नबिलको भिजन भनेको ‘सर्टटम–सरभाइवल’, ‘मिडटम–रिभाइबल’ र ‘लङटम– ग्रोथ’ हो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार २८, आइतबार ,११:१९:AM  
नबिलको भिजन भनेको ‘सर्टटम–सरभाइवल’, ‘मिडटम–रिभाइबल’ र ‘लङटम– ग्रोथ’ हो

नबिल बैंक आज (आइतबार) देखि ३६ वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रको बैंकलाई डोराउने श्रेय पाएको नबिल मुलुकको स्थापित र अग्रणी बैंक पनि हो । बैंकलाई अहिले अनिलकेशरी शाहले नेतृत्व गरिरहेका छन् ।

८ वर्षपछि पुनः सीईओको रुपमा फर्किएका शाहको कार्यकाल २ वर्ष पुरा भएको छ । उनी दोश्रो पटक सीईओ भएर २०७५ असार ७ गते नबिल बैंकमा प्रवेश गरेका थिए । अहिले नबिल बैंकमा शाहको दोस्रो इन्ट्रीको कार्यकालको मध्यविन्दु हो । 

नबिल बैंकले पछिल्लो पटक डिजिटल बैंकिङलाई आक्रमक रुपमा अगाडि बढाइरहेको छ । आइतबारदेखि नै बैंकले नबिल डिजीबैंक पनि सार्वजनिक गरेको छ । 

कोभिड–१९ ले वित्तीय संस्थालाई पारेको प्रभाव,नबिल बैंकको आगामी योजना र मौद्रिक नीतिमा कस्तो आउनुपर्छ भन्ने विषयमा क्यापिटल नेपालका सुवास योञ्जनले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकेशरी शाहसँग गरेको कुराकानी ः

तपाईंलाई सुरुमै एउटा प्रश्न छ, लकडाउनकै अवधिमा तपाईंले नबिल बैंक छोड्ने खबरहरु आयो,  अचानक यस्तो खबर किन आयो ?

मान्छेहरुलाई समय धेरै भएको कारणले मेरो चर्चा गरेको हुन सक्छ । म पहिला देखिनै परिवर्तन चाहने मान्छे हुँ । यो बीचमा बैंकभित्र धेरै परिवर्तन भएको छ । कोभिडपछि बैंकले डिजिटल मार्केटमा धेरै फोकस गरेको छ । डिजिटललाई फोकस गर्नकै लागि हामीले बैंकभित्रै केहि परिवर्तन गरेका छौं । त्यो बेला मान्छेहरुले अर्को प्रमुख कार्यकारी अधिकृत(सीईओ) आउन लाग्यो कि भन्ने पनि लाग्न सक्छ् । म आएको २ वर्ष भयो । अहिले नै म छोड्नेवाला छैन । अहिले मैले छोड्ने भन्ने हल्ला चाहिँ छ । कहिलेकाही लाग्छ । मेरो चाहिँ हल्ला बढी चल्छ की ? कि न हो बढी नै नाम आइरहेको हुन्छ । तर, म यहाँ खुसी छु, सञ्चालकहरु खुसी हुनुहुन्छ । यी हल्लाहरु मात्र हुन् ।

त्यसो भने लगानी बोर्डको सीईओको लागि रुची देखाएको कुरामा सत्यता छैन ?

हो, लगानी बार्डको सीईओ हुन लागेको विषय पनि हल्ला मात्र हो । यसमा कुनै सत्यता छैन । म जहाँ छु, त्यहाँ खुसी छु ।  मेरो काम देखि बोर्ड, अध्यक्ष र प्रमोटरहरु खुसी हुनुहुन्छ । त्यसैले यहाँ गर्नुपर्ने धेरै कामहरु छन् । अहिले एक्साइटिङ टाइम हो । कुनैपनि क्याप्टेनले जहाजलाई समुन्द्रमा ठूलो ठूलो छाल आएको बेला बीचमै छोडेर गयो भने त्यो क्याप्टेनको मापन त्यहिअनुसार हुन्छ र राम्रोसँग चलिरहेको बेला छोड्यो भने ठिकै हुन्छ । त्यसैले अहिले अवस्था गाह्रो छ । अर्थतन्त्र नै धरासायी भएको बेला मैले नबिल बैंक छोडेर जान्छु जस्तो लागेको छैन् ।

तर, सञ्चालक समिति र बोर्डसँग त तपाईंको दुरी भएजस्तो देखिन्छ नी ? 

