काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सघन सहरी कार्यक्रमअन्तर्गत करिब ३०० सहरका बजार व्यवस्थित गरिने बताएका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले उक्त कार्यक्रमका लागि तीन वर्षे कार्ययोजनासहित ८८ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार खरिद प्रक्रियाको अवधि १८–२१ महिनाबाट घटाएर ६–७ महिनामा सीमित गर्ने व्यवस्था गरिएको छ। तीन वर्षे कार्ययोजनाअन्तर्गत सडक, पुल, सहरी पूर्वाधार, खानेपानी, खेलकुद र पर्यटन क्षेत्रका आयोजनामा करिब ११ खर्ब ५० अर्ब रुपैयाँ बराबरका योजना अघि बढाइनेछ।
मन्त्री लम्सालले तीन वर्षभित्र जिल्ला सदरमुकाम जोड्ने एक लेन सडकलाई दुई लेनमा स्तरोन्नति गर्ने, पहिचान भएका पहिरो व्यवस्थापन गर्ने तथा सडक सुरक्षाका लागि ४ अर्ब ७४ करोड रुपैयाँ छुट्याइएको बताए। स्थानीय तह र वडा केन्द्र जोड्ने सडकका लागि क्रमशः ६३ अर्ब र २८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ भने तीन हजार स्थानीय पुल निर्माणका लागि ८१ अर्ब २२ करोड रुपैयाँ व्यवस्था गरिएको छ।
काठमाडौँ उपत्यकालाई धुलोरहित बनाउने कार्यक्रमका लागि १९ अर्ब ४८ करोड रुपैयाँ छुट्याइएको छ। साथै आगामी तीन वर्षमा १० फुटबल रंगशाला, आठ क्रिकेट रंगशाला र सात कभर्ड हल निर्माण गर्ने लक्ष्यसहित क्रमशः ५ अर्ब, ४ अर्ब र ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री लम्सालले जानकारी दिए।