काठमाडौं । लाग्नेभन्दा ५० प्रतिशत कम भन्सार तिरेर टफन (प्रशोधित) ग्लास भित्र्याउने र बेच्दा पनि ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर (भ्याट) छली गर्ने गरेको पाइएको छ ।
भन्सारका कर्मचारीको सेटिङमा ३० प्रतिशत भन्सार तिरेर छिराउने पर्ने टफन ग्लासको १५ प्रतिशत मात्रै तिरेर ल्याउने र बढी एमएमको टफल ग्लास बेच्दा पनि कम एमएमको बील बनाउने गरेको खुलेको हो ।
स्रोतका अनुसार १२ एमएमको टफन ग्लास बेच्ने र त्यति बराबरकाे भ्याट उठाउने र ६ एमएमको भ्याट बिल बनाउने गरेको खुलेको हो । बढि एमएमको ग्लास बेच्ने वित्तिकै बढी भ्याट तिर्नुपर्छ । तर, व्यापारीले उपभोक्ताबाट १२ एमएमकै भ्याट उठाउने तर, बिल ६ एमएमको मात्रै बनाउने गरेको खुलेको हो ।
टफनमा चरम विकृति हुँदा पनि सरकारले यसलाई रोक्न कुनै पहल गरेको छैन् । एकातिर न्यूनविजीकरणमा ठूलो परिमाणमा टफन भित्रिने र टफनबाट वास्तविक भ्याट नउठ्ने गरेको हो । व्यापारीका अनुसार बार्षिक रुपमा एक अर्ब रुपैयाँ बराबरको कारोबार हुन्छ । यस हिसावलाई आधार मान्दा सरकारले भन्सारबाट ३० करोड र भ्याटबाट १३ करोड पाउनुपर्ने हो । तर, यहाँ आधा मात्रै रकम राज्यकोषमा गएको देखिएको छ ।
बजारमा ५ एमएम, ६ एमएम, ८ एमएम र १२ एमएमका टफन ग्लास बिक्री हुन्छन् ।
५ एमएमको टफन बिक्री हुँदा वास्तविक भ्याट बिल बन्छ भने बाँकी जुनसुकै एमएमको टफन बिक्री हुँदा ६ एमएमको भन्दा बढी भ्याट बिल जारी नै नहुने पाइएको हो ।
वर्षौदेखि नेपालमा पनि टफन ग्लास बनाउने उद्योग लागिरहेका छन् । सरकारले भन्सारमा राम्रोसँग चेकजाँच गर्न नसकेपछि करोडौं लगानी गरेर खुलेका उद्योग पनि १५ प्रतिशतमै टफन नेपाल भित्र्याएर बेचिरहेका छन् भने आफ्नो उद्योगमा उत्पादन घटाइरहेका छन् ।
काँचो सिसा आयात गर्दा ३० प्रतिशत भन्सार तिर्नपर्छ । यहाँ ल्याएर त्यसलाई प्रशोधन गरेपछि मात्रै टफन बन्छ । भन्सारमै ३० प्रतिशत तिरिसकेका व्यापारीले प्रशोधन गरेपछि त्यसको मूल्य झन बढी हुने र बजारमा १५ प्रतिशतमा छिरेका टफनसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि उनीहरु पनि त्यतै लागेको पाइएको हो । अहिले यी उद्योगका मालिकहरु आफैले १५ प्रतिशतमा सामान झिकाएर बेचिरहेका छन् भने भ्याट पनि छलि गरिरहेका छन् । स्रोतका अनुसार नेपालमा श्याम ग्लास, नेपाल ग्लास र ब्रिज ग्लास नेपालमा टफन ग्लास बनाउने उद्योग हुन् ।
याे पनि पढ्नुस्, :कर्मचारीकै मिलेमतोमा छलिन्छ टफन ग्लासको भन्सारः तिर्नुपर्ने ३०, भित्रिन्छन् १५ प्रतिशतमै