सन् १९९२ मा आफ्नै स्वामित्वमा हिमालयन शेर्पा एडभेन्चर स्थापना गरेर व्यावसायिक दायरालाई फराकिलो बनाएका फुर गेल्जे शेर्पा सानैदेखि ट्रेकिङ र आरोहणमा काम गर्दै यस क्षेत्रमा सक्रिय भए। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा जन्मिएका शेर्पाले ६ हजारभन्दा माथिको एउटा हिमाल आरोहण गरेका छन्।
पत्रकारिता र अंग्रेजी साहित्यमा स्नातक शेर्पा सन् १९९० मा समाजशास्त्रमा स्नातकोत्तर हुन्। सगरमाथा आरोहण गर्ने सपना भए पनि बाबुआमाको एक्लो सन्तान हुँदा रोकिएका शेर्पा अहिले पर्यटनसम्बन्धी काम गर्नेको हकहितमा वकालत गर्ने संस्था नेपाल पर्वतारोहण संघ अध्यक्षमा निर्वाचित भएका छन्। तीनवर्षे कार्यकाल रहने कार्यसमिति निर्वाचनमा संघ अध्यक्ष बनेका शेर्पासँग आगामी दिनमा गरिने काम र भावी योजनाबारे क्यापिटल नेपालका सुवास योञ्जनले गरेको कुराकानीः
नेपाल पवतारोहण संघ अध्यक्षमा भर्खरै निर्वाचित हुनुभएको छ। तपाईंको नजरमा पर्वतीय पर्यटन भनेको के हो? र यसका चुनौती के देख्नुभएको छ?
पर्वतीय पर्यटनलाई सरकारले उद्योगको मान्यता दिएको छैन। उद्योगको मान्यता दिइनुपर्छ। पर्यटन यस्तो उद्योग हो, जसले सिंगो नेपालकै प्रतिनिधित्व विश्वबजारमा गरिरहेको छ। माउन्टेन टुरिजम नै नेपालको पहिलो पर्यटन क्षेत्र हो। माउन्टेन टुरिजमबाटै नेपालको पर्यटन क्षेत्रको सुरुआत भएको थियो।

विशेषगरी ‘माउन्टेन डेस्टिनेसन’कै रुपमा नेपाललाई चिनिन्छ। ८ हजार मिटरभन्दा माथिका ८ वटा हिमाल नेपालमै छन्। त्यसैले हिमालले नै नेपालको पर्यटन क्षेत्रलाई धानेको छ। हिमाल नै नेपालको पर्यटनको ‘ब्याकबोन’ हो।
पर्वतीय पर्यटन विकासका लागि राज्यले के गरे अझै फाइदा लिन सकिन्छ?
साँच्चिकै नेपालको विकास गर्ने हो भने पर्वतीय पर्यटनबाटै हो। तर, अहिले सरकारले खासै समन्वय गरेको पाइँदैन। झट्ट हेर्दा पर्वतीय पर्यटन भन्नेबित्तिकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग मात्र सम्बन्धित होला भन्ठाने पनि यसमा वन, अर्थ, परराष्ट्र, गृह मन्त्रालय पनि जोडिन्छन्। यी मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा धेरै दुःख पाइरहेको अवस्था छ।
त्यसैले मेरो नेतृत्वको नयाँ टिमले ती मन्त्रालयसँग समन्वय गरेर एकद्वार प्रणालीबाट काम हुने खाले व्यवस्था मिलाउन लागिपर्छौंं। यस्तै, पर्यटन क्षेत्रमा पनि धेरै संघ–संस्था छन्। ती संस्थासँग पनि समन्वयात्मक भूमिका निर्वाह गरी पर्वतीय पर्यटनलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहेर काम गर्नेछु। संयुक्त रुपमा मिलेर पर्वतीय पर्यटनको विकासका लागि काम गर्न पहल गर्नेछु। जब पर्वतीय पर्यटनको विकास हुन्छ, त्यो बेला सिंगो मुलुकको पर्यटन क्षेत्रकै विकास हुने हुँदा यो निकै महत्त्वपूर्ण रहेको छ।
नेपालमा यति धेरै सम्भावना हुँदाहुँदै पनि पर्याप्त मात्रामा विदेशी पर्यटक ल्याउन सकिएको छैन। निजी क्षेत्रले साथ नदिएको कि सरकारले केही नगरेको हो?