मलाई त त्यस्तो कुनै विवाद र दुरी छ जस्तो लाग्दैन । मेरो बोर्ड भनेको ५० प्रतिशत जोइन्डभेन्चर पार्टर चौधरी ग्रुपले प्रतिनिधित्व गर्नुहुन्छ । अरु बैंकको बोर्डमा रहेका सञ्चालकहरुको समय भएर बैंकलाई बढी समय दिनुहुन्छ होला । तर, मेरो बैंकको सञ्चालकहरुको समय नै छैन । उहाँहरुको धेरै बिजनेश भएकोले समय नै छैन । उहाँहरुलाई राम्रो मान्छे र राम्रो टिमले बैंक चलाएको हेर्न चाहनुहुन्छ । सञ्चालक समितिका  अध्यक्ष र डाइरेक्टरज्यूहरुले नबिल बैंकलाई राम्रोसँग बुझ्नु भएको छ ।

नबिल बैंक दोहोराएर आउनुको कारण के थियो ?  पहिला र अहिलेको नविल बैंकमा के फरक पाउनुभयो ?

म यो बैंकमा दोहोर्याएर आउनुको कारण तीन वटा छ । पहिलो, अध्यक्ष ज्यूले नै बोलाएर फेरी सँगै काम गरौं भन्नु भयो । दोश्रो, चौधरी ग्रुपले देखाएको जुन भिजन छ । त्यो भिजन मलाई साह्रै मन पर्छ र तेश्रो भनेको यहाँको टिम हो । त्यसैले म आउँदा र अहिले यी तीन वटै यथावत नै छ । यी कुराहरु पहिला पनि थिए । बैंक पहिलादेखि नै को सिस्टममा थियो । र, हामी सँधै एपेक्समा छौं । 

बैंकको रिस्ट्रक्चरिंगको कुरा गर्नुभयो । के के गर्नुभयो यो बीचमा ?

रिस्ट्रक्चरिंगका लागि डिजिटल स्ट्रिम नै बनाएका छौं । डिजिटल स्ट्रिम किन बनायौं भने धेरै डिजिटल प्रडक्टहरु हाम्रो अहिले नै छ । आइटीको उपयोग धेरै नै गरिराखेका छौं । तर, आउने दिनहरुमा जे गरिरहेको छ त्यो मात्र गरेर हुँदैन । एउटै प्रडक्ट मात्र भएर हुँदैन । त्यसैले भिजन क्लियर हुनुपर्छ । हामीले यस अघि भाइबर बैकिङ लिएर आयौं तर यसले मात्र पुगेन ।

यसको लागी एउटा रणनीति नै बनाउन आवश्यक ठानेर अगाडी बढेका छौं । अहिले नै विश्वमा कतिपय बैंकको शाखा नै छैन । तर, पनि लाखौं ग्राहकहरु छन् । हाम्रो पनि अवस्था त्यस्तो आउन सक्छ । अहिले ८० प्रतिशत ग्राहकहरु शाखाबाट सेवा लिइरहेका छन् र २० प्रतिशत डिजिटलबाट सेवा लिदैंछन् । कुनै दिन नेपालमा पनि ८० प्रतिशत डिजिटल र २० प्रतिशत शाखाबाट सेवा लिने दिन नआउला भन्न सकिदैंन । त्यसका लागि कोभिड–१९ ले हामीलाई गृहकार्य गर्ने अवसर दिएको छ । हामीले अहिले पर्याप्त गृहकार्य गरेका छौं र अगाडी बढ्ने केन्द्रबिन्दुमा पुगेका छौं । त्यहाँबाट छलाङ लगाएर डिजिटल बेसमा अगाडी बढ्छौं ।

तपाई दोश्रो पटक सीईओ भएर आउनु भएको २ वर्ष पुरा भयो । यो बीचमा के परिवर्तन भयो ?

