×

चिनियाँ ‘युआन’ बन्यो विश्वमा पाँचौं बढी कारोबार हुने मुद्रा

images

एजेन्सी। चिनियाँ ‘युआन’ विश्वमा पाँचौं सबैभन्दा बढी कारोबार हुने मुद्रा भएको छ। बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सको त्रिवार्षिक केन्द्रीय बैंक सर्वेक्षणअनुसार पछिल्लो तीन वर्षमा युआनले अस्ट्रेलियाको डलर, क्यानडाको डलर र स्विजरल्यान्डको स्विस फ्र्यांकलाई उछिनेको छ। 

युआनले ती सबैलाई उछिन्दै विश्वमा पाँचौं सबैभन्दा बढी कारोबार हुने मुद्रा बनेको हो। अमेरिकी डलर विश्वको शीर्ष मुद्रा कायम रहेको छ। त्यसपछि युरो, जापानी येन र बेलायती पाउन्ड छन्। यस वर्ष समग्र दैनिक व्यापार ७५ खर्ब डलर पुगेको सर्वेक्षणले देखाएको छ।

यसैबीच, विश्वव्यापी मुद्रामा शीर्ष स्थान कायम राखेको अमेरिकी डलरले सबै कारोबारको ८८ प्रतिशत हिस्सा ओगटेको छ। यसमा युरो, पाउन्ड र येनले क्रमशः तीन स्थान कायम राखेका छन्। 

युआनले आफ्नो पहुँच विस्तार गरेको छ किनभने चीनले देशमा थप वित्तीय बजार खोल्न विभिन्न कदम चालेको छ। युआनले विश्वव्यापी विदेशी सञ्चितिमा आफ्नो उपस्थिति बढाउँदैछ। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो।

यस वर्ष युआनले डलर र युरोको विकल्पका रूपमा थप ग्राह्यता प्राप्त गरेको छ। जब पश्चिमी राष्ट्रहरूले युक्रेनविरुद्धको युद्धका लागि रुसको मुद्रा भण्डार ‘फ्रिज’ गरे तब मस्कोले आफ्ना धेरै वस्तु डलरको सट्टा युआनमा बेचेको छ। 

तर, अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको आक्रमक दर वृद्धिले युआनको मूल्य यस वर्ष डलरको तुलनामा लगभग १३ प्रतिशतले घटेको छ।गत सेप्टेम्बरमा चीनले आफ्नो अनशोर बन्ड बजार ७०.७ अर्ब युआन (९.७ अर्ब डलर) गुमाएको छ।

तेस्रो ठूलो बन्ने योजना 

चीनमा बढ्दो वैदेशिक लगानीका कारण चिनियाँ युआन विश्वको तेस्रो ठुलो मुद्रा बन्ने भएको छ।  चीनको बढ्दो बजार विस्तारले युआनलाई विश्वको तेस्रो ठूलो सञ्चित मुद्रा बनाउने प्रक्षेपण गरिएको छ। चीनले अन्तर्राष्ट्रिय बजारमा युआन प्रवद्र्धन गर्न लागेका बेला यस्तो प्रक्षेपण सार्वजनिक भएको हो।

आगामी सन् २०३० सम्म वार्षिक २ सयदेखि ३ सय अर्ब डलर वैदेशिक लगानी चीन भित्रिने अनुमान मोर्गानले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। 

चीनले मुद्रालाई आफनो कब्जामा राख्नुका साथै देशबाट पुँजी पलायन रोकेको छ। चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ५४ अर्ब डलर रहेको छ। २०१४ मा सबैभन्दा बढी ३९ खर्ब ९३ अर्ब डलर विदेशी मुद्रा सञ्चिती थियो।
 

शनिबार १९ कात्तिक २०७९ ०८:२९ AM मा प्रकाशित

प्रतिक्रिया