सबैभन्दा पहिलो विषय राष्ट्रिय ध्वजावाहक जहाज नै कमजोर भयो। पर्याप्त मात्रामा जहाज नभएको र धेरै मुलुकमा जान नसक्दा चाहेर पनि ठूलो संख्याका पर्यटक आउन सकिरहेका छैनन्।
विदेशीले सकेसम्म जुन मुलुकमा जान खोजेको हो, त्यही मुलुकको जहाजमा यात्रा गर्न चाहन्छन्। तर, नेपाल एयरलाइन्स जम्मा ४ वटा जहाजको भरमा उडान गरिरहेको छ। त्यो पनि युरोपियन युनियन(ईयू)ले कालोसूचीमा राखेकाले युरोपमा उडान भर्न सकिरहेको छैन।
पर्यटन यस्तो उद्योग हो, जसले सिंगो नेपालकै प्रतिनिधित्व विश्वबजारमा गरिरहेको छ। माउन्टेन टुरिजम नै नेपालको पहिलो पर्यटन क्षेत्र हो।
सोही कारण विदेशी एयरलाइन्सको टिकट पनि महँगो छ। उसले चाहेको बेला मात्र उडान भर्छ। त्यसैले नेपालको पर्यटन क्षेत्रलाई विकास र विस्तार गर्ने हो भने सबैभन्दा पहिला नेपाल एयरलाइन्सको जहाज थप्नुपर्छ र ईयूको कालोसूचीबाट हटाउनुपर्छ। यसका लागि सरकारले काम गरिरहेको छ र निजी क्षेत्रले पनि आवश्यक सहयोग गरिरहेको छ। आवश्यकता पर्दा अझै सहयोग गर्छौं।
विदेशी पर्यटक वर्षको दुई पटक मात्र चापाचाप हुने भए। बर्खाको समय त्यति धेरै आउन सकेका छैनन्। बर्खायाम अफ सिजनै हो? कि यसमा पर्यटकलाई बुझाउन नसकिएको हो?
नेपालमा अफ सिजन भन्ने नै हुँदैन। यहाँ बाह्रै महिना पर्यटकलाई घुम्न र बस्न सक्ने उपयुक्त वातावरण छ। तर, सुरु–सुरुमा बर्खाका बेला नेपालमा धेरै पानी पर्छ, बाढीपहिरो जान्छ र जोखिम हुन्छ भन्ने सन्देश विदेशीमा गयो।

उनीहरूको नकरात्मक मानसिकता अहिलेसम्म रहिरहेको मात्र हो। निजी क्षेत्रले त नेपालमा अफ सिजन भन्ने छैन, सधैं सुरक्षित साथ घुमाउँछौं भनिरहेकै हुन्छ। तर, उनिहरूले निजी क्षेत्रको कुरालाई खासै विश्वास गरिरहेको पाइँदैन। त्यसैले सरकारी स्तरबाट विश्वको गन्तव्य मुलुकमा बर्खाको समय पनि नेपाल घुम्न सकिन्छ र अफ सिजन छैन भन्ने सन्देश प्रवाह गर्न अति जरुरी छ। यसका लागि सरकारलाई आवश्यक केही सहयोग चाहिए हामी दिन तयार छौं।
हिमालको कुरा गरिरहँदा अहिले बर्सेनि हिमताल फुटिरहेको छ। जनधनको क्षति भइरहेको छ। तर, वर्षैपिच्छे हिमाल बचाउन भन्दै विभिन्न संघ–संस्थाले कार्यक्रम गरिरहेकै हुन्छन्। खासमा किन हिमताल फुट्नबाट जोगाउन सकिएन? तपाईंहरूको संस्थाले हिमाल बचाउन के गर्छ?
