काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस, त्यसलाई नियन्त्रण गर्न जारी लकडाउन तथा निषेधाज्ञा । यसैको चपेटामा परे आयातकर्ता । सम्पूर्ण प्रक्रिया पूरा गरेर सामान आयात गर्यो, व्यापारी कहिले कुन क्षेत्रमा लकडाउन त कहिले निषेधाज्ञाको शिकार बनिरहे ।
खासगरी, विश्वभर कोरोना भाइरस फैलिँदै गएपछि संसारका धेरै मुलुकमा उद्योग बन्द हुन पुगे । उत्पादन ठप्प भयो र नेपाली आयातकर्ताले त्यहाँबाट सामान मगाउन सकेनन् ।
‘छिटफूट रुपमा खुलेका उद्योगबाट उत्पादन भएका सामान सिपमेन्ट गराए पनि बीच बाटोमा हुने अवरोध कुरै नगरौं,’ एक आयातकर्ता व्यापारीले भने, ‘उसै पनि भनेजस्तो सामान पाइएको छैन् । त्यसमाथि बीच–बीचमा हुने अवरोधले सामानको लागत यत्ति बढ्यो कि स्वदेशी भन्दा धेरै महँगो भयो । त्यो पनि ल्याउनै सकिएन् ।’
नेपाली सामानलाई बेवास्ता गरेर विदेशबाट सामान मगाउने बढी मार्जिन राखेर कारोबार गर्ने सोच बनाएर अघि बढ्दा चैतयता धेरै आयातकर्ताले करोडौं गुमाएपछि अहिले उनीहरु सोच बदलिएको छ । कम मार्जिनमा कारोबार गर्ने तर, नेपाली सामान नै बेच्ने अठोटमा पुगेका उनीहरु छन् ।
विदेशी सामान नेपालको तुलनामा केही महँगो हुने भएकाले अधिकांश आयातकर्ताले उतै (भारत तथा तेस्रो मुलुक)बाट सामान मगाउँथे । तर, लकडाउन र निषेधाज्ञाले आयातकर्ता व्यापारीलाई ठूलै झड्का दिएको उनीहरुको बुझाइ छ ।
खासगरी, डेमोरेज चार्ज र बीचमा हुने अवरोधका कारण आयातकर्ताहरु हैरान भएर अहिले स्वदेशी उद्योगीसँग डिलर माग्नेको लाइन लागेको छ ।
खासगरी, जुत्ता, चप्पल, कपडा, कार्पेट, डोरम्याट, खाद्यान्न, औषधिको डिलर माग्नेको लाइन भएको उद्योगीहरु बताउँछन् । हिजोका दिनमा यी सबै सामान विदेशबाट ल्याउने र बढी मार्जिनमा कारोबार गर्ने आयातकर्ताहरु अहिले स्वदेशी सामानको डिलर दिनू पर्यो भनेर आउन थाल्नु भएको छ,’ उद्योगी वीरेन्द्र साहले भने, ‘स्वदेशी उद्योगीका लागि यो एकदमै सकारात्मक कुरा हो ।’
एकातिर आयातकर्ताले पाउनुसम्म दुःख पाए भने अर्कोतिर नेपालीले पनि स्वदेशी उत्पादन रोज्न थालेपछि बाध्य भएर डिलर माग्नेको होडबाजी चल्न थालेको हो ।
अहिले उद्योगीले पनि विश्वमा भित्रिएका नयाँ नयाँ प्रविधिबाट सामानहरु उत्पादन गरिरहेका छन् । स्वदेशबाट उत्पादित सामाग्री उच्च गुणस्तरीय पनि छ । उत्पादन लागत क्रमिक रुपमा घट्दै गएकाले सस्तो पनि भइरहेको छ ।
त्यही भएर नेपालीको रोजाईमा स्वदेशी सामान पर्न थाले पनि हिजोका दिनमा आयात गरेर सामान बेच्नेहरु अहिले डिलर माग्न थालेको उद्योगीहरु बताउँछन् ।
कोठामा ओछ्याउने कार्पेट, डोरम्याट, चपिङ बोर्ड, चप्पल, जुत्ता, खाद्यान्नलगायतको डिलर माग्ने अत्यधिक बढ्दै गएका छन् ।
‘आयातकर्ताको चैतमा सिपमेन्ट भएको सामान अझै आईपुगेको छैन् । उसको डिटेन्सन र डेमोरेज चार्ज नै सामान भन्दा बढी भइसक्यो । अब त्यो सामान ल्याएर यहाँ कति मूल्यमा बेच्नु,’ ती आयाकर्ताले भने, ‘खासमा बढी मार्जिनको लोभमा विदेशबाट सामान मगाउन खोज्दा आफै डुबियो ।’
‘फेरी विदेशी सामान किनेको केही दिन भित्रै विग्रियो वा च्यातियो भने ग्राहकले कम्प्लेन गर्ने गर्छन् । तर, उनीहरुको गुनासो सुनुवाइ गर्ने ठाउँ पनि हुँदैन ।
यदि नेपालकै उद्योगले उत्पादन गरेको सामान बेच्यो भने त्यहाँ केही खराबी आएमा उद्योगलाई कम्प्लेन गर्न सकिन्छ,’ ती आयातकर्ताले भने, ‘कमसल सामान बनाएर बजारमा पठाउँदा उद्योगको बजार गुम्ने हुँदा उनीहरु पनि सजग हुन्छन् ।’
विराटनगरका एक उद्योगीका अनुसार अहिले स्वदेशी सामानको डिलर माग्नेको लर्को छ । यसले उद्योगीमा नयाँ उत्साहको सञ्चार भएको उनीहरुको बुझाइ छ ।
‘त्यो एकदमै राम्रो कुरा हो । स्वदेशी उत्पादनले नेपालीको मन जितेको र विदेशको तुलनामा सस्तो पनि भएकाले आर्कषण बढेको हो,’ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले भने, ‘उपभोक्ताले नै स्वदेशी उद्योगको सामान माग्न थालेपछि आयातकर्ताहरु बाध्य भएर डिलर दिन अनुरोध गरिरहेका छन् ।’
खासगरी, विदेशबाट आयात भएको खाद्यान्न त बिक्री हुन पनि छाडिसक्यो । ‘विदेश आयात भएको खाद्यान्नको तुलनामा स्वदेशी खाद्यान्न सस्तो हुनुका साथै गुणस्तरीय पनि छ,’ कुलेश्वरका खाद्यान्न आयातकर्ता व्यापारी रुपेश पाण्डेले भने, ‘विदेशबाट आयात गरिएको खाद्यान्नको माग नै कम भएको छ ।’
हरेक खाद्य वस्तु नेपालमै उत्पादन हुन्छ । विदेशबाट मगाएको खाद्यान्नको माग नै कम हुँदै गएको आरपी ग्रुपका प्रवन्ध निर्देशक समेत रहेका व्यापारी पाण्डे बताउँछन् ।