काठमाडौं। विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधिका लागि अर्जेन्टिना र स्पेन आइतबार मध्यराति आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार राति १२ः४५ बजे हुने फिफा विश्वकप फाइनलको रोमाञ्चलाई लक्षित गर्दै काठमाडौंका पाँचतारे होटलहरूले विशेष 'वाच पार्टी' प्याकेज सार्वजनिक गरेका छन्। फुटबलप्रेमीलाई एकै ठाउँमा खेल, मनोरञ्जन र विलासितापूर्ण आतिथ्यको अनुभव दिने उद्देश्यले होटलहरूले बियर, खानपान, आवास र स्पा सुविधासहित आकर्षक छुटका प्रस्ताव ल्याएका हुन्।
र्याडिसन काठमाडौं, काठमाडौं म्यारियट, रम्दा इटहरी, रोयल ट्युलिप रिसोर्ट चितवन, होलिडे इन रिसोर्ट काठमाडौं बुढानीलकण्ठ र दुसित थानी रिसोर्ट काभ्रे लगायतका पाँचतारे होटलहरूले विश्वकप फाइनलको अवसरमा विभिन्न प्याकेज सार्वजनिक गरेका छन्।
कतै दुई जनाका लागि आवास, बिहानको खाजा, बेलुकाको खाना, बियर, स्विमिङपुल र स्पा सुविधासहितको प्रस्ताव छ भने कतै बियर बकेट, खानामा छुट र आरामदायी आवासको व्यवस्था गरिएको छ। विश्व फुटबलको सबैभन्दा ठूलो रातलाई घरभन्दा फरक वातावरणमा परिवार वा साथीभाइसँग मनाउन चाहने समर्थकलाई लक्षित गर्दै यी विशेष प्रस्ताव ल्याइएको होटलहरूले जनाएका छन्। हाल काठमाडौंसहित विभिन्न होटल, रिसोर्ट र रेस्टुरेन्टहरूले विश्वकप प्रत्यक्ष हेर्नका लागि यस्ता अफरहरू सार्वजनिक गरिरहेका छन्।
र्याडिसन होटल

फिफा विश्वकपको फाइनल खेललाई विशेष बनाउन र्याडिसन होटल काठमाडौंले फुटबलप्रेमीका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ। होटलले फाइनल खेल हेर्ने मात्र नभई अविस्मरणीय अनुभव दिने उद्देश्यका साथ डबल अकुपेन्सीका लागि २० हजार रुपैयाँको विशेष प्याकेज ल्याएको छ। यस प्याकेजअन्तर्गत दुई जनाका लागि बुफे ब्रेकफास्ट, चार–चार बोतलसहितका दुई बियर बकेट, खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट र आरामदायी एक रातको बसाइ समावेश गरिएको छ। होटलका अनुसार, विश्व फुटबलको सबैभन्दा ठूलो फाइनलको रोमाञ्चलाई विलासितापूर्ण आतिथ्यसँग जोड्दै पाहुनालाई विशेष अनुभव दिने लक्ष्यसहित यो प्रस्ताव ल्याइएको हो।
काठमाडौं म्यारियट

फाइनल खेललाई लक्षित गरी पाँचतारे होटल काठमाडौं म्यारियटले आकर्षक प्याकेज ल्याएको छ। प्याकेजअन्तर्गत प्रतिव्यक्ति ९ हजार रुपैयाँमा असीमित बियर र स्न्याक्स दिइने होटलले जनाएको छ। यो प्रस्ताव खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि, अर्थात् राति १२ बजेदेखि खेल नसकिँदासम्म लागू हुने बताइएको छ।
फेयरफिल्ड म्यारियट

विश्वकप फाइनल खेललाई लक्षित गरी काठमाडौंको ठमेलस्थित फेयरफिल्डले आकर्षक प्याकेज ल्याएको छ। उक्त प्याकेजअन्तर्गत प्रतिव्यक्ति २ हजार २६ रुपैयाँमा एक ग्लास बियर र असीमित स्न्याक्स दिइने होटलले जनाएको छ। यो प्रस्ताव खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि, अर्थात् राति १२ बजेदेखि खेल नसकिँदासम्म लागू हुने बताइएको छ।
रम्दा इटहरी