हो। तपाईंले सान्दर्भिक प्रश्न गर्नुभयो। बर्सेनि हिमाल संरक्षण र हिमताल बचाउन काठमाडौंका पाँचतारे होटलमा करोडौ रुपैयाँको कार्यक्रम हुने गरेका छन्। प्रतिवेदन पनि धेरै बन्ने गरेका छन्। तर, अहिलेसम्म हिमतालको अवस्था कस्तो छ र कसरी जोगाइएको छ भन्ने थाहा छैन। उल्टै हिमताल फुटेर ठूलो जनधनको क्षति भइरहेको छ।
यसरी हिमताल फुट्नु र संघ–संस्थाले बुझाएको प्रतिवेदन कार्यान्वयन नहुनुको एउटै कारण हो, हिमालमा नगई काठमाडौंकै होटलमा बसेर विवरण बनाउनु हो। त्यसैले अब हिमालसँग सम्बन्धित सबै संघ–संस्थासँग समन्वय गरेर सम्बन्धित क्षेत्रमै गएर अध्ययन अनुसन्धान गर्न आवश्यक पहल गर्नेछु।
यसरी हिमताल फुट्नु र संघ–संस्थाले बुझाएको प्रतिवेदन कार्यान्वयन नहुनुको एउटै कारण हो, हिमालमा नगई काठमाडौंकै होटलमा बसेर विवरण बनाउनु हो।
सम्बन्धित क्षेत्रमा गएर अध्ययन अनुसन्धान गरेर बनाएको प्रतिवेदन कार्यान्वयनका लागि अझ सहज हुनेछ। हामीले चाहे हिमताल बचाउन सकिन्छ भन्ने उदाहरण त दोलखाको रोल्वालिङमा रहेको च्छोरोल्पा हिमताल हो। अहिले त्यहाँको जोखिमयुक्त पानी कटौती गरिएको छ। यस्तै, अन्य हिमताल र पोखरीका पानी पनि कटाउन सकिन्छ। यसका लागि विज्ञलाई सम्बन्धित क्षेत्रमै लगेर अध्ययन अनुसन्धान गर्न समन्वयात्मक भूमिका निर्वाह गर्नेछौं।
हिमाल आरोहणमा नयाँ पुस्ताको आकर्षणका लागि के–के गर्ने सोच बनाउनुभएको छ? अहिले खासगरी शेर्पा समुदायबाट तेस्रो पुस्ता विस्तारै पलायन हुँदै गएको भन्ने सुनिन्छ? यो सत्य हो?
हिमाल आरोहणलाई व्यवस्थित बनाउन नयाँ कार्यसमितिले विशेष काम गर्नेछ। बैठक बसेर विशेष निर्णय गर्छौं। पुराना पुस्तालाई सम्मान गर्दै नयाँलाई प्रोत्साहनका लागि गर्ने कामबारे छलफल गर्नेछौं।
ती विषयलाई सल्लाहको रुपमा लिएर काम गर्नेछौं। पुरानोबाट विस्तारै नयाँमा सीप हस्तान्तरण गर्न विभिन्न तालिम केन्द्रलाई अझै व्यवस्थित र सुधारेर लैजानेछौं।
चुनावी प्रचारका क्रममा माउन्टेन टुरिजम युनिभर्सिटीको कुरा पनि धेरै सुनिएको थियो। खासमा यो कस्तो हो र नेपालमा सम्भव छ?
