चाउचाउको वर्तमान अवस्था र सरकारले पूरा गर्नुपर्ने दायित्व : युवा उद्यमी गौरव शारदाको लेख

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १४, बुधबार,०४:५९:PM  
चाउचाउको वर्तमान अवस्था र सरकारले पूरा गर्नुपर्ने दायित्व : युवा उद्यमी गौरव शारदाको लेख

सरकारले दुई दर्जन जति औद्योगिक बस्तुहरुलाई आत्मनिर्भर हुने सूचीमा समावेश गर्न ति वस्तुहरुको वास्तविक अवस्थाको अध्ययन गरिरहेको छ । तिनै बस्तुमध्येको एक हो, तयारी चाउचाउ । नेपालमा तयारी चाउचाउको वर्षौंदेखी भएपनि यसको अवस्था कस्तो छ भनेर खोजी गरिएको थिएन । तर, पछिल्लो समय चाउचाउ आत्मनिर्भर औद्योगिक उत्पादनमा समेटेसँगै उद्योगको अवस्था, त्यसमा प्रयोग हुने कच्चा पदार्थ, बजारमा मागको सम्भाव्यताका बारेमा चर्चा गर्नु उपयुक्त हुने अपेक्षासहित यो आलेख तयार भएको हो । 

नेपालमा चाउचाउ उपभोगको अवस्थाः

नेपालमा वैकल्पिक खाद्य वस्तुको रुपमा सर्वसाधारण सम्म पहुँच पुगेको बस्तुका रुपमा अहिले तयारी अवस्थाको प्याकिङ गरिएको (पैकेज्ड) र ‘प्रीजव्र्ड फुड’का रुपमा चाउचाउ छ । उपलव्धताको हिसावले पनि अत्यन्त सरल र सहज अनि सर्वसुलभ र सन्तुलित आहारको रुपमा लोकप्रिय छ चाउचाउ (नुडल्स) । नेपालको चाउचाउ पनि यस उपमहाद्धीपमा एउटा आम खाद्यान्न (जेनरिक फुड) जस्तो स्थापित खाने कुराको रुपमा विस्तार भएको पाईन्छ । त्यति मात्र होइन यो सम्पूर्ण आहारयुक्त खाद्यान्न (डाइट फुड)का रुपमासमेत परिचित छ ।

कम समयमा स्वादिलो आहार र अन्य सलाद र हरियो सागसव्जीहरुका साथ मिलाएर बनाउन मिल्ने एउटा राम्रो वैकल्पिक खाद्यवस्तुको रुपमा आजका व्यस्त कामकाजी व्यक्ति÷परिवारलाई मनपर्ने र सवैको घरमा चामल दाल जसरी नै महिनौं दिन सम्मका लागि सञ्चित (स्टोर) गरेर राखिने खाद्य पदार्थ हो । अझ यसलाई १ वर्ष सम्म ‘सेल्फलाइफ’ दिएर प्याकिङ गरेर राखिएको हुन्छ । पहाड हिमालका विकट ठाउँ देखि तराइ मधेसमा पनि त्यतिकै लोकप्रिय खाद्य उत्पादनका रुपमा रहेको चाउचाउ नेपालमै आत्मनिर्भर हुने अवस्था छ । अर्थात् नेपालमा खपत हुने चाउचाउ नेपालमै उत्पादन हुन्छ । बाहिरबाट आयातित चाउचाउको आवश्यकता पर्दैन । 

नेपालमा मागको अवस्थाः

नेपालमा चाउचाउको माग समग्रमा भन्दा १ लाख १० हजार मेट्रिक टन हो । प्रत्येक मिनेट ३ हजार प्याकेट चाउचाउ खपत भइरहेको तथ्यांक सञ्चार माध्यमहरुमा सार्वजनिक भएको पाइन्छ । छिमेकी मित्रराष्ट्र भारत जस्तो ठूलो बजारमा समेत नेपाली चाऊचाऊको माग धेरै छ । भारतबाहेक नेपालीहरुको बढी संख्यामा बसोबास गरेका (प्रवासी हुने) राष्ट्रहरु अमेरिका, अष्ट्रेलिया, क्यानडा, मलेसिया, संयूक्त अरब इमिरेट्स (यूएई), कतार आदी मुलुकमा पनि नेपाली चाउचाउको माग उल्लेख्य छ । नेपाली उपभोक्ताका साथ साथ अन्य मुलुकका उपभोक्ता माझ पनि नेपाली चाऊचाऊ, ‘रेडी टु इट नुडल्स’को माग बढी रहेको छ ।