म आएपछि हैन, हाम्रो टिमले के परिवर्तन गर्यो भन्न चाहन्छु । एकजनाले केहि गर्न सक्दैन । त्यसैले टिमले गर्ने हो । पहिला त हाम्रो बैंकको शाखा ६० वटा भन्दा कम थियो अहिले बढाएर ११९ वटा बनाएका छौं । हामीले दुर्गम क्षेत्र कर्णालीमा जहाँ बाटो र बिजुली छैन त्यहाँ सोलार र भीस्याट जडान गरी शाखा स्थापना गरेका छौं । त्यस्ता शाखाहरु १२ वटा जति छन् । अन्य शहरमा पनि शाखाहरु विस्तार गरेका छौं । अहिलेको अवस्थामा अन्य बैंकभन्दा नविल पनि शाखाको हिसावमा पनि कम छैनौं । नेपालमा करिब १२५ वटा जति शाखाहरु भयो भने सबै कभर हुन्छ भन्ने लाग्छ । त्यसमा हामी लागि रहेका छौं ।

त्यस्तै कोर बैंकिङ स्टिमलाई अपग्रेडको प्रोसेस सुरु गरेर सबैभन्दा एडभान्स इन्फोसिस फिनाकल भर्सनमा जाने तयारीमा छौं । कोर बैंकिङ स्टिम भनेको मुटु हो । त्यसलाई बेला बेलामा अपग्रेड गरिराख्नुपर्छ । त्यसैले अपग्रेडलाई पनि उच्च लेभलमा गरेका छौं । त्यो सँगै आन्तरिक अडिटको सिस्टमलाई पनि अपडेट गरेका छौं । यस अघिसम्म ३५ वर्ष अगाडी खुलेको सिस्टम अनुसार नै अगाडी बढीरहेको थियो । अहिले बैंककै सिनियर व्यक्तिलाई त्यहाँ कार्यरत गराएर आन्तरिक अडिटलाई पुरै ट्रान्सफर्म गरेका छौं ।

अहिले हाम्रो कम्प्लीट रिक्स बेस अडिट छ । नेपालमा सायद अरु बैंकमा यो छैन । विदेशी बैंकमा हुनसक्छ तर नेपालीमा हामी पहिलो हो । जुन राष्ट्र बैंकले गर्नुपर्छ भन्दै आएको छ । बैंक ठूलो हुने र पैसा कमाउने मात्र हैन, त्यसलाई कसरी निरन्तरता दिने भन्ने पनि सोच्न आवश्यक छ । त्यसैले सिस्टमलाई पनि अपग्रेड गरिराख्नुपर्छ ।अर्को भनेको हाम्रो टोटल फोकस कर्पोरेट बैंकिङमा थियो ।

अव कर्पोरेट बैंकलाई निरन्तरता दिदै एसएमईको लागि यूनिट नै खडा गरेका छौं । डीएफआइडीको सहकार्यमा सक्षम भन्ने प्रोजेक्टसँग मिलेर अन्तर्राष्ट्रिय एक्सपोजहरु ल्याएर नेपालमा पहिलो पटक सार्वजनिक गरेका छौं । योसँगै साना तथा मझौला उद्यमी, जुन चाहि नेपालको अर्थतन्त्रको मेरुदण्ड नै हो । उनीहरुका लागि हामीले काम गरिरहेका छौं । ‘क’वर्गको बैंक नै एसएमईमा लाग्यो भने अरु क्षेत्रले त त्यसैपनि प्राथमिकता पाउँछ । यी कामका लागि हामीले ठूला छलाङहरु मारिसकेका छौं ।

