काठमाडौं। लामो समयदेखि बैंकमा जम्मा गरेको आफ्नो मिहिनेतको कमाइ फिर्ता नपाएर छटपटिएका कर्णाली डेभलपमेन्ट बैंकका पीडित बचतकर्ताहरू अन्ततः न्याय खोज्दै संघीय राजधानी काठमाडौं आइपुगेका छन्।
मोफसलमा गरिएका पटक-पटकका आन्दोलन र धर्नालाई नियामक निकाय तथा बैंक प्रशासनले बेवास्ता गरेपछि पीडितहरू सोमबार काठमाडौँको माइतीघर मण्डलामा भेला भई सशक्त विरोध प्रदर्शनमा उत्रिएका हुन्।
बाँके, बर्दिया र दाङ जिल्लाका विभिन्न १९ वटा शाखाहरूमा रकम जम्मा गरेर अहिले रित्तो हात भएका सर्वसाधारण, ज्येष्ठ नागरिक तथा महिलाहरू सामूहिक रूपमा काठमाडौँ केन्द्रित आन्दोलनमा सामेल भएका छन्। माइतीघर मण्डलाको सडक किनारमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा बसेका पीडितहरूको अनुहारमा आक्रोश र पीडा स्पष्ट देखिन्थ्यो।
प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले आफ्नो माग र आक्रोश समेटिएका विभिन्न नारा लिखित प्लेकार्डहरू प्रदर्शन गरेका थिए। उनीहरूले ‘जनताको निक्षेप तुरुन्त फिर्ता गर’, ‘कर्णाली बैंक घोटालाका दोषीहरूलाई कारबाही गर’, ‘संस्थाहरूको बचत फिर्ता गर’ तथा ‘लगानी र बचतको ग्यारेन्टी गर’ जस्ता मागहरू राखिएका थिए।
प्रदर्शनमा सहभागी बचतकर्ताका अनुसार बैंकमा भएको चरम अनियमितता, आन्तरिक वित्तीय संकट र व्यवस्थापनको लापरबाहीका कारण हजारौँ सर्वसाधारणको अर्बौं रुपैयाँ जोखिममा परेको छ। वर्षौंदेखि पसिना बगाएर, छाक काटेर तथा वैदेशिक रोजगारीबाट पठाएको रेमिट्यान्ससमेत बैंकले रोकिदिँदा कतिपय परिवारको दैनिक जीविकोपार्जन नै ठप्प भएको छ।
यसअघि पीडितहरूले नेपालगञ्जस्थित नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय र कर्णाली डेभलपमेण्ट बैंकको केन्द्रीय कार्यालयमा चरणवद्ध रूपमा घेराउ तथा धर्ना कार्यक्रम गरेका थिए। स्थानीय स्तरमा आन्दोलन गर्दा नियामक निकाय र बैंक सञ्चालकहरूले बचत फिर्ता गर्ने आश्वासन दिए पनि महिनौँ बित्दा समेत कुनै ठोस प्रगति नभएपछि बाध्य भएर काठमाडौँ आउनु परेको पीडित समूहका प्रतिनिधिहरूले बताए।
‘गाउँ-घरमा कसैले हाम्रो रोदन सुनेनन्। राष्ट्र बैंक र सरकारले अनुमति दिएकै कारण हामीले सुरक्षित ठानेर बैंकमा पैसा राखेका थियौँ। तर आज आफ्नै पैसा माग्न जाँदा रित्तो हात फर्किनु परेको छ,’ माइतीघरमा भेटिएका एक आक्रोशित बचतकर्ताले भने, ‘अहिले बिरामी पर्दा उपचार गर्ने, छोराछोरीको विद्यालयको शुल्क तिर्ने र घरखर्च चलाउने पैसा समेत छैन। सरकारले हाम्रो अभिभावकत्व लिनुपर्छ।’
पीडित बचतकर्ताहरूले बैंकका संस्थापक, भ्रष्ट पदाधिकारी र घोटालामा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन्। उनीहरूले सहकारी पीडितहरूको समस्या समाधान गर्न सरकारले चासो देखाए जस्तै बैंकमा फसेको सर्वसाधारणको निक्षेप फिर्ता गराउने जिम्मेवारी पनि सरकार र केन्द्रीय बैंकले नै लिनुपर्ने अडान राखेका छन्।
काठमाडौँको माइतीघरमा सुरु भएको यो आन्दोलनलाई अझ सशक्त बनाउने र माग पूरा नभएसम्म घर नफर्किने चेतावनी पीडितहरूले दिएका छन्।