भाटभटेनी सुपरमार्केटका संस्थापक तथा व्यवसायी मीनबहादुर गुरुङ सधैं संकटलाई अवसरमा बदल्ने उद्यमीका रूपमा चिनिन्छन्। नेपालमा जस्तोसुकै राजनीतिक, आर्थिक वा सामाजिक संकट आइपरे पनि उनले निरन्तर व्यापार, लगानी र रोजगारीलाई अघि बढाइरहेका छन्। यही कारणले उनको व्यावसायिक यात्रा नेपाली बजारको प्रेरणादायी अध्याय बनेको छ।
हालैको जेनजी आन्दोलनपछि भाटभटेनीका विभिन्न शाखामा तोडफोड र आगजनी हुँदासमेत गुरुङले उच्च मनोबलका साथ आफ्नो कामलाई निरन्तरता दिने अठोट व्यक्त गरेका छन्। उनका अनुसार यस्तो कठिन परिस्थितिमा समेत कर्मचारीलाई ननिकाल्ने, बरु थप रोजगारी सिर्जना गर्ने योजनामा अघि बढिरहेका छन्।
भावुक हुँदै उनले भनेका छन्, ‘देशलाई आवश्यक परे म मेरो आधा सम्पत्ति दिन तयार छु। व्यापार मेरो व्यक्तिगत लाभका लागि मात्रै होइन, यो देश र समाजलाई टिकाइराख्ने आधार पनि हो।’
यो क्यापिटल बिजनेस म्यागजिनका लागि तयार गरिएको कभर स्टोरी आन्दोलन हुनुअघि नै लेखिएको हो। यसमा गुरुङको व्यावसायिक यात्रा, बाल्यकालदेखि सुरु भएको संघर्ष, खुद्रा व्यापारमा गरेको क्रान्ति, हजारौंलाई रोजगारी दिएको योगदान र समाजसेवाप्रति उनको लगावलाई समेटिएको छ।
उनीजस्ता उद्यमीको कथा केवल व्यापारिक सफलता मात्र होइन, कठिनाइमा अडान, धैर्य र मुलुकप्रतिको जिम्मेवारीबोधको उदाहरण हो। यसरी मीनबहादुरको जीवनकथा आजका नेपाली उद्यमी तथा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।– सम्पादक
...
व्यापारमा मुनाफा र त्यसलाई सम्पत्तिको पोर्टफोलियोमा बढाउँदै लैजान हरेक व्यवसायीको आकांक्षा हुने गर्छ। तर, नाफा, व्यापार र परोपकारलाई एकै पटक अगाडि दौडाउनु मीनबहादुर गुरुङको पछिल्लो आदत बनेको छ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङको लगानी यात्राले जसरी उडान भरेको छ, त्यसमा थप ऊर्जा दिइरहेको छ, परोपकारका सामाजिक कर्मले। गुरुङको यो शैलीले व्यापारीभन्दा परको कथा बोल्छ।
एक दशकअघिसम्म गुरुङलाई ग्रोसरी स्टोरबाट सुपरमार्केट बनाउने सपना देख्ने व्यक्तिको रूपमा चिनिन्थ्यो। तर, पछिल्ला १० वर्षमा उनले व्यापार विस्तारको जुन गति समाते, त्यो अब सपना होइन, नेपालको आधुनिक खुद्रा व्यापारको इतिहासकै हिस्सा बनिसकेको छ।
हाल २७ वटा भाटभटेनी सुपर स्टोर देशभर फैलिइसक्दा पनि गुरुङको लगानी यात्राले विश्राम लिएका छैन। एउटा शाखा खोल्न झन्डै एकदेखि दुई अर्ब रुपैयाँ लगानी गर्नु सामान्य भइसकेको छ। यही हिसाब गिनीचुन्दा स्टोरमा मात्र उनको ५० अर्ब बढी लगानी भइसकेको छ। गुरुङले भाटभटेनीको नयाँ शाखा अब नयाँ स्थान मात्र होइन, नयाँ सम्भावनाको उद्घाटन गर्दै गइरहेका छन्, जहाँ व्यापारीको नजरभन्दा अगाडि उनी राष्ट्र निर्माणको एउटा हिस्साको रूपमा देखिन थालेका छन्।
कसरी?
उनको सामाजिक उत्तरदायित्वप्रतिको फराकिलो चेतले।
गुरुङको सोचलाई केवल व्यापार र नाफाको सन्दर्भमा मात्र राखेर हेर्न सकिन्न। व्यवसायको गतिसँगै सामाजिक उत्तरदायित्वमा तुफानी उडानले उनलाई अन्य व्यवसायीभन्दा फरक बनाएको छ। उनले जति तीव्रताका साथ सुपरमार्केट विस्तार गरिरहेका छन्, उति नै रफ्तारमा परोपकार र सामाजिक काममा सक्रियता देखाइरहेका छन्।
धन कमाइसकेपछि दान गर्न नभुल्नू, दान गर्दा कुनै स्वार्थ भाव नराख्नु र दान गरेमा भगवान्ले सद्बुद्धि दिनुहुन्छ। आत्मा शान्त र आनन्दित हुन्छ।
स्वास्थ्य, शिक्षा, विपद् राहत, गरिब तथा अपांगता सहयोग, दानदातव्य, मन्दिर निर्माणदेखि सामुदायिक विकासका क्षेत्रमा उनको योगदान क्रमशः संस्थागत स्वरुपमा परिणत हुँदै छ। दृश्य/अदृश्य रूपमा उनले अर्बाैं रुपैयाँ परोपकारमा खर्च गरिरहेका छन्।

एकै व्यक्तिले कुनै संस्थालाई ४१ करोड दान, कुनै दललाई डेढ अर्बको घर जग्गा, कुनै अस्पतालाई २० करोडको सहयोग र अरु त्यस्तै निरन्तर कर्म। समाजबाट कमाएर समाजलाई नै दिन गुरुङ लालायित छन्।
आखिर यसका लागि उनमा यस्तो भाव कसरी आउँछ?
