काठमाडौं। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गर्ने गिरोहविरुद्ध खोजी अभियान थालेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जेठमा मात्रै वैदेशिक रोजगार ठगीका विभिन्न घटनामा संलग्न ६६ जना अभियुक्त पक्राउ गरेको हो। प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार पक्राउ परेका अभियुक्तले २३७ जना युवालाई वैदेशिक रोजगारी प्रलोभनमा पारेर ठगेका थिए।
विदेश रोजगारीको प्रलोभन दिएर जेठ १ गतेदेखि जेठ ३० सम्मको अवधिमा मात्रै १८ करोड १४ लाख ८८ हजार ४७० रुपैयाँ रकम उठाएर उनीहरु सम्पर्कविहीन भएको उजुरी परेको थियो।
ठगी गर्नेहरुले युवालाई आकर्षित गर्न अमेरिका, क्यानडा, क्रोएसिया, सर्बिया, ग्रीस, बेलायत र फ्रान्सजस्ता मुलुकको प्रलोभन देखाउने गरेको पाइएको प्रहरीले बताएको छ। शरण थापा नामका अभियुक्तले सिंगापुर पठाइदिने भन्दै ४३ जना पीडितबाट मात्रै ५ करोड १ लाख १२ हजार रुपैयाँ ठगी गरेका छन्।
त्यस्तै राजेश क्षेत्री, तीर्थमान भोलन र गोवद्र्धन नेपालीको समूहले सेसेल्स र मौरिसस पठाइदिने बहानामा ६२ जना युवाबाट २ करोड ८३ लाखभन्दा बढी रकम असुल गरेको पाइएको छ। टोकन रकम र प्रक्रियाका नाममा अन्य अभियुक्तले पनि प्रतिव्यक्ति लाखौँ रुपैयाँ असुलेका छन्।
व्यक्तिगत एजेन्टबाहेक काठमाडौंमा स्थापित संस्था नै ठगी धन्दामा संलग्न रहेको फेला परेको छ।
काठमाडौं–११ मा सञ्चालित डब्लुआइसिएस इमिग्रेसन सर्भिसेजका सञ्चालकद्वय भारतीय नागरिक अमितकुमार र राहुल कुमारले क्यानडा पठाइदिने प्रलोभनमा ४ जना पीडितबाट १ करोड ५७ लाख ६५ हजार ४०० रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये केहीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने बाँकीलाई वैदेशिक रोजगार विभाग ताहाचल चलान गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीले अपरिचित व्यक्ति वा आधिकारिक इजाजतपत्र नभएका कन्सल्टेन्सीलाई वैदेशिक रोजगारीका नाममा मोटो रकम नबुझाउन र सचेत रहन सर्वसाधारणमा आग्रह गरेको छ।