त्यो जस्तै ११९ वटा शाखामा सर्वसाधारणको पनि बैंकमा पहुँच पुगोस र साना साना पैसाहरुलाई फिक्स्ड डिपोजिटमा राख्न चाहनेहरुका लागि पनि सहज रुपमा खाता खोल्ने वातावरण सिर्जना गर्दै त्यस तर्फ फोकस गरिरहेका छौं । अहिलेको यो मेहनतको फल मैले तत्कालै खान नपाएपनि पछी आउने सीइओहरुले सहजरुपमा खान पाउने वातावरण बनाएको छु । 

यी सबै काम गर्नलाई आट दिने भनेको पहिलो बोर्ड र दोश्रो यहाँको टिम नै हो । नबिल बैंकको पैसाले किन्न नसक्ने सबैभन्दा महत्वपूर्ण सम्पती भनेको यहाँको दक्ष जनशक्तिहरु नै हुन् । ३५ वर्ष पुरानो यो बैंकमा कति जना कर्मचारीहरु त ३५,३०,२५ र २० वर्षदेखि काम गर्दै आउनु भएकाहरु हुनुहुन्छ । अरु बैंकमा यहाँको जस्तो अनुभवि कर्मचारीहरु कम नै पाउन सकिन्छ । दक्ष जनशक्ति नभएसम्म मेरो जति आइडिया भएपनि, नयाँ प्रविधि ल्याएपनि र पैसा जतिनै खर्च गरेपनि हुनेवाला केहि छैन । अझ नयाँ शाखा खुलिसकेपछि युवाहरुलाई समेत धेरै समेट्न सकेका छौं । युवा जोश र अनुभव भएकाहरु बीच राम्रो फ्यूजन भएकै कारण यी सबै कामहरु एकैसाथ गर्न सकिरहेका छौं ।

नबिल बैंक एक नम्बरको बैंक हो । अहिलेसम्म जे गरिरहेका छौं हाम्रै बुद्धि र विवेकले गरिरहेका छौं । त्यसैले हामी अन्तर्र्राष्ट्रिय बेन्च मार्कमा कहाँ रहेछौं भनेर अन्तर्राष्ट्रिय कन्सल्ट्यान्स कम्पनी पीडब्लुसीसँग समन्वय गरेका थियौं । उहाँहरु आएर हाम्रो बिजनेशको पुरा प्रोसेसको रिइन्जियरीङको मापदण्ड बनाइदिनु भएको छ ।

बैंकको खाता खोल्ने देखि रोल, प्रोसेस, डिजिटल सिस्टम सबै हेरेर तिमिहरु यहाँ छौं । यी कुराहरु ठिक र परिवर्तन गर्नुपर्ने विषयहरुको गुरुयोजना बनाइदिनु भएको छ । हामी अहिले त्यहि गुरुयोजनालाई कार्यन्वयन गरेर अगाडी बढीरहेका छौं । सो संस्थाले भारत, चीन र अमेरिका लगायतका बैंकहरुको अध्ययन गरेका छन् । नविल बैंकपनि ती देशका बैंकहरु जस्तै बन्नलाई के के गर्नुपर्छ भनेर म्याप समेत बनाइदिनु भएको छ । हामी त्यहि म्यापलाई आधार मानेर अगाडी बढ्दै छौं । मलाई लाग्छ २ वर्षभित्र यो टिमले धेरै चुनौतीहरु सामना गरेर अगाडी बढ्न सकिन्छ भनेर काम गरिरहेका छौं । 

चालू आर्थिक वर्षको ६ महिनामा नबिल बैंकको नाफा घटेको छ । के कारणले यस्तो भयो ? 

