×

आईटी उद्यमी रुद्रराज पाण्डेः आफ्नै जगमा अर्बपति

images

आईटी उद्योगमार्फत ‘सेल्फमेड बिलिनियर’ बनेका उद्यमी रुद्रराज पाण्डेको समय २५ प्रतिशत नेपाल र ७५ प्रतिशत अमेरिकामा बित्छ । 

नेपाल र अमेरिकामा समान्तर सूचना प्रविधिको व्यवसाय गरिरहेका पाण्डेले केही समयअघि अमेरिकामा अर्बाैंमा दुइटा आईटी कम्पनी डिटु हकआई र डियरवाक बिक्री गरे । 

र, फेरि उनले डियरहोल्ड कम्पनी सुरु गरेका छन् । 

अमेरिका, नेपालबाहेक जापान र सिंगापुरमा पनि कम्पनी खोलेर सूचना प्रविधिको व्यवसायमा लागेका पाण्डे नेपालको डुइङ बिजनेसको अवस्था देखेर पछिल्लोपटक सामाजिक सञ्जालमार्फत निरन्तरजसो रोष प्रकट गरिरहेका छन् । 

अमेरिकाजस्तो विशाल र शक्तिशाली मुलुकमा कम्पनी स्थापना गर्दा हुने सहजता उनले नेपालमा खोजे । तर, पाएनन् । त्यसैलाई इंगित गर्दै उनले केही समयअघि सामाजिक सञ्जालमै नेपालमा कम्पनी स्थापना गर्दा हुने अनियमितता, घुसखोरी, ढिलासुस्तीका विषयमा खुलेर लेखे । स–साना कुराले कम्पनी स्थापना गर्न पारेको समस्यालाई उनले उजागर गरेपछि सामाजिक सञ्जालमा मात्र होइन सिंहदरबारभित्र समेत उनी नोटिसमा पर्न थाले । 

त्यसयता उनले दैनिकजसो नेपालमा हुने बेथिती र अनियमितताका विषयमा मात्र होइन, नीतिगत रुपमा आवश्यक पर्ने विषय उठान गरिरहेका छन् । साथै सरकारले हालै ल्याएको बजेटमा पनि सूचनाप्रविधिका विषयमा उनले सुझाव प्रस्तुत गरेका थिए । केही सुझाव बजेटमा समेटिएकामा आशावादी देखिएका छन् । 

पाण्डेले नेपालमा डियरवाक आईटी कम्पनीसँगै डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी कलेज सञ्चालन गरिरहेका छन् । डियरवाक त उनले बिक्री गरिसके । पछिल्लोपटक नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोमा समेत उनले लगानी गरेका छन् । 

धादिङ नौबिसेमा जन्मेका पाण्डेलाई सानैदेखि केही गरौं भन्ने उत्कण्ठा थियो । पद्मोदयबाट एसएसली दिएर बसेका थिए । रिजल्ट आउन ६ महिनाजस्तो कुर्नुपथ्र्यो । त्यो ६ महिना छुट्टी हुन्थ्यो । त्यति बेला उनको बसाइँ डिल्लीबजार फुपूकहाँ थियो । 

छुट्टीका बेला उनले बिजनेस गर्ने योजना बनाए । र, फुपूको घरको तल्लो तलामा पसल खोले । गाउँबाट दुई बोरा पोखरेली मसिनो चामल ल्याएर बेचे । तर, त्यो सबै उधारोमा गयो, कसैले पैसा दिएनन् । त्यसपछि उनलाई थाहा भयो कि बिजनेसमा उधारो दिनुहुँदैन ।

यसरी पाण्डेले गरेको पहिलो बिजनेस २/३ महिनामा कोल्याप्स भयो । तर, सिक्ने क्रम भने रोकिएन । 

त्रिचन्द्रबाट आईएससी र पाकिस्तानबाट इन्जियिनरिङ गरेका आईटी उद्यमी पाण्डेले सन् १९९४ सम्म यहीँ बिजनेस गरे । सिंगापुरबाट हार्डवेयर इम्पोर्ट गर्थे र सरकारी कार्यालयमा लगाउँथे । त्यतिबेला उनको बिजनेस राम्रो चलिरहेको थियो ।

सन् १९९४ पाण्डे अमेरिका गए । त्यति बेला उनकी श्रीमती मुना जोशी अमेरिकामै अध्ययन गर्थिन् । नेपालमा बिजनेस गरिरहेका पाण्डे श्रीमतीलाई फर्काउन भनेर २ हप्ताका लागि बिजनेस भिजामा अमेरिका पुगे । र, पाँच वर्षपछि मात्रै स्थापित कम्पनीको सञ्चालक भएर नेपाल फर्किए । 

त्यसपछि नेपालमा पनि उनले सूचना प्रविधिसम्बन्धित कम्पनी स्थापना गरे । 

गैरआवासीय नेपाली पाण्डे पछिल्लोपटक नेपालमा नीतिगत परिवर्तन भयो भने नेपालमा सूचना प्रविधिको ठूलो सम्भावना रहेको र त्यसले मुलुकलाई नयाँ दिशामा लैजाने कुरामा विश्वस्त छन् । त्यही भएर उनी सार्वजनिक ठाउँदेखि सामाजिक सञ्जालमा यही विषयको पैरवी गरिरहेका छन् । 

जेठको अन्तिम साता हामीले उनलाई भेट्नका लागि समय माग्दा उनले सूचना प्रविधिका विषयमा कुरा गर्न अर्थसचिव मधु मरासिनीलाई यसको महत्व बुझाउँदै थिए । त्यही बुझाइ उनले हामीलाई पनि साझा गरे ।
...