४० वर्षअघि भेट भएका एउटा योगीको सन्दर्भ ठ्याक्कै मिल्छ।
योगीले गुरुङलाई भनेका थिए रे-
तिमी धनी बन्ने हो भने दान गर
मुक्ति चाहने हो भने भजन गर।
यो भनाइले नै उनको सोच बदलियो। व्यापार गरेर धन मात्र आर्जन गर्ने होइन, दान पनि गर्नुपर्छ भन्ने भावना जागृत भएको उनी सुनाउँछन्। ‘त्यसपछि मैले यसलाई मैले मन्त्रजस्तै मानेर कार्यान्वयन गर्दै आएको छु’, उनले भने, ‘स्व. हजुरबुबा, हजुरआमा, स्व.बुबा वृशबहादुर र आमा धनमाया गुरुङले पनि यसैगरी दान गरिरहनुहुन्थ्यो र दान गर्नलाई प्रेरित गरिरहनुहुन्थ्यो। प्रेरणाका स्रोत त बाआमा नै हुन्’, उनले अभिभावकप्रति श्रद्धा व्यक्त गरे।
धन कमाइसकेपछि दान गर्न नभुल्नू, दान गर्दा कुनै स्वार्थ भाव नराख्नु र दान गरेमा भगवान्ले सद्बुद्धि दिनुहुन्छ। आत्मा शान्त र आनन्दित हुन्छ। हो, त्यही शान्त र आनन्दित मनले गरेको काममा सफलता मिल्छ। पाँच दशकअघि सुनेको पंक्तिलाई जीवन सफलताको आधार मानेर अघि बढेका गुरुङको व्यापार र जीवन उतारचढावको ग्राफको रेखा पनि फरक छ।
गुरुङको अर्को पनि धारणा छ। उनी भन्छन्, ‘अहिले हामीलाई यो हैसियतमा पुर्याएको नेपाली समाजले नै हो। नेपाली समाजले यहाँसम्म पुर्याएपछि मैले पनि समाजलाई केही फिर्ता दिनुपर्छ। राज्यमा बेलाबेला संकट पर्न सक्छ। त्यस्तो बेला हामीजस्ता निजी क्षेत्रका व्यवसायीले सहयोग गर्नुपर्छ। मैले राज्यबाट केही पाउँछु भनेर यी सहयोग गरेको हैन र आशा पनि गर्ने छैन। त्यसैले यो निःस्वार्थ दान र परोपकारमा लागेको छु।’

मीनबहादुरको यो अविरल यात्रामा सहयात्रीको रूपमा सधंै साथ दिने श्रीमती सावित्री गुरुङ हुन्। ‘सायद मेरो र उनको सोच एउटै भएकाले नै पनि परोपकार यात्रालाई अगाडि बढाउन सकेको हुँ,’ मीनबहादुरले भने, ‘मेरो परिवारमै दान गर्ने धारणा बलियो छ।’
आक्रामक लगानी शैली
गुरुङको लगानी अब केवल खुद्रा व्यापारमा मात्रै सीमित छैन। पछिल्लो समय उनी होटल, फलाम उद्योग, बैंक, इन्स्यारेन्स, केवलकार, जलविद्युत, नविकरणीय उर्जा, कन्ट्रक्सन, तयारी पोसाक स्वास्थ्य सेवा, कोल्डस्टोर आदिमा प्रवेश गरेका छन्। कुनै पनि लगानी ‘गोल सेट’ गरेर अघि बढाइरहेका छन्, गुरुङ।
उनीसँग न रंगीन सार्वजनिक जीवन छ, न त प्रचार–प्रसारप्रति आकर्षण। तर, शान्त उपस्थिति र निरन्तर क्रियाशीलता नै गुरुङको शक्ति हो।
भाटभटेनीको ब्रान्ड सुपरमार्केट मात्र होइन, ग्राहक विश्वासको पर्याय बनिसकेको गुरुङ बताउँछन्। ‘हामीकहाँ बिहानदेखि रातीसम्म ग्राहक घुइँचोले यो प्रमाणित गर्दछ। हामी सबै व्यवसाय र सेवालाई यस्तै विश्वासिलो बनाउने गरेर लगानीको दायरा बढाइरहेका छौं’, गुरुङ भन्छन्।
गुरुङ अब केवल संस्थापक मात्र होइनन्, प्रेरक पात्र हुन्–युवाका लागि, उद्यमशीलता सिक्नेका लागि र व्यापारलाई पारिवारिक विरासतको रूपमा नहेरी दृष्टिकोण र निष्ठाका साथ अगाडि बढाउनेका लागि जीवित उदाहरण हुन्।
उनीसँग न रंगीन सार्वजनिक जीवन छ, न त प्रचार–प्रसारप्रति आकर्षण। तर, शान्त उपस्थिति र निरन्तर क्रियाशीलता नै गुरुङको शक्ति हो। उनी त्यो वर्गका व्यवसायी हुन्, जसले व्यवसायलाई केवल आफूसम्म सीमित राखेनन्–देशलाई आधुनिकता र रोजगारी दिन लगानी प्रयोग गरिरहेका छन्।
नेपाली खुद्रा व्यापारमा सफलता प्राप्त गरेर व्यवसायको आकारलाई भीमकाय बनाउने गुरुङलाई रिटायर्ड र थकानको सोचै आउँदैन। सन् १९८४ मा सानो ग्रोसरी स्टोरबाट कर्म सुरु गरेका गुरुङ आज नेपालको सबैभन्दा ठूलो र प्रभावशाली खुद्रा व्यापारिक सन्जाल भाटभटेनी सुपरमार्केटका संस्थापक तथा नेतृत्वकर्ताको सीमित परिचयमा मात्र छैनन्। उनको नेतृत्व र दूरदर्शिताले भाटभटेनीलाई नेपाली खुद्रा बजारको अग्रणी ब्रान्डमा रुपान्तरण गरेको छ।

