काठमाडौं। सरकारले खेल मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ४ अर्ब ३ करोड बजेट छुट्याएको छ। चालू आर्थिक वर्षमा ६ अर्ब ८ करोड बजेट थियो। सरकारले फुटबलका १० र क्रिकेटका ८ वटा आधुनिक रंगशाला निर्माण गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा देशभर ८ हजार दर्शक क्षमताका १० वटा फ्लडलाइटसहितका फुटबल रंगशालाको स्तरोन्नति गरिने बताएका हुन्। देशका प्रमुख ८ सहरमा पाँच वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला बनाइनेछ।
विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तिमा दुई हजार क्षमताको इन्डोर मल्टिपर्पोज रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्न पनि बजेट छुट्याएको छ।
मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालाकी फाप्लाको निर्माणका लागि डिजाइन पुनरवलोकन गरी लगानी मोडालिटी तयार गरिने भएको छ।
खेलकुदमा विशेष रुचि भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तयदेखि छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाइनेछ।
अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवनका लागि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइनेछ।
सुर्खेतमा हुने दसौं राष्ट्रिय खेलकुद र मधेसमा प्रस्तावित एघारौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरिएको छ।