प्रकृतिले नेपालमा सबैभन्दा अग्ला हिमाल दिएको छ। ८ हजारभन्दा माथिका धेरै हिमाल नेपालमै छन्। तर, नेपालीले राम्रोसँग हिमालसम्बन्धी पढ्न नपाएकाले अहिले पनि धेरै विदेशी टुर गाइड नेपालमा आएर काम गरिरहेका छन् र सिकाइरहेका छन। अब नेपालीलाई सक्षम बनाउने मेरो अभियान हो।
हिमालसम्बन्धी अध्ययन गर्ने राम्रा विद्यालय एवं विश्वविद्यालय नभएकाले धेरै नेपालीले विदेशमा गएर पढ्नुपर्ने र सिक्नुपर्ने बाध्यता रहँदै आएको छ। अहिले पर्वतारोहणसम्बन्धी पढाइ केही कलेजमा हुन्छ तर, विश्वविद्यालयकै रुपमा नेपालमा नभएकाले माउन्टेन एडभेन्चर युनिभर्सिटी खोल्ने प्रक्रिया सुरुआत गरिनेछ। नेपालमा माउन्टेन टुरिजम युनिभर्सिटी खोल्न सकिए सम्पूर्ण आरोहण गतिविधिसम्बन्धी पढ्न जाने हजारौं युवाले स्वदेशमै अध्ययन गर्न पाउँछन्।
पर्वतारोहण संघको पहलमा माउन्टेन टुरिजम युनिभर्सिटी सञ्चालन गर्न सके विश्वका लागि गर्वको विषय हुनेछ। विदेशीलाई अध्ययनका लागि पनि ल्याउन सकिन्छ।
अहिले केही युवाले अन्तर्राष्ट्रिय माउन्टेन गाइड एसोसिएसन महासंघ (युआइएजीएम)का सदस्य लिएका छन। ती युवाले वसन्त र शरद सिजनमा नेपालमा काम गर्छन् र विन्टर सिजनमा संसारभर गएर काम गरिरहेका छन्। यो अध्ययन नेपालमै हुने वातावरण सिर्जना भए ती युवा विदेश गएर काम गर्नुपर्ने बाध्यता हट्छ। यहीँ बसेर लाखौं रुपैयाँको काम गर्न सक्छन्। नेपालमै राम्रो विश्वविद्यालय सञ्चालन गर्न सके विश्वभरका विद्यार्थीसमेत पढ्न आउँछन। हामीकहाँ विश्वविद्यालय मात्र हैन, उनीहरूले तालिम पनि संसारकै सबैभन्दा अग्लो हिमालमा गर्न पाउँछन, जुन विदेशमा छैन।
पर्वतारोहण संघको पहलमा माउन्टेन टुरिजम युनिभर्सिटी सञ्चालन गर्न सके विश्वका लागि गर्वको विषय हुनेछ। विदेशीलाई अध्ययनका लागि पनि ल्याउन सकिन्छ। यसका लागि नेपाल सरकारसँग आवश्यक समन्वय गरेर अगाडि बढ्नेछु।
माउन्टेरिङसम्बन्धी राम्रा तालिम केन्द्र नभइरहेका बेला विश्वविद्यालय सम्भव होला? भएका तालिम केन्द्रलाई कसरी व्यवस्थित गर्नुहुन्छ?
