काठमाडौं। यूएईको वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान सुरु गर्ने घोषणा गर्दै पोखराप्रति आफ्नो रणनीतिक चासो सार्वजनिक गरेको छ।
कम्पनीले सामाजिक सञ्जालमार्फत पोखरालाई नेपालको दोस्रो ठूलो सहर तथा पर्यटन राजधानीको रुपमा प्रस्तुत गर्दै यसलाई आफ्नो नयाँ प्राथमिकता प्राप्त गन्तव्य बनाएको जनाएको छ।
फ्लाई दुबईले पोखरालाई केवल नयाँ उडान गन्तव्य नभई साहसिक पर्यटन, हिमाली दृश्य, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रुपमा चित्रित गरेको छ। कम्पनीका अनुसार यूएईबाट पोखरासम्म सीधा उडान सञ्चालन गर्ने पहिलो वायुसेवा बन्नुले यात्रुहरूलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यसम्म सहज पहुँच उपलब्ध गराउने छ।
दुबईलाई विश्वव्यापी ट्रान्जिट हबका रुपमा उपयोग गर्दै फ्लाई दुबईले पोखरालाई युरोप, मध्यपूर्व र अफ्रिकाका यात्रुसँग जोड्ने लक्ष्य राखेको देखिन्छ। कम्पनीले ‘तपाईंको अर्को साहसिक यात्रा प्रतीक्षामा छ’ भन्ने सन्देशमार्फत पोखराको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा समेत जोड दिएको छ।

पर्यटन व्यवसायीका अनुसार फ्लाई दुबईको निर्णयले पोखराको पर्यटन सम्भावनामाथि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको विश्वास झल्काउँछ। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखराका लागि यो सेवा विमानस्थलको व्यावसायिक उपयोगिता बढाउने महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ।
फ्लाई दुबईले यसअघि काठमाडौंमा नियमित सेवा सञ्चालन गर्दै आएको छ। अब पोखरालाई आफ्नो नेटवर्कमा समेट्दै कम्पनीले नेपालको पर्यटन बजारमा थप विस्तार र दीर्घकालीन उपस्थितिको संकेत दिएको छ।
यसअघि फ्लाई दुबई यूएईबाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बनेको छ। सन् २००९ देखि काठमाडौंमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको फ्लाई दुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको छ।
फ्लाई दुबईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गैथ अल गैथले नेपाल फ्लाई दुबईका लागि अत्यन्त महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै पोखरामा प्रत्यक्ष उडान विस्तार गर्नु नेपाल र यूएईबीचको पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदम भएको बताएका थिए। उनले यूएईलाई विश्वस्तरीय हवाई केन्द्रका रुपमा उपयोग गर्दै यात्रुहरूलाई थप पहुँच र सहज कनेक्टिभिटी प्रदान गर्न पाउँदा कम्पनी गौरवान्वित रहेको बताए।
त्यसैगरी, फ्लाई दुबईका कमर्सियल अपरेसन विभागका वरिष्ठ उपाध्यक्ष सुधिर श्रीधरणले पोखरा उडानले यात्रुहरूलाई थप विकल्प र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उल्लेख गरे। उनका अनुसार यो सेवा संयुक्त अरब इमिरेट्स, खाडी मुलुकहरू, मध्यपूर्व, युरोप तथा फ्लाईदुबईको विस्तृत अन्तर्राष्ट्रिय सञ्जालबाट यात्रा गर्ने यात्रुहरूको मागलाई लक्षित गरी सञ्चालन गरिने छ।
अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित पोखरा नेपालको प्रमुख पर्यटन तथा साहसिक गतिविधिको केन्द्रका रूपमा परिचित छ। नयाँ प्रत्यक्ष उडान सेवाले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।