नेपालका इन्फर्मेसन टेक्नोलोजी (आईटी) का ‘पायोनियर आन्टरप्रेनियर’ को परिचय बनाएका उद्यमी पाण्डेलाई भेट्न हामी उनले दिएको लोकेसनमा पुग्यौं । त्यसो त यति सजिलै भेट्न सकिने व्यक्ति होइनन्, पाण्डे । 

स्पष्टवक्ता र खरो स्वभावका उनी खासै मिडियामैत्री पनि होइनन् । यद्यपि निकै मिहिनेतपछि बल्लतल्ल उनी हामीसँग भेट्न राजी बनेका थिए ।

काठमाडौंमै पनि मध्य दिनमा गर्मीको राम्रै अनुभव भइरहेको थियो । त्यसको बेवास्ता गर्दै हाम्रो क्यापिटल म्यागजिन टिम उनलाई भेट्न पुग्यो ।

एउटा ओपन क्याफेको बाहिरपट्टि बस्यौं हामी । आफूहरू आइपुगेको जानकारी गराउँदा पाण्डेले ‘बस्दै गर्नू म आइहालें’ भने ।

एउटा टेबलमा दुईतिरबाट सोफा राखिएको थियो । हामीले अर्को खाली टेबलबाट थप एउटा सोफा तान्यौं । र, पश्चिम–उत्तरको सोफामा हामी बस्यौं । दक्षिणतिरको सोफा पाण्डेका लागि छुट्याइएको थियो । 

एकैछिनमा उनी आइपुगे ।

हल्का गुलाबी कलरको हाफ टिसर्ट । डार्क ब्ल्यू जिन्स पाइन्ट । खैरो रङको जुत्ता । पछाडि फर्किएको तिलचामल कपाल । आँखामा कालो फ्रेमसहितको चस्मा, घाँटीमा डियर होल्ड कम्पनीको आईडी कार्ड । हामीलाई भेट्न आउँदा उनी साधारण भेषमा थिए । 

उनी आउनासाथ हाम्रो ‘परिचय कार्यक्रम’ भयो । त्यहीबीचमा उनले आवाज दिएर वेटरलाई बेलाए । हामीले आ–आफ्नो रूचिअनुसार तातोचिसो मगायौं । उनले भने फ्रेस लेमन सोडा मगाए । 

अनि सुरु भयो ‘स्मार्ट इकोनोमी’ को संवाद 
...

टप लेभलमा हेर्दा जहिले पनि अर्थतन्त्र दुई प्रकारको हुन्छ । एउटा सर्भिस सेक्टर र अर्को म्यानुफ्याक्चरिङ । त्यसमा डिजिटल भन्नेबित्तिकै इलेक्ट्रोनिक र कम्युनिकेसन प्रयोग गरिन्छ । सूचना सम्प्रेषण गर्दै दुवै क्षेत्रलाई सक्षम बनाउनुपर्ने पाण्डेको बुझाइ छ ।

'हामीले बुझ्नुपर्ने कुरा के हो भने, सर्भिस सेक्टरलाई हेर्दा तुलनात्मक रुपमा यसमा फाइदा छ । त्यसमा कृषि पनि एक हो । यसलाई इलेक्ट्रोनिक मिडियाले सहयोग गर्न सक्छ । सर्भिस सेक्टरकै कुरा गर्दा यसमा आईटी, पर्यटन र शिक्षा पर्छन् । आईटी सेक्टरले विदेशी मुद्रा कमाइ गरे पनि शिक्षाले अहिलेसम्म त्यसो गर्न सकेको छैन । यद्यपि शिक्षालाई पनि अर्थोपार्जनमा कसरी कन्भर्ट गर्न सकिन्छ भनेर हेर्नुपर्छ । पर्यटनमा पनि विभिन्न मिडिया प्रयोग गरेर कसरी विकास गर्न सकिन्छ भनेर हेर्नुपर्छ’, पाण्डे भन्छन्, ‘डिजिटल इकोनोमी भन्ने ठ्याक्कै नदेखिए पनि तीनै क्षेत्रले भएको सर्भिस सेक्टरलाई उकास्ने हो । यी सबै प्रयोग गरेर सर्भिस सेक्टरलाई कसरी बुस्ट गर्ने भन्ने मुख्य कुरा हुन आउँछ ।’ 

नेपालमा कृषिमा असक्षमता धेरै छ । काठमाडौं उपत्यकाबाहिर कुनै ठाउँमा ५ रुपैयाँमा पाइने चिज काठमाडौं आइपुग्दा १०० रुपैयाँको बन्छ । यसले उपभोक्तालाई नै मारमा पारेको छ । खासमा जति धेरै पैसा उपभोक्ताको खल्तीमा पर्छ त्यति धेरै अर्थतन्त्र ‘ग्रो’ हुने हो । किनकि उनीहरुले त्यो पैसा अन्त खर्च गर्छन् । तर, अहिले सीमित मान्छेकोमा पैसा गइरहेको छ । ‘त्यो पैसा उनीहरुले बैंक वा अन्यत्र कतै राखिरहेका छन्’, पाण्डे केही चिन्तितजस्तो देखिए, ‘राम्रो भनेको त्यसलाई फैलाउनु वा बाँड्नु हो । हामी सक्षम भएको खण्डमा मात्रै त्यसलाई फैलाउन वा वितरण गर्न सक्छौं ।’ 

‘कृषिमा इलेक्ट्रोनिक मिडिया प्रयोग गरेर कृषकले सीधै अनलाइन मार्केटबाट बेच्न सक्यो भने वा कृषिलाई सोझै उपभोक्तासँग जोड्न सकियो भने फाइदा हुन्छ ।’

यो संवाद फर्ममा आउनुअघि हामीले एकछिन अनौपचारिक कुराकानी ग¥यौं । अनौपचारिक संवादकै क्रममा हाम्रो अर्डर टेबलमा आइसकेको थियो । 

टेबलको फ्रेस लेमन सोडाको गिलास उठाए पाण्डेले । दुई घुट्की घुटुक्क पारे । त्यसपछि गिलास पुनः टेलबमा राख्दै अघिको कृषिकै कुरालाई जोड्दै भने, ‘मानौं, धादिङमा एक जनाले आफूसँग ५ पाथी मह छ भनेर पोस्ट गर्यो । पोस्ट गर्नासाथ एकैसाथ थुप्रैले देखे । यसो गर्दा इन्फर्मेसन लिंक भयो । त्यहीबीच यो मह म पैठारी गर्छु भनेर अर्को कम्पनी निस्किन्छ । यसरी नै सानासाना कम्पनी बन्दै जान्छन् । यदि डिजिटल मिडिया नभएको भए वा इन्टरनेट नभएको भए गाह्रो थियो । 

कहाँ धादिङ जाने, कसरी सूचना प्रवाह गर्ने ? यसरी नै सर्भिसलाई जोडी कृषकलाई बीउ उपलब्ध गराउन सकिन्छ । मल चाहिएको खण्डमा पनि यही विधि प्रयोग गर्न सकिन्छ । यसरी सानासाना थुप्रैतिर स्पेसियालिटी कम्पनी निस्कन थाल्छन् ।’