विश्वमा नेपालले दिन सक्ने सबैभन्दा ठूलो परिचय भनेकै माउन्टेन टुरिजम हो, जहाँ विश्वमा नभएका हिमाल छन्। अतः तालिम केन्द्र व्यवस्थित बनाउन पर्वतारोहण संघले भूमिका खेल्छ। यद्यपि विश्वकै सबैभन्दा अग्लो सगरमाथा हिमाल रहेको मुलुकमा अहिलेसम्म सुविधासम्पन्न आरोहणसम्बन्धी तालिम केन्द्र छैनन्। त्यसका लागि उत्कृष्ट खाले तालिम केन्द्र सञ्चालन गर्नेछौं।

अहिले कोङबुचे, थामे, मनाङ, पोर्चेलगायतका ठाउँमा तालिम केन्द्र सञ्चालनमा रहे पनि संघले समन्वयकारी भूमिका वहन गर्न नसकिरहेको अवस्थामा त्यसलाई साथमै लिएर उत्कृष्ट बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने योजना छ। अन्तर्राष्ट्रिय स्तरको बनाएर विदेशीलाई समेत यहाँ आउने वातावरण बनाउन लाग्नेछु।
हिमाल आरोहीलाई राज्यले सम्मान नगरेको र संघले पनि बेवास्ता गरेको आरोप उनीहरूको छ। उमेर हुँदासम्म हिमाल चढे पनि त्यसपछिको अवस्था सम्झिएर मुलुक छाड्ने पनि बढ्न थालेका छन्। तपाईं अध्यक्ष भएपछि अब यो बाध्यता रोकिन सक्छ? यसका लागि के गर्नुहुन्छ?
हो। अहिले हिमाल आरोहण गर्नेहरू भविष्य सुरक्षित नदेखेर बिदेसिनेको संख्या बढिरहेको छ। उमेर हुँदासम्म हिमालमा काम गर्ने र पछि के गर्ने भन्ने चिन्ता सबैमा देखिएको छ। त्यसका लागि सरकारसँग विशेष सुविधा दिलाउन संघले पहल गर्नेछ। अहिले पहिलाको भन्दा हिमाल आरोहण गर्दा पाउने शुल्क पनि बढेको छ।
त्यसैले व्यवस्थित बनाउन पनि सकिन्छ। मात्र, आरोहीलाई राज्यले जुन खाले सम्मान र सुविधा दिनुपर्ने हो, त्यो पाउन सकिरहेका छैनन्। त्यसका लागि संघले कीर्तिमानी आरोहीलाई राज्यले दिन सक्ने सुविधाका विषयमा छलफल गरेर केही न केही निष्कर्षमा पुग्नेछौं। हामी सकेसम्म सबै आरोही र कीर्तिमानीलाई नेपालमै बस्ने वातावरण मिलाउन सरकारलाई बाध्य बनाउनेछौं।
विश्व कीर्तिमानीलाई अन्य ठाउँमा केही गर्न नसकिए पनि विमानस्थलमा विशेष सुविधा दिन पहल चाल्नेछु।उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुविधा उपलब्ध गराउन लागिपर्नेछु।
विश्व कीर्तिमानीलाई अन्य ठाउँमा केही गर्न नसकिए पनि विमानस्थलमा विशेष सुविधा दिन पहल चाल्नेछु।उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुविधा उपलब्ध गराउन लागिपर्नेछु। यसमा सरकारले पनि साथ दिन्छ जस्तो लाग्छ। विश्व कीर्तिमानी भनेको चानचुने होइन। रेकर्डधारीलाई विशेष सम्मान दिन विमानस्थल आवतजावतमा छुट्टै व्यवस्था गरेर आफ्नो कीर्तिमानीप्रति गर्व महसुस गर्ने वातावरण मिलाउनेछु। उनीहरूको शिर ठाठो हुनु भनेको नेपालीका लागि गौरव हो। त्यसैले कीर्तिमानी आरोही सम्मानका लागि सरकारसँग पहल गर्दै कार्यान्वयनमै लैजानेछु।
हिमाल आरोहणमा जानेहरूको सबैभन्दा ठूलो गुनासो भनेकै उद्धारको विषय हुने गरेको छ। अझ उद्धारका क्रममा हुने ढिलासुस्तीले धेरैले ज्यानसमेत गुमाइरहेका छन्। यसका लागिसंघले के भूमिका खेल्न सक्छ, जसले दुर्घटनालगत्तै उद्धार हुन सकोस्? केही योजना सोच्नुभएको छ?