इटहरीमा सञ्चालित पाँचतारे होटल रम्दाले विश्वकप फाइनल हेर्न आउनेहरूका लागि आकर्षक प्रस्ताव ल्याएको छ। 'लाइभ द बिग स्क्रिन' नाराका साथ सार्वजनिक गरिएको यस अफरअनुसार एक जनालाई २ हजार ५०० रुपैयाँमा २ क्यान बियर र स्न्याक्स, तथा दुई जनाका लागि ५ हजार रुपैयाँमा ४ क्यान बियर र स्न्याक्स दिइनेछ। साथै, सबै आ-ला-कार्ट डाइनिङमा १० प्रतिशत छुट दिइनेछ। कोठामा बस्नेका लागि एक जनाको ६ हजार ५०० र दुई जनाको ७ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ, जसमा एक क्यान बियर निःशुल्क र खानामा १० प्रतिशत छुट समावेश छ।
रोयल ट्युलिप रिसोर्ट चितवन

विश्वकप फाइनल खेललाई लक्षित गरी चितवनको सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट रोयल ट्युलिपले विशेष प्याकेज सार्वजनिक गरेको छ। रिसोर्टले खाना र पेय पदार्थमा २० प्रतिशत छुट दिने घोषणा गरेको हो। होटलको सबैभन्दा ठूलो स्क्रिनमा फुटबलको फाइनल हेर्दै रम्न चाहनेहरूलाई लक्षित गरी यो आकर्षक प्रस्ताव ल्याइएको हो।
होलिडे इन रिसोर्ट बुढानीलकण्ठ

होलिडे इन रिसोर्ट काठमाडौं बुढानीलकण्ठले विशेष प्याकेज सार्वजनिक गरेको छ। प्याकेजअन्तर्गत दुई जनाका लागि आवास, बिहानको खाजा र बेलुकाको खाना, दुई वटा निःशुल्क बियर, साँझको हाई-टी, स्विमिङपुल, स्टीम तथा साउना सुविधाको प्रयोग समावेश छ। साथै, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा १० प्रतिशत छुट पनि पाइनेछ। १२ वर्षमुनिका बालबालिकाका लागि आवास निःशुल्क हुने रिसोर्टले जनाएको छ।
दुसित थानी रिसोर्ट काभ्रे

एक रातको लक्जरी बसाइ, ब्रेकफास्ट र लाइभ स्क्रिनमा फुटबल हेर्ने सुविधासहितको प्याकेज रिसोर्टले ल्याएको छ। फुटबल हेर्न आउनेहरूलाई लक्षित गरी रिसोर्टले २० प्रतिशत छुट दिने घोषणा गरेको छ, जसअन्तर्गत असीमित बार्बेक्यु, खेल अवधिभर विभिन्न परिकारका स्न्याक्स र फुड-बेभरेजमा २० प्रतिशत छुट समावेश छ।
सोल्टीको प्रस्ताव 'सोल्ड आउट'

सोल्टी होटलले भने फुटबल हेर्नका लागि ल्याएको प्रस्ताव पूर्ण रूपमा बन्द भइसकेको जनाएको छ। होटलको स्पोर्ट्स बारमा देखाइने फुटबलका लागि 'बाई वान गेट वान' अफर सार्वजनिक गरिएको थियो, जुन फाइनलका लागि पहिले नै पूर्ण रूपमा बुकिङ भइसकेको उल्लेख छ।
बेष्ट वेस्टर्न प्लस गोदावरी रिसोर्ट

ललितपुरको गोदावरी सञ्चालित बेष्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टले फुटबल प्रेमीहरूलाई रोमाञ्चक वातावरणमा प्रत्यक्ष खेल हेर्ने अवसर प्रदान गर्दै प्रति व्यक्ति २,५०० रुपैयाँमा प्रवेश, स्न्याक्स तथा दुई बियर समावेश गरिएको प्याकेज ल्याएका छन्।
यस्तै, खेलसँगै बसोबासको सुविधा चाहने दर्शकका लागि दुई जनाको ‘स्टे एन्ड वाच’ प्याकेज १४,५०० रुपैयाँमा उपलब्ध गराइएको छ।