×

स्वदेशी उत्पादनको खपत बढाउन कंक्रिट सडक बनाउनुपर्छ 

images

निजी क्षेत्रले बारम्बार कंक्रिट सडक बनाउन सरकारसँग आग्रह गर्दै आएको थियो । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले कंक्रिट सडक बनाउने नीतिगत व्यवस्था गरेको छ । त्यसलाई सरोकार मन्त्रालय तथा विभागले कार्यान्वयनमा लैजानुपर्छ । 

कंक्रिट सडक बनाउँदा, सरकार, निजी क्षेत्र, सडक प्रयोगकर्ता सबैलाई फाइदा हुन्छ । त्यसका अलवा वातावरण पनि स्वच्छ हुन्छ । 
त्यसका अलवा सिमेन्ट कंक्रिटको सडकमा सवारी साधनको भार वहन क्षमता पनि बढी हुन्छ । नेपालजस्तो भौगोलिक बनावट भएको मुलुकमा कंक्रिट रोड अत्यन्तै उपयुक्तसमेत हुन्छ । विदेशमा ठूलो परिमाणमा तेलको खानी छ ।

पेट्रोल तथा डिजेटको वाइप्रडक्ट बिटुमिन हो । उनीहरूलाई बिटुमिन व्यवस्थापन गर्न ठूलो चुनौती भएपछि सडकमा बिच्छ्याउन लागेका हुन् । तर, नेपालमा कुनै पेट्रोलियम पदार्थको खानी छैन । तैपनि विदेशबाट बिटुमिन ल्याएर सडक बनाइरहेका छौं । यो हाम्रो मुख्याई हो । हामीसँग भएकै स्रोत साधनले सडक बलियो र टिकाउ बनाउन सकिन्छ । 

सुरुमा कालोपत्रेको प्रयोग सडक निर्माणमा सस्तो पर्ने देखिए पनि मर्मत र टिकाउका हिसाबले हेर्दा सिमेन्टको प्रयोग सडकको हकमा ३० प्रतिशत सस्तो भएको पाइएको छ ।

पछिल्लो समयमा आएर सवारी साधनहरूको भारलगायत संख्या पनि अत्यधिक बढेसँगै सडक निर्माण अत्यन्तै मजबुत र टिकाउ हुनुपर्ने दबाब उच्च भइरहेको अवस्थामा सिमेन्ट कंक्रिटका सडकहरूको निर्माण गरिने क्रम बढिरहेको छ ।

कालोपत्रे सडक सतहले भारलाई सानो क्षेत्रमा फैलाउने भएकाले निर्माण भएको केही समयपछि नै सडक एकनासले नदेखिएर अग्लो होचो हुने र खाल्डाखुल्डी निस्कन थाल्छ भने सिमेन्ट कंक्रिट सडकमा त्यस्तो हुँदैन । 

सडकमा परेको पांग्राको भारले कंक्रिटको सतहलाई त्यति नलच्काउने भएकाले गुड्नमा त्यति अवरोध उत्पन्न हुँदैन । यसले गर्दा टायर तथा सवारीमा हुने क्षति पनि कम हुन्छ । अबरोध कम भएपछि इन्धनको खपत पनि कम हुन आउँछ । भारतमा गरिएको एक अनुसन्धानअनुसार कालोपत्रे सडकमा भन्दा कंक्रिटको सडकमा १४ प्रतिशत इन्धन कम खपत हुन्छ । नेपालजस्तो मुलुकमा सवारीसाधनको दौडाइ ६० देखि ८० किलोमिटर पर आवर हुने भएकाले कंक्रिट सडक अति उत्तम हुन्छ ।

कालोपत्रे सडक बनाउँदा बिटुमिन तताउन प्रयोग हुने इन्धन बल्ने क्रममा र बिटुमिन आफै तात्ने क्रममा पनि धेरै हानिकारक ग्यासहरू उत्सर्जन हुने भएकाले वातावरणीय हिसाबले पनि सिमेन्ट कंक्रिट सडकहरू ‘वातावरणमैत्री’ हुन्छन् ।

सडकमा सवारी साधनलाई सुरक्षित तबरले चलाउन टायर र सडकको बीचमा उचित मात्रामा घर्षण हुनु जरुरी हुन्छ । अर्थात् सडक सतह प्रशस्त मात्रामा खस्रो हुनुपर्छ । सिमेन्ट कंक्रिट सडक कालोपत्रे सडकभन्दा यो मामला पनि राम्रो मानिन्छ ।

रातिको समयमा कालोपत्रे सडक अँध्यारो हुने भएकाले सवारी चलाउँदा बढी असुरक्षा महसुस हुन्छ भने सिमेन्ट कंक्रिटको सेतो सतहले प्रशस्त प्रकाश परावर्तन गराउने भएकाले वरिपरिको वातावरण उज्यालो भएर आवागमन बढी सुरक्षित हुन्छ ।

कालोपत्रे सडक बनाउन नेपाल जस्तो आफ्नै तेल उत्पादन नभएको देशमा महँगो विदेशी मुद्राा तिरेर बिटुमिन आयात गर्नुपर्ने हुन्छ । जबकि सिमेन्ट कंक्रिट सडक बनाउन सबै निर्माण सामग्रीहरू आफ्नै देशमा प्रचुर मात्रामा पाइने हुँदा विदेशी मुद्राा सञ्चितिमा समेत सहयोग पुग्छ ।

हाम्रो जस्तो पहाडै पहाडले बनेको देशमा सिमेन्ट उत्पादनका लागि चाहिने चुनढुंगा प्रचुर मात्रामा उपलब्ध छ भने तेल प्रशोधनबाट उत्पादन हुने बिटुमिन आयात गर्नुपर्ने अवस्था छ । नेपालका सिमेन्ट प्लान्टहरूले अब सिमेन्टको माग पूरा गर्ने अवस्थामा पुगिसकेका छन् ।

बिटुमिनबाट बनेका सडकहरू राम्रो पानी व्यवस्थापनको अभाव र गुणस्तर नियन्त्रण राम्रो हुन नसक्दा १÷२ वर्ष मा नै बिग्रने अबस्थामा छन् । विदेशबाट आउने बिटुमिनको गुणस्तर पनि भरपर्दो नभएको पाइएको छ ।

यिनै कारणहरूले गर्दा कतिपय निकायहरूले स्पष्ट निर्देशिकाहरू नभएकै अवस्थामा पनि सिमेन्ट कंक्रिट सडकहरू धमाधम बनाउन थालेका छन् । स्वतःस्फूर्त रूपमा यसरी कंक्रिटका सडकहरू बन्दै जानु बिटुमिन सडकहरूभन्दा पक्कै पनि यी सडकहरूको प्रदर्शन राम्रो भएरै हो ।

सम्बन्धित निकायहरूले अब ढिलो नगरी सिमेन्ट कंक्रिटका सडकहरू डिजाइन, निर्माण र मर्मतका सम्बन्धमा स्पष्ट निर्देशिकाहरू बनाएर जारी गर्नुपर्ने हुन्छ । यी निर्देशिकाहरूले कस्ता सडकहरूमा सिमेन्ट कंक्रिट प्रयोग गर्ने, कसरी प्रयोग गर्ने, गुणस्तरीय निर्माण कसरी गर्ने भन्ने बारेमा स्पष्ट दिशानिर्देश गर्नुपर्ने हुन्छ ।

सोमबार १४ भदौ २०७८ १२:३८ PM मा प्रकाशित

प्रतिक्रिया