जलविद्युत आयोजना समस्यामा भएकाले सेयर मूल्य १०० भन्दा तल झरेको हो: धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासंगको वार्ता

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ १६, बिहीबार,०८:३६:AM  
जलविद्युत आयोजना समस्यामा भएकाले सेयर मूल्य १०० भन्दा तल झरेको हो: धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासंगको वार्ता

नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवापछि गत जेठमा कार्यकारी निर्देशकबाट अवकाश पाएका भीष्मराज ढुंगाना नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका छन् । २०४२ सालमा सहायकका रुपमा राष्ट्रिय वाणिज्य बैंकबाट वित्तीय क्षेत्रमा प्रवेश गरेका ढुंगाना २०४६ मा अधिकृतका रुपमा राष्ट्र बैंक प्रवेश गरेका थिए । करिब ७ वर्ष राष्ट्र बैंकको कार्यकारी निर्देशक भएर काम गरेका उनले अध्यक्ष नियुक्त हुनुअघि केही समय विज्ञ सञ्चालकको रुपमा बोर्डमा काम गरे । ढुंगाना बोर्डको अध्यक्ष हुने बेलादेखि नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) उकालो लागेको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतको युनिभर्सिटी अफ लिंकनसायर एन्ड हम्बरसाइडबाट एमबीए ढुंगानाको आगमनसँगै धितोपत्र बजारले कस्तो गति समाउला भन्ने लगानीकर्तामा चासो छ । फरक–फरक नियामक निकाय र सरकारको नीतिगत एकाकीपनले पिल्सिएको नेपालको पुँजी बजारको विकास र प्रवद्र्धनमा केन्द्रित रही ढुंगानासँग क्यापिटलका कमला अर्यालले गरेको कुराकानी :

कठिन परिस्थितिमा अध्यक्ष बन्नुभएको छ । यो अवस्थाबाट सेयर बजारको विकासका लागि तपाईंले चाल्ने कदम के हुन्छ ?

बोर्डले मुख्यगरी वस्तु बजार (कमोडिटी मार्केट) र धितोपत्र बजार (सेक्युरिटी मार्केट) लाई हेर्छ । अझै धितोपत्र बजार पनि त्यति विकसित भइसकेको अवस्था होइन । किनकि, भर्खर–भर्खरै धितोपत्रका नयाँ उपकरण कारोबार हुन थालेको स्थिति छ । पहिले सेयरको मात्रै कारोबार हुने गरेकामा अब विस्तारै ऋणपत्र (डिबेन्चर) को कारोबार सुरु भएको छ । त्यसमा पनि कर्पोरेट डिबेन्चर र सरकारी डिबेञ्चर सुरु भएको छ । सामूहिक लगानी कोषको पनि कारोबार सुरु भइसकेको छ । अहिले नेप्सेमा कारोबार भएका धितोपत्रका उपकरण यिनै हुन् ।

वस्तु बजारका लागि अझै बोर्डले कारोबार स्थलकै लागि अनुमति दिएको छैन । वस्तु बजार विनिमय गर्न अनुमतिका लागि निवेदन लिए पनि स्वीकृति दिएर कारोबार गर्ने स्थितिमा पुग्नु पहिलो काम हो । पुँजी बजारलाई थप विस्तारित गर्नु र वस्तु बजारमा नियमित कारोबार हुने वातावरण बनाउन बोर्डले आगामी दिनमा अझ बढी काम गर्नुपर्नेछ । बोर्डले बजारलाई सहयोग मात्रै गर्ने हो । काराबोर हुँदा देखिएका समस्या पहिचान गरी कारोबारलाई पारदर्शी बनाउन भूमिका खेल्ने हो । भर्खरै आएकाले बोर्डका समष्टिगत कामको मूल्यांकन गरी प्राथमिकताका आधारमा ‘रुटिङ’ बनाएरै काम गर्छौं ।  

 नेपालमा प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नरले बोलेको कुराले पनि बजार प्रभावित भएको पाइन्छ । उहाँहरुले सेयर बजारबारे बोल्नेबित्तिकै बढ्ने या घट्ने हुन्छ । त्यस्तै, त्रैमासिक वा अर्धवार्षिक वा वार्षिक ‘क्लोजिङ’ को बेलामा पनि बजार प्रभावित हुन्छ भन्ने गरिन्छ ।

पुँजी बजार खस्किएर तल्लो ‘रेन्ज’ मा पुगेर केही माथि जान थालेको छ । बजार सरकारविरुद्ध छ भन्ने सन्देश गएको छ । अहिले लगानीकर्तामा देखिएको निराशाको मनोबल चिर्न बोर्डले कस्तो भूमिका खेल्छ ?

