ने मान्छेलाई यहाँ राख्नुपर्यो हामीहरुलाई विदाई गर्नुपर्यो । किनभने हाम्रा कुरै सुनिदैन । सरकार बन्नेबेला सम्म हामी भाँडो भयौ अब ठाडो भईसक्यौ । ”
उनले सरकारको बजेटबाट कोही पनि सन्तुष्ट नरहेको टिप्पणी गरे । उनले सरकारको आलोचना बढ्दै गएकाले बजेटप्रति असन्तुष्ठ भएर सरकारको आलोचना गर्न भन्दा किन आलोचना हुन्छ भन्ने अनुसन्धानमा लागेको भन्दै व्यंग्य गरे ।
उनले भने “बजेटबाट मान्छेहरु सन्तुष्ठ छैनन् । हामी पनि सन्तुष्ठ छैनौ । सरकारको खाली विरोध गरिरहनु भन्दा किन विरोध भईरहेको छ भनेर अनुसन्धान तिर लागिरहेको छु । माननीयहरु धेरै भएर विरोध गरेको हो कि ? माननीयहरु कम गर्नुपर्ने हो कि ? विरोध धेरै हुन थाल्यो । त्यसैले म अनुसन्धानतिर लागिरहेको छु । जोश जाँगर भएका धेरै कुरा गर्ने मन्त्रीहरु आएका केही हाम्रा कुरा सुन्लान् भनेको त । झन यस्तो वेहाल भईरहेको छ हाम्रो । बजेट किताव हेर्दा कहालीलाग्दो छ । आफैलाई टिठ लाग्दो भईरहेको छ । म ५ बर्षसम्म के गरेर जाने हो ? ”
विद्युतिय सवारी साधनमा कर बढाउनु, निजी स्कुलले सार्वजनिक स्कुलको दायित्व लिने , चकलेटको कर लगायत विषयमा मिलेमतोे भएको दाबी उनले गरे ।
सांसद नविना लामाले नेपालको संविधान र पार्टीको चुनावी घोषणा पत्र दुवै कोणमा च्युत भएको भन्दै शिक्षामन्त्री र अर्थमन्त्रीले सदनमा आत्माआलोचना सहित माफी माग्नुपर्ने बताइन् । संविधान र पार्टीको चुनाबी घोषणा पत्रमा समाजवाद राज्य व्यवस्था निर्माण गर्ने कुरा उल्लेख भएको भन्दै उनले “नेकपाको समाजवादको शिक्षानीति यही हो ?” भनी प्रश्न गरिन् ।
नेपालको संविधानको धारा ३१ ले सबै नागरिकले निशुल्क शिक्षा पाउने हक सुनिश्चित गरेको स्मरण गराउदै उनले बजेट पुस्तिकाको १६६ बुँदामा उल्लेखित विषय नेकपाको शिक्षानीति विपरित भएको टिप्पणी गरिन् । उनले अर्थमन्त्रीले सरकार र नेकपा पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गरेको आरोप लगाइन् । शिक्षामन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपुर्ण आएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न माग गरिन् ।