×

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहाेर

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहाेर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै  पैदलमार्ग (फुटपाथ) मा थुपार्ने गरेको छ । 
  
काठमाडौं महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहाेर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहाेर थुपारेको हो । 

गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहाेर थुपार्न बाध्य भएको बताए।
  
फोहाेरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआएका रामचन्द्र श्रेष्ठ बताए।
 
राजधानीको अन्य भागमा फोहाेर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहाेर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहाेर थुपार्ने गरेको उनले बताए। महानगरपालिकाले फोहाेर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ । 

महानगरपालिकाले कुहिने र नकुहिने फोहाेर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहाेर एकै ठाउँमा राखेर फालेको देखिन्छ । महानगरपालिकाले सूचना जारी गरे पनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।

आइतबार​ १९ असार २०७९ १२:५६ PM मा प्रकाशित

प्रतिक्रिया