×

विद्युतीय गाडी आयात ३ गुणाले बढ्यो, ४ महिनामा भित्रिए ९ हजार बढी

images

काठमाडौं । चालू आर्थिक वर्षको चार महिना (साउन–कात्तिक)मा तेब्बर बढी विद्युतीय सवारीसाधन नेपालमा आयात भएका छन् । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा ९ हजार ४ सय ४४ थान विद्युतीय सवारी नेपाल भित्रिएका हुन् ।

गत वर्षको सोही अवधिमा ३ हजार ५ सय ९६ थान विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए ।  गत वर्षको पहिलो चार महिनामा आयात भएको तुलनामा यो वर्षको सोही अवधिमा आयात भएको विद्युतीय सवारीको संख्या लगभग तेब्बरले बढी हो ।

गत वर्षको तुलनामा आयातीत विद्युतीय सवारीको संख्या बढेको भए पनि रकममा भने सोही मात्रामा वृद्धि भएको छैन । चालू आर्थिक वर्षको पहिलो चार महिनामा भित्रिएका ९ हजार ४ सय ४४ थान सवारी ३ अर्ब ६५ करोड ६४ लाख ३७ हजार रुपैयाँ बराबरका हुन् । 

तर, गत वर्षको सोही अवधिमा भित्रिएका ३ हजार ५ सय ९६ थान विद्युतीय सवारी २ अर्ब २९ करोड ६५ लाख ५६ हजार रुपैयाँ बराबरका थिए ।  संख्या तेब्बरले वृद्धि भए पनि रकम भने तुलनात्मक रुपमा कम रहेको छ । 

गत वैशाखदेखि नै इन्धन सवारीमा लागेको आयात प्रतिबन्धको कारणले विद्युतीय सवारीको आयात संख्यात्मक रूपमा बढेको तर विद्युतीय सवारीमा कर बढाएको कारण रकममा भने सोहीअनुसारको वृद्धि हुन नसकेको बताइएको छ । 

चालू आर्थिक वर्षको चार महिनामा नेपाल भित्रिएका ३ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ रकम बराबरका विद्युतीय सवारीमा सबैभन्दा बढी रकमका चारपांग्रे  छन् । यो अवधिमा २ अर्ब ८६ करोड ५६ लाख ६५ हजार रुपैयाँका चारपांग्रे सवारी साधन छन् । 

जसमा ३०० किलोवाटभन्दा कम मूल्यका कार, जिप र भ्यान रहेको भन्सार विभागले जनाएको छ । त्यस्तै ४० करोड ४२ लाख ७० हजार रुपैयाँ मूल्यका विद्युतीय मोटरसाइकल तथा स्कुटर, ८ करोड ७८ लाख ३७ हजार रुपैयाँका विद्युतीय साइकल र २९ करोड ८६ लाख ६५ हजार रुपैयाँका तीनपांग्रे विद्युतीय सवारी आयात भएका छन् । 

यो अवधिमा विद्युतीय सवारी आयातबाट १ अर्ब ८ करोड ११ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

बिहीबार ८ मंसिर २०७९ ०५:४८ PM मा प्रकाशित

प्रतिक्रिया