लगानीकर्ताले गरेको लगानीबाट केही न केही प्रतिफल पाउनुपर्छ । लगानीकर्ताले बजारमा लगानी गरेर प्रतिफल पाउन सकेनन् भने बजारप्रति आकर्षित हुँदैनन् । लगानीकर्ताले धेरै प्रतिफलको आश पनि गर्नु हुँदैन र ज्यादै थोरै वा प्रतिफल नै नपाउने परिस्थिति पनि बन्नु हुँदैन । सामान्य तर स्थिर खालको प्रतिफल लगानीकर्ताले पाइरहने वातावरण हुनुपर्छ । यसले मात्रै बजार दीर्घकालीन रुपमा स्थायी हुन्छ र बढ्दै जान्छ । नेपालमा प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नरले बोलेको कुराले पनि बजार प्रभावित भएको पाइन्छ । उहाँहरुले सेयर बजारबारे बोल्नेबित्तिकै बढ्ने या घट्ने हुन्छ । त्यस्तै, त्रैमासिक वा अर्धवार्षिक वा वार्षिक ‘क्लोजिङ’ को बेलामा पनि बजार प्रभावित हुन्छ भन्ने गरिन्छ । तर, सामान्यतया क्लोजिङले खासै फरक पार्छजस्तो लाग्दैन ।

सेयरमा लगानी गर्दा आफूले विचार गरेर र सम्बन्धित कम्पनीका तथ्यलाई हेरेर गर्न सके पछुताउने अवस्था आउँदैन । अर्काे व्यक्तिले भनेको वा हल्लाका भरमा लगानी गर्दा धेरै समस्या आउने गरेको छ । आफूले विश्लेषण गरेर लगानी गरे बजारबाट घाटा खानुपर्ने अवस्था हुँदैन किनभने राम्रोसँग अध्ययन गर्ने र वास्तविक तथ्य केलाउने व्यक्तिले घटेको बजारबाट पनि फाइदा लिइरहेको हुन्छ । लगानीकर्तामा पुँजी बजारसम्बन्धी साक्षरता कम छ ।

त्यसैले पुँजी बजारबारे बुझाउन आवश्यक छ । कुन कम्पनीको सेयर किन्न जाँदा के–के कुरा हेरेर जानुपर्छ भन्ने कुराको ज्ञान लगानीकर्तामा भराइदिनुपर्छ । त्यसपछि मात्र कुनै पनि लगानीकर्तामा निराशाको अवस्था सिर्जना हुँदैन । बोर्डले पनि बजारलाई उचित नियमन गरेर जानुपर्छ । नियमनकारी निकायले बजारमा प्रवेश गर्ने जोहीकोहीले निश्चित किसिमको प्रतिफल प्राप्त गर्न सक्ने वातावरण भने बनाइदिनुपर्छ । 

खुला कारोबार भन्दाभन्दै पनि धेरै जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरिसकेको छ । कतिपय बैंकका सेयर मूल्य पनि अंकित मूल्यकै हाराहारी छन् । पछिल्लो समयमा बजार बढ्दा पनि खासै सुधार हुन सकेको छैन ।  लगानीकर्ताको मनोबल वा अन्य संरचनागत समस्याले यस्तो भएको होला ? यस्ता समस्या कसरी समाधान गर्नुहुन्छ ?

हामीले जलविद्युत् कम्पनीको सेयर प्रतिकित्ता १०० रुपैयाँमै जारी गर्न लगायौं । अहिले आएर ५०/६० रुपैयाँमा झर्यो । वास्तवमा त्यतिखेरै ती कम्पनीको मूल्य १०० रुपैयाँमै जानुपर्ने थियो कि थिएन ? १०० रुपैयाँमै निष्कासन गर्ने अवस्था नआईकन नै निष्कासन भयो कि ? यस्ता कुरालाई बोर्डले हेर्नुपर्ने हुन्छ । जलविद्युत् आयोजनामा समस्या छन् । अहिले विद्युत् नियमन आयोग बनेर क्रियाशील रहेकाले आयोगसँग समन्वय गरेर कसरी जाने भनेर बोर्डले छलफल गर्दै छ । बजारलाई अस्थिर बनाउनु हुँदैन ।