कम्पनी दर्ताको झमेला

नेपालमा प्राइभेट कम्पनीका सञ्चालनार्थ धेरै अवरोधहरू छन् । यो अवरोध रजिस्ट्रेसनदेखि सुरु हुन्छ । ‘एउटा सानो कम्पनी खोल्न एकभारी कागजपत्र किन चाहियो ?’, प्रविधिलाई नजिकबाट बुझेका र सोहीअनुसार कामकाज गरेका पाण्डे भन्छन्, ‘अहिले प्रायः देशमा १ पेजमात्रै भरे पुग्छ । भारतमा पनि मोदीले मोबाइलबाट सूचना पठाएको १० मिनेटमा कम्पनी रजिस्ट्रेसन गर्न सकिने नियम बनाएका छन् । नेपालमा चाहिँ किन गाह्रो ? यसलाई प्रभावकारी बनाउन कम्पनी रजिष्ट्रार कार्यालयलाई सहज बनाउनुपर्छ ।’

पाण्डेको कुरामा दम छ । दम नभएका कुरा उनी खासै गर्दै गर्दैन् । उनले भनेजस्तै जब अफिसमा भौतिक रुपमा मान्छेको आवतजावत हुन्छ, घुसघोरी, भ्रष्टाचार हुने सम्भावना बढी हुन्छ । त्यसो भए किन सबै अनलाइन प्रणाली नगर्ने ? यसो गर्दा पारदर्शी पनि हुन्छ र घुस खाने ठाउँ पनि हुँदैन । सरकारले म्यान्डेड नै दिएर यो काम गर्न सक्यो भने कार्यालयमा उपस्थित भइरहनुपर्ने झन्झटबाट मुक्ति मिल्छ । मागेको सूचना दिएपछि तत्काल कम्पनी दर्ता हुन्छ । यसले मोरल बुस्ट पनि गर्छ । 

करमा सहज वातावरण

नेपालमा एक होइन अनेकन समस्या छन् । पाण्डेले भनेझैं कम्पनी दर्ताको समस्या त छ नै, त्यसबाहेक करका पनि केही कुरा छन् । उनका अनुसार सानासाना कम्पनीलाई करमा सहज वातावरण बनाइदिनुपर्छ । भारतमा पनि निश्चित आयसम्म कर तिर्नु नपर्ने भनेर सरकारले नीति बनाएको छ । 

नेपालमा व्यवसाय सुरू गरेको पहिलो वर्ष नै दुई लाखको बिजनेस भएको हुँदैन १ लाखको अडिटर हायर गर्नुपर्र्ने अवस्था छ । त्यसमाथि पनि कर छ । यो÷त्यो पेपरवर्क भनेर दुःख दिने चलन उस्तै छ । अहिलेको डिजिटल समयमा पेपरवर्क गर्न कहाँ सजिलो छ ? अतः सरकारले यस्ता कुरामा ध्यान दिएर सहज वातावरण बनाउनुपर्छ ।

पुनः उनले फ्रेस सोडाको गिलास उठाए । हामीले पनि आफ्नो भाग बेला बेला उचालिरहेको थियौं ।

पर्यटन

पर्यटनको क्षेत्रमा पहिलेभन्दा धेरै सजिलो भइसकेको लाग्छ पाण्डेलाई । हुन पनि हो, मान्छेहरु रेस्टुराँमा जान्छन् र इन्टेरनेटमा त्यसको ¥याङकिङ (वर्गीकरण) गरिदिन्छन् । यसो हुँदा अरुलाई पनि रेस्टुराँ छान्न, बुस्ट गर्न सजिलो हुन्छ । टुरिस्टले पनि कुन–कुन ठाउँमा राम्रा रेस्टुराँहरु छन् भनेर हेर्न सक्छन् । आखिर यो सब डिजिटलले गर्दा सहज भएको त हो नि !

‘तर, इन्टरनेटको प्रयोग, सूचना प्रवाह हुँदा र संसारभर बुस्ट हुँदा किन हाम्रोमा त्यसअनुरुप भएन भनेर सरकारले केलाउनुपर्छ’, पाण्डेले जोड दिँदै सुनाए । 

‘नेपाल प्रवेशमा पर्यटकलाई सबभन्दा पहिले अप्ठ्यारो एयरपोर्टमै हुन्छ । एउटै लामो लाइन लागिराखेको हुन्छ । बिजनेस क्लासका लागि अर्को लाइन लगाइदिनुपर्ने हो’, उनी सरकारलाई प्रश्न गर्छन्, ‘यो नियम संसारभर नै हुन्छ । तर, नेपालमा किन हुँदैन ? लागू गर्न अप्ठ्यारो पनि खासै केही छैन ।’

जुनसुकै देशबाट यहाँ आउने पर्यटक दसौं ठाउँमा चेक भएर आएका हुन्छन् । यद्यपि नेपालमा भने नसुहाउँदो नियम छ । सुनको पैठारी हुन्छ भनेर सबैलाई एक्स–रेबाट छिराउने गरिन्छ । उनका अनुसार अन्त कही“ पनि यो नियम छैन । यी र यस्तै साना अवरोधले गर्दा अप्ठ्यारो पारिरहेको छ । यसमा सरकारले इन्टरनेट, इन्फर्मेसन र सफ्टवेयर प्रयोग गरेर अटोमेटेड गर्नेतिर लाग्नुपर्ने हो । अटोमेसन गर्दा टुरिस्ट ठगी नहुने गरी र सजिलो हुने गरी कहाँ जाने, के गर्ने इन्फर्मेसन उपलब्ध हुनेजस्ता सबै काम गर्न सकिन्छ । 

‘एयरपोर्टको समस्या समाधान गर्न सरकारले निजीकरण किन भएन भनेर सोच्नुप¥यो । बढीभन्दा बढी निजीकरण हुनुपर्छ । सरकारी कर्मचारी राखेर केही प्रगति हुँदैन’, बेथितिहरुको लामो लहरोमा रूद्र पाण्डे अर्को लहरो थप्छन्, ‘निजीकरण गरिदिएर कमाइ भयो भने यही“ लगानी हुन्छ । पैसा त जतिसक्दो बढी उपभोक्ताको खल्तीमा हुनुपर्छ । अनि मात्रै उसले खर्च गर्न सक्छ । सरकारको ढुकुटी पैसा भएर रेस्टुराँमा खर्च हुँदैन ।’

