काठमाडौं । नेपाली कांग्रेसले मुलुकलाई उद्यम, व्यवसाय गर्न चाहाने हरेक जनशक्तिका लागि अवसर उपलब्ध गराउने र रोजगारी गर्न चाहानेलाई रोजगारी उपलब्ध राउने गरी राष्ट्रव्यापी रुपमा गरिखाने अभियान सञ्चालनको तयारी गरेको छ ।
कोरोना भाइरस महामारीले स्वदेशमा धरैको उद्यमशील जनशक्तिको रोजगारी गुमेको अवस्थामा कांग्रेसले यस्तो अभियान सञ्चालनको तयारी गरेको हो । अभियान सञ्चालनका लागि मुलुकमा सम्भावित परियोजनाहरुको सूची तयार गर्ने, आकांक्षी व्यक्तिहरु पहिचान गरी उनीहरुलाई सीप, पुँजी, प्रविधि, बजारको उपलब्धता, मूल्य श्रृंखलामा आवद्धता गरिदिने गर्नेछ ।
कांग्रेसले सरकार, निजी क्षेत्र, दातृ निकायले सञ्चालन गर्ने कार्यक्रमहरुमा त्यस्ता आकांक्षी युवालाई जोडिदिने, उनीहरुलाई बैंक तथा वित्तिय संस्थासँग समन्वय गरी पुँजी उपलब्ध गराइदिने, आवश्यक बजार तथा मूल्य श्रृंखलामा आवद्ध गर्न स्थानीय सरकारसँग समन्वय गरी सो अभियान सञ्चालन गर्न पहल गर्ने सोच राखेको छ ।
उद्यमशीलता सञ्चालन गर्न चाहानेहरुको विवरण संकलन गर्न मोबाइल एप्लीकेसन समेत तयार पारिने कांग्रेसले जनाएको छ । गरिखाने अभियान आगामी ३ महिनाभित्र घोषणा गर्ने समितिको योजना छ ।
नेपाली कांग्रेसको लगानी, पूर्वाधार तथा रोजगार समितिले ३ सदस्यीय गरिखाने अभियान समिति बनाएर अध्ययन र अनुसन्धानको काम अघि बढाएको छ ।