आगामी दिनमा बजारलाई स्थायित्व दिने भनेरै सम्बन्धित सरोकारवाला र नियामक निकायसँग बसेर छलफल गरी बोर्ड अघि बढ्छ । लगानीकर्ताले सधै सेयरमा लगानी गरेपछि त्यो कम्पनी डुब्यो भने मेरो कति पैसा फिर्ता हुन्छ भन्ने कुरा हेर्नुपर्छ । लगानीकर्ताले लगानी गर्दा कम्पनीको किताबी मूल्य (नेटवर्थ) कति छ भनेर हेर्नैपर्छ । त्यस्तो सेयर खरिद गरेको कम्पनीले भविष्यमा कति प्रतिफल दिन्छ ? त्यसको प्रतिफलका आधारमा ‘अन्डर भ्यालु’ सेयर हो कि र ‘ओभर भ्यालुड’ सेयर हो, हेर्नुपर्छ । त्यसपछि त्यो कम्पनीले दिने प्रतिफलको प्रक्षेपण कस्तो छ र विगतका प्रक्षेपण तथा वास्तविकता कत्तिको मेल खान्छजस्ता कुरालाई सेयर खरिदकर्ताले केलाउनुपर्छ ।

भविष्यको अपेक्षा÷आशा (फ्युचर एक्स्पेक्टेसन) र विगतका वास्तविकतामा मेल खाएको स्थिति र सेयर किन्न ठीक छ भन्ने लागेमा त्यस्तो सेयर खरिद गर्नु राम्रो हुन्छ । जथाभावी वा बिनाअध्ययन वा कसैको लहैलहैमा लागेर सेयर किन्यो भने समस्या हुन सक्छ । बजार बढेर १८८१ सूचक किन पुग्यो त ? यस्तो खालको उतारचढाव बजारमा हुनु हुँदैन । बजार बढ्नै हुँदैन भन्न खोजेको होइन । तर, बजार बढ्नु वा घट्नुका पछाडि वास्तविक तथ्य हुनैपर्छ । 

हामीले जलविद्युत् कम्पनीको सेयर प्रतिकित्ता १०० रुपैयाँमै जारी गर्न लगायौं । अहिले आएर ५०/६० रुपैयाँमा झर्यो । वास्तवमा त्यतिखेरै ती कम्पनीको मूल्य १०० रुपैयाँमै जानुपर्ने थियो कि थिएन ? १०० रुपैयाँमै निष्कासन गर्ने अवस्था नआईकन नै निष्कासन भयो कि ? यस्ता कुरालाई बोर्डले हेर्नुपर्ने हुन्छ । जलविद्युत् आयोजनामा समस्या छन् । 

धेरै कम्पनी (जीवन तथा निर्जीवन बिमा, पूर्वाधार, पुनर्बिमा) ले  सर्वसाधारणमा ठूलो रकमको सेयर (आईपीओ) बिक्री गर्दै छन् । सुस्ताएर उठ्ने कोसिसमा रहेको अहिलेको बजार फेरि प्रभावित होला नि ? बोर्डले नयाँ सेयर आउने समय र बजारको अवस्थालाई कसरी व्यवस्थित बनाउँछ ? 

लगानीकर्ताले त्यहाँ मेरो प्रतिफल छ भन्ने भयो भने लगानी गर्छन् । अहिले सेयर धेरै या थोरै निष्कासन भयो भन्ने कुरै होइन  । राम्रो कम्पनीका सेयर निष्कासन गर्दा बजारमा सेयरको किनबेच नहुने भन्ने कुरा हुँदैन । अहिले कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको तुलनामा बजार पुँजीकरण ५० प्रतिशतभन्दा तल छ । यो अनुपात ७०/८० प्रतिशतसम्म पुर्याउँदा कुनै समस्या हुँदैन । अझै बजारले जीडीपीको ३०/४० प्रतिशत बजार पुँजीकरण हुने गरी भएको निष्कासनलाई थेग्न सक्छ । त्यसैले सेयर बढी र घटीभन्दा पनि सेयर खरिद गर्ने कम्पनी सक्षम र अक्षम भन्ने कुरा हेर्नुपर्छ ।

