काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत २० प्रतिशत अनिवार्य व्यवसाय सुनिश्चित गरिदिएर बजार संरक्षणको नीति लिएको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को आन्तरिक वित्तीय स्वास्थ्य भने भयावह देखिएको छ। लामो समयको ढिलाइपछि आज (असार २ गते) कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो र दोस्रो त्रैमासिक वित्तीय विवरणले कम्पनी गम्भीर वित्तीय संकटतर्फ धकेलिएको संकेत गरेको हो।
एकातिर सरकारले यो कम्पनीलाई व्यावसायिक एकाधिकारतर्फ लैजाँदै छ भने अर्कोतिर कम्पनीको जगेडा कोष र नाफाको अवस्था निकै कमजोर बनेको छ। लामो समयदेखि गुपचुप राखिएको कम्पनीको वास्तविक वित्तीय अवस्था भने अत्यन्तै जर्जर र जोखिमपूर्ण देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास बितिसक्दा कम्पनीले सार्वजनिक गरेको पहिलो र दोस्रो त्रैमासको वित्तीय विवरणले सरकारी संरक्षणको बुस्टर डोज पाएको कम्पनीको आन्तरिक स्वास्थ्य भने भेन्टिलेटरमा पुगेको छ। ८ अर्ब रुपैयाँको हाराहारीमा खुद नोक्सानी र १५ अर्बभन्दा बढीको भुक्तानी हुन बाँकी दाबीले कम्पनीको अस्तित्वमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा नेपाल रिले ७ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५३ करोड २६ लाख रुपैयाँ खुद नाफामा थियो।
यो वर्षको पहिलो त्रैमास (असोज मसान्त) मा मात्रै कम्पनीले ७ अर्ब ८६ करोड नोक्सानी व्यहोरेको थियो, जसमा दोस्रो त्रैमासमा थप १२ करोड ३५ लाख रुपैयाँ नोक्सानी थपिएको छ। नाफाबाट एकैपटक अर्बौंको नोक्सानीमा जानुको मुख्य कारण दाबी भुक्तानीको लागि गरिएको भारी प्रोभिजनिङ (नोक्सानी व्यवस्था) रहेको देखिन्छ।

घाटाका कारण कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ५९.४९ रुपैयाँ ऋणात्मक छ। अघिल्लो वर्षको दोस्रो त्रैमासमा ५.३६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले ५९ रुपैयाँले ऋणात्मक हुनु लगानीकर्ताका लागि ठूलो धक्का हो।
कम्पनीको व्यवसाय गर्ने क्षमतामा पनि संकुचन आएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यो वर्षको सोही अवधिमा ४ अर्ब ९ करोड रुपैयाँ मात्र संकलन गरेको छ। यो गत वर्षको तुलनामा करिब ६.३९ प्रतिशतको गिरावट हो। वैदेशिक बजार र स्वदेशी बजारमा निजी क्षेत्रको हिमालयन रिलाई खुला प्रतिस्पर्धा छोडिदिँदा नेपाल रिको व्यवसायमा प्रत्यक्ष असर परेको देखिन्छ।
यस्तै, चालु आवको दोस्रो त्रैमासमा कम्पनीले ३ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ खुद आर्जित बीमा शुल्कको संकलन गरेको छ। पहिलो त्रैमासमा कुल आर्जित बीमा शुल्क १ अर्ब ८१ करोड रुपैयाँ र खुद आर्जित बीमा शुल्क १ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको कुल सञ्चालन आम्दानी दोस्रो त्रैमाससम्ममा ४ अर्ब २७ करोड ५३ लाख रुपैयाँ पुगेको छ। तर, आम्दानीको तुलनामा खर्च र दाबीको भार यति उच्च छ कि त्यसले कम्पनीलाई ठूलो खाडलमा धकेलेको छ। दोस्रो त्रैमाससम्मको कुल खर्च १२ अर्ब २६ करोड रुपैयाँ भन्दा बढी पुगेको छ।
पुँजीभन्दा बढी दाबी भुक्तानी
नेपाल रिको सबैभन्दा डरलाग्दो पाटो यसको दाबी भुक्तानीको अवस्था हो। वित्तीय विवरण अनुसार पुस मसान्तसम्म कम्पनीमा परेको कुल दाबी १५ अर्ब ५२ करोड ८२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो दाबी जम्मा ४ अर्ब १६ करोड ९६ लाख रुपैयाँ मात्र थियो।
