काठमाडौं। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का पदाधिकारी र उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेबीच भेटवार्ता भएको छ।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्ले र नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको हो।
छलफलका क्रममा प्रमुख काफ्लेले प्रहरी कार्यालय र नाडाबीच क्रिएटिभ र दीर्घकालिन उद्देश्यका विषयमा सहकार्य गरी अघि बढ्नुपर्ने बताए। सोही क्रममा उनले पहाडी क्षेत्रमा चल्नुपर्ने ठूला सिसिका बाइकहरु पनि काठमाडौं शहरभित्र चल्ने गरेको गुनासो गर्दै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य केलाएका थिए।
यसै क्रममा उनले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भन्दै नाडाले ए.आई. प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि समेत पहल गर्नुपर्ने बताए। उनले सवारी साधन खरिद गर्ने हरेक ग्राहक, सर्भिस सेण्टर र पहिलो पल्ट सवारी साधन चलाउन लाइसेन्स लिने हरेक व्यक्तिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टा अवधिको छोटो प्रशिक्षण लिनुपर्ने व्यवस्थाका लागि आग्रह गर्दै यसबाट ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
छलफलमा नाडाका अध्यक्ष उपे्रतीले नाडाले विगतमा गरेको सहकार्यबारे चर्चा गरेका थिए। सोही छलफलमा उनले नाडाले आफ्नो आउँँदो ५०औँ वार्षिक साधारण सभा अर्थात स्वर्ण उत्सवको सन्दर्भमा यही २०८३ असार १३ गते देखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमहरुसहित विशेष सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको जानकारी दिए।
नाडाका अध्यक्ष उप्रेतीले कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भूमिका महत्वपूर्ण हुने बताएका थिए। उनले नाडाले स्टिकर मार्फत ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने जानकारी दिए।
छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले प्रहरी कार्यालयसँग पहिलेदेखि सहकार्य गर्दै आएकाले अहिले पनि नाडाले सहकार्य गरी अघि बढ्न चाहेको बताए। छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवालसमेतले धारणा व्यक्त गरेका थिए।