यीबाहेक पनि पर्यटनमा थुप्रै कुरा गर्न सकिन्छ भन्ने पाण्डेलाई लागिरहन्छ । अर्को एउटा गर्न सकिने काम भनेको सानातिना होटलहरु पनि अनलाइनमा आउनु हो । सरकारले सहज वातावरण बनाइदिने र अनलाइन प्रणालीमा नआएकालाई किन आएनन् भनेर हेर्ने गर्नुपर्छ । यसो हुँदा मात्रै डिजिटल इकोनोमीको फाइदा लिन सकिन्छ । अहिले त्यसको फाइदा लिन नसक्नाको कारण नीतिगत रुपमा प्रवेशबिन्दुमै थुप्रै अवरोधहरुले फँडा उठाएर बसेका छन् । यसकारण पनि नेपालमा व्यवसाय सुरू गर्न सजिलो नरहेको पाण्डेको बुझाइ छ । 

अमेरिकामा दुइटा कम्पनी खोलिसकेका उनले कहिल्यै सरकारी कार्यालय वा कर्मचारीलाई भेटेनन् । न अडिट नै गरे । उनले जे कागजात दिए, उनीहरुले त्यसैलाई विश्वास गरे र कम्पनी खोल्ने अनुमति दिए । यहाँनेर स्मरण गर्नुपर्ने कुरा के हो भने, कम्पनी दर्ता गर्दा बुझाएको कुनै विवरण पछि गलत ठहरियो भने पाण्डे मात्रै होइन, अरुले पनि जेलको हावा खानुपर्छ । र, त्यो हावा स्वच्छ अवश्य हुँदैन । यही सम्झेर पनि कसैले फर्जी काम गर्ने चेष्टा गर्दैन ।

यस्तै अवस्था एजुकेसन सिस्टमको पनि छ । वर्षैपिच्छे अडिट गर्नुपर्छ । ‘किन विद्यार्थीलाई हाइकिङ गरायौ ? टिम बिल्डिङ किन ग¥यौ ? यस्तोमा गरेको खर्चलाई खर्च नस्विकारे यो भनेको इनकम नै हो त्यसैले २० प्रतिशत कर थप्नुपर्छ भनिरहेको छ सरकारले । उसले हरेक वर्ष यस्तै गर्छ’, यति भन्दै गर्दा पाण्डको स्वर अलि मधुरो बन्छ, ‘यसो भएसी बिजनेस गर्ने माहौल नै बन्दैन, छँदै छैन । यदि बिजनेस गर्नमा कुनै अवरोध नहुने हो भने जनताले इन्टरनेट युगको फाइदा उठाउन सक्छन् ।’ 

उनै पाण्डेका अनुसार हाम्रो सरकार पुरातनवादी छ । यो सेक्टर जति आधुनिक भए पनि सरकार नै पुरातनवादी भएपछि कसरी केही गर्न सकिन्छ ? राज्यले पनि इन्टरनेट युगको फाइदा लिन सक्नुपर्छ । नत्र यो दुई पाखा हुन्छ, निजीले मात्रै गरेर पुग्दैन । फोकस यतैतिर हुनुपर्छ । 

नेपालमा आईटी र यसको सम्भावना

आईटी सेक्टर विशाल सम्भावनायुक्त क्षेत्र हो । नेपालमा पनि सम्भावनाका थुप्रै द्वारहरु खोलिदिएको छ । यसो हुनुमा दुई मुख्य कारण छन् । एक त पछिल्लो २ दशकमा हाम्रो पठनपाठनमा अंग्रेजी भाषा धेरै राम्रो बनेको छ । निजीबाहेक अधिकांश सरकारी स्कुलहरुमा पढ्नेको पनि अंग्रेजी नराम्रो छैन । ‘निजी शिक्षाका कारण अंग्रेजी भाषाको समस्या समाधान भइसकेको छ’, पाण्डे भन्छन्, ‘प्राइभेटको प्रेसरले गर्दा पनि सरकारी स्कुलमा अंग्रेजी भाषा राम्रो बनेको छ । यसका लागि क्रेडिट दिनुपर्छ ।’

एक त नेपालमा आईटी कलेज असाध्यै कम छन् । त्यसमाथि सरकारले आईटीमा कोटा तोक्दै आइरहेको छ । कलेज कम हुँदा र त्यसमा पनि कोटा तोकिँँदा बजारलाई आवश्यक जनशक्ति उत्पादन हुन सकिरहेको छैन । यस कुरामा पाण्डेको पनि सहमति छ, ‘कोटा तोकेर हुँदैन । एउटै हलमा पनि २ सय जना राखेर आईटी कक्षा सञ्चालन गरिदिए हुन्छ । त्यसका लागि एउटा सानो फोन मात्रै भए पुग्छ । आईटीमा कोटा राखेकै कारणले बजारमा सप्लाई नै छैन ।’ 

केही समयअघि नेपालका मन्त्री तथा उच्चपदस्थ व्यक्तिहरुले पाण्डेलाई आईटी सेक्टर ठूलो भएको र बाहिरबाट ठुल्ठूला कम्पनी नेपलामा ल्याउनुपर्यो भनेछन् । तर, उनले सीधै अस्वीकार गरेछन् । अस्वीकार गर्नाको कारण, कुनै कम्पनी यहाँ आएर १०० जना आईटी इन्जिनियर खोज्यो भने बजारमा उपलब्ध छैन । यस्तो स्थितिमा किन कम्पनीहरु यहाँ आउने भन्ने उनलाई लाग्यो ।

अहिले सप्लाई नै यहाँको मुख्य समस्या हो । सप्लाईले नै डिमान्ड क्रिएट गर्ने हो । वार्षिक ५० हजार ग्र्याजुएट भए भने यो मेसेज बाहिरी देशहरुमा पुग्छ । नेपालमा ५० हजार इन्जिनियर फालाफाल छन् भन्ने सुनेपछि भारतीय कम्पनी नै यहाँ आउन तयार हुन्छन् । ‘यसै त कोही पनि यहाँ आउँदैनन् । अहिले जति आइरहेका छन्, नेपाली भएका नाताले मात्रै आएका हुन्’, पाण्डेले हामीलाई सुनाए ।  