बोर्डले पनि सेयर निष्कासक कम्पनीको क्षमता जाँच्नुपर्छ । बजारमा जानेबित्तिकै विश्वास गुमाउने स्थिति आउनेदेखे सार्वजनिक निष्कासन रोक्नुपर्छ । त्यसका लागि कानुनी समस्या छन् भने त्यसको संशोधन हुनुपर्छ । अहिले कम्पनी ऐनले ‘डिस्काउन्ट’ मा सेयर निष्कासन गर्न दिँदैन । बढी मूल्य (प्रिमियम) मा निष्कासन गर्न पनि किताबी मूल्य प्रणाली मात्रै प्रयोगमा छ । त्यसैले नमिलेका विषयमा पुनरावलोकन गरेर बजारमैत्री बनाउने र ‘बुक बिल्डिङ’ प्रक्रियामा जान सकियो भने बजारमा सेयरको मूल्य वास्तविक हुन आउँछ । त्यसका लागि बोर्डले क्रियाशीलता देखाउँछ ।  

सेयर बजारकै सूचीकृत नभएका सेयरको कारोबार गर्न प्रयोगमा भएको ‘ओटिसी (ओभर द काउन्टर)’ कारोबार र सरकारी तथा बैंक÷वित्तीय संस्थाका ऋणपत्रको कारोबारले प्राथमिकता पाउन सकेको छैन । यसको कारोबारका लागि बोर्डको भूमिका के हुन्छ ?

धितोपत्रका सबै प्रकृतिका कारोबारका लागि बोर्डले प्रणाली बनाइदिने हो । ऋणपत्रको कारोबार गर्न दोस्रो बजार खुला छ । तर, दोस्रो बजार खुला भए पनि त्यहाँ किनबेचको संयन्त्रले राम्रोसंग काम गरिरहेको छैन । विश्वभरि नै ऋणपत्रको कारोबार गर्दा आफ्नो ऋणपत्रको मूल्य तोकेर कतिमा दिन्छौ भनेर ‘अफर’ गर्ने प्रचलन छ । बजारमा त्यो ऋणपत्रको मूल्य कति छ ? बजारको भन्दा त्यसको ब्याजदर राम्रो रहेछ भने त्यो ‘प्रिमियम’ मा बिक्री हुन्छ । बजारको भन्दा ब्याजदर  कम रहेछ भने त्यो डिस्काउन्टमा बिक्री हुन्छ ।

खरिदकर्ताले आफू अनुकूल मूल्य ‘कोड’ गर्छन्, सबैभन्दा बढी मूल्य कोड गर्नेलाई बिक्री गरिन्छ । त्यस्तो खालको संयन्त्र नेपालमा तयार भएको छैन । उच्च र कम मूल्य भए पनि कुनै मतलब छैन । त्यसैले ऋणपत्रको कारोबार सहज रुपमा गर्न राम्रो ‘प्लेटफर्म’ बनाउन बोर्डले काम गर्छ । 

तपाईं लामो समय एउटा नियमनकारी निकायमा काम गरेर अर्काे नियमनकारी निकायमा आउनुभएको छ । एउटा नियामकले जारी गर्ने निर्देशन अर्काेलाई अप्ठेरो हुने र त्यसले बजारसमेत प्रभावित हुने गरेको छ । नियामकीय समन्वय कायम गर्दै बजार प्रभावित हुनबाट रोक्ने कुनै संयन्त्र प्रयोग गर्नुहुन्छ कि ?

हामीकहाँ विभिन्न नियमनकारी निकाय छन् । अर्थ मन्त्रालय छ । मन्त्रालय आफैंमा एउटा नियमनकारी निकाय हो । त्यसपछि राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा समिति, नेपाल दूरसञ्चार प्राधिकरण, विद्युत् नियमन आयोजस्ता क्षेत्रगत विभिन्न नियमनकारी निकाय छन् । यी सबै निकायका काम गर्ने क्षेत्र र तरिका आ–आफ्ना छन् । तर, ती क्षेत्रका कम्पनीहरु सूचीकृत भएर दोस्रो बजारमा कारोबार भएकाले धितोपत्र बोर्डले सबै क्षेत्रलाई हेर्नुपर्ने हुन्छ । त्यस्तो बेला एउटा क्षेत्रको निर्णयले बजार प्रभावित हुने गर्छ ।

विशेषगरी अर्थ मन्त्रालय, राष्ट्र बैंक र बिमा समितिका कतिपय निर्णयले तत्कालै सेयर बजारमा प्रभाव जमाउने गर्छ । यस्तो अवस्थामा सबै नियमनकारी निकाय मिलेर छलफलमार्फत समस्याको समाधान खोज्नुपर्छ । त्यसका लागि अर्थ मन्त्रालयमा अर्थमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समिति छ । अहिले त्यस्तो स्थितिमा अर्थ मन्त्रालयले समन्वय गरिरहेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सेयर बाट थप

Top