नाफा त कहिले पनि घटेको छैन । वर्षैपिच्छे बढीरहेको छ । तेश्रो चौमासिकको रिपोर्ट हेर्ने हो भने हामी धेरै नाफामा छौं । राष्ट्रिय बाणिज्य बैंकलाई उछिनेर हामी एक नम्बरमा थियौं । अहिले कोरोनाको कारण केहि समस्या भएको हो । यो हामीलाई मात्र हैन, सबै क्षेत्रलाई प्रभाव पारेको छ । कहिले काही एक क्वाटरमा तल माथि भयो भन्दैमा नाफा घट्यो भन्न मिल्दैन । बैंक भनेको ट्रेडिङ बिजनेश हैन, यो लङ्गटम विजनेश हो । ६० वटाबाट ११९ वटा शाखा पुर्याउदा पनि केहि लगानी त भएको छ । अफिस बनाउने, जनशक्ति थप्ने र प्रविधि जडान गर्दा लागेको खर्चलाई हेरेर तपाईको बैंकको नाफा घटेछ भनेर हल्ला गर्नु गलत हो । 

कोरोनाको कहर बीच बैंकको पोजिसन कस्तो हुने अनुमान गर्नुभएको छ ?

अहिले हाम्रो मुलमन्त्र भनेको हामी पनि बच्ने र हाम्रो ग्राहकलाई पनि बचाउने हो । अहिले हामी नाफामूखी हुने, डिबिडेन्ड कति दिने, स्टाफले बोनस कति खाने भन्ने तर्फ केन्द्रित भयौं भने हाम्रो भविष्य राम्रो हुँदैन । अहिले भनेको हामीमा कसरी स्थिरता ल्याउने र ग्राहकमा पनि कसरी स्थिरता ल्याउने भन्ने नै हो । राष्ट्र बैंकले पनि ब्याजलाई असार मसान्तसम्म नलिनु, किस्तालाई केहि समय सार्नु र ब्याजमा २ प्रतिशत घटाइदिनु भनेको छ । यसले नबिल बैंक मात्र हैन, सबै बैंकको ब्यालेन्ससीटमा केहि प्रभाव त अवश्यपनि आउँछ ।

तर, यो असर आउने वित्तिकै बैंक त खत्तमै भएछ, डुबेछ वित्तिय क्षेत्रनै डगमगाएछ भनेर हेर्ने हैन । हामीले अहिले जसले ऋण लिनु भएको छ, उहाँहरुलाई पनि गाह्रो भएको छ । पैसा तिरिराको छैन भने समस्या हुन्थ्यो तर, अहिले कोहीसँग पैसा छैन भन्ने सबैलाई थाहा छ । वित्तीय क्षेत्रले आफु मात्र बाचेर भनेर ग्राहकलाई पनि बचाउने दायित्व भएकोले यो आर्थिक वर्षमा केहि समस्या देखिएपछि आउँदो वर्षमा राम्रो हुने सोचले काम अगाडी बढाउने छौं । त्यसैले हामिले बनाएको भिजन भनेको सर्टटम–सरभाइवल, मिडटम– रिभाइबल र लङटम– ग्रोथ हो । यो वित्तिय संस्थाले होस वा अरु कुनै निकायले होस तत्कालको फाइदा मात्र हेर्ने हो भने केहि हुँदैन ।

राष्ट्र बैंकले असार मसान्तसम्म ब्याज तिर्ने समय दिएको छ । यो अवधिमा सबैले बुझाउन सक्ने अवस्था छैन । तपाईको ग्राहकलाई के गर्नुभएको छ ?

मौद्रिक नीति साउनमा मात्र आउने भएकोले यो बीचमा केहि परिवर्तन हुनेवाला छैन । त्यसैले जुन ग्राहकसँग पैसा छ तिर्नुस् । किन की धेरै भएपछि एकैपटक तिर्न पनि समस्या हुन्छ । यो वर्ष ९ महिना त हामी चलेकै हो नी  । तीन महिना पो बन्द भयो त । यो ९ महिनाको बीचमा नाफा त बढाउनु भएको थियो । त्यहि नाफालाई अलि अलि बैंकलाई पनि तिर्नुस भन्ने हो ।

