काठमाडौं। नेपालमा आउने विदेशी एयरलाइन्सलाई अनिवार्य रूपमा जनरल सेल्स एजेण्ट (जीएसए) राख्नुपर्ने बाध्यकारी बनाएपछि कतार एयरवेजले प्रतिस्पर्धामार्फत छनौट गरेको छ। सरकारले हवाई सेवा व्यवस्थापन नियमावली, २०८१ मार्फत अनिवार्य गराएसँगै प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रेसिडेन्ट ट्राभलले जिएसए पाएको हो।
प्रेसिडेन्ट ट्राभलका अध्यक्ष भोलाविक्रम थापाले करिब एक महिना अघि कतारको जिएसएमा छनौट भएको जानकारी दिए। ‘कतार एयरवेजले खुल्ला प्रतिस्पर्धामार्फत जिएसए छनौटका लागि आव्हान गरे अनुसार सहभागी भएका थियौँ,’ अध्यक्ष थापाले भने, ‘हाम्रो कम्पनी त्यसमा योग्य ठहरिएछ।’
सरकारले हवाई सेवा व्यवस्थापन नियमावली, २०८१ लागू गर्नु अघि कतिपय एयरलाइन्स कम्पनीहरूले अफलाइन टिकटमार्फत पनि उडान गर्दै आएका थिए भने कतारसहित एयर इन्डियाले भने नेपालमै कार्यालय खोलेर कारोबार गर्दै आएका थिए।
नेपालमा उडान गर्ने विदेशी एयरलाइन्समध्ये कतारलाई प्रिमियम एयरलाइन्सको रूपमा लिइन्छ। खासगरी युरोप र अमेरिकामा जाने यात्रुहरूले कतार एयरमार्फत उडान गर्दै आएको कारणले पनि यसको जिएसएमा धेरै व्यवसायीक घरनाहरुले जिएसए प्राप्तिका लागि चासो राखेका थिए।
जिएसएका लागि प्रेसिडेन्टसँगै आइएमई ग्रुपको आइएमई ट्राभल, सोसाइटी ट्राभल, जेनिथ ट्राभल लगाएतले प्रतिस्पर्धा गरेका थिए। प्रेसिडेन्टले अहिले इण्डिगो, गल्फ एयर, हाना एयर लगायतको जिएसएको काम गर्दै आएको छ। योसँगै आन्तरिक एवं बाह्य देशहरूमा टुरर्स एण्ड ट्राभलको समेत काम गर्दै आएको छ।