कच्चा पदार्थको उपलव्धताको अवस्थाः 

नुडल्सका लागि चाहिने मुख्य कच्चा पदार्थ मैदा र खाने तेल दुवै बस्तु (आइटम) नेपालमा प्रचुरताका साथ उत्पादन र आपूर्ति हुने कच्चा पदार्थ हो । कृषि वस्तुबाट प्राप्त मैदा र तेलको उत्पादनलाई व्यवसायिक कृषिका माध्यमबाट गहुँ र तेलहन बढाउन सकियो भने आत्मनिर्भर हुने अवस्था आउँछ । अर्थात् मैदा र तेल पनि आयात गर्नु पर्ने स्थिति आउँदैन ।

हाल मैदाको उत्पादनमा ७५ प्रतिशत स्वदेशी गहुँको प्रयोग भईरहेको छ । तर, अहिलेसम्म चाउचाउमा प्रयोग हुने ‘क्रुड पाम आयल’ भने आयातमा निर्भर रहनु परेको छ । यसमा थोरै मात्र मेहनत गरेर तेलहन बालीलाई जोड दिने हो भने क्रुड पाम आयल पनि नेपालमै बनाउने अधिक अवसर छ । अहिले कतिपय नुडल्स उद्योगहरुले क्रुड पाम आयल सिधै आयात गरेर र बाँकीले स्थानीय रिफाइनरीजहरुको उत्पादन किनेर काम चलाउँने गरेका छन् । यसरी उद्योगहरुका बीचमा राम्रो तालमेल, उत्पादन र खपत समञ्जस्यता रहँदा रोजगार र बजारको उत्कर्ष सधैंं बनिरहने देखिन्छ ।

कच्चा पदार्थमा प्रयोग हुने बस्तुको भन्सार दरः 

चाउचाउमा प्रयोग हुने खाद्य पदार्थ मैदाबाहेक तेल र अन्य बस्तुहरु अधिकांस अहिले पनि आयात गर्नुपर्ने अवथा छ । भन्सारले चाउचाउमा प्रयोग हुने कच्चा पदार्थहरुमध्ये हाल खानेतेल पाम आयल (१५ प्रतिशत), पामोलिन (१५ प्रतिशत), एमएसजी (२० प्रतिशत), सिजनिङ्ग पाउडर (१५ प्रतिशत), आई जी (१० प्रतिशत), ओनियन लिफ (१० प्रतिशत), डिहाइडे«टेड गार्लिक (१५ प्रतिशत), डिहाइड्रेटेड पीज (केराउ) ९ प्रतिशत, डिहाइड्रेटेड कैरट÷कैबेज ९ प्रतिशत, करी पाउडर १५ प्रतिशत, पैकेजिंग रैपर १९ प्रतिशत, गरम मसला १५ प्रतिशत र  चिली पाउडरमा १५ प्रतिसत भन्सार लगाएको छ । 

आयातीत चाउचाउको भन्सारः

नेपालमा खासै चाउचाउको आयात हुँदैन । भारतको नेस्ले कम्पीको मैगी र केहि कोरियन नुडल्सहरु बाहेक अन्य नुडल्सहरु खासै नेपाल आयात हुँदैन । विगतमा तयारी चाउचाउमा लगाइएको भन्सार महसुल ३० प्रतिसतलाई बढाएर हाल ४० प्रतिशत पु¥याइएको छ । यसले आन्तरिक चाउचाउ उत्पादनलाई सहयोग नै मिलेको छ ।  