पछिल्लो समय गुरुङले आफ्नो मन मिल्ने केही व्यवसायीलाई विज्ञताका आधारमा साझेदार बनाउँदै लगानी विस्तारलाई तीव्रता दिइरहेका छन्। गुरुङले उद्योगी एवं व्यवसायी उमेश श्रेष्ठसँगको सहकार्यमा काठमाडौंमा पाँचतारे होटल अन्नपूर्ण स्क्वायर, चितवनमा कोल्ड स्टोर र भैरहवामा गार्मेन्ट उद्योगमा लगानी विस्तार गरेका छन्। दरबारमार्गमा बनिरहेको होटल अन्नपूर्ण स्क्वायरमा उनको ५० प्रतिशत सेयर लगानी रहेको छ। उक्त होटल बन्ने जग्गाको २९ प्रतिशत हिस्सा उनको रहेको छ।
अन्नपूर्णको ४२ रोपनी जग्गामा १९ तले २ वटा भवन बन्नेछ। निर्माणाधीन मलमा कुल ८ अर्ब रुपैयाँ लगानी हुनेछ। त्यसका लागि नयाँ कम्पनी खडा गरिएको छ, जसमा भाटभटेनीको ५० प्रतिशत, श्रेष्ठको २५ प्रतिशत, डेल अन्नपूर्णको १५ प्रतिशत र अन्य लगानीकर्ताहरुको १५ प्रतिशत सेयर हिस्सा छ। गुरुङका अनुसार नयाँ बन्ने मल भित्रको करिब १ लाख वर्गफिट क्षेत्रफलको भाटभटेनी सुपर स्टोर पनि सञ्चालन गरिने छ।
श्रेष्ठसँगको सहकार्यमा गुरुङले १ अर्ब ५० करोडको लागतमा चितवनमा अत्याधुनिक कोल्ड स्टोर निर्माण सुरु गरिरहेका छन्। रत्ननगर नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गसँग जोडिएको ७ बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण सुरु भइरहेको छ। ‘अब मूल्य नपाएर कृषि उपज सस्तोमा बिक्री गर्नुपर्दैन,’ गुरुङले भने, ‘किसानलाई प्रोत्साहन गरेर त्यहाँ उत्पादित वस्तु खरिद गरी ग्रेडिङ, लेबलिङ र प्याकेजिङ गरेर भण्डारण गरी आवश्यकतानुसार बजार पठाउने छौं।’
उद्योग सञ्चालनका लागि आवश्यक केही कच्चा पदार्थ भारत र चीनबाट आयात गरिनेछ भने उत्पादन सुरु गर्नुअघि अन्तर्राष्ट्रिय स्तरका विज्ञबाट श्रमिकलाई तालिम दिने व्यवस्था पनि गरिने गुरुङ बताउँछन्।
गुरुङले उमेश श्रेष्ठसँगको साझेदारीमा भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा तयारी पोसाक उद्योगको काम अगाडि बढाएका छन्। डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण सुरु भएको उद्योगमा प्रारम्भिक चरणमा १ हजार २ सय नेपालीलाई प्रत्यक्ष रोजगारी दिइने छ।
१० महिनाभित्रै सञ्चालनमा ल्याउने गरी निर्माण सुरु भएको उद्योग सञ्चालनमा आएपछि अमेरिका र युरोपका लागि तयारी पोसाक (रेडिमेड गार्मेन्ट) निर्यात गरिने गुरुङको भनाइ छ। त्यस्तै, भाटभटेनीका सम्पूर्ण स्टोरमामा पनि तयारी पोसाक बिक्री वितरण गरिनेछ।

उद्योग सञ्चालनका लागि आवश्यक केही कच्चा पदार्थ भारत र चीनबाट आयात गरिनेछ भने उत्पादन सुरु गर्नुअघि अन्तर्राष्ट्रिय स्तरका विज्ञबाट श्रमिकलाई तालिम दिने व्यवस्था पनि गरिने गुरुङ बताउँछन्।
अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली एवं ब्याट्री ब्याकअपसहितको सौर्य ऊर्जा भण्डारण रहने गरी निर्माण र प्रयोग गरिनेछ। परियोजना १० महिनाभित्र सञ्चालनमा आउनेछ। उनीहरूले ऊर्जा र सौर्य ऊर्जामा पनि साझेदारी गरेका छन। मीनबहादुरको भाटभटेनी र उमेश श्रेष्ठको रिन्यू होल्डिंग्स् प्रालिबीच भाटभटेनीका विभिन्न स्थानमा रहेका सुपरमार्केटका छत तथा खाली स्थानलाई उपयोग गरेर १२.७५० मेगावाट बराबरको सौर्य ऊर्जा उत्पादन तथा सहकार्य गर्ने गरी काम अगाडि बढाइएको छ।
लगानी विस्तार गर्ने क्रममा गुरुङले काठमाडौंको तीनकुनेमा निर्माणाधीन काठमाडौं इन्टरनेसनल हस्पिटलको साढे ४५ प्रतिशत सेयर खरिद गरेका छन्। ४ वर्षदेखि निर्माणाधीन अवस्थाको काठमाडौं इन्टरनेसनल हस्पिटलका संस्थापक प्रा.डा. हरिश्चन्द्र न्यौपानेको ७१ करोड ५० लाख रुपैयाँमा सेयर खरिद गरेका हुन्।
लगानीलाई बृहत् बनाउने उद्देश्यले रोडसो रियलस्टेटका अध्यक्ष कालु गुरुङसँगको सहकार्यमा अपार्टमेन्ट निर्माणमा समेत भाटभटेनी प्रवेश गरेको छ।
मीनबहादुरले हाल ओम अस्पतालमा कार्यरत आफ्ना ज्वाइँ प्रतीकमान सिंह गुरुङको चाहनामा मेडिकल क्षेत्रमा लगानी बढाएको बताए। ‘उहाँ (ज्वाइँ)ले बेलायतबाट एमबीबीएस, त्यहिबाट एम.एस, पीएचडी र दुईवर्षे फेलोसिप अमेरिकामा रोबोटबाट शल्यक्रिया गर्ने दक्षता हासिल गर्नुभएको छ। उहाँलाई नेपालमै सेवा गर्ने वातावरणका लागि यो क्षेत्रमा लगानी विस्तार गरेको हुँ। यो उहाँले नै हेर्नुहुनेछ’, मीनबहादुरले भने।
हस्पिटल पहिलो चरणमा १०० र त्यसपछि २०० शय्याको बनाइनेछ। हस्पिटलमा इमर्जेन्सीसहित जनरल सर्जरी, मुटु, कलेजो, पाचन प्रणाली, आँखा, क्यान्सर, प्रसूति, नसालगायत उपचार व्यवस्था हुनेछ।
लगानीलाई बृहत् बनाउने उद्देश्यले रोडसो रियलस्टेटका अध्यक्ष कालु गुरुङसँगको सहकार्यमा अपार्टमेन्ट निर्माणमा समेत भाटभटेनी प्रवेश गरेको छ। पहिलो चरणमा काठमाडौंको चुच्चेपाटीमा लक्जरी अपार्टमेन्ट बनाउने गरी भूमिपूजा भइसकेको छ। ‘जो–जससँग जस्तो खाले विज्ञता छ, उहाँहरूसँग सहकार्य गर्न चाहन्छु,’ अध्यक्ष गुरुङले भने,
‘तिनकुने र मीनभवन क्षेत्रमा पनि अपार्टमेन्टको तयारी अगाडि बढाइएको छौँ।’
गुरुङले विराटनगरमा निर्माणाधीन पाँचतारे होटल सेञ्चुरियन खरिद गरेका छन्। उद्योगी एवं पूर्वउद्योगराज्यमन्त्री मोतीलाल दुगडले निर्माण गरेको होटल सञ्चालनमा समस्या भएपछि गुरुङले १ अर्ब ५० करोड लागतमा खरिद गरेका हुन्। १८० वटा कोठा रहेको होटल डेढ बिघा क्षेत्रफलमा फैलिएको छ। होटल विसं. २०८३ भित्रै सञ्चालनमा आउनेछ।

वित्तीय संस्थातर्फ ग्लोबल आइएमई, कुमारी, सिद्धार्थ र ज्योति विकास बैंक, जलविद्युत् क्षेत्रतर्फ माउन्टेन इनर्जी, उद्योगतर्फ काठमाडौं स्टील र चन्द्रागिरि हिल्समा मीनबहादुरको लगानी छ।
लगानी यात्रा
नेपाल लगानीका लागि भर्जिन ल्यान्ड हो र यो प्रशस्त सम्भावना छ भन्ने सन्देश दिनैका लागि अहिले गुरुङले केही साझेदारसमेत भित्र्याएका छन्। मुलुकभित्रै अर्बौंं लगानी गरेर हजारौंलाई रोजगारी दिने उद्देश्य उनको समूहले लिएको छ। हाल गुरुङले आफ्नो
साझेदारमा प्रतिष्ठित व्यवसायी उमेश श्रेष्ठसहित पाँच जनाको टिम निर्माण गरी लगानी विस्तार गरिरहेका हुन्।
गुरुङले सामूहिक लगानीलाई अगाडि बढाउन श्रेष्ठसहित साझेदारको रुपमा किरण श्रेष्ठ, रामकृष्ण खतिवडा, राजेश श्रेष्ठलाई लिएका छन्। पाँच जनाको एउटै सोच भनेको नेपाल र नेपालीलाई सम्पन्न बनाउने भन्ने नै रहेको गुरुङ बताउँछन्।
मनकारी मीनबहादुर
मीनबहादुरले लगानीलाई जति विस्तार गरेका छन्, परोपकारलाई पनि उति नै रफ्तार दिँदै आएका छन्। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ईएचएस (विस्तारित सेवा) भवन ९ करोड ५० लाखमा निर्माण गरी हस्तान्तरण गरिदिएका छन्।
अहिलेसम्म अर्बौं रुपैयाँ सामाजिक कर्ममा खर्चिइसकेका गुरुङ जति धेरै दान गर्न पाइयो, त्यति नै मनमा आनन्द आउने बताउँछन्।
यसअघि पनि त्रिवि शिक्षण अस्पताल परिसरमा आकस्मिक कक्ष भवन २०६८ मै १० करोड रुपैयाँमा निर्माण गरेर हस्तान्तरण भइसकेको छ। त्यसपछि अस्पताल व्यवस्थापनबाटै भएको अनुरोध स्वीकारेर ईएचएस भवन निर्माण गरिदिएको गुरुङ बताउँछन्। त्रिवि शिक्षण अस्पतालका यी दुई भवनमा नेपालका जुनसुकै ठाउँका नागरिकले पनि सेवा प्राप्त गर्न सक्छन्।
अहिलेसम्म अर्बौं रुपैयाँ सामाजिक कर्ममा खर्चिइसकेका गुरुङ जति धेरै दान गर्न पाइयो, त्यति नै मनमा आनन्द आउने बताउँछन्। त्रिवि शिक्षण अस्पतालमा पनि देशका विभिन्न क्षेत्रबाट उपचारका लागि सर्वसाधारण नागरिक आउने गरेका छन् र शैय्या नपाएर महिनौंसम्म अप्रेसनका लागि कुर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्नकै लागि भवन निर्माण गरिदिएको उनी सुनाउँछन्।