एक वर्षको अवधिमा दाबीको दायित्व झन्डै २७२ प्रतिशतले बढेको छ। ६ महिनाको अवधिमा कम्पनीले ३ अर्ब ६४ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ, तर अझै १५ अर्ब भन्दा बढीको दायित्व बाँकी रहनुले कम्पनीको नगद प्रवाह र भुक्तानी क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।
यो १५ अर्ब रुपैयाँको दायित्व कम्पनीको कुल चुक्ता पुँजी (१३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ) भन्दा पनि बढी हो। यदि सबै दाबीकर्ता (बीमा कम्पनी) ले एकैपटक भुक्तानी माग गर्ने हो भने कम्पनीसँग त्यसलाई धान्न सक्ने तरल सम्पत्ति र पुँजी पर्याप्त देखिँदैन।
कोषहरूको अवस्था र जोखिम धान्न सक्ने क्षमता
कम्पनीको जगेडा कोष र अन्य विशेष कोषहरूको अवस्थाले कम्पनीको जोखिम धान्ने क्षमता कमजोर भएको पुष्टि हुन्छ। कम्पनीको चुक्ता पुँजी १३ अर्ब २२ करोड १८ लाख रुपैयाँ छ। तर, निरन्तरको नोक्सानीका कारण कम्पनीको रिटेन्ड अर्निङ (जगेडा कोष) ७ अर्ब ५ करोड रुपैयाँले ऋणात्मक भइसकेको छ। अर्कोतर्फ कम्पनीसँग ४२ करोड ७६ लाख रुपैयाँ मात्र महाविपत्ति कोषमा छ। १५ अर्बको दाबी दायित्व बोकेको कम्पनीका लागि ४२ करोडको कोष ‘हात्तीको मुखमा जिरा’ जस्तै देखिन्छ। साथै, कम्पनीको विशेष जगेडा कोषमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ रहेको छ।
यी कोषहरू भए तापनि ७ अर्बको सञ्चित नोक्सानीले कम्पनीको नेटवर्थमा ठूलो क्षति पुर्याएको छ। अघिल्लो वर्ष २८८.४३ रुपैयाँ रहेको प्रतिसेयर नेटवर्थ अंकित मूल्य चालु वर्षको दोस्रो त्रैमासमा १०० रुपैयाँबाट घटेर ९३ रुपैयाँ १६ पैसामा झरेको छ। यसले के देखाउँछ भने यदि आजको मितिमा कम्पनीले आफ्ना सबै दायित्व सेटल गर्नुपर्ने हो भने यसको पुँजीले समेत धान्न मुस्किल पर्नेछ।
कम्पनीको प्रष्टीकरण
वित्तीय विवरणसँगै कम्पनीले आफ्नो वर्तमान अवस्था र चुनौतीका बारेमा केही प्रष्टीकरणहरू दिएको छ। कम्पनीले महाविपत्ति र अनपेक्षित ठूला दाबीहरूका कारण वित्तीय सन्तुलन बिग्रेको स्वीकार गरेको छ। पुनर्बीमा जस्तो प्राविधिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति नहुँदा सञ्चालन कार्यमा कठिनाइ भएको उल्लेख छ। स्वदेशी बीमा कम्पनीहरूबाट समयमै हिसाब विवरण (सेटलमेन्ट अफ एकाउन्ट) प्राप्त नहुँदा वित्तीय विवरण तयार पार्न र दाबी व्यवस्थापनमा ढिलाइ भएको कम्पनीको दाबी छ। साथै, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपको ब्याजदर घट्दा लगानीबाट हुने आम्दानीमा संकुचन आएको कम्पनीले जनाएको छ।
नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गरेको यो पछिल्लो वित्तीय विवरणले कम्पनीको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको देखाउँछ। सरकारले २० प्रतिशत व्यापार सुनिश्चित गरिदिएर कम्पनीलाई जोगाउन खोजे पनि १५ अर्बको दाबी दायित्व र ८ अर्बको घाटाले कम्पनीको जग हल्लाइदिएको छ। सुशासनको अभाव, ढिलो गरी सार्वजनिक गरिएको वित्तीय विवरण र नकारात्मक नेटवर्थले गर्दा सेयर बजारका लगानीकर्ताहरू अब थप सचेत हुनुपर्ने देखिन्छ। केबल सरकारी संरक्षणले मात्र नभई, दाबी भुक्तानीको प्रभावकारी व्यवस्थापन र आन्तरिक सुशासनमा आमूल परिवर्तन नआएसम्म यो कम्पनीलाई संकटमुक्त बनाउन कठिन हुने देखिन्छ।