अब, सक्नु नै हुदैन भने त हामी कालोसूचीमा राख्छौं, धितो लिलामी गर्छौ भनेर हामी भन्दैनौं । मौद्रिक नीति पनि के आउँछ त्यसपछि हेर्दै जाउँला । हामीले ग्राहकसँग कुरा गरिरहेका छौं । उहाँहरुको प्लान बुझिरहेका छौं । पहिला ग्राहक सरभाइब हुुनुपर्छ र त्यसपछि मात्र हामी सरभाइब हुने भन्ने विषयमा नबिल बैंक क्लियर छ । ढुंगालाई किचेर बालुवा बनाउने पक्षमा हामी छैनौं ।

ग्राहकले पनि बुझ्नु पर्ने विषय भनेको बैंकले नै सबै राहत दिएर भोलि बैंक नै रहेन भने भोलि उहाँहरुलाई कसले राहत दिने ? बैंक पनि बाँच्नु पर्यो नी । नाफा नभएपनि चल्नु त पर्योनी । त्यसैले हामी सबै मिलेर यसको समाधान गर्दै लैजाने पक्षमा छौं ।

रि–पेमेन्ट आइरहेको छ अहिले बैंकमा ?

आउन थालेको छ । कति जनाले सक्दैनौं पनि भनिरहेका छन् । कति जनाले रिस्टक्चर गरिदिनु भनेका छन् । तर, जुन नर्मल आउनु पर्ने हो त्यसरी आएको छैन । अहिले छलकपट चाहि भएको छैन । भुकम्पको बेला भने केहिले छलकपट पनि गरेका थिए, त्यो बेला केहि प्रभावित थिए भने अधिकाशं प्रभावित थिएनन् तरपनि प्रभावित छौं भनेर फाइदा गरेका थिए । अहिले त सबै प्रभावित भएका छन् ।

मौद्रिक नीति आउने तयारीमा छ । यो पटकको मौद्रिक नीतिमा कस्ता कस्ता विषयहरु समेट्नु पर्छ र ध्यान दिनुपर्छ जस्तो लाग्छ ?

सर्वप्रथम त मौद्रिक नीतिले स्थिरता, स्थिरता र स्थिरता ल्याउनु पर्छ । बजेटलाई प्रोत्साहन गर्ने खालको नीति आउने हो । कोभिडले वित्तीय क्षेत्रमा डिजिटल प्रोत्साहन गर्ने खालको नीतिहरु आउनु पर्छ । र वित्तीय क्षेत्रलाई कसरी सरभाइब गर्ने माध्यम पनि दिनुपर्छ । ब्याज नउठाउनु, ब्याज घटाउनु र किस्ता नउठाउनु भन्ने खालको आयो भने वित्तिय क्षेत्रलाई डगमगाउने अवस्था आयो भने हाम्रा ग्राहकहरु कसरी सरभाइब गर्ने ?

सरकारलाई सर्वोच्च अदालतले लकडाउन नसकेसम्म ट्याक्स नउठाउनु भन्दा कति गाह्रो हुदो रैछ भन्ने त हेरिराको छौ नी । सरकारलाई त यति समस्या हुँदो रैछ भने बैंकलाई ब्याज  २ प्रतिशत घटाइदिनु, असार मसान्तसम्म ब्याज नलिनु भन्दा तीन÷चार महिना हामीलाई कति समस्या भयो होला त ? तर हामी ढगमगाएका छैनौं । स्थिर नै छौं, अझै पनि सक्छौं भनिरहेका छौं । आशा छ मौद्रिक नीतिले हामीलाई पनि बच्नलाई केहि माध्यमहरु ल्याउनु हुन्छ र वित्तीय क्षेत्रलाई स्थिरता कायम राख्न सहयोग गर्नुहुनेछ भन्ने छ ।

बैकिङ प्रणालीमा तरलता अधिक छ । बेस रेट पनि घटाउने कुरा आइरहेको छ । ब्याजदर एकल अंकमा आउने सम्भावना कत्तिको छ ?

