काठमाडौं। सरकारले संघीय संसद्मा पेश गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालमा दुई पांग्रे सवारीसाधनको दर्ता उल्लेख्य रुपमा बढेको देखाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म बस, मिनिबस, ट्रक, माइक्रोबस, कार तथा मोटरसाइकललगायत २ लाख ८१ हजार ९ सय २१ सवारी साधन दर्ता भएका हुन्।
यससँगै देशभर दर्ता भएका सवारी साधनको कुल संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ। दर्ता भएका सवारी साधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको तथ्यांकले देखाएको छ।
यातायात क्षेत्रमा सवारीको संख्या तीव्र रूपमा बढ्दै जाँदा व्यवस्थापन, सडक पूर्वाधार र ट्राफिक प्रणालीमा थप सुधारको आवश्यकता देखिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म देशभर ४३ हजार ७ सय ५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गरिएको छ। यससँगै हालसम्म वितरण भएका स्मार्ट लाइसेन्सको संख्या ४१ लाख १४ हजार १ सय ८१ पुगेको छ।
यातायात व्यवस्था विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको भए पनि ५ हजार १ सय ८६ थान मात्रै जडान गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ। हालसम्म कुल ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ८८ हजार ३ सय ४० थान मात्र जडान भएका हुन्।
इम्बोस्ड नम्बर प्लेट जडानलाई थप सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘इम्बोस्ड सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ।