काठमाडौं। खरको छानोमुनि चिटिक्क पारेर राखिएका पिर्का। कतै फलेकमाथि गुन्द्री र मान्द्रो पनि ओछ्याएका। छेउमै काठका मुढा, जहाँ चियाका कप अड्याउन सकिन्छ। भित्री स्वरुप हेर्दा परम्परा झल्कने खाले सामान सजावट गरिएको हुन्छ। झट्ट हेर्दा गाउँको एउटा घरभित्रै पसेजस्तो लाग्ने।
तिनै परम्परागत घर अर्थात् चिया पसलमा थरीथरीका चिया पाइन्छन्। चिया खाने कप पनि पुरानै खाले राखिएका छन्। यसले सहर पसेकालाई गाउँको झल्को दिलाउँछ भने सहरमै जन्मिहुर्किएकालाई गाउँको आभास दिलाउँछ।
यस्ता खाले संरचना अहिले सहरका चोक–चोकमा यत्रतत्र देखिन थालेका छन्। खोला किनारा होस् या व्यस्त सहर। जहाँ पनि परम्परागत रुपमा सजावट गरिएका चियापसल अझ त्यसमा टिपिकल गाउँले नाम राखिएका ब्यानर प्रशस्तै देखिन्छन्।

तिनै चियापसल आजभोलि जेन जी पुस्तालाई चियाको चुस्की लिँदै आफ्नो मन अड्याउने विश्राम–थलो बनेका छन्। सहरको व्यस्त जीवन, तनाव, उदास मन, दुःखपीडा बिसाउने चौतारीजस्तै बनेका छन्, अहिलेका चियाघर। जसरी पहिले गाउँघरमा शितल खोज्न, आराम गर्न, साथीभाइसँग गफिन वरपीपलको चौतारीमा मानिस भेला हुन्थे। त्यसरी नै अहिले विभिन्न ब्रान्डमा खोलिएका चिया पसलमा तन्नेरीको भीड लाग्ने गरेको छ।
हुन त, नेपालीका लागि चिया संस्कृति नयाँ भने होइन। वयस्कदेखि वृद्धास्थासम्मकाले पनि चियाको चुस्की लिन्छन्। चियाले न भोक मेट्छ, न त पोषण दिन्छ। तर, चियालाई थकाइ मार्ने, तलतल मेट्ने, तनाव कम गर्ने अर्थात् ‘फ्रेस’ हुने कडीका रूपमा अथ्र्याइने गरिन्छ।
त्यसैले त आजभोलि जताततै विभिन्न ब्रान्डमा चियापसल खुलेका छन्। चियादानी, चिया अड्डा, चियावाला, चियासंसार, मड्का चिया, बूढा जीको चिया, वल्ड स्कुल चिया र दाह्री भाइको चिया आदि÷इत्यादि...। विशेषगरी चिया पसलमा चिया पारखी जेन जी पुस्ता झुम्मिएकै देखिन्छ।
चिया संस्कृतिको कुरा गर्दा पहिले खासखास ठाउँमा चियाअड्डा हुन्थे। तर, अहिले गल्लीपिच्छे छ्यापछ्याप्ती चियापसल छन्। तन्नेरी पुस्तामा छाएको नयाँ ट्रेन्डले एकातिर चिया संस्कृतिमा बदलाव आएको छ भने अर्कातिर व्यवसायमा युवा नै बढी सक्रिय छन्।
चिया ‘एडिक्ट’
‘लास्टै बोरिङ भो! थोरै चिनी, हल्का रङ गाढा, दुई कप दूध चिया ल दाइ।’ गफिँदै साथी डाक्टर सरस्वती साहसँग चिया अड्डामा पुगेकी डा. अल्का सिंहको यो अर्डर गर्ने तरिका हो। डा.साह ओम अस्पताल चावहिल र सिंह वयोधा अस्पताल बल्खुमा कार्यरत छन्।
उनीहरू दुवै जना छुट्टाछुट्टै अस्पतालमा कामकाज गरिरहे पनि समय मिलाएरै चिया चुस्की लिन बानेश्वरस्थित चियाअड्डा पुग्ने गरेका छन्। यहाँ आउनु उनीहरूको दैनिकीजस्तै भएको छ।
दिनभरको ह्याङ उतार्न अस्पतालमा बिदा परेका बेला चियाअड्डा आउने गरेको उनीहरू बताउँछन्। डा.अल्का आफू चिया ‘एडिक्ट’ नै भएको सुनाउँछिन्। ‘म त चिया एडिक्ट नै हो। मेरो शरीरमा पानीको भन्दा चियाको मात्रा धेरै होला’, डा. सिंह खुसी सुनिन्छन्। उनको चिया पिउने समय यकिन छैन। जतिबेला पनि पिउँछिन्। तर, विशेषगरी उनलाई बिहान उठ्दा र बेलुका सुत्ने समय अनिवार्य चिया नभइहुन्न।
तिनै परम्परागत घर अर्थात् चिया पसलमा थरीथरीका चिया पाइन्छन्। चिया खाने कप पनि पुरानै खाले राखिएका छन्। यसले सहर पसेकालाई गाउँको झल्को दिलाउँछ भने सहरमै जन्मिहुर्किएकालाई गाउँको आभास दिलाउँछ।
उनी भन्छिन्, ‘मलाई जतिखेर पनि चिया चाहिन्छ। परीक्षाको समय दिनमा चार–पाँच पटक पिउँछु। यकिन टाइम त छैन। कामको चटारोले धेरै समय नमिल्ने हुँदा बिहान–बेलुका चिया खाने लत बसेको छ। बिहान उठ्नेबित्तिकै र बेलुका सुत्नुअघि चिया पिउनैपर्छ। नभए निद्रै लाग्दैन।’
पिङमा बसेर हल्लिँदै गफमा व्यस्त उनीहरूले चिया चुस्कीसँग आनन्द लिइरहेका देखिन्थे। दायाँबायाँ चियापारखी आफ्नै तालमा विभिन्न स्वादका चिया पिउँदै साथीभाइसँगै गफिँदै गरेको दृश्यले जोकोही पुलकित हुन्थे।

‘हामी चियालाई ‘नो’ भन्दैनौं। चिया एउटा ‘इमोसन’ भइसकेको छ। चियासँग हाम्रो ठूलो कनेक्सन छ। एमबीबीएस पढ्दा साथीहरू भेला भएर धेरैजसो खाली समय चिया पसलमा हुन्थ्याैं। अहिले पनि उस्तै छ। यहाँ बसेर एक–दुई कप चिया नपिएर कोठा जानै मन लाग्दैन,’ सरस्वती साहले सुनाइन्, ‘मलाई इलाइँची दूध चिया एकदमै मन पर्छ। चिया पिएपछि बल्ल मुड फ्रेस हुन्छ।’
‘बूढा जीको चिया’ पिउन चार जनाको ग्रुप आएकी टेक्सास इन्टरनेसनल कलेजमा स्नातक दोस्रोमा अध्ययनरत प्रकृति खत्रीले काठमाडौं उपत्यकामा खोलिएका धेरैजसो चिया अड्डाको स्वाद लिइसकेकी छन्।
उनलाई एक्लै भन्दा पनि साथीहरूको ग्रुप बनाएर चिया पिउन रमाइलो लाग्छ रे। चियापारखी उनलाई ग्रीन टी एकदमै मन पर्छ। उनका साथीहरूको रोजाइ पनि त्यहीँ हुने गर्छ।
‘मलाई साथीहरूको ग्रुप बनाएर चिया पिउन रमाइलो लाग्छ। यहाँ पनि हामी परीक्षा सकेर मुड फ्रेस हुन आएका हौं। यसरी गेम खेल्दै चिया पिउनुको मजा बेग्लै हुन्छ’, उनी भन्छिन्, ’पढ्दापढ्दै ह्याङ भइन्छ अनि यतै आउँछौं।’
‘बूढा जीको चिया’ पिउन आएका अर्का कैलालीका हरिश भट्ट आफूलाई चियापारखी भन्न रुचाउँछन्। पेसाले इन्जिनियर उनी पनि दुई जना सहकर्मीसँग चिया पिउन यहाँ आएका हुन्।
भर्खरै खोलिएको यो पसल हेर्दै आनन्द लाग्ने गरी सजिसजाउ गरिएको छ। आधुनिक बत्तीको झिलीमिली र गाउँकै झल्को दिने गरी भुइँमा बिच्छ्याइएका गिट्टी हेर्दै आकर्षक लाग्छन्। ठूला रेस्टुराँभन्दा यस्तै मन बहलाउन सकिने वातावरणमा तयार पारिएका साना चियापसल उपयुक्त लाग्ने गरेको उनी बताउँछन्।
‘अरु चीज खानुभन्दा लामो समयसम्म बस्न मिल्ने गरी चिया पिउँदै साथीहरूसँग गफ गर्न सकिन्छ’, उनले भने, ‘हामीलाई चाहिने भनेको आनन्द हो। शान्त वातावरण होस्, हाम्रा लागि ठूला रेस्टुराँभन्दा यस्तै साना चियापसल उपयुक्त हुन्छन्, सस्ता पनि मीठा पनि।’
चिया व्यवसायमा बढ्दो युवा आकर्षण
पछिल्लो केही वर्षदेखि चियापारखी मात्र होइन, चिया व्यवसायमा पनि युवा पुस्ताको आकर्षण बढी देखिन थालेको छ। होटल र रेस्टुराँको तुलनामा आर्थिक रुपले समेत थोरै लगानीमा चियापसल सञ्चालन गर्न सकिने र धेरै खर्चिलो पनि नहुने भएकाले जागिरको विकल्पमा आफ्नै व्यवसाय सञ्चालन गरी जीविकोपार्जन गर्ने तन्नेरीहरू बढ्न थालेका हुन्।
केही वर्षयता उपत्यकाका गल्ली–गल्ली र टोल–टोलमा २० देखि २५ वर्षमाथिका युवाहरूले चियापसल सञ्चालन गरिरहेका छन्। योग्यताअनुसार जागिर नपाउनु तिनको मार्ग परिवर्तन गर्ने आधार हो, आत्मानिर्भर हुने बाटो हो। त्यसैले त युवाहरूलाई भनिन्छ–‘भोलिका कर्णाधार’। त्यसकै उदाहरण स्नातक अध्ययन गरेका कैलालीका २४ वर्षीय प्रकाश बुढा क्षेत्री हुन्। उनी काठमाडौं बसेको वर्षौं भयो।
घरको जेठो छोरा भएकाले बुबापछिको सबै जिम्मेवारी उनको काँधमा थियो। उनले भनेजस्तो जागिर नपाइने, सरकारी जागिरमा तत्काल नाम निस्किनै गाह्रो, घरपरिवारले विदेश जान नदिनेलगायत कारणले आफ्नै व्यवसाय गर्न थाले।
केही वर्षयता उपत्यकाका गल्ली–गल्ली र टोल–टोलमा २० देखि २५ वर्षमाथिका युवाहरूले चियापसल सञ्चालन गरिरहेका छन्।
अहिले उनी घट्टेकुलोमा ‘बूढा जीको चिया’ नामक पसल सञ्चालन गर्दै आएका छन्। आधुनिक बत्तीको झिलीमिली र भुइँमा बिच्छ्याइएका गिट्टी, त्यसमाथि टेबल र मुढाले सजिएको उनको चियापसलमा दैनिक ग्राहक बनेर विशेषगरी विद्यार्थी, शिक्षक, पत्रकार, वकिल, नर्स, डाक्टर, इन्जिनियरलगायत आउँछन्।
दैनिक १०० कप चिया बिक्री हुने गरेको सुनाउँदै उनले पुरानो गाउँले शैलीमा पकाइएको चिया ग्राहक रोजाइमा पर्ने गरेको बताए। उनको पसलमा दूध चिया, कालो चिया र लेमन टी पाइन्छ। एक कप चियाको स्वादअनुसार ६० देखि ७० रुपैयाँसम्म मूल्य पर्ने गरेको छ।
‘यो सिकाइ हो, आफूले सोचेजस्तो जीवन हुँदैन। जता पनि संघर्ष गर्नुपर्छ,’ उनले भने, घरपरिवारको जोडबलले सरकारी जागिरको तयारीमा लागियो, सफल भइएन। नेपाल प्रहरीको असईमा नाम निकाले पनि वैकल्पिकमा फालिएँ। अहिले सरकारी जागिर खाने रहर पनि हराएको छ। अब यसमै लाग्छु, भोलि के हुन्छ, थाहा छैन। अहिले एकदम राम्रो चलेको छ।’
साथीको योजनामा चिया पेसामा लागेको उनी बताउँछन्। ‘म र गायक निगम आर्चायको योजना हो, बूढा जीको चियापसल। यसमा दुई जना दाइले पनि थोरै लगानी गर्नुभएको छ,’ उनले भने, ‘उहाँहरू मेरै गाउँका दाइ हो। दाइहरूले देशमै केही गर, हामी सपोर्ट गर्छौं भन्नुहुन्छ। त्यसले पनि मलाई थप हौसला मिलेको छ।’
उनको पसल बाटोमै रहेकाले नियमित ग्राहकभन्दा पनि आउजाउ गर्ने धेरै आउँछन्। बिहान ७ देखि बेलुका ९ बजेसम्म खटिने गरेको बताउँदै उनले भने, दाइहरू आएर पनि सहयोग गर्नुहुन्छ। युवायुवती ग्रुप बनाएर चिया खान आउँछन्। घन्टौंघन्टा गफिएर जान्छन्। यहाँ लुडो, चेसलगायत गेमको पनि व्यवस्था छ। गेम खेल्दै दुई÷तीन गिलास चिया पिएर जानुहुन्छ।’
प्रकाशले यो पसल ७ लाख लगानीमा चार महिनाअघि मात्र खोलेका हुन्। अहिले चिया बेचेरै मासिक करिब दुई लाखसम्म आम्दानी हुन थालेको बताउँछन्, उनी।
यस्तै, दोलखाका २५ वर्षीय सविन अछामीले ‘वल्ड चिया स्कुल’ खोलेको ३ वर्ष भयो। वल्ड चिया स्कुलमा थरीथरी स्वादका चियापारखी दैनिक ग्राहक जोडी भएर आउने युवायुवती हुन्छन्। एकान्त ठाउँमा पसल भएकाले उनीहरू घन्टौंसम्म मीठामीठा गफ गर्दै चियाको चुस्की लिन्छन्।

नाम नबताउने सर्तमा प्रेमिकासँग वल्ड चिया स्कुलमा आएका चियापारखी एक युवक भन्छन्, ‘ठूला रेस्टुराँमा जान सकिँदैन, यहाँ आउने हो। विभिन्न स्वाद र प्रकारका चिया पिउँदै प्रेमिकासँग गफ लडाउने हो।! उनी पनि चिया लभर नै हुन्। त्यसैले हामी अन्य धेरै ठाउँ थरीथरीका चियाको स्वाद चाख्न गइरहेका हुन्छौं।’
भाइ समीरले व्यापारमा सहयोग गरिरहेको बताउँदै सविनले गर्मी बढे पनि चिया पिउने ग्राहक नघटेको सुनाए। उनको पसलमा आउने ग्राहकको रोजाइमा ३० रुपैयाँ पर्ने कटिङ चिया हुन्छ।
कटिङ चिया सस्तो र स्वादमा पनि मिठास दिने भएकाले ग्राहकले मन पराउने गरेको उनको बुझाइ छ। त्यसबाहेक उनको पसलमा चकलेट चिया ५०, मटका चिया ५५, दूध चिया ४५, कटिङ चिया ३०, मसला ५५, लेमन चिया ३०, हट लेमन ५० रुपैयाँमा पाइने गरेको छ।
जताततै चियापसल खोलिएकाले पहिलाभन्दा ग्राहक घटे पनि आम्दानीमा कमी नआएको उनले सुनाए। टोलमै १० वटाभन्दा बढी चियापसल खोलिएको बताउँदै उनले भने, ‘बेलायत बसेर नेपालमा चियापसल खोलेको हुँ। त्यहाँ केही समय बसियो। तर, डकुमेन्टमा भएको सानो त्रुटिले नेपाल फर्किएँ। पसल थालेको तीन वर्ष पुग्यो। पहिला ग्राहक धेरै आउँथे। अहिले घटे पनि आम्दानी राम्रै छ। दिनमा २० जना जति आउँछन्। उनीहरू पनि दैनिक ग्राहक हुन्।’
पोखराबाट फस्टाएको चियादानी
चियापारखी विशेषतः जेन जी पुस्ताको रोजाइमा परेको छ, ‘चियादानी’। युवा व्यवसायी सुवास शर्माको पोखराबाट सुरु भएको चियादानी यात्रा चितवन, काठमाडौंसम्मै फस्टाएको छ। पर्यटकीय क्षेत्र भएकाले उनले २०७६ मा पहिलो पटक चियादानी आफ्नै जन्मथलो पोखरामा खोलेका थिए।

त्यहाँ व्यापार राम्रो चलेपछि उनले चितवनको भरतपुरमा साथी फणीन्द्र न्यौपानेसँग मिलेर अर्को चियादानी खोले। उनले चितवनका दुई ठाउँ चियादानी खोलेका छन्। उनको यो सफलतामा युवा व्यवसायी तथा सामाजिक अभियन्ता अछामका केपी खनालले थप साथ दिएका छन्।