एउटा अप्रेसन गर्न पनि ३ महिनासम्म कुर्नुपर्ने हुन्छ। तर, अब यो एचएस भवन निर्माण गरिदिएपछि डेढ महिनाको बीचमा अप्रेसनको पालो आउने र निजी अस्पतालको तुलनामा धेरै सस्तोमा गर्न सकिने वातावरण सिर्जना भएको उनले बताए।
काठमाडौंको बूढानीलकण्ठमा निर्माणाधीन बाल अस्पतालमा ४१ करोडको सहयोग मात्र हैन, अझै केही थप्ने उनको योजना छ। डा. भगवान कोइरालाको बाल अस्पताल निर्माण अभियानलाई सार्थक बनाउन आफूले सहयोग अगाडि बढाएको गुरुङले बताए।

सहयोगभाव मनभित्रबाटै आउँछ। कहीँ दुःखको कुरा सुन्नासाथ उनको मनमा थोरै करुणा भाव आउछ। थोरै भए पनि सहयोग गरिहालौं र पठाइहालौं भन्ने चाहनाले उनलाई दान गर्ने बाटोमा डोर्याइरहेको हुन्छ, निरन्तर।
दानवीर गुरुङ दम्पतीले भक्तपुरमा परिवारसहित एक इँटाभट्टामा काम गर्दै पढाइलाई निरन्तरता दिएर यो वर्षको एसइईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी कार्यालयमै बोलाएर १ लाख नगद, एउटा ल्यापटपसहित सम्मान गरेका छन्। प्रसादी कलेजमा कक्षा १२ सम्मको अध्ययनका लागि भर्ना गरिदिएर र एमबीबीएससम्मको अध्ययन गराउने जिम्मासमेत लिइसकेका छन्। अहिलेसम्म दार्चुला, हुम्ला, मुगु, कालीकोट, खोटाङ,सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रुकुम लगाएतका दुर्गम जिल्लाका १४ जना विद्यार्थीलाई एमबीबीएस तहको अध्ययन गराइसकेका छन्।
२०७२ पछि र कोभिड–१९ का बेला बजारभाउ एक्कासि बढ्न थालेपछि भाटभटेनीले सुलभ मूल्यमा घरघरमै सामान पुर्याएको थियो।
२०८१ असार १२ को बाढीपहिरोमा परेकालाई उद्धार र सहयोगमा साथ मिलोस् भन्ने उद्देश्यले सबैभन्दा पहिला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १ करोड ११ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरे। जाजरकोट भूकम्पका बेला प्रभावितका लागि सरकारी कोषमा १ करोड ११ लाखसहित ८० लाख बराबरको खाद्यान्न वितरणसमेत गरे। कोरोना कहरका बेला उपचारमा सहयोग पुर्याउन संघीय सरकारलाई १ करोड र सातवटै प्रदेशलाई २५/२५ लाख रुपैयाँ सहयोग प्रदान गरे।
२०७२ पछि र कोभिड–१९ का बेला बजारभाउ एक्कासि बढ्न थालेपछि भाटभटेनीले सुलभ मूल्यमा घरघरमै सामान पुर्याएको थियो। वस्तु व्यापारतर्फ बढी कर तिर्नेमा भाटभटेनी नै सरकारबाट लगातार सम्मानित हुँदै आएको छ। भारतको हरिद्वारमा पशुपतिनाथको मन्दिर निर्माण, खोटाङको हलेसीमा श्री गणेशको मन्दिर, काठमाडौंको नारायणचौरमा गणेश मन्दिर र खोटाङको एक विद्यालय निर्माणमा भाटभटेनीको सहयोग रहेको छ। गुरुङले दानका लागि वार्षिक क्यालेन्डरै बनाउने गरेका छन्। कमाइमध्येको निश्चित रकम दानका लागि छुट्याउने गरेको र कुनै आपद्विपद् परे सहयोग गरिँदै आएको उनले बताए।
नेकपा एमालेलाई पार्टी कार्यालय निर्माणका लागि कीर्तिपुरमा डेढ अर्ब पर्नेे जग्गा र भवन दान दिने भनेपछि त्यतिबेला मीनबहादुरको खुबै चर्चा भयो। उनको त्यो दानलाई समर्थन र विरोध बराबरजस्तै भयो। खासमा उनले लिएका थिएनन्। दिएका थिए। उनले राजनीतिक पार्टीलाई खुला र पारदर्शी तवरले दान र चन्दा दिनुपर्छ भन्ने मानक बसाए। व्यवसायीले राजनीतिक दललाई अदृश्य सहयोग गरिरहेका बेला मीनबहादुरले खुलेआम दिएका थिए। व्यापारी र नेताको स्वार्थ बाझिने भन्दै विरोध भयो। विरोधपछि अदालतमा मुद्दासमेत दायर भयो। तर, अदालतबाट यो विषय टुंगिएर दानलाई वैधानिकता दिइयो।
अन्य व्यवसायी अनुकूल वातावरण खोजीमा लागिरहँदा मीनबहादुर भने साझेदार जम्मा गर्दै पृथक–पृथक क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन्।
काम गर्ने बेला उनलाई समस्या नआएका भने होइनन्। जस्तो, बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद गर्दा गुरुङलाई जीवनकै ठूलो चोट पुग्यो। जग्गा खरिदको विषय विवादमा आयो। उनीमाथि मुद्दा पर्यो। त्यहीँ मन–चोटले उनी झन् बलिया हुँदै गएका छन्। कुदाइरहेका छन्, व्यापार र परोपकारको समान चक्का।
मुलुकभित्र सम्भावनाको खानी देख्छन् गुरुङ
पछिल्लो केही वर्षयता मुलुकमा लगानी वातावरण नभएको भन्दै धेरै उद्योगी व्यवसायीले पुँजी परिचालन गरेका छैनन्। कतिले भएका उद्योगसमेत पूर्ण क्षमतामा सञ्चालन गरेका छैनन् भने कतिपयले वर्षौंदेखि लगानी विस्तार रोकिरहेका छन्। तर, मीनबहादुर यस्ता आँटिला व्यवसायी हुन्, जसले दुई वर्षको बीचमा अर्बौं रुपैयाँ लगानी गरेर आफ्नो व्यावसायिक रफ्तारलाई बढाइरहेका छन्।

अन्य व्यवसायी अनुकूल वातावरण खोजीमा लागिरहँदा मीनबहादुर भने साझेदार जम्मा गर्दै पृथक–पृथक क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन्। लगानी र व्यवसाय विस्तार गरिरहँदा उनको व्यवसाय मात्र फस्टाएको छैन, हजारौंको रोजगारी सिर्जना भएको छ भने मुलुकलाई राजस्व आउने ढोकासमेत खुल्दै गएका छन्।
‘अहिलेजस्तो लगानी वातावरण कहिल्यै हुँदैन,’ अध्यक्ष गुरुङले भने, ‘बैंकमा लगानीयोग्य रकम थुप्रिएको छ, ब्याजदर पनि घटिरहेको छ। यस्तो बेला लगानी गर्दा पछि फाइदा हुन्छ।’ मुलुकमा लगानी वातावरण छैन भन्ने गलत भाष्य बनाइएको उनको बुझाइ छ।
‘किसानकै छोरा भएकाले उनीहरूका दुःख र पीडा राम्रोसँग बुझेको छु। त्यसैले किसानलाई कुनै पनि दुःख नहोस् र बिचौलियाले बढी फाइदा नलिउन् भन्ने उद्देश्य राखेर चितवनमा कोल्ड स्टोर निर्माण गरिरहेका छौं। अहिले भाटभटेनीमा बिक्री हुने मौसमी फलफूल सीधै किसानबाट ल्याइने गरेको छ। किसानसँग सीधा सम्पर्क गरेर फलफूल किन्ने गरिएको छ। यसले उनीहरूलाई प्रत्यक्ष आम्दानी र नाफा पुगेको छ’, उनी भन्छन्।
भाटभटेनीमा मात्रै १० हजारलाई रोजगारी
गुरुङले भाटभटेनी सुपर मार्केटमा मात्रै अहिलेसम्म १० हजार बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन्। अप्रत्यक्ष रुपमा सोही संख्यामा रोजगारी पाइरहेका छन्। एउटै ग्रुपले यति धेरै रोजगारी सिर्जना गर्नु आफैंमा चुनौतीपूर्ण हो। अझ अहिले भाटभटेनीले कलेज पढ्ने विद्यार्थीलाई लक्षित गरी घन्टाको आधार अर्थात् पार्टटाइम जबको समेत व्यवस्था गरेको छ।
गुरुङ भन्छन्, ‘विदेशमा जस्तै नेपालमा पनि भाटभटेनीले पार्टटाइम जबको व्यवस्था गरेपछि कमाउँदै, पढ्दै गरेका विद्यार्थीलाई ठूलो राहत मिलेको छ। मेरो उद्देश्य ५० हजार जनालाई रोजगारी दिने हो। सबैलाई सम्पन्न बनाउने सोच हो।’
रिटायर्डमेन्टको छैन सपना, १८ घन्टाको खटाइ
६ दशक कटिसकेका गुरुङले भाटभटेनीमार्फत व्यावसायिक साम्राज्य मात्र खडा गरेनन्, उनले कमाएको पैसा दान गर्नुपर्छ भन्ने भाष्यसमेत निर्माण गरिदिए। व्यावसायिक साम्राज्य खडा गरेका गुरुङ अहिले पनि दैनिक १८ घन्टाभन्दा बढी खटिने गरेको बताउँछन्। ‘अहिले पनि म दैनिक १८ घन्टा काममै खटिरहेको हुन्छु,’ अध्यक्ष गुरुङले भने, ‘काममै रमाइरहेको हुन्छु। २०/३० वर्ष सक्रिय हुन्छु भन्ने सोच राखेको छु।’
हालसम्म सञ्चालनमा रहेका स्टोर ठूला सहर केन्द्रित रहेकाले अब विस्तारित सहरभित्र पनि भाटभटेनीको सेवा विस्तार गर्न मिनीभाटभटेनीको अवधारणामा काम गर्न थालिएको उनले बताए।
देशका नागरिक पनि सम्पन्न होउन् र देश पनि सम्पन्न होस् भन्ने सपना साँचेका छन्, उनले। अहिले मीनबहादुरलाई सारथिका रूपमा छोरा कल्याणले सघाइरहेका छन्। विगत एक दशकअघिबाटै छोरा कल्याणले भाटभटेनीको अप्रेसन डिपार्ट सम्हालिरहेका छन्।
अहिले २७ वटा स्टोर सञ्चालनमा छन् भने निकट भविष्य ५१ वटासम्म पुर्याउने योजना छ। हालसम्म सञ्चालनमा रहेका स्टोर ठूला सहर केन्द्रित रहेकाले अब विस्तारित सहरभित्र पनि भाटभटेनीको सेवा विस्तार गर्न मिनीभाटभटेनीको अवधारणामा काम गर्न थालिएको उनले बताए।
भाडाकै घरमा बस्छन् मीनबहादुर
धेरैलाई पत्यार नलाग्न सक्छ-अर्बौं रुपैयाँ दान दिने र दसौं हजारलाई रोजगारी दिने अर्बपति भाडाकै घरमा बसिरहेका छन् भन्दा। तर, वास्तविकता सत्य हो। भाटभटेनीका गुरुङ परिवार अहिले पनि भाडाकै घरमा बसिरहेछन्। त्यो पनि चार आना क्षेत्रफलमा बनेको घरमा बसिरहेको अध्यक्ष गुरुङ बताउँछन्।
‘घर किनेपछि लगानी एक ठाउँमा जमेर बस्छ। त्यसैले भाडाकै घरमा बसेर घर किन्ने पैसा लगानी गरेरै अगाडी बढौं भन्ने हाम्रो सोच हो,’ अध्यक्ष गुरुङले भने, ‘धेरै लगानी गरेर ठूलो संख्यालाई रोजगारी दिने र मुलुकलाई राजस्व पनि धेरै बुझाउने ध्यानमा लागेकाले घर किन्न र बनाउनेतिर सोचै गएन।’
२०४१ जेठ ४ मा नक्सालस्थित भाटभटेनी मन्दिर नजिकै १० बाइ १२ को सटरमा किराना पसल सुरु गरेका थिए, उनले।
छोरा–बुहारीले बेलाबेला घर किनेर बसौं भन्ने प्रस्ताव उनलाई नगरेका भने होइनन्। तर, अहिलेको समय लगानी गर्ने मात्र रहेकाले सुरुमा धेरै ठाउँमा लगानी विस्तार गर्ने र पछि राम्रो घरमा बसौंला भनेर सम्झाउने गरेको उनले सुनाए। ‘जहिल्यै आफ्नो धरातल बिर्सनुहुन्न भन्ने मेरो धारणा हो। पहिला पनि मेरो काठमाडौंमा घर थिएन, अहिले पनि घर बनाएको छैन। सुरुमा अझै मझबुत भएर मात्र आफ्नै घर बनाएर बस्नुपर्छ भन्ने सोच हो’, उनले भने।
लगानीमैत्री नीति फराकिलो बनाउन सुझाव
मुलुकमा लगानी सम्भावना नभएका हैनन्। जुन क्षेत्रमा लगानी गर्न सक्यो, त्यही क्षेत्रमा सफलता हात पार्न सक्ने ठाउँ प्रशस्त छन्। तर, सरकारी नीति नियम भने अझै लगानीमैत्री बनाउनुपर्ने गुरुङको सुझाव छ। ‘लगानी गर्नेहरूले सहज वातावरण खोज्छन् तर, नेपालमा त्यो खाले अवस्था हुन नसकेको सत्य हो। हामीले असहज भए पनि लगानी गरिरहेका छौं। नेपाल र नेपाली माटोको माया छ। तर, सबैले हामीजस्तै दुःख गरेर लगानी गर्छन् भन्ने हुँदैन। त्यसैले सरकारी स्तरमा हुने कामलाई केही सहज बनाइदिए अहिलेको तुलनामा धेरै लगानी नेपालमा आउन सक्छ।
मुलुक समृद्ध बनाउन र रोजगारी सिर्जना गर्न विदेशी लगानी आवश्यक पर्छ भन्ने हुँदैन। यहीँका उद्योगी व्यवसायीलाई राम्रो वातावरण बनाइदिन सके खर्बौंको लगानी गरेर दसौं लाखलाई रोजगारी दिन सक्ने क्षमता नेपाली व्यवसायीसँग छ। त्यसका लागि सरकार लगानीमैत्री नीति निर्माणमा अलि लचक हुनुपर्छ,’ गुरुङ भन्छन् । यसमा सरकारभन्दा पनि सरकारी कर्मचारीले राम्रो भूमिका निर्वाह गर्न आवश्यक रहेको धारणा छ।
भाटभटेनीको कथा
आजभन्दा करिब ४१ वर्षअघि ३५ हजार रुपैयाँबाट व्यापार सुरु गरेका मीनबहादुर गुरुङ दम्पती अहिले अर्बपति बनेका छन्। भाटभटेनीले एकै वर्षमा ३७ अर्बभन्दा बढी कारोबार गर्दै आएको छ।
२०४१ जेठ ४ मा नक्सालस्थित भाटभटेनी मन्दिर नजिकै १० बाइ १२ को सटरमा किराना पसल सुरु गरेका थिए, उनले। त्यो बेला एउटा सटरको भाडा ७०० रुपैयाँ थियो। पसलबाट पहिलो दिनमै १ हजार ३ सय रुपैयाँको कारोबार भएको स्मरण गर्छन्, गुरुङ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर मीनबहादुरले २०४० मा विवाह गरेर काठमाडौंमै घरजम बसाले। गुरुङले नेपाल बैंकमा सहायक स्तरको जागिर खान्थे। काठमाडौंको बसाइँ केही महँगो हुने भएकाले एक्लो जागिरले मात्र नपुग्ने ठानेर केही समय श्रीमतीका लागि पनि रोजगारी खोजे। तर, भनसुन गर्ने कोही नभएकाले तत्कालै जागिर नपाएपछि अब बरु आफ्नै केही व्यवसाय गर्नुपर्छ भन्ने सोच उनको मनमा पलायो। काठमाडौंमा बाँच्नकै लागि व्यवसाय सुरु गरे। अर्थशास्त्र पढेका मीनबहादुरले मार्केटिङसम्बन्धी अध्ययन गरेकाले पनि केही ज्ञान थियो।
नेपाल बैंक न्यूरोड शाखामा जागिरे मीनबहादुरले खाजा समय बचाउँदै बजार गई किनेको ५० किलोजतिको सामान बेलुकी घर फर्किने बेला लग्ने गर्थे।