आईटी सेक्टर, जसलाई  डिजिटल इकोनोमी भनिन्छ, यसमा बुम ल्याउन अधिकाधिक जनशक्ति उत्पादित हुनुपर्छ । त्यसका लागि सरकारी कलेज वा कोटा तोकिएका कलेजले पुग्दैन । प्राइभेट कलेजलाई सम्बन्धन दिइनुपर्छ । क्वालिटी मनिटर गर्नुपर्छ । कसैले प्रतिवर्ष ५०० जना लिन्छु भन्ला । त्यसका लागि यो यो चाहिन्छ भनेर आएर सरकारले हेर्नुपर्छ र नपुग्नेलाई नदिने पनि गर्नुपर्छ ।

‘हो, आईटीमा अथाह सम्भावना छ । राम्रो अंग्रेजी शिक्षा र नेपाल विभिन्न कारणले चिनिएकाले पनि यहाँ सम्भावना बढेको हो’, पाण्डे सुनाउँछन्, ‘अर्को भनेको राम्रो मौसम पनि हो । त्यसैले मान्छेहरु यहाँ आएर काम गर्न मन पराएँछन् ।’ 

उदाहरणका लागि, आईबीएमजस्तो कम्पनीले यहाँ कम्पनी खोल्यो भने शतप्रतिशत कर्मचारी यही“बाट लिन्छ भन्ने हुँदैन । १० प्रतिशत जति उसले उतैबाट लिएर आउन सक्छ । त्यो १० प्रतिशतलाई उतैबाट वर्किङ भिजा दिने प्रोभिजन मिलाउनुपर्ने भनाइ उद्यमी पाण्डेको छ । उनकै अनुसार यहाँ ल्याएर इमिग्रेसनमा १० ठाउँमा चक्कर लगाउनुपर्छ । त्यो पनि पैसा नखुवाइकन भिजा पाइँदैन । अनि अर्को कुरा कसैले उताबाट पैसा ल्याउँछु भन्यो भने यही“ तलब दिन सक्नुपर्छ । त्यो पनि डलरमै । 

‘यी सबै प्रोभिजन क्लियर गरेर ल्याउने हो भने मात्रै यहाँ काम गर्न सकिन्छ, भिजासँगसँगै सप्लाई पनि हुनुपर्छ ।’  
....

सामान्य अंकगणितमा जाने हो भने ५० हजार आईटी इन्जिनियर सप्लाई गर्न नेपाललाई कम्तीमा ४ वर्ष लाग्छ । आर्ईबीएमजस्ता कम्पनीलाई गाउँले भाषामा आइजा भनेर बोलाएझैं आउँदैनन् । यसमा पहिलो कुरा एफडीआई सहज हुनुपर्छ । कारण, आईटी कम्पनीलाई १० करोडभन्दा बढी लगानी खासै चाहिँदैन । 

‘अहिले १ हप्तामा प्रारम्भिक अनुमति दिने कुरा भएको छ । यसो भयो भने यो राम्रो कुरा हो’, यसबारे उनी थप्छन्, ‘मिनिमम इन्भेस्ट घटाएर २ करोड बनाइएको छ । म त भन्छु १ रूपैयाँ बनाउनुपर्छ । पैसा चाहिए त ल्याइहाल्छन्, सुरूमै किन माग्नुप¥यो ? सुरूमा त अवरोध र सीमा कम हुनुपर्छ । यी सबै अन्तरसम्बन्धित (इन्टरकनेक्टेड) छन् । साथै १ प्रतिशत कर नियमित हुनुपर्छ । जथाभावी अडिट गरेर दुःख दिनुहुँदैन । भविष्यको ‘बिग पिक्चर’ हेर्नुपर्छ । जन्मिन नपाउँदै राज्यबाट घाँटी अँठ्याउने काम हुनुहुँदैन । यदि यस्तो भएको खण्डमा ठूला कम्पनीहरु यहाँ आउन समस्या छैन ।’ 

१ प्रतिशत करबारे हामीले थप जिज्ञासा राख्यौं– प्रत्येक वर्ष नयाँ बजेट आउँछ । सधैं एउटै सरकारले बजेट पनि नल्याउला । यस्तो स्थितिमा अहिलेको सरकारले ल्याएको यो नीति कत्तिको दीर्घकालीन होला ?

‘यदि यो आर्थिक वर्षलाई मात्रै ल्याइएको नीति हो भने बिल्कुल गलत काम हो’, पाण्डे निकै आशावादी रुपमा प्रस्तुत भए, ‘सरकारले १ प्रतिशत कर लगाएर बाहिरको पैसा यहाँ ल्याउन भनेको छ । मलाई लाग्छ यो दीर्घकालीन हुन्छ । यसका लागि सरकारले पनि कोसिस गर्नुपर्छ । १ वर्षमा चाहिँ केही पनि हुँदैन । कुनै कुरा यस्ता हुन्छन् जो आमजनमानसमा पुग्न, हल्ला हुनै १/२ वर्ष लाग्छ । यसमा मिडियाले पनि खबरदारी गरिरहनुपर्छ । त्यसपछि काम नगर्ने भन्ने हुँदैन ।’

खासमा ५ करोडको कुरा पनि सुरुमा उनैले निकालेका रहेछन् । कराउँदाकराउँदा बल्ल अहिले २ करोडमा झरेको रहेछ । ट्याक्सबारे उनले हालका अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेटेर जानकारी गराएका छन् । घोर निराशावादलाई छोडेर आशावादीताको बाटो हिँड्न मन पराउनले उनलाई लाग्छ, त्यहाँ सबै मान्छे नराम्रा छैनन् । यो नीतिले अवश्य नै काम गर्छ ।

पाण्डेले माथि उल्लेख गरेजस्तै आईटी सेक्टरमा नेपाल प्रशस्त सम्भावना बोकेको देश हो । यहाँका नेपालीहरुको काम गर्ने स्वभाव, राम्रो मौसम र अंग्रेजी भाषाले गर्दा पनि विदेशी कम्पनीहरू यहाँ आउन इच्छुक छन् । प्रक्रिया सजिलो भएपछि र एकपटक यहाँ आएपछि नेपाल छाड्न एकदमै गाह्रोे हुन्छ । उनको यो भनाइलाई उनकै कम्पनीले पनि थप प्रमाणित गर्छ ।