दुर्घटनालगत्तै उद्धार गर्न नसकेकै हो। हाम्रो संरचना नै त्यही खाले छ। काठमाडौं केन्द्रित उद्धारकर्ता रहँदा मौसम खराबीको कारण चार/पाँच दिनसम्म उद्धारकर्ता पठाउन नसकेका धेरै घटना छन्।
युरोप, अमेरिकालगायत मुलुकमा आरोहणमा जानेको उद्धारका लागि छुट्टै रेस्क्यू टिम बनाइएको हुन्छ। जब खराब मौसम हुन्छ, त्यो बेला ठूला दुर्घटना हुने गरेका छ। त्यो बेला हुने दुर्घटनाका क्रममा खोजसँगै उद्धारका लागि टिम पठाउन निकै समस्या हुन्छ।

रेस्क्युमा विज्ञ भएका सबै काठमाडौंमा रहने भएकाले मौसमी समस्यामा तीन/चार दिनसम्म पठाउन सकिँदैन। त्यसैले हिमाली क्षेत्रमा त्यहीका स्थानीयलाई रेस्क्युसम्बन्धी तालिम दिने र सम्पूर्ण उपकरण त्यहीँ ठाउँमा राख्ने योजना छ।
ती सबै तालिम प्राप्तलाई हरेक वर्ष थप तालिम दिने र उनीहरूको सबै सम्पर्क विवरण एकीकृत गरिराख्दा जुनसुकै बेला हुने दुर्घटनामा तत्कालै उद्धार गर्न सकिन्छ। अतः समयमै उद्धार गरेर ज्यान बचाउन सकिन्छ।
हिमाल आरोहीलाई केन्द्रित गरेर सरकारले लामो समयदेखि कल्याणकारी कोष बनाउने घोषणा गरिरहे पनि त्यसले सार्थकता पाउन सकेको छैन। संघले यसमा केही पहल नगरेको हो कि कोष खडा गर्न नसकेको हो? तपाईंको कार्यकालमा कोष बन्छ?
आरोहीलाई लक्षित गरी कल्याणकारी कोष बनाउने भनेर सरकारले घोषणा गरेको धेरै समय भएको छ। हालसम्म त्यसले पूर्णता पाउन सकेको छैन। अब हामी कोषलाई पनि अगाडि बढाउनेछौं। मैले निर्वाचन प्रचार–प्रसारकै बेला घोषणा गरेको छु–निःस्वार्थ २० लाख रुपैयाँ व्यक्तिगत रुपमा दिन्छु भनेर। अब कोषमा सो रकम जम्मा गरिदिन्छु।
सरकारी निकायलाई पनि कोष खडा गर्न झक्झकाउँछु। अन्यले पनि कोषमा सहयोग गर्न सक्नेछन्। हामी सार्वजनिक रुपमा आह्वानै गरेर गतिलो कोष बनाउँछौं, जसबाट आपत्विपद्मा परेका आरोहीलाई आवश्यकता परेकाा बेला सहयोग गर्न सकियोस्।
निर्वाचनका बेला विभिन्न राजनीतिक दलले सहयोग गरेको देखियो। पक्ष/विपक्ष नै भयो। अब निर्वाचित भएपछि तपाईंले गर्ने निर्णयमा राजनीतिक रङ झल्किन्छ कि झल्किँदैन?
संघको नेतृत्वमा निर्वाचित भएर आइसकेपछि यो वा त्यो पार्टी भनेर छुट्याउनुहुँदैन। निर्वाचनका बेला जे भयो, त्यतिखेरै सकियो।
अब समग्र हिमालसम्बन्धी सवाल मात्र हामीले उठाउँछौं, जुन मुद्दा सबैको साझा हुन्छ। अब हामी सबै राजनीतिक दल र सरोकारवाला निकायको साझा व्यक्तिको रुपमा काम गर्नेछौं। निषेधको राजनीति हुँदैन।