काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडले ९ महिनामै करिब ५ अर्ब रुपैयाँको व्यापार गरेको छ। नेपालको सिमेन्ट उद्योगमा स्थापित र अग्रणी ब्रान्ड शिवम् सिमेन्टले चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महिनामा ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले विगत ३ वर्षयता पौने ८ अर्ब रुपैयाँ हाराहारीमा व्यापार गरिरहेको छ। कम्पनीले सन् २०२५ मा ७ अर्ब ७६ करोड, सन् २०२४ मा ७ अर्ब ७० करोड र सन् ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो। व्यापारसँगै कम्पनीको मजबुत पुँजीगत संरचना र बजारको बलियो पकडलाई मध्यनजर गर्दै इक्रा नेपालले कम्पनीले बैंकहरूबाट उपयोग गरिरहेको कुल ३ अर्ब १० करोड रुपैयाँ बराबरको बैंक ऋणको साख (रेटिङ) लाई पुनः पुष्टि गरेको छ। एजेन्सीले कम्पनीको २१ लाख ६० हजार रुपैयाँको दीर्घकालीन ऋणका लागि एलए प्लस र ३ अर्ब ९ करोड ८० लाख रुपैयाँको अल्पकालीन ऋणका लागि ए वान रेटिङ प्रदान गरेको हो। यी रेटिङले कम्पनीसँग आफ्नो अल्पकालीन वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमता रहेको र लगानीमा न्यून जोखिम रहेको बुझाउँछ।
यस्तै, चालू आवको ९ महिनामा कम्पनीले ६१ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो पूर्ण आर्थिक वर्ष २०२४/२५ मा कम्पनीको खुद नाफा ७९ करोड ८० लाख रुपैयाँ रहेको थियो। प्रति बोरा सिमेन्टको आम्दानीमा भएको सुधारका कारण कम्पनीको सञ्चालन नाफा मार्जिन ८.४ प्रतिशतबाट बढेर १५ प्रतिशत पुगेको छ।
शिवम् सिमेन्टको सबैभन्दा ठूलो शक्ति यसको न्यूनऋण रहेको पुँजीगत संरचना हो। प्रतिवेदनअनुसार कम्पनीको ऋण र नेटवर्थको अनुपात मात्र ०.०३ गुणा छ, जुन अत्यन्तै न्यून हो। कम्पनीको सञ्चालन नाफा र ऋणको अनुपात ०.२८ गुणा मात्र छ। कम्पनीसँग बैंकबाट थप १ अर्ब रुपैयाँ ऋण लिन सक्ने सीमा अझै बाँकी छ भने नगद मौज्दात मात्र २७ करोड ९० लाख रुपैयाँ रहेको छ। बैंकको ब्याज तिर्न सक्ने क्षमता ७१ गुणा हुनुले कम्पनी वित्तीय रूपमा निकै सुरक्षित रहेको पुष्टि गर्छ।
सन् २००३ मा स्थापित यो उद्योगमा नेपालका ठूला व्यापारिक घरानाहरू लक्की ग्रुप, गोयल ग्रुप, शारडा ग्रुप, भीमसारिया ग्रुप र मारु ग्रुपको लगानी रहेको छ। शिवम् सिमेन्ट नेपालको ओपीसी सिमेन्ट बजारमा एकछत्र राज गरिरहेको ब्रान्ड हो। अनुभवी व्यवस्थापन, न्यून ऋण भार र होङ्शी जस्तो ठूलो उद्योगमा रहेको लगानीका कारण शिवम् सिमेन्टको भविष्य सुरक्षित देखिएको छ।
शिवम् सिमेन्टको नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्शी शिवम् सिमेन्टमा करिब २६ प्रतिशत अप्रत्यक्ष सेयर लगानी रहेको छ। होङ्शीले विगतका केही वर्षदेखि नियमित लाभांश दिइरहेका कारण शिवम् सिमेन्टको खुद नाफा बढाउन यसले ठूलो मद्दत पुर्याएको छ।
सबल वित्तीय अवस्थाका बाबजुद कम्पनीका सामु केही चुनौतीहरू पनि छन्। नेपाल विद्युत प्राधिकरणसँगको डेडिकेटेड फिडर र ट्रंक लाइनसम्बन्धी महसुल विवाद शिवम्का लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ। प्राधिकरणले १ अर्ब ३० करोड रुपैयाँ थप महसुल माग गरेकोमा कम्पनीले सो बराबरको रकम सम्भावित दायित्वका रूपमा छुट्टाइसकेको छ। यद्यपि, हालै प्राधिकरणले पुनः ६६ करोड ९० लाखको नयाँ दाबी गरेकाले कानुनी लडाइँको परिणामले कम्पनीको तरलतामा प्रभाव पार्न सक्ने जोखिम छ।
यसका साथै, सिमेन्ट उद्योगमा रहेको चर्को प्रतिस्पर्धा, चुनढुङ्गा र कोइलाको मूल्यमा हुने अन्तर्राष्ट्रिय उतारचढाव र निर्माण क्षेत्रमा देखिएको सुस्तता कम्पनीका लागि बाह्य जोखिम हुन्। कम्पनीको उत्पादन प्लान्ट मकवानपुरको हेटौँडामा मात्र केन्द्रित भएकाले ढुवानी खर्चको चाप र क्षेत्रीय मागमा हुने परिवर्तनले पनि नाफामा असर पार्न सक्छ। विद्युत् महसुल विवादको सुरक्षित अवतरण र पूर्वाधार विकासमा सरकारी खर्च बढेमा आगामी दिनमा कम्पनीको वित्तीय साख अझ मजबुत हुने रेटिङ रिपोर्टले औंल्याएको छ।