आजभन्दा झन्डै १२ वर्षअघि उनले डिटु हकआई बेचेका थिए । सो कम्पनीको काम अहिले पनि यहाँदेखि भइरहेको छ । नेपाल छोड्न सकेको छैन । नेपालको वातावरण नै यस्तै छ । सुरुमा जरा गाड्न गाह्रो, गाडेपछि छोड्न गाह्रो । तर, यसमा राज्यले जरा गाड्नलाई सजिलो वातावरण बनाइदिनुपर्छ, यसमा शंका छैन । 

अमेरिकाको सिलिकन भ्याली वा इन्डियाको सिलिकन भ्याली भनिने बैंगलोर छाडेर कुनै कम्पनीहरु किन नेपाल आउने त ? काम गर्ने स्वभाव, मौसम र अंग्रेजीले मात्रै आउलान् र ? हामीले फेरि अर्को जिज्ञासा राख्यौं । 

यति बेलासम्म हामी सबैका गिलासहरु रित्ता भइसकेका रहेछन् । सुरू सुरूमा याद गरे पनि पछि संवादकै क्रममा हामीलाई हेक्का भएन । एकैपटक कप÷गिलास उठाउन वेटर आएपछि मात्रै गिलास रित्तिएको थाहा भयो । 
‘अरू केही लिने ?’ पाण्डेले सोधे ।

‘अहिलेलाई नाइँ’ भन्दै धन्यवाद टक्र्यायौं ।

‘ग्लोबल कम्पनी यहाँ आउनाका दुइटा कारण छन्’, हाम्रो जिज्ञासालाई सम्बोधन गर्न थाले, ‘एक त लागतको कुरा हो । सिलिकन भ्यालीमा एउटा इन्जिनियरको २ लाख डलर पर्छ र पनि पाइँदैन सजिलै । तर, नेपालमा रिसोर्स सस्तो छ । काम त आखिर यहाँ गरे पनि उता गरे पनि एउटै हो । साना नवप्रवर्तनहरुले जहिले पनि लागत नै हेरिरहेका हुन्छन् । अनि अर्को कुरा २४ घण्टा अपरेसन भयो । अर्थात् उता सुतिसकेपछि पनि यता काम हुन्छ । यस्तै टे«निङ ग्राउन्ड पनि हुन्छ । जुनियरलाई यहाँ केही वर्ष काम गराउँदै ट्रेन गराउँछ । अनि मान्छे चाहिनासाथ फुत्त टिपेर उता लैजान्छ ।’

पाण्डेकै भनाइलाई आधार मान्दा अहिले नेपालमा जति पनि आईटी इन्जिनियरहरु छन्, योग्य छन् । क्वालिटीमा समस्या छैन । कसैलाई अलि बढी ट्रेनिङ चाहिएला कसैलाई कम । बाँकी १०० मा २० प्रतिशत त जहिले पनि, जहाँ पनि छाँटिन्छन् ।
आईटीमै केही गर्नुपर्छ भनेर आफ्नो जीवनको उर्वर समय यसमै बिताएका, यसैमा लागिपरेका पाण्डेले अर्थतन्त्रसँग जोडिने अधिकांश कुरालाई आईटीका आँखाले हेर्छन् । त्यसो त डेपलपभेन्ट र म्यानुफ्याक्चरिङ सेक्टरमा तुलनात्मक लाभ छैन । तर, त्यहाँ पनि आईटीले बुम गर्न सक्छजस्तो उनलाई लाग्दो रहेछ । 

ग्लोबल प्रडक्टका लागि हामी कहाँ चुकिरहेका छौं ?

इकोनोमीमा एउटा भनाइ छ, ‘प्रडक्ट बनाऊ तर लोकल मार्केटमै तिमीले राम्रो गर्न सकेनौ भने ग्लोबल मार्केटमा जान सक्दैनौ ।’ 

यो कुरालाई उनी थप प्रस्ट्याउँछन्, ‘पहिले त यहाँकै मार्केटमा कुनै प्रडक्ट भिज्नुपर्छ । यही“ सफल हुन सक्नुपर्छ । अनि मात्रै बाहिर गएर प्रमोसन गर्ने भन्ने कुरा आउँछ ।’ 

जहिले पनि इनोभेसनमा दुइटा कुरा भनिन्छ । एउटा त नयाँ आइडिया नै हो । आइडिया भएपछि नयाँ प्रडक्ट बनाउनुप¥यो । मार्केट बनेको हुँदैन, मार्केट पनि बनाउनुपर्यो । र, अर्को भनेको भइरहेको आइडियालाई नयाँ तरिकाले काम गर्नु हो । मान्छेको पहिलो धेय भनेको सजिलो बाटो खोज्ने रहेको पाण्डे बताउँछन् । 

अर्को नयाँ उद्यमी वा आइडिया आएनन् भन्दा क्यापिटलको पनि इस्यु छ ।

‘अमेरिकामा प्रायः सबैजसो कम्पनी आईटी बेस्ड छन् । तपाईंले यहाँ एउटा कुल आइडियासहित कम्पनी खोल्नुभयो । पैसा उठाउन मार्केटमा जानुपर्यो । उनीहरुले के हेर्छन् भने, जस्तो ५ करोड कन्सिस्टेन्ट लिनुभएको छ र तपाईंको १ करोड परेको छ अनि ४ करोड अर्को कसैले हाल्यो भने ८० प्रतिशत स्वामित्व अर्कैको हातमा जान्छ । तर, अमेरिकामा सीधा छ । मानौं, तपाईंले आज कम्पनी खोल्नुभयो, पेपर बनाउनुभयो । म तपाईंकहाँ गएँ र भनें मेरो कम्पनीको भ्यालुएसन १० मिलियन डलर हो । यसमा कसैले प्रश्न गर्दैन । आफ्नो कम्पनीको जति पनि भ्यालु राख्न सक्नुहुन्छ । सरकारले पनि केही सोध्दैन । १० मिलियन डलर भएपछि मैले पैसा उठाउँछु भन्ने सोच्छु । १ मिलियन डलर लिन्छु र १० प्रतिशत सेयर बेच्छु । ९० प्रतिशत स्वामित्व त मैसँग रह्यो । नेपालमा त्यस्तो खालको रेगुलेसन नभएसम्म उद्यमीहरुलाई बुम हुन गाह्रो छ । अलिकति माथि उठ्न खोज्यो भने समस्या आइहाल्छ ।’