पसल गरिरहेको सटरलाई स्टोरको रुपमा ल्याउने सोच भने २०५० भदौमा आएको थियो । उनले पहिलो स्टोर त्यहीँ बेला सञ्चालनमा ल्याए । ३ हजार स्क्वायर फिटको स्टोरबाट भाटभटेनी सुपर मार्केट सुरुआत गरे। सुरुमा १३ जनाले काम पाए। बुबाले २०३१ मा ४०० रुपैयाँ नेपाल (काठमाडौं) पठाएका थिए– आफैं जागिर खाऊ र पढ्दै आफ्नो भविष्य राम्रो बनाऊ भनेर। ‘त्यो बेला ४०० रुपैयाँ दिएको मात्र हैन, पैसा कमाउनू र दानी बन्नू भन्ने बुबा, हजुरबुबाको आशीष सम्झिएँ। अर्थात्, अरूलाई पनि दिएर खाऊ भनेर बुबा र हजुर बुबाबाट व्यक्त वचनरुपी ज्ञान अहिले पनि आत्मसात् गरिरहेको छु’, उनले भने।
नेपाल बैंक न्यूरोड शाखामा जागिरे मीनबहादुरले खाजा समय बचाउँदै बजार गई किनेको ५० किलोजतिको सामान बेलुकी घर फर्किने बेला लग्ने गर्थे। श्रीमतीलाई खाना खान पठाउने र आफू पसलमा बस्थे। राती ११ बजे पसल बन्द गर्थे। त्यो बेला सामान बोक्दाको काँधको दुखाइ अझै नहराएको बताउँछन् उनी।
‘पसल सुरु गर्दा नै सानो बिउपुँजीबाट गरियो। अब यसलाई भविष्यमा राम्रो बनाउँदै जान्छु भन्ने सपना बुनें। सानै स्टोर भए पनि चिटिक्क बनाउने र धेरै नाफा नलिएर सामान बिक्री गरियो। त्यो बेला पसलको नाम भाटभटेनी कोल्ड स्टोर थियो’, उनले विगतका कर्म कोट्याए। व्यवसाय राम्रै चलिरहेको बेला २०४७ मा गुरुङको जीवनमा सबैभन्दा ठूलो घटना घट्यो। कोल्ड स्टोरसँगैको अर्को सटरमा क्यासेट पसल थियो।

क्यासेट पसलमा आगलागी भएपछि उनको पसलमा समेत ठूलो क्षति पुग्यो। तर, उनले हार खाएनन्। केही पैसा कमाइसकेकाले अब यही व्यवसायलाई विस्तार गर्नुपर्छ भन्ठानेर अन्तर्राष्ट्रिय रुपमा प्रचलित डिपार्टमेन्ट स्टोरलाई नेपालमा पनि चलाउनुपर्छ भन्ने सोच राखेर स्टोर निर्माण गरे। त्यो बेला उनको लगानी ६० लाख थियो। सोही डिपार्टमेन्ट स्टोर अहिले रिटेल बिजनेसको पायोनियरका रूपमा स्थापित भएको छ।
स्वास्थ्य क्षेत्रमा बढी दान किन?
करिब ६० वर्षअघिको कुरा हो। गुरुङका कान्छा बुबा लाहुरे थिए। त्यो बेला आफ्नी छोरीलाई समे लिएर खोटाङ पुगेका थिए। विदेशबाट भर्खरै आएको कारण पनि हुन सक्छ, पानी नमिलेर झाडापखाला लाग्यो। तर, गाउँमा उपचार गर्ने कुनै साधन नभएपछि उपचार अभावले सानै उमेरमा दिदी गुमाउनुपरेको पीडा मीनबहादुरको मनमा गडेको थियो। जब उनी काठमाडौंमा आफ्नो व्यवसायलाई रफ्तारमा लगे र केही रकम सहयोग गर्न सक्ने स्थितिमा पुगे, त्यसबेला उनले उपचार नपाएरै दिदी बितेको घटना सम्झिए। गुरुङले आफ्नी दिदीजस्तै अन्यले पनि उपचार अभावकै कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने सोच राखेरै स्वास्थ्य क्षेत्रमा धेरै दान दिने गरेको सुनाए।
लगानी गर्ने र छोटो समयमै मुनाफा नभएको बताएर व्यवसाय नै छाडेर बिदेसिने युवाको संख्या बढ्दो छ।
उनले डाक्टरी पढ्न चाहनेलाई रकम अभावका कारण रोकिन नपरोस् भनेरै एमबीबीएस पढ्ने विद्यार्थीका निम्ति छात्रवृत्तिसमेत दिँदै आएका छन्। ग्रामीण क्षेत्रका दूरदराजमा अहिले पनि डाक्टर अभाव रहेकाले सहज बनाउन एमबीबीएस अध्ययनका लागिग छात्रवृत्ति दिइने गरेको गुरुङ बताउँछन्।
सफलताको टिप्सः जाँगर र धैर्य
लगानी गर्ने र छोटो समयमै मुनाफा नभएको बताएर व्यवसाय नै छाडेर बिदेसिने युवाको संख्या बढ्दो छ। मीनबहादुर व्यवसाय गरेर फँसेका र नयाँ व्यवसायीका रूपमा प्रवेश गर्न लागेका युवालाई सफलताको टिप्स भनेकै जाँगर र धैर्य सबैभन्दा ठूलो भएको बताउँछन्। जुन व्यक्तिले आफ्नो काममा दिलो ज्यान दिएर काम गर्छ, उसले सफलता हात पार्ने उनको अनुभव छ। अहिले भएन भनेर भोलिको समय नकुर्ने युवा धैर्य हुनुपर्ने उनको सुझाव छ। २४ वर्षकै उमेरमा व्यवसायमा हात हालेका गुरुङ आफूले पाएको सफलताको श्रेय पनि लगनशील र धैर्य नै प्रमुख रहेको बताउँछन्।