काठमाडौं । गोल्छा समूहले सोमबार श्रीराम सुगर मिल्स लिमिटेड सदाका लागि बन्दको घोषणा गरेको छ । मिल्सले ५ वर्षदेखि किसानको ऊखु किनेको करोडौ रुपैयाँ वक्यौता भुक्तानी गरेको छैन् ।
गोल्छा समूहले दुई दशकअघि स्थापना गरेको सो उद्योग बन्द भएपछि किसानले पाउने उखुको भुक्तानी अनल्यौंलमा छ । यद्यपी व्यवस्थापनले उद्योगको चलअचल सम्पत्ति बिक्री गरेर ऊखु किसानको वक्यौता र अन्य दायित्व भुक्तानी गर्ने जानकारी दिएको छ ।
गोल्छाको श्रीराम सुगर मिल्स सधैंका लागि बन्द, २१७ करोड सञ्चित नोक्सानमा
उद्योगले उखु किसानलाई झन्डै २६ करोड रुपैयाँ भुक्तानी बाँकी छ । उद्योगले किसानको वक्यौता भुक्तानी दिन नसकेपछि उखु क्रसिङ नै गरेन् । यो वर्ष १३ दिन मात्र उद्योग चलेको व्यवस्थापनको भनाई छ । उद्योग २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ सञ्चित नोक्सानमा रहेको व्यवस्थापनले जानकारी दिएको छ ।
सुरुवात चरणमा मिल्सको ३० देखि ३५ लाख क्विन्टल वार्षिक ऊखु क्रसिङ क्षमता थियो । पछिल्लो पटक भने श्रीरामले ५ देखि ८ लाख क्विन्टल मात्रै ऊखु क्रसिङ गर्यो ।
उद्योग बन्द भएपनि इन्दुशंकर, एभरेष्ट, रिलायन्स र बाबा बैजनाथ लगायतका चिनी उद्योगले किसानको उखु क्रसिङ गर्ने छन । उखु बिक्री गर्न गाह्रो नभएको उखु किसान बताउँछन् । उद्योग बन्द भएपछि झन्डै ८०० जना किसानले ऊखु अन्य उद्योगमा बिक्री गर्ने छन ।
श्रीराम उद्योग बन्द भए पनि किसानको भुक्तानी दिलाउन सरकारले नै पहल गर्नुपर्ने ऊखु किसान संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । ‘अहिले उखु किसानको मुख्य समस्या भुक्तानी नै हो । श्रीराम मात्रै होइन्, अन्य उद्योगमा पनि यो समस्या छ । सरकारले समयमै उखु किसानले भुक्तानीको वातावरण बनाउनुपर्छ’ उनले क्यापिटल नेपालसंग भने ।
श्रीरामले किसानको भुक्तानी जग्गा बेचेर तिर्छु भनेको थियो, त्यसलाई त्यहाँका स्थानीय र किसानले स्वीकारेनन् । स्थानीयले उक्त जग्गा बेच्न दिएनन् र त्यसपछि उद्योग धराशायी हुँदै आएको थियो ।
मिलले किसानको पैसा रोक्न नहुने उद्योग राज्यमन्त्री मोतीलाल दुगड बताउँछन् । उद्योग बन्द भए पनि कानूनी व्यवस्था हेर्दै उद्योगपति र किसानसँग बसेर छलफल गरी भुक्तानी दिने वातावरण मिलाउने प्रयत्न गरिने उनले बताए ।
‘किसानलाई पूरै तिर्न नसकेपनि केही हिस्सा रकम त उद्योगले तिर्नैपर्छ । त्यसका लागि हामीले वातावरण बनाउँछौं । दुवै पक्षलाई छलफलमा बोलाएर, राखेर दुवैपक्षको समस्या बुझेर केही निष्कर्षमा पुग्नेछौं भन्ने मलाई विश्वास छ ।’ उनले भने ।