काठमाडौंको बानेश्वरमा खोलिएको चियादानीमा अभियन्ता खनालको पनि लगानी रहेको छ। उनीहरू दुवै जना मिलेर पसल सञ्चालन गरेको करिब एक वर्ष पुग्न लागेको छ। एक वर्ष नपुग्दै काठमाडौंमा चियादानी चर्चित भएको छ। यहाँ चियापारखीको बिहानदेखि साँझसम्मै भीड हुन्छ।
चियापारखी विशेषतः जेन जी पुस्ताको रोजाइमा परेको छ, ‘चियादानी’। युवा व्यवसायी सुवास शर्माको पोखराबाट सुरु भएको चियादानी यात्रा चितवन, काठमाडौंसम्मै फस्टाएको छ।
हेर्दै आर्कषक देखिने जस्ता र खरले परम्परागत शैलीमा सजाइएको चियादानीमा साँझ परेपछि लाल्टिन र आधुनिक बत्तीको झिलीमिली सुरु हुन्छ। मिठो स्वाद र बस्ने राम्रो ठाउँ भएकाले चियापारखी झुम्मिएको हुन सक्ने अनुमान गर्छन्, सुवास।
त्यहाँ आउने ग्राहक पनि आकर्षक सजावट र स्वादकै कारण आउने गरेको सुनाउँछन्। डिल्लीबजारबाट चिया पिउन चियादानीमा पुगेकी अनु क्षेत्री पनि स्वादसँगै गाउँघरको झल्को दिने गरी बनाइएको टहराले मन प्रफुल्लित बनाएको बताउँछिन्। स्नातक सकेर बेरोजगार बसेको अवस्थामा नयाँ शैलीमा काम गर्ने योजनामा चियादानीसम्मको यात्रा तय भएको बताउने सुवास युवापुस्ताको अपार प्रेम देखेर दङ्ग छन्।
‘पढाइ सकेर बेरोजगार अवस्थामा नयाँ शैलीको व्यापार गर्ने योजनाअनुसार चियादानी खोलिएको हो,’ उनले भने, ‘त्यो बेला भर्खरभर्खरै चिया ट्रेन्ड चलेको थियो। काठमाडौंमा एकाध स्थानमा यस्ता पसल खुले पनि पोखरामा थिएनन्। त्यसपछि जन्मथलोबाट मेरो चियायात्रा सुरु भयो। अहिले यहाँसम्म पुगेको छु।’
सफा र शान्त चियादानीमा तुलनात्मक रूपमा चिया सस्तो र गुणस्तरीय भएको सञ्चालक सुवास दाबी गर्छन्। उनका अनुसार चियाको मूल्य ३० देखि ७० रुपैयाँसम्म पर्छ। सोही कारण काठमाडौंमा छोटो समयमै चियादानी धेरैको रोजाइमा परेको अनुभव उनले सुनाए।
काठमाडौंको चियादानीमा मात्रै १८ जनालाई रोजगार दिइरहेको बताउँदै उनले भने, ‘यहाँको वातावरण गाउँले शैलीको छ। गाउँका चौतारीमा जस्तै थकाइ मार्दै गफ गर्न पाइन्छ। चौतारीमै बसेर चिया पिउन पाइन्छ। चिया पारखीको स्वादअनुसार मट्का चिया र मसला चियालगायत सात बढी थरीका चिया यहाँ बनाइन्छ। हाम्रो मेन्यू अन्य ठाउँभन्दा सस्तो भएकाले पनि होला, साँझपख त बस्ने ठाउँ पनि पुग्दैन। धेरै जना त उभिएरै चिया पिउनुहुन्छ।’
‘डेडिकेटेड’ भए देशमै अवसर
जोश, जाँगर, लगनशीलता र आफूले गर्न खोजेको पेसा, व्यवसायको राम्रो अध्ययन गरेर लागे देशमै अवसर प्रशस्त रहेको युवा व्यवसायी सुवास शर्माले बताए। यद्यपि अरुको देखासिकीमा लागेर सफल व्यवसायी बन्न नसकिने उनको बुझाइ छ।
‘हामीले ६ वर्षदेखि गरेको अध्ययनको सफलता अहिले पाउँदै छौं। त्यतिबेलै हरेश मानेर आफ्नो काममा डेडिकेटेड भएर नलागेको भए व्यवसाय राम्रो हुँदैन थियो’, उनले भने, ‘कोरोना फैलिएर लकडाउन भएपछि व्यवसाय डुब्ने डर थियो। चियादानी ६ महिनासम्म बन्द गर्नुपरेको थियो। आफ्नो कर्तव्यबाट अडिग हुन सकेकै कारण यहाँसम्म आइपुगेको छु। त्यसैले भन्छु– काममा डेडिकेटेड भएर लागौं। देशमै धेरै अवसर छन्।’
