आइतबार​, असोज १० २०७८ ०८:५४ PM

×

आईडिया स्टुडियो विराटनगरमा: कृषि व्यवसाय प्रर्वद्धनमा खुल्यो आवदेन, खेती सम्बन्धी नयाँ आईडिया दिनुपर्ने

images

विराटनगर । नेपाल कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम (एनएएमडीपी) दोस्रो चरणको कार्यक्रम अन्तर्गत नयाँ सोच भएका युवा व्यवसायीहरुका लागि आवेदन खुला भएको छ । आईडिया स्टुडियो नेपालले आईतबार विराटनगरमा पत्रकार  सम्मेलन गरि ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको हो  । 

भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा आवेदन खुल्ला गरेको आईडिया स्टुडियोले आगामी अक्टोबर १२ सम्म आवेदन दिन सकिने जनाएको छ ।  

आवेदन फारम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय र मोरङ व्यापार संघमा बुझाउन सकिने बताईएको छ । आवेदन अनलाईनमार्फत दिन सकिने जनाईएको छ । 

प्रदेश १ मा कृषि सम्वन्धि काम गरिरहेका  तथा गर्न इच्छुकहरुले आफ्नो नयाँ सोच सहितको आवेदन दिन सक्ने जनाईएको छ । प्रदेश १ लक्षित कार्यक्रम भएकाले प्रदेशमा हुने मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर सहभागीले आफ्नो व्यवसायिक आईडिया पेश गर्न सक्ने छन । 

पेश भएका आवदेनमध्ये कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमको लागि उत्कृष्ट १० वटा आईडियाहरु छनौट गरिने आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले बताए ।

 ‘आईडिया पेश गर्ने प्रतिस्पर्धीहरुले १ हप्ता लामो वृहत उद्यमशिलता सम्बन्धि प्रशिक्षण बूटक्याम्प, पाँच महिना लामो मेन्टरशिप र व्यवसायिक विकास इन्क्युबेसनमा सहभागिताको अवसर पाउन सक्ने छन्’, उनले भने, ‘कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहभागीहरुले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति र वित्तीय सहयोग पाएर ‘मार्केट रेडी कमर्शियल प्रोडक्टको’ रुपमा आफूलाई विकास गर्न सक्ने छन ।’ 

आएका आवेदनहरुबाट उत्कृष्ट १० आइडियाहरुले व्यवसाय प्रवद्र्धन, प्रशिक्षण, व्यवसायिक सञ्जाल, लगानीको अवसर, बजारको पहुँच र कृषि व्यवसाय विशेषज्ञ सेवाहरु पाउनेछन् । 

विशेष गरी मकै, अलैची, डेरी र तरकारीहरु  गरी चार क्षेत्रहरुमा काम गर्ने भएको छ । कृषिजन्य बस्तुको व्यापार, उत्पादित बस्तुका मूल्य, प्रशोधनको लागी प्लेटफर्म प्रदान गर्ने लगायतका काम हुने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयकी उपडीन सोनीला शाक्यले यस्ता कार्यक्रमले उद्यमीहरुलाई अझै नविनतम विचारहरु सोच्न प्रोत्साहन गर्ने धारणा व्यक्त गरिन । 

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्द्राले एग्री बिजनेस इन्क्युबेसन प्रोग्राममा मोरङ व्यापार संघले सघाउने बताए । नेपालमा उत्पादन हुने धेरै कृषिजन्य बस्तुहरु भारतबाट ल्याउनुपरेको अवस्थामा नयाँ सोचका साथ धेरै भन्दा धेरै बस्तुहरु उत्पादन गर्ने र भारतबाट ल्याउनुपर्ने अवस्था आउन नदिने खालका आईडिया आए पनि राम्रो हुने बताए । 

अध्यक्ष मुन्द्राले धेरै भन्दा धेरै स्टार्टअपहरुलाई आफ्नो व्यापार बजारीकरण गर्नको लागि प्रशिक्षित गर्न आवश्यक रहेको बताए । ‘धेरै देशहरु पहिले नै उद्यमी विकासमा लगानी शुरू गरिसकेका छन’, उनले भने, ‘यो कार्यक्रम कार्यन्वयनको रूपमा प्रदेश १ को धेरै भन्दा धेरै युवा उद्यमीहरुलाई क्षमता विकासमा मद्धत गर्ने छ ।’

मन्त्रालयका पशुपति पोखेलले प्रदेश १ मा नविनतम सोच भएका युवा व्यवसायीहरुको क्षमता विकास गर्न खोजिरहेको बताए । नयाँ सोच भएर काम गर्न नसकिरहेका युवा व्यवसायीलाई साझेदार संस्था तथा सबै प्रतिनिधि संस्थाहरु क्षमता विकास कार्यक्रममा समावेश हुने बताए । ‘यो कार्यक्रम एक सुरुवात हो’, उनले भने, ‘हामी आउने दिनहरुमा बिभिन्न क्षेत्रहरुमा यो जस्तै धेरै कार्यक्रमहरु आरम्भ गर्ने लक्ष्य राखेका छौं ।’

आइडिया स्टुडियो नेपालमा विगत सात वर्षदेखि विभिन्न स्टार्टअप र व्यवसायहरुसँग नजिकबाट काम गरी रहेको छ । भर्खरै मोफसलमा काम सुरु गरेको जनाईएको छ । राष्ट्रियस्तरका नयाँ सोचहरुसँग काम गरिरहेको स्टुडियोले मोफसलमा पनि अझै काम गर्ने जनाएको छ । 

आइतबार​ २७ भदौ २०७८ ०५:३३ PM मा प्रकाशित

प्रतिक्रिया