नेपालमा उत्पादन क्षमता र अवस्थाः

नेपालमा १५ ठूला कम्पनीहरुले विभिन्न युनिटहरुबाट चाउचाउको उत्पादन गरिरहेका छन् । नेपाललाई चाहिने १ देखी डेढ लाख मेट्रिक टन मात्रै हो । तर, नेपालमा औद्योगिक उत्पादन क्षमता त्यो भन्दा धेरै बढी छ । अझ नयाँ नयाँ औद्योगिक युनिट थपिने क्रम छ । यसले चाउचाउको उत्पादनलाई अझ बढाउने अवस्था सिर्जना भएको छ । चाउचाउ उत्पादनको बढोत्तरीसँगै प्रबिधिका क्षेत्रमा पनि उल्लेख्य प्रगति भइरहेको छ । एउटा प्लान्टमा ८–८ वटा लाइनको माध्यमबाट बढि  क्षमताको उत्पादन गर्न सकिने ‘हाई स्पीड प्याकिङ मेसिन’ लगाउन थालिएको छ । यसले हरेक क्षेत्रमा नयाँ प्रविधिहरु दिनहुँ आइरहेको छ भन्न सकिन्छ । 

माग र उत्पादन बीचको खाडलः

उत्पादन बढि रहेको छ । मुलुकको माग पूरा गरेर बाहिरी मुलुकमा पनि बजार निमार्णको लागि काम भईरहेको छ । त्यसका लागि निर्यात प्रवर्धनका स्किमहरु अघि सनार्नुएपर्ने हुन्छ । सरकारले चाउचाउ उतपादनलाई आत्मनिर्भर बस्तुको सूचीमा समावेश गरेको अवस्थामा यसमा प्रयोग हुने कच्चा पदार्थमा पनि आत्मनिर्भर हुन सकेको खन्डमा मात्रै वास्तविक रुपमा आत्मनिर्भर भएको मानिन्छ । कच्चा पदार्थमा आन्तरिक उत्पादनमा आत्मनिभर नभएसम्मका लागि भन्सार दरमा विशेष कटौति गर्नुपर्छ । त्यति मात्र होईन मुलक बाहिर पनि नेपाली चाउचाउको ठूलो बजार संभावना रहेकाले निर्यात गर्दा प्रोत्साहित (इन्सेन्टिभ) दिने व्यवस्था गर्नुपर्छ र इन्सेटिभ भुक्तानी व्यवस्थाको सूचीमा चाउचाउ समेट्नुपर्छ ।

चाउचाउ आत्मनिर्भर बनाउन चाल्नुपर्ने कदमहरुः 

(क) पूर्वाधारमा– कतिपय सामन आयात गर्नका लागि चाहिने वाणिज्य विभागको अथवा खाद्य विभागको सिफारिश सहितको उद्योग तथा वातावरण सम्बन्धी अनुमति (लाइसेन्स) आदिको लागी प्रदेशस्तरमा नै पूर्वाधार विकसित गर्नु अनिवार्य देखिन्छ । हाल यी सबै ‘डकुमेन्ट’ लिन काठमाडौं माथि निर्भर हुनु परेको छ । संघीय सरकार र प्रदेश सरकारले तदारुकताका साथ जटिलताहरु हटाउन पहल कदमी लिनुपर्ने आवश्यकता छ ।
(ख) सेवा सुविधममा– कुनैपनि लाइसेन्स अथवा अनुमतिपत्र वा सिफारिश  आदिका लागि ‘अनलाइन एप्लिकेशन’ र सुविधा प्राप्त गर्ने व्यवस्था हुनुपर्छ । 
(ग) कच्चा पदार्थ उपलब्धतामा– कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारले अनुगमनका साथ बजार व्यवस्थापनमा संलग्नता पनि देखाएर  उपलब्धता सुनिश्चित गर्दा धेरै राम्रो हुन्छ । 
(घ) आयात निर्यात सहजीकरण– आयात सम्बन्धी सिफारित लिन प्रदेश स्तरमा पूर्वाधार र अधिकार साथ अनलाइन सुविधा लिन सकिने व्यवस्था गर्नुपर्छ ।  
(ङ.) प्रविधि हस्तान्तरण÷रुपान्तरण– उद्योगहरुले आफ्नै इन्नोभेटिभ टीम मार्फत काम गरिरहेका छन् । त्यसमा सरकारबाट कुन किसिमको सहकार्य गर्न सकिन्छ र कस्तो विकसित खालको प्रविधि ल्याउन सकिन्छ भन्ने बिषयमा व्यापक विमर्श गरिनु आवश्यक छ । 

लेखकः शारदा ग्रुपका निर्देशक हुन् 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top