काठमाडौं। विश्वकप फुटबल २०२६ को रौनकले यतिबेला विश्वभरका खेलप्रेमीलाई जस्तै नेपाली फुटबल समर्थकहरूलाई पनि उत्साहित बनाएको छ। तर, यो खेल उत्सवको आडमा नेपालमा एउटा गम्भीर र गोप्य वित्तीय जोखिम पनि मौलाइरहेको छ- त्यो हो अवैध अनलाइन सट्टेबाजी।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआइयू- नेपाल)को एक प्रतिवेदनले फुटबल र क्रिकेट जस्ता ठूला खेलकुद प्रतियोगिताका बेला अनलाइन सट्टेबाजीको जोखिम उच्च हुने र यसले नेपालको वित्तीय प्रणालीलाई खतरामा पार्ने चेतावनी दिएको हो।
डिजिटल वालेट र क्युआर पेमेन्टको दुरुपयोग
नेपालमा पछिल्लो समय मोबाइल बैंकिङ, क्युआर भुक्तानी र डिजिटल वालेटहरू (जस्तैः ई-सेवा, खल्ती आदि)को प्रयोग व्यापक बनेको छ। तर, यही सहज प्रविधिलाई अवैध अनलाइन सट्टेबाजीका सञ्चालकहरूले हतियार बनाएका छन्। इकाइको प्रतिवेदनअनुसार सट्टेबाजीका लागि विदेशी प्लेटफर्महरू प्रयोग भए पनि, रकम संकलन गर्न भने नेपाली बैंक खाता, मोबाइल वालेट र क्युआर पेमेन्टको व्यापक दुरुपयोग भइरहेको छ।
अझ खतरनाक कुरा यी कारोबारहरू सामान्य ग्राहक व्यवहार जस्तै देखिन्छन्। स-साना रकमको पियर-टु-पियर (पीटुपी) ट्रान्सफर, बारम्बार हुने वालेट टप-अप र क्युआर भुक्तानीका माध्यमबाट पैसा पठाइने हुनाले बैंक तथा वित्तीय संस्थाहरूलाई यस्ता शंकास्पद कारोबार पहिचान गर्न निकै कठिन हुने गरेको छ।
६३ बैंक खाताको जालोः केस स्टडी
सन् २०२३ मा नेपाल प्रहरीले गरेको एक कारबाहीलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै इकाइले अनलाइन सट्टेबाजीको गहिरो जालोको खुलासा गरेको छ। अनुसन्धानमा एउटै नेटवर्कले विभिन्न व्यक्तिको नाममा रहेका ६३ वटा बैंक खाताहरू प्रयोग गरी सट्टेबाजीको रकम व्यवस्थापन गरेको पाइएको थियो।
अपराधीहरूले रकमको वास्तविक स्रोत लुकाउन र अधिकारीहरूको आँखा छल्न ‘लेयरिङ’ र ‘स्मर्फिङ’ जस्ता शैलीहरू अपनाउने गरेका छन्। स्मर्फिङ अन्तर्गत ठूलो रकमलाई धेरै साना–साना टुक्राहरूमा विभाजन गरी विभिन्न ‘मूल’ अर्थात् नक्कली खातावालहरूको खातामा पठाइन्छ, जसले गर्दा कुनै पनि व्यक्तिगत कारोबार शंकास्पद नदेखियोस्।
यसरी विभिन्न खातामा संकलन गरिएको रकमलाई अन्ततः विभिन्न तहहरू पार गराएर विदेशी मुलुकमा रहेका मुख्य सञ्चालक वा लाभार्थीहरूसम्म पुर्याउने गरिएको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको थियो
युवा पुस्ताः सपना र जोखिमको बीचमा
फुटबल र क्रिकेटमा युवाहरूको बढ्दो क्रेजलाई सट्टेबाजी सञ्चालकले दुरुपयोग गरिरहेका छन्। सामाजिक सञ्जाल र म्यासेजिङ एपहरूमा आकर्षक विज्ञापन, बोनस अफर र ‘क्विक मनी’को प्रलोभन देखाएर युवाहरूलाई यस जालोमा पारिन्छ। प्रतिवेदनअनुसार, मोबाइलमै पहुँच हुने र सामाजिक सञ्जालको प्रभावमा रहने युवाहरूले यसलाई केवल मनोरञ्जनका रूपमा लिँदा उनीहरू अनजानमै गम्भीर वित्तीय अपराधमा संलग्न भइरहेका छन्।
धेरै युवाहरूले आफ्नो बैंक खाता वा वालेट अरूलाई प्रयोग गर्न दिएर मूल एकाउन्ट होल्डरका रूपमा अपराधीलाई सहयोग पुर्याइरहेका छन्। जसले पछि प्रहरी अनुसन्धानमा उनीहरू पहिलो घेरामा पर्ने जोखिम रहन्छ।
कानुनी प्रावधान र निगरानीमा कडाइ
नेपालमा अनलाइन सट्टेबाजी पूर्णतः प्रतिबन्धित छ। मुलुकी अपराध संहिता २०७४, जुवा ऐन २०२६ र हालै संशोधन गरिएको सम्पत्ति शुद्धीकरण (निवारण) ऐन २०६४ अन्तर्गत यस्ता गतिविधि दण्डनीय छन्। नेपाल सरकारले सन् २०२५ जनवरी २ देखि ‘भर्चुअल एसेटको प्रयोग’लाई समेत आधिकारिक रूपमा सम्बद्ध कसुरको रूपमा सूचीकृत गरेको छ। जसले गर्दा सट्टेबाजीमा क्रिप्टो प्रयोग गर्नेहरूमाथि कारबाही गर्न सहज भएको छ।
विश्वकप २०२६ को यो समयमा फुटबलको आनन्द लिइरहँदा आफ्नो वित्तीय सुरक्षाप्रति सचेत रहन इकाइले आग्रह गरेको छ। केवल वेबसाइट ब्लक गरेर वा केही व्यक्तिलाई पक्राउ गरेर मात्र यो समस्या समाधान नहुने इकाइको निष्कर्ष छ।
यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले व्यवहारिक विश्लेषण र नेटवर्क म्यापिङ जस्ता आधुनिक प्रविधि अपनाउनुपर्ने, र सर्वसाधारणमा सट्टेबाजीका कानुनी र साइबर जोखिमबारे व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता छ।