काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माका कारण सरकारसँगै नेपाली कांग्रेसको समेत बेइजत हुन थालेपछि कांग्रेसका प्रभावशाली नेताहरु अर्थमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गरेर अघि बढ्नुपर्ने पक्षमा उभिएका छन् ।
शर्माले जेठ १४ गते अनाधिकृत व्यक्तिलाई करका दर हेरफेरको अधिकार दिएको र त्यसको प्रमाण (सीसीटीभी फुटेज) मेटाउन लागेपछि कांग्रेसभित्र अर्थमन्त्रीको रवैयालाई लिएर तीव्र आलोचना हुन थालेको छ ।
बजेट आएको भोलिपल्टै कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै आएका थिए । थापाले अर्थमन्त्रीको आलोचना गरेपछि कांग्रेसको संस्थापन इतर नेताहरु अर्थमन्त्रीको विरोधमा उत्रिएका थिए ।
तर, अर्थमन्त्री शर्माले आफू दोषी ठहरिने डरले सीसीटीभी फुटेज हटाएको समाचार बाहिरिएपछि प्रधानमन्त्री देउवा निकट नेताहरु नै अर्थमन्त्री शर्मालाई हटाउनुपर्ने पक्षमा उभिएका हुन् ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसदीय छानबिन समिति बनाएर अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्ने धारणा राखेका छन् । उनी देउवा निकट नेता पनि हुन् । त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि अर्थमन्त्रीका कारण देश र अर्थतन्त्र नै समाप्त हुने अवस्था आएको र उनले तत्काल राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।
संस्थापन इतरका नेताहरु बजेटको भोलिपल्टदेखि नै अर्थमन्त्रीले गलत गरेको र उनलाई प्रधानमन्त्रीले कारबाही गर्नुपर्ने आवाज उठाइरहेका बेला देउवा निटक नेताहरु नै अहिले अर्थमन्त्रीलाई कारबाही गर्नुपर्ने पक्षमा उभिएका हुन् ।
तर, प्रधानमन्त्री देउवाका आसेपासे र अर्थमन्त्री शर्माका आसेपासे अर्थमन्त्रीको बचाउमा लागेका छन् । देउवाका आसेपासेहरु प्रधानमन्त्रीलाई अर्थमन्त्रीले कुनै गल्ती नगरेको भनेर देउवालाई सम्झाइरहेका छन् भने अर्थमन्त्रीका आसेपासेहरु अर्थमन्त्रीले देश र अर्थतन्त्र सुधारमा महत्वपूर्ण योगदान दिएको भनेर हल्ला पिटिरहेका छन् ।
तर, त्यसबाहेक सिंगो देश अहिले अर्थमन्त्री शर्माको विपक्षमा छ । राष्ट्रिय योजना पूर्वउपाध्यक्षहरुले संकटोन्मुख अर्थतन्त्र र सरकारी अनुशासनहीनताबारे बोलेका छन् ।
सरकारलाई मुलुकको वर्तमान संकटोन्मुख अर्थतन्त्र र आर्थिक अनुशासनहीनताबारे गम्भीर ध्यानाकर्षण गराइसकेका छन् ।
विदेशी विनिमय संचितिमा निरन्तर कमी आएपछि सरकारले बाध्यात्मक रुपमा विभिन्न सामग्रीहरुको आयात समेत बन्देज गरिसकेको छ । विदेशी विनिमय संचिति सुधार गर्नका लागि निर्यात बढाउने, विदेशी लगानी आकर्षित गर्ने, पर्यटक आगमन सहज बनाउने, रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन पहल गर्ने र वैदेशिक सहायता तथा ऋणको उचित परिचालन हुन सकेको छैन ।
न्यून पुँजीगत खर्चले मुलुकमा लामो समयदेखि वित्तीय क्षेत्रमा तरलता अभावको समस्या छ । संकटोन्मुख यस परिस्थितिको सामना गर्न सरकार ठोस योजनाका साथ अघि बढ्न नसकेको उनीहरुको ठम्याइ छ ।
यही“ परिस्थितिको सामना गर्नुका सट्टा बजेट निर्माण अनुशासनहीन क्रियाकलाप भएको भन्दै निजी क्षेत्र, अर्थशास्त्री तथा पूर्वअर्थमन्त्रीहरु, गठबन्धन भित्रकै नेता शेखर कोइराला र गगन थापा, आम सञ्चारमाध्यमले प्रश्न उठाइरहेका छन् ।
सत्ता नेतृत्वकर्ता दलका महामन्त्री गगन थापाले अर्थमन्त्रीको राजीनामा नै मागिसकेका छन् । प्रमुख प्रतिपक्ष दल– नेकपा एमालेले बजेट निर्माणमा भएको अनियमित क्रियाकलापको संसदीय छानविनको माग गरिरहेको छ ।
यी सबै घट्नाक्रमहरुले नेपालको अर्थतन्त्र अहिले समस्यामा रहेको, जनताको पसिनावाट उठेको करको दुरुपयोग भएको, मूल्यवृद्धि र जनजिविकाका सवालमा सरकारले सम्बोधन गर्न नसकेको र सरकारले कुशासनलाई नै टेवा पुग्ने काम गरिरहेकाले थप आर्थिक जटिलताको संकेत गरिरहेको पूर्व उपाध्यक्षहरुको निश्कर्ष छ ।