नेपाल र अमेरिकाको सिस्टम दाँज्दै उनले बुझाउन खोजे । 

डिजिटल इकोनोमी साँच्चिकै नयाँ इकोनोमी हो । नयाँ तरिकाबाट यसले अर्थतन्त्रलाई बुम गर्न सक्छ । पाण्डेका अनुसार मेक्सिकोमा गएजस्तै धेरै ह्वाइट अमेरिकनहरू यहाँ आउन मन पराउँछन् । रिटार्यमेन्टमा महिनाको २ हजार डलर खर्च गरेर नेपालमा घर किनेर बस्छु भन्ने धेरै छन् । तर, यहाँको पोलिसीले गर्दा सक्दैनन् । कतिपय अमेरिकनका बच्चाहरु यहाँ पढ्छन् । उनीहरुको भिजा नवीकरण नहुँदा अमेरिकै फर्किएकाहरु पनि छन् । यस्तो खुला अर्थतन्त्रमा बाहिरबाट मान्छे नल्याइकन ग्रो हुन सम्भव देख्दैनन् उनी ।

संसारमा सबैभन्दा ठूलो आइडिया भनेको फाल्तु (सबैले छोडेको) आइडिया नै हो । त्यो आइडियामा काम गरेपछि त्यही ठूलो बन्छ । टेस्लाले खोलेको ईभीको आइडिया छोडिएकै आइडिया हो । ईभीको कुरा गरेकै सय वर्ष भइसक्यो होला । तर, एलनले त्यसलाई सुरू गरेर देखाए । सुरूमा त ईभीले कहाँ फोर्डलाई रिप्लेस गर्न सक्छ ? जीमएलाई कहाँ रिप्लेस गर्न सक्छ ? भनेर ईभीको आइडिया छोडिएको थियो । तर, एलनले कोसिस गरे । त्यसैले आइडिया जहाँतहाँ हुनसक्छ । बरु त्यसमाथि काम गर्न सक्नुपर्छ । 

अब अलिकति पाण्डेको बिजनेस–ब्याकग्राउन्डतिर जाऔं है त !

श्रीमतीको आग्रहमा २ साताका लागि अमेरिका पुगेका पाण्डेले त्यसपछिको सन्दर्भ सुनाउँदैे भने, ‘उनी नेपाल आउन चाहिनन् । अलिअलि ऋण रहेछ, तिर्दा सबै सकियो । र, त्यो दुई हप्ताभित्र भिजा परिवर्तन गरेर स्टुडेन्ट भिजा बनाएँ ।’
पाण्डे बोस्टन युनिभर्सिटीमा एमएस इन कम्प्युटर साइन्समा भर्ना भए । तर, उनलाई त्यो विषय पढ्न मन परेन । त्यसपछि अर्थशास्त्रमा पिएचडी गरे । पढ्दापढ्दै कम्पनी सुरू गरे । 

खासमा उनी अमेरिकामा अरुले कम्पनी रजिस्ट्रेसन किन गर्छन् भन्नेर उत्साहित रहेछन् । त्यही उत्साहको फेर समातेर नेपालबाट गएको भोलिपल्टै कम्पनी दर्ता गरेका रहेछन् । डाउटाउन घुम्न जाँदा सिटी अफिस पुगेर कम्पनी दर्ताबारे सोधे । त्यहाँको सम्बन्धित कर्मचारीले एउटा फर्म दियो, त्यो फिलअप गरे । २० डलर माग्यो त्यो पनि दिए । यसरी अमेरिकन ओपन इन्टरप्राइजेज खोले । वार्षिक मिलियन डलर रेभिन्यु हुन्थ्यो । 

श्रीमती फर्काउन भनेर अमेरिका गएका पाण्डे नेपाल त फर्किए । तर, एकैचोटि ५ वर्षपछि । त्यसपछि नै उनले डिटु हकआई सुरू गरे । उक्त कम्पनी खोल्दा मान्छे थिएनन्, पैसा पनि थिएन । अर्को एक जना अमेरिकन पार्टनर थियो । त्यसपछि काम सुरु गरे । 

उनले पहिलो कम्पनी २००१ मा सुरू गरे, अमेरिकामै । २००८ मा त्यो कम्पनी बेचिदिए । त्यसपछि डियरवाक २०११ मा सुरू गरेर २०२० मा त्यो पनि बेचिदिए । अमेरिका र नेपालमा सँगसँगै । अहिलेको नयाँ आईटी कम्पनी डियरहोल्ड खुलेको चाहिँ १ वर्षजति भयो ।

यति धेरै कुरा गर्नुभयो आईटीमा । यतिका समय खर्चिनुभयो । संघर्षका पहाडहरु पनि नाघ्नुभयो । यसबीचमा कहिल्यै पैसा नपुगेर बिजनेस गर्न नसक्ने दिन आएन ? हाम्रो प्रश्न थियो उनलाई ।

मैले कहिल्यै मेरो क्षमतमाभन्दा माथिको सपना देखिनँ’, निर्धक्कसँग उनले सुनाए, ‘मेरो विश्वास के हो भने, काम गर्नलाई पैसाले रोकिँदैन । सानैबाट किन नहोस्, सुरू गर्न सकिन्छ । पैसाले मान्छेको इच्छाशक्तिलाई रोक्छ भन्ने मलाई लाग्दैन ।’

किन बेचे कम्पनी ?

अमेरिकामा कम्पनीको लाइफ १० वर्षभित्र एक्जिट प्वाइन्टमा जानुपर्ने हुन्छ । सबै कर्मचारीलाई स्टक भन्ने अप्सन दिइएको हुन्छ ।  यदि त्यसो गरिएन भने उक्त अप्सन एक्सपायर हुन्छ । साथै स्टाफले पैसा कमाएन भने त्यसको खासै अर्थ हुँदैन । १० वर्षमा कि त आईपीओमा जानुप¥र्छ कि बेच्नुपर्छ । आईपीओमा जान अनेक झन्झट व्यहोर्नुपर्ने भएकाले उनले कम्पनी बेचेका रहेछन् । बेचेपछि त्यहाँ संलग्न सबैले पैसा बनाए । 

तर, नेपालमा भने सरकारले बाहिरको कम्पनीको स्टक लिन नपाउने नियम लगाएको छ । त्यसलाई अविलम्ब सच्याउनुपर्ने पाण्डेको भनाइ छ । 

झन्डै ३ दशक यस क्षेत्रमा गुजारेको पाण्डेको अबको योजना के त ?

