उपभोक्ताले किन्न छोडेपछि एकैदिन प्याजको भाउ घट्यो ३० रुपैयाँ

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७६ मङ्सिर १४, शनिबार,०२:०५:PM  
उपभोक्ताले किन्न छोडेपछि एकैदिन प्याजको भाउ घट्यो ३० रुपैयाँ

काठमाडौं । पछिल्लो समय बढ्दो क्रममा रहेको प्याजको भाउ शनिबार भने थोक मुल्यमा प्रतिकिलो ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन अर्थात शुक्रबार कालीमाटी फलफुल तरकारी बजारमा १८५ रुपैयाँ थोक मुल्यमा बिक्री भएको प्याजको मुल्य शनिबार प्रतिकिलो १५५ रुपैयाँमा झरेको हो ।

थोक मुल्यमा प्रतिकेजी ३० रुपैयाँले प्याजको मुल्य घटेसँगै खुद्रा मुल्यमा पनि कमी आएको छ ।  यसअघि प्याजको खुद्रा मुल्य २३० देखि २५० रुपैयाँ प्रतिकेजी पुगेको थियो । प्याज भन्दा कुखुराको मासु सस्तो भएको छ । शनिबार भने प्याजको खुद्रा मुल्य १९० रुपैँयामा कारोबार भएको कालीमाटी फलफुल तथा तरकारी विकास  समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए । 

प्याजको मुल्य बढेसँगै आम उपभोक्ताले किन्न छाडेका थिए । व्यापारीले पनि बिक्री गर्न समेत छाडेका थिए । प्याजको मुल्य बढेसँगै उपभोक्ताले किन्ने कम गरेपछि मुल्य घटेको फलफुल तथा तरकारी विकास केन्द्रका प्रमुख भरतबहादुर आचार्यले जानकारी दिए ।

उनले भारतबाट आयात कम हुने बित्तिकै मुल्य बढ्नु स्वभाविक रहेको बताए । उनका अनुसार, प्याजको मुल्य अझ केही घट्न सक्ने सम्भावना छ । 

स्वदेशमा प्याजको उत्पादन बढाउनुपर्ने उनको तर्क छ । विगतमा सरकारले प्याजमा आत्मनिर्भर हुने भन्दै प्याज मिसन कार्यक्रम चलायो । ,तर पनि अपेक्षित रुपले उत्पादन बढाउन नसक्दा बर्षेनी भारतबाट आयात गर्नुपरेको सरकारी कर्मचारी नै बताउँछन् ।

नेपालमा बर्षेनी औसत ४ अर्ब रुपैयाँको प्याज आयात हुने गरेको छ । यसअघि भारतले निकासीमा रोके लगाएसँगै नेपालमा प्याज आयात हुन सकेको छैन् । 

आम नेपालीको भान्सामा तरकारी पकाउने प्रयोजनका निम्ति प्याज प्रयोग हुन्छ । अहिले अत्याधिक मूल्य बढेको प्याजले त सामान्य उपभोक्ताको किचेनमै प्रबेश पाउन छाडेको छ । 

भारतले निर्यात प्रतिबन्ध लगाएको प्याज मात्रै नभएर काँक्रा, बन्दा, काउली र मूलाजस्ता तरकारीको मुल्य पनि ३०० प्रतिशतसम्म बढेको छ । 

त्यस्तै, सुकेको लसुन, साग, परवर, घिउ सिमीलगायत तरकारीको मुल्य पनि गतबर्षको तुलनामा तीन गुणसम्मले बढेको छ । कालीमाटी तरकारी बजारमै थोक मुल्य बढेपछि खुद्रा व्यापारीले पनि मनपरी मुल्य बढाएका छन् । यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।

नेपालमा मात्रै नभएर अहिले प्याजको मुल्य अहिले अन्र्तर्राष्ट्रिय बजारमा पनि महंगिएको छ। भारतमा पनि प्याजको मुल्य अहिलेसम्मकै उच्च पुगेको छ । यसअघि प्याजको मुल्य आकासिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्याज खान छोडेको जानकारी गराएकी थिइन् ।

हरिप्रसाद शर्मा

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कृषि बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');