काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने संकेत देखिएपछि त्यसको सकारात्मक असर सेयर बजारमा परेको छ । अघिल्लो आवको तुलनामा गत आवमा बैंक तथा वित्तीय संस्थाले बढी नाफा कमाएको रिपोर्ट आउने देखिएपछि त्यसको असर सेयर बजारमा परेको हो ।
असार एक महिना बजार घटाउन सक्रिय समूह नै अहिले बैंकले रिपोर्ट ल्याउने भन्दै बजारमा प्रचार गरेर हिँडिरहेका छन् । त्यसको असर सेयर बजारमा परेको कतिपय लगानीकर्ताको बुझाइ छ ।
यतिबेला सेयर होल्ड गर्दा निकै छोटो समयमा लाभांश पाइने भएकाले पनि लगानीकर्ता बढी आकर्षित हुने गर्छन् । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउन थालेको छ । प्रारम्भिक संकेतहरु सकारात्मक देखिएका छन् । यसले पनि लगानीकर्ताहरु थप उत्साहित भएका हुन् । लामो समयदेखि सुस्त बनेको वाणिज्य बैंकहरु अघि लाग्दा समग्र बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
साउन लागेसँगै बैंकिङ प्रणालीमा तरलता सहज भएको छ । लगानीयोग्य रकम सजिलै उपलब्ध हुने भएपछि बजार पनि उत्साहित देखिएको छ । बैंकहरुले सस्तो ब्याजदरमा कर्जा दिइरहेका छन् । यस्तै, केन्द्रीय बैंकले मौद्रिक नीति आउन केही विलम्ब हुने बताएको छ । तथापि, अहिलेको योजनाअनुसार नीति आएमा पुँजी बजारलाई खासै नकारात्मक असर पर्ने विषय नआउने उसको भनाइ छ ।
लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले लगानी गर्न सक्नुपर्छ । आम लगानीकर्ताले लगानी गरिने कम्पनीको नाफा, रिजर्भ, इपीएस, नेटवर्थ तथा भविष्यमा व्यवसाय विस्तारका सम्भावनाहरुलाई पनि ख्याल गर्न आवश्यक हुन्छ ।
बिहीबार म्युचुअल फन्डले बजारलाई बढाएका थिए । आइतबार वाणिज्य बैंक समूहले सेयर बजारलाई उचालेका छन् । जेठ ३१ यता बजारमा झण्डै ३०० अंकको गिरावट आएपछि अहिले बजार सम्हालिएर अघि बढिरहेको छ ।
उसै पनि यो बेला सेयर बजार बढ्ने समय हो । किनभने बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक वित्तीय विवरण प्रकाशित गर्ने गर्छन् । त्यसपछि बैंकले लाभांश घोषणा गर्ने भएकाले पनि यो समय सेयर बजार मैत्री हुन्छ ।
बैंकमा धेरै समयपछि हरियाली देखिएको छ । अन्य समूहहरु बीचबीचमा बढ्ने र घट्नेक्रम भइरहेको थियो । तर, वाणिज्य बैंक समूहको सेयर मूल्य लामो समयदेखि बढ्न सकेको थिएन् । तर, पछिल्ला केही दिनयता वाणिज्य बैंक समूहको सेयर मूल्यमा आकर्षण बढेको देखिन्छ ।
वाणिज्य बैंक समूहको सेयर मूल्यमा वृद्धि भए पनि जलविद्युत् तथा विशाल बजार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । यसदिन विशाल बजार कम्पनी, ङादी ग्रुप पावर सर्पाेट माइक्रोफाइनान्स वित्तीय संस्था, पञ्चकन्या माई हाइड्रोपावर, जोशी हाइड्रोपावर, यनिभर्सल पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।खासगरी कम मूल्य भएको सेयरमा साना लगानीकर्ता आकर्षित हुँदा त्यसको असर परेको हो ।
अहिले हरेक बैंकले नाफा बढाएर ल्याउने भएका छन् । अर्कोतिर केन्द्रीय बैंकले बोनस बाड्न उदारता देखाउने संकेत गरेकाले पनि बजारमा त्यसको सकारात्मक प्रभाव परेको कतिपय लगानीकर्ताको बुझाइ छ ।
साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.३३ अंकले बढेर ३०५८.६७ विन्दूमा पुगेको हो । यो हालसम्मकै उच्च अंक हो । यसअघि जेठ ३१ गते ३०२५ बिन्दूमा पुगेको थियो ।
त्यसैगरी कारोबार रकममा पनि ब्यापक सुधार आएको छ । १० अर्ब हाराहारीमा भइरहेको कारोबार आइतबार १४ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको ४ करोड ३९ लाख कित्ता सेयर किनबेच भएको छ ।