बेस रेट भनेको एउटा मापदण्ड हो । पहिले त हामी सबै स्थिरता हुन आवश्यक छ । अहिले वित्तीय संस्थाहरु, नबिल बैंकले लोनको पोर्टफोलियो रेड, यल्लो र ग्रिनमा विभाजित गरेको छ । रेड भनेको सबैभन्दा नकरात्मक प्रभाव परेको, यल्लो भनेको अलिअलि र ग्रिन भनेको नपरेको । त्यसमा पनि हामीले अर्को बर्गिकरण गरेका छौं । तर, यसमा पनि क्षेत्रगत प्रभावलाई एकैठाउँमा राखेर छुट्टाछुटै अध्ययन गरेका छौं । अटोलोन भन्ने वित्तिकै सबै रेडमा पर्छन भन्ने पनि छैन । पर्यटन क्षेत्रमा सबै होटललाई एकै परिधिमा राख्नुपनि हुदैन । त्यसैले यसलाई पनि गहन अध्ययन गर्न आवश्यक छ ।

बजेटमा मर्जलाई फोकस गरेर आएको छ । मौद्रिक नीतिमा पनि यसलाई निरन्तरता दिने कुरा आएको छ । यसलाई कसरी लिनु हुन्छ ?

वित्तीय संस्थाको पहिलो दायित्व भनेको हाम्रो डिपोजिटरहरुको फण्डको सेफल्याण्ड गर्ने हो । राष्ट्र बैंकले मापदण्ड ल्याउनु पर्यो की यो मापदण्ड भन्दा मिट गर्न सकेन भने तीन महिना भित्र मर्ज गर्नुपर्ने नत्र भने राष्ट्र बैंकले नै फोर्स मर्जर गर्ने भनेदेखी ठिकै हो । किनकी त्यो मापदण्ड मिट गर्न सकेन भने वित्तिय संस्था डगमगाउछ र राष्ट्र बैंकले डगमगाउन दिदैनौं भन्ने दायित्व हुन्छ ।

यसरी आयो भने ठिकै हो, हैन मर्जमा नगए फोर्स मर्जमा जाने भनेर आयो भने नकरात्मक प्रभाव पर्छ । नराम्रो संस्थालाई राम्रोसँग मर्ज गरायो भने राम्रो नै हुन्छ भन्ने हुदैन, त्यो पनि नराम्रो हुनपनि सक्छ । त्यसैले ठिक मर्जर गर्न आवश्यक छ । नबिल  बैंकपनि मर्जर गर्दैन भन्ने छैन । राम्रो पार्टनर आयो भने हामी पनि तयार छौं । राम्रो पार्टर भनेको के भन्दा सबैभन्दा बढी शाखा मेरो छ, सबैभन्दा बढी लोन मेरो छ, डिपोजिट धेरै छ र ग्राहक धेरै छ भन्ने हैन ? राम्रो भनेको मेरो रणनीति यो हो, संस्थालाई यसरी अगाडी बढाउँछु र मर्ज भएपछि संस्थालाई यहाँसम्म पुर्याउन सक्छु भन्ने चाहिएको छ ।

कोभिड –१९ पछि समस्या आएको भन्दै केहि बैंकहरुले भीआरएस लागू गरे, केहिले कर्मचारी कटौती गरे । नबिलले के गरेको छ ?

हामीले अहिलेसम्म भीआरएस लागू गरेका छैनौं । कर्मचारी पनि कटौती गरेका छैनौं । र यो सोचपनि आएको छैन । आन्तरिक खर्च कटौती गरेका छौं । तर, अहिले नै भन्न सकिदैन । यस्तै अवस्था अबको छ महिनासम्म भयो भने कुनैपनि संस्थाले अहिलेको अवस्थामा सञ्चालन गर्न सक्दैनन् । त्यसैले संस्था बच्यो भने हामी सबै बच्ने हो । त्यसैले त्यो दिनपनि नआउला भन्न सकिदैन । भोलि समस्या पर्दै गयो भने म आफै यहाँबाट जानुपर्ने दिनपनि आउन सक्छ ।


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top