काठमाडौं। नेपालको आधुनिक रिटेल व्यवसायमा स्थापित ब्रान्ड ‘सेल्सबेरी’ सञ्चालन गरिरहेको सेलवेरी क्यास एण्ड क्यारीले ९ महिनामै पौने २ अर्ब बढीको व्यापार गरेको छ। कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनअनुसार सेल्सबेरीको व्यापारिक ग्राफमा पछिल्लो समय केही गिरावट देखिएको छ। आर्थिक वर्ष २०२४/२५ मा २ अर्ब ९६ करोड रुपैयाँको व्यापार गरेको यो कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्ष २०२३/२४ को ३ अर्ब १८ करोड ६० लाखको तुलनामा करिब ७ प्रतिशतले घटेको थियो। चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकलाई वार्षिक रूपमा हेर्दा व्यापारमा करिब १७ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरिएको छ। यद्यपि, डिपार्टमेन्टल स्टोरहरूको व्यापार आर्थिक वर्षको अन्तिम त्रैमासमा (असारतिर) थोक तथा संस्थागत बिक्रीका कारण बढ्ने प्रवृत्ति रहेकाले बाँकी महिनामा व्यापार केही सुध्रिने अपेक्षा गरिएको छ। व्यापार घट्नुमा बजारमा बढ्दो प्रतिस्पर्धा र उपभोक्ताको क्रयशक्तिमा आएको कमीलाई मुख्य कारण इक्राको रिपोर्टमा औंल्याइएको छ।
इक्रा नेपालका अनुसार कम्पनीको व्यापारमा केही संकुचन आए तापनि यसको वित्तीय साख (रेटिङ) लाई यथावत राखिएको छ। इक्रा नेपालले कम्पनीले उपयोग गरिरहेको कुल २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ बराबरको बैंक ऋण सुविधाका लागि रेटिङलाई निरन्तरता दिएको हो। कम्पनीको १ अर्ब ६६ करोड ५० लाख रुपैयाँको दीर्घकालीन ऋणका लागि एलबी माइनस र ९६ करोड रुपैयाँको अल्पकालीन ऋणका लागि एफोर रेटिङ पुनः पुष्टि गरिएको छ। यी रेटिङले कम्पनीको ऋण भुक्तानी क्षमतामा मध्यम स्तरको जोखिम रहेको र वित्तीय अवस्था केही दबाबमा रहेको संकेत गर्छ।
सेल्सबेरीले पछिल्ला वर्षहरूमा स्टोर विस्तारमा आक्रामक लगानी गरिरहेको छ, जुन मुख्यतया बैंक ऋणमा आधारित छ। काठमाडौंको महाराजगन्जमा अत्याधुनिक बहुमंजिला आउटलेट निर्माण र अन्य ठाउँमा नयाँ स्टोरहरू खोल्दा कम्पनीको ऋण भार बढेको हो। चालू आवको ९ महिनासम्ममा कम्पनीको कुल ऋण र सञ्चालन नाफाको अनुपात १०.१ गुणा पुगेको छ, जुन निकै उच्च हो। त्यस्तै, ऋण र नेटवर्थको अनुपात ३.६ गुणा रहेको छ।
कम्पनीको तरलता अवस्था पनि निकै चापमा देखिएको छ। स्थिर सम्पत्तिमा लगानी गर्नका लागि अल्पकालीन ऋणको समेत प्रयोग गरिएकाले कम्पनीले आफ्नो ऋण सीमाको करिब १६० प्रतिशतसम्म उपयोग गरिरहेको छ। यसले कम्पनीलाई दैनिक सञ्चालन खर्च व्यवस्थापनमा कठिन भइरहेको बुझाउँछ।
यति धेरै वित्तीय चुनौतीका बाबजुद सेल्सबेरीको केही बलियो आधारहरू पनि छन्। सन् १९९३ मा पोखराबाट सेलवेरी डिपार्टमेन्टल स्टोरको रूपमा सुरु भएको यो व्यवसायमा प्रवद्र्धकहरूको तीन दशक लामो अनुभव छ। हाल कम्पनीले काठमाडौं, ललितपुर र पोखराका मुख्य सहरी क्षेत्रमा सेल्सबेरी डिपार्टमेन्ट स्टोर र साना आकारका सेल्सबेरी एक्सप्रेस गरी कुल ३५ वटा स्टोरहरू सञ्चालन गरिरहेको छ।
कम्पनीको मुख्य आम्दानी दैनिक उपभोग्य वस्तुहरूबाट हुने भएकाले यसको माग बजारमा सधैं रहन्छ। साथै, महाराजगन्जस्थित आफ्नै भवनमा विभिन्न चल्तीका ब्रान्डहरूलाई भाडामा लगाएकाले भाडाबाट आउने आम्दानीले कम्पनीको राजस्वमा विविधीकरण ल्याएको छ। सातदोबाटो र पोखराको चिप्लेढुङ्गामा रहेका सम्पत्तिहरूबाट पनि कम्पनीले भाडा आम्दानी गरिरहेको छ।
सेलवेरी क्यास एण्ड क्यारीमा सुशीलमान प्रधानाङ्गको ५१ प्रतिशत र सिर्जना श्रेष्ठको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ। अनुभवी प्रवर्द्धक र स्थापित ब्रान्ड पहिचानका कारण कम्पनीले बजारमा आफ्नो पकड जमाइराख्न सफल भएको छ।
रिपोर्टअनुसार, आगामी दिनमा सेल्सबेरीका लागि आफ्नो व्यापारिक आयतनलाई उल्लेख्य रूपमा बढाउनु र ऋणको भार घटाउनु मुख्य चुनौती हुनेछ। नयाँ स्टोरहरूबाट अपेक्षित आम्दानी हुन थालेमा र तरलता व्यवस्थापनमा सुधार आएमा कम्पनीको वित्तीय साखमा सकारात्मक प्रभाव पर्ने इक्राको ठहर छ। तर, सुपरमार्केट क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र सञ्चालन खर्चको चापले गर्दा कम्पनीले आफ्नो नाफाको मार्जिन जोगाउन थप मेहेनत गर्नुपर्ने देखिन्छ।