काठमाडौं। चीनले नेपालमा चिनियाँ लगानीका लागि अनुकूल व्यावसायिक वातावरण बनाउन आग्रह गरेको छ।
बेइजिङमा परराष्ट्रमन्त्री शिशिर खनाल सँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने भन्दै नेपालले निष्पक्ष, पारदर्शी र लगानीमैत्री वातावरण सुनिश्चित गर्नुपर्ने बताएका छन्।
‘उनले (वाङ) चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले थप निष्पक्ष, पारदर्शी तथा अनुकूल व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा गरेको बताए,’ चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ। नेपालमा चिनियाँ लगानी तथा वित्तीय सहयोग मुख्यतः जलविद्युत्, विमानस्थल, सिमेन्ट उद्योग, सडक, ऊर्जा क्षेत्रमा केन्द्रित छन्।
भेटमा दुवै पक्षले बहुपक्षीय मञ्चमा सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए। चिनियाँ विदेशमन्त्री वाङले उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गत विद्युत् प्रसारण सञ्जाल, सडक, नाका तथा हवाई यातायातलगायत क्षेत्रमा सहकार्य विस्तार गरी नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
वाङले चीन नेपालका लागि विकास र समृद्धिको यात्रामा भरपर्दो छिमेकी तथा साझेदार रहने बताएका छन्।