अबको उनको योजना भनेको आफूले बिजनेस गर्ने भन्दा पनि नेपालमा बिजनेस गर्ने मान्छेलाई सहयोग गर्ने छ । यस्तै बिजनेस गर्ने मान्छेलाई सजिलो होस् भन्ने पनि उनी चाहन्छन् । अब डियरवाक र डिटु हकआईका इन्जिनियर लिएर १०० बढी कम्पनी जन्मिनेमा आशावादी छन् । त्यसो त लिफ्रकलगायत अन्य कम्पनी पनि उनकै स्टाफहरूले खोलेका हुन् ।

यस बाहेकको पाण्डेको लगाव एजुकेसनमा पनि छ । ‘अहिले हाम्रो डिजिटल आईटीमा ४८ जनाको कोटाका लागि २ हजार जनाले अप्लाई गरिरहेका हुन्छन् । नेपालमा अप्लाइड कोर्स भन्ने छैन । त्यसमा हामीले काम गराउँदै पढाउँछौं’, आफूले गर्न चाहेका कुराबारे उनी खुले, ‘अर्कोचाहिँ, वार्षिक रुपमा ३/४ सय जना विद्यार्थी बर्मेली नेपाली, भारत, अमेरिकालगायत देशबाट ल्याएर पढाउन चाहन्छु । अमेरिकामा प्रायःले छोराछोरीलाई आईटी नै हो पढाउने । त्यहाँभन्दा यहाँ सस्तोमा पढायौं भने अवश्य आउँछन् । यसका लागि भिजा खोल्ने भन्ने कुरा भइरहेको छ ।’

इकोनोमीमा बुम ल्याउने हो भने अमेरिकाको भिजा लिँदा सीधै डीएस अर्थात् अध्ययन अवधिभर बस्नलाई खुला गरेजस्तै नेपालमा पनि त्यहीअनुसारको भिजा पाउनुपर्ने उनको भनाइ छ । यहाँ जतिसक्दो बाहिरको मान्छे आयो त्यति नै आइडिया जेनेरेट हुने हो । यहीँ थुप्रिएर केही प्रगति हुँदैन । बाहिरको मान्छे पनि आयो भने क्रस कोअर्डिनेसन हुन्छ । अनि नयाँ आइडिया जन्मिन्छ । हामीले भनेजस्तो नयाँ आइडिया नआउनाको एउटा कारण यो पनि हो । अमेरिकामा ८० प्रतिशत नयाँ आइडिया आप्रवासीमार्फत आउँछन् । तर, हामी यहाँ कसैलाई आउनै दिँदैनौं । कल्चर मिक्स भएन भने नयाँ आइडिया पनि जन्मिँदैन ।

यस्तै यहाँको बिडिङ प्रोसेससमेत एकदम भ्रष्ट लाग्छ पाण्डेलाई । उनी भन्छन्, ‘मैले कम्पनी खोले सरकार सबभन्दा ठूलो खरिदकर्ता हो । यहीँभित्र मैले बेच्न खोज्दा बिडिङ प्रोसेस गलत भयो भने मैले कसरी बिजनेस ग्रो गर्न सक्छु ? यी सबै कुरा अन्तरसम्बन्धित छन् । डिजिटल इकोनोमी भनिरहँदा र मान्छे नआउँदा सबैभन्दा ठूलो खरिदकर्ता त सरकार नै हो । अरु कहाँ छन् त ? त्यसरी फाइदा लिँदा सबै जेल जानु पर्दैन ? यसो हुँदा यहाँ भएको उद्यमीको ग्रेट आइडिया पनि मर्छ ।’

उनका अनुसार लहरेबाली भनेको एनआरएन नै हो पहिलो । त्यहाँ सबै पढेलेखेका पनि छन् । ह्वाइटलाई ल्याउनुभन्दा पहिले सरकारले उनीहरुलाई ल्याउन सक्नुपर्छ । उनीहरु आएको खण्डमा उनीहरूका साथी पनि आउन खोज्छन् । यसका लागि हामीले उनीहरुलाई मोटिभेट गर्न सक्नुपर्छ ।

अहिले खर्बौं रूपैयाँ एनआरएनको पैसा हुन्डीमार्फत बाहिर गइरहेको छ । यो समस्या समाधान नभएसम्म यस्तै चलिरहने उनको दाबी छ । ‘यहाँको आफ्नो सम्पत्ति बेच्छ अनि हुन्डीमार्फत त्यहाँ पैसा लिन्छ । यसको अर्को उपाय पनि छैन’, उनी थप्छन्, ‘उता भारतमा मल्टी–जेनेरेसन राइट सुरू भइसकेको छ । यदि तिमी एनआरआई हौ भने सबै सन्तति स्वतः एनआरआई हुन्छन् । त्यसपछि सम्पत्तिबारे चिन्ता गर्नुपर्ने जरूरी छैन । मजाले इन्डियामै बस्न सक्छन् । त्यसो भएपछि त्यहाँका मान्छेले आफ्ना छोराछोरीका लागि भेकेसन स्पट पनि हुन्छ भनेर बेच्दैनन् । हामीकहाँ त्यस्तो छैन ।’ 

यस्तै सहज वातावरण इजरायलले पनि बनाएको छ । उसले अमेरिकन इजरायलीलाई पनि सिटिजनसिप दिन्छ । त्यहीअनुसार अधिकार दिएको छ । त्यसो भएपछि थुप्रै अमेरिकनहरु त्यहाँ गएर केही न केही किनिरहेका हुन्छन् । यसले लगानी भित्र्याउँछ । यदि नेपालमा पनि मल्टी जेनेरेसन राइट भइदिने हो भने कतिपय एनआरनएले नेपालमा आफ्नो सम्पत्ति बेच्नुको सट्टा किनेर राख्छन् । प्रोपर पोलिसी बनाउने हो भने एनआरएन नेपालका लागि ठूलो मुभमेन्ट हुनसक्छ । भारतले एनआरआईलाई सहज बनाइदिएका कारण नै त्यहाँ मासिक रुपमा पैसा भित्रिइरहेको हो ।

-क्यापिटल बिजनेस म्यागजिनकाे असार अंकबाट ।
 

शुक्रबार​ १७ असार २०७९ ०१:२८ PM मा प्रकाशित

प्रतिक्रिया