-1749967301.webp)
युवा व्यवसायी राजेश रेग्मी पनि कर्ममा विश्वास गर्छन्। दाह्री भाइले परिचित रेग्मीले काठमाडौंका विभिन्न ठाउँमा ‘दाह्री भाइको चियापसल’ सञ्चालन गरी मनग्ये आम्दानी लिँदै आएका छन्।
जागिर खोज्दा नपाएपछि पाँच वर्षअघि थोरै लगानीमा सुरु गरिएको ‘दाह्री भाइको चियापसल’ बाट उनले छोटो समयमै चियापारखी युवा पुस्ताको मन जित्न सफल भएका छन्। काठमाडौंमा अहिलेको चिया ‘कल्चर’ ल्याउने पहिलो व्यवसायी आफू भएको दाबी रेग्मीको छ। उनका अनुसार ‘दाह्री भाइको चियापसल’ पुरानो बानेश्वर, कालो पुल, बसुन्धारा, शंखमूलमा रहेको छ। उनको पसलमा १२ थरीका चिया पाइन्छन्। चियाको स्वाद लिन युवा पुस्ता र राजनीतिक दलका नेतादेखि कलाकारसम्म आउँछन्।
दाह्री भाइले परिचित रेग्मीले काठमाडौंका विभिन्न ठाउँमा ‘दाह्री भाइको चियापसल’ सञ्चालन गरी मनग्ये आम्दानी लिँदै आएका छन्।
‘अहिलेको चिया कल्चर ल्याउने पहिलो व्यक्ति नै म हो। परम्परागत शैलीमा काठमाडौंमा मेरो मात्र पसल थियो। यस्तो किसिमको व्यवसाय मैले मात्र गरेको थिएँ। अहिले अरूहरूले पनि गर्न थालेका हुन्, जुन राम्रै हो,’ उनले भने, ‘हामीसँग १२ किसिमका चिया पाइन्छन्। दूध चिया ३५, लेमन र कालो चिया ३०, सबैभन्दा महँगो तातो लेमनसँग मह मिक्स चिया ११० रुपैयाँसम्म पर्छ।’
१० कर्मचारी र विदेश जानै नपर्ने गरी आफूले देशमै आम्दानी गरिरहेको उनले बताए। अमेरिकामा गर्न सक्ने मिहिनेत नेपालमै गरे कमाउन गाह्रो नपर्ने उनी ठान्छन्।
कुनै कामलाई निरन्तर अनि परिश्रम लगाएर गर्ने हो भने स्वदेशमै सफलता पाउन सकिने उनको भनाइ छ। ‘अमेरिका होस् या नेपाल। जुनसुकै ठाउँमा पनि चाहिने भनेकै कडा परिश्रम हो। यति भए सफलता खोज्न कतै जानुपर्दैन। स्वदेशमै पाउन सकिन्छ’, राजेश भन्छन्, ‘नेपालमा व्यवसाय गर्न अलिकति चुनौती भने छ। राज्यले यसमा विशेष ध्यान दिन आवश्यक छ।’
जेरोन्टोमा फर्किएको जेन–जी पुस्ता
पछिल्लो समय जेन जीको युग हो, जुन एआईमा आधारित छ। तथापि, एआईमा आधारित जेन जी पुस्ता ‘जेरोन्टो’ मा फर्किएको छ। परम्परागत शैलीमा बनेका विभिन्न किसिमका चीज उनीहरूको रोजाइमा पर्न थालेका छन्। मौलिक संस्कृति झल्किने आकृति र पुरानो शैलीका उपत्यकालगायत ठाउँमा चियापसल खोलिएका छन्। तिनै पसलमा चियापारखी जेन जी पुस्ता बढी आकर्षित भएको देखिन्छ।
कुनै चियापसलमा माटोकै भाँडामा चिया पकाउने, माटोकै गिलासमा खान दिने, कतै बाँसका भाँडामा पकाउने, बाँसकै कप तथा गिलासमा खान दिने, गाउँघरमा मात्र हुने पुराना डोकाडाला, नाङ्ला, भकारीसमेत राखिएको पाइन्छ।
कुनै चिया पसलमा भने गाउँघर झल्काउने आकृति पनि कोरिएको देख्न सकिन्छ। यसकै सेरोफेरोमा बसेर चियापारखीले आनन्द लिने गर्छन्।