काठमाडौं। प्रतिनिधिसभामा मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै अदृश्य गिरोहले शासन चलाइरहेको आरोप लगाएको छ।
आज संसद् बैठकको आकस्मिक समयमा कांग्रेस सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र कालो चस्मा लगाएको कुनै अदृश्य गिरोहले संवैधानिक निकायलाई दबाबमा राखेर ‘जंगलीराज’ चलाउन खोजेको आरोप लगाएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ९ घन्टासम्म राखेर दबाब दिइएको समाचार सार्वजनिक भएकोबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे।
‘अख्तियारका अधिकारीलाई ९ घन्टासम्म राखेर विशेष व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिइएको छ भन्ने सुनिन्छ, यो विधिको शासन हो कि जंगलीराज? यसबारे कांग्रेसले उत्तर चाहन्छ। कांग्रेसले लोकतन्त्र विरोधी हर्कतलाई कुनै पनि हालतमा स्वीकार्दैन। अख्तियार कुनै प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्र होइन, यो संवैधानिक अंग हो। यसको काम नै आवश्यक परेका बेला सरकारमाथि निगरानी राख्ने र राज्य शक्तिमा ‘चेक एन्ड ब्यालेन्स’ कायम गर्ने हो,’ उनले भने।
भ्रष्टाचार गर्ने व्यक्ति कांग्रेसको नेता होस् वा कुनै अरु दलको, पूर्वप्रधानमन्त्री होस् वा वर्तमान पदाधिकारी। कानुनभन्दा माथि नहुने उनको भनाइ छ। तर, प्रक्रिया विधिसम्मत र कानुनबमोजिम हुनुपर्ने पार्टीको मान्यता रहेको उनले बताए।
सांसद बुढाले प्रधानमन्त्री संसद्को सामना गर्न डराएको आरोप लगाए । ‘जुन संसद्ले प्रधानमन्त्री बनायो, त्यही संसद्लाई प्रधानमन्त्रीले उपेक्षा गरिरहनुभएको छ,’ उनले भने, ‘बजेटको प्रश्न होस् वा सीमाको विषय। प्रधानमन्त्री संसदमा आएर जवाफ दिन चाहनुहुन्न।’