×

व्यवस्थापन संघको संस्थागत संरचना परिवर्तनका लागि मेरो उम्मेदवारी

images

नेपाल व्यवस्थापन संघ (म्यान) को नयाँ नेतृत्वका लागि मैले उम्मेदवारी दिएको छु ।  सन् १९८१ देखि नै म्यानमा संलग्न छु । जागिरमा व्यस्त भएकाले म्यानलाई समय दिन नसकेपछि बीचमा सक्रिय हुन सकिनँ । मैले एनएमबी बैंकबाट अवकाश लिएपछि पछिल्लो समयमा म्यानमा बसेर केही योगदान गर्न सक्छु भन्ने लागेको छ । म्यान भन्नेबित्तिकै ज्ञान (नलेज), असल अभ्यास (बेस्ट प्राक्टिसेज) र सेयरिङको कुरा आउँछ ।

म हाल ‘अलायन्स फर ग्लोबल बैंकिङ अन भ्यालुज’ सँग आबद्ध छु । अलायन्ससँग विश्वका विभिन्न बैंक, वित्तीयलगायत अन्य संस्थाहरुसँग मेरो सम्बन्ध छ । यस्तै साथीभाइहरुले पनि नेतृत्वमा आउन गर्नभएको छ । सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यसकारण पनि म्यानको अध्यक्षमा उठ्ने निर्णय गरेको हुँ ।

म्यानमा बसेर केही नयाँ काम गर्ने सोचका साथ अध्यक्षमा उठेको हुँ । यसबाहेक म्यानसम्बद्ध सदस्यहरुलाई कार्यक्रम र अन्य गतिविधिहरुबाट बढीभन्दा बढी सहभागिता गराउन सकिन्छ कि भनेर भनेर स्पेस खोजिरहेको छु । 

यस संस्थाको धेरै अनुभवी एवं विज्ञहरुले नेतृत्व गरिसक्नुभएको छ । उहाँहरुलाई सहभागी गराएर संस्थालाई अर्कोस्तरमा लैजान उहाँहरुसँग पनि सल्लाह गरी पूर्वअध्यक्ष, महासचिव सबैलाई लिएर अघि बढ्ने योजना छ । म्यानको आफ्नै भवन चाहिन्छ भन्ने सबैको माग छ । पहिलादेखि नै कोसिस भइरहेको हो । मैले भवन निर्माणमा विशेष जोड दिनेछु ।

जुन बेला संस्था स्थापना भयो त्यस बेला व्यवस्थापन कलेज औंलामा गन्ने अवस्थामा थिए । अहिले व्यवस्थापन अध्ययन गर्ने संस्था धेरै विस्तार भइसके । क्षेत्रीयस्तरमा म्यान स्थापना भएकाले अब च्याप्टरमा पनि विस्तार गर्ने योजना आएको छ । च्याप्टरलाई क्षेत्रीय आधारमा अझ कसरी बढी काम गर्ने भनेर यसको संरचना परिवर्तन आवश्यक भएमा यस विषयमा सोच्ने छु । 

संस्थाको संरचना परिवर्तन गर्नुअघि विधानमा हेर्नुपर्छ । विधानमा भएको व्यवस्थाअनुसार म्यानको संरचनामा परिवर्तनका लागि प्रयास गर्नेछु । संस्थालाई म्यानेजमेन्ट लिडरसिप र सिद्धान्तको रेफरेन्स प्वाइन्ट बनाउनेछु । सबैलाई बढी सहभागी गराउन संस्थागत संरचनालाई कसरी परिवर्तन गर्न सकिन्छ त्यसतर्फ ध्याने दिनेछु । साथै पहिलेका नेतृत्वलाई सहभागी गराउने भन्ने पनि मेरो सोच छ । 

यस्तै व्यवस्थापनमा विश्वव्यापी रुपमा भएको असल अभ्यासलाई पनि अघि बढाउने छु । अन्तर्राष्ट्रिय एसोसिएसनसँगको आबद्धता र विस्तारलाई अघि बढाउनेछु । विभिन्न सरकारी निकायहरुमा म्यानको प्रतिनिधित्व रहेको थियो । त्यसमा निरन्तरता नभएको कुरा सुनेको छु । त्यसमा पनि म लाग्ने छु ।

म्यानमा आएपछि नीतिगत वकालत (पोलिसी एडभोकेसी) लाई अझ बढी प्रभावकारी रुपमा अघि बढाउनेछु । बजेट र मौद्रिक नीतिमा सुझावहरु दिइरहेका छौं । थप एडभोकेसीका लागि अन्य संस्थाहरुसँग मिलेर काम गर्न तयार छौं । 

केही योगदान गर्न मैले म्यानको अध्यक्षका लागि उम्मेदवारी दिएको छु । केही योगदान गर्न प्लाटफर्म चाहेको थिएँ, उपर्युक्त प्लाटफर्म म्यान नै हो । यसलाई मैले योगदान गर्न सक्ने संस्थाको रुपमा लिएको छु । 

शुक्रबार​ २५ चैत २०७८ ०८:१४ PM मा प्रकाशित

प्रतिक्रिया