काठमाडौं । सरकारले गरेको बन्दाबन्दी (लकडाउन) र त्यसपछिको निषेधाज्ञाबाट नराम्ररी प्रभावित भएको जुत्ता/चप्पल उद्योगलाई नेपाल राष्ट्र बैंकले अतिप्रभावितको सूचीमा नराखेपछि सम्बद्ध उद्योगीहरु असन्तुष्ट बनेका छन् ।
५० हजार भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिँदै आएको र २० अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको जुत्ता/चप्पल उद्योग लकडाउनका कारण पूर्ण रुपमा बन्द छन् । केन्द्रीय बैंकले जुत्ता/चप्पल उद्योगलाई अति प्रभावितको सूचीमा नराख्नु दुखद् भएको सम्वद्ध उद्योगीहरुले बताएका छन् ।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्ण फुँयालका अनुसार सरकारले लकडाउन गरेका कारण देशभरका १ हजार ५०० भन्दा बढी उद्योग पूर्ण रुपमा बन्द छन् ।
उनीहरुको उत्पादन शुन्यमा झरेको छ । बैंकको ब्याजको मिटर दिन प्रतिदिन बढिरहेको छ । केन्द्रीय बैंकले कुन आधारमा यो उद्योगलाई अतिप्रभावितमा राख्नुपर्ने देखेन ।
राष्ट्र बैंकका अनुसार उद्योगलाई बैंकले आफैले हेरेर र मूल्याङ्क गरेर सोही अनुसार सुविधा दिन सक्ने बताएको छ । जुत्ता, चप्पल ७० प्रतिशत आत्मनिर्भर भइसकेको र सोल उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर भइसकेको क्षेत्रलाई केन्द्रीय बैंकले उपेक्षा गरेको उनीहरुको आरोप छ ।
‘सरकारले चैत ११ गते लकडाउन गरेपछि सम्पूर्ण जुत्ता, चप्पल तथा सोल उत्पादन पनि लकडाउन भएको छ । केन्द्रीय बैंकले लकडाउनबाट अलि प्रभावित उद्योगहरुको सूची बनाएको छ । तर, त्यसमा हाम्रो उद्योगलाई समेटिए,’ फूयाँलले भने, ‘सानो लगानी र हाम्रो आवाज माथिसम्म पुग्न नसकेकाले केन्द्रीय बैंकले यस्तो अन्याय गरेको हो ।’
नेपालका ठूला उद्योगले दिने भन्दा बढी रोजगारी यस क्षेत्रले दिएको उनले बताए । केन्द्रीय बैंकको यस अघिको निर्देशनलाई सच्याउन समेत उनले माग गरे ।
जुत्ता, चप्पल तथा सोल उद्योग लकडाउनबाट अतिप्रभावित भएका उद्योगभित्र पर्छन् । १० ओटा उद्योगको हकमा केन्द्रीय बैंकले छुट्याइदिएको छ । केही उद्योगको बारेमा बैंकलाई निर्णय गर्ने अधिकार दिएको छ ।
‘बैंकले कसरी निर्णय गर्न सक्छन्,’ उनले भने, उद्योगको ब्यालेन्ससीट हेरेर, जुत्ता/चप्पल उद्योग अतिप्रभावितमा छ कि मध्यम प्रभावितमा छ वा कम प्रभावितमा पर्छ भनेर छुट्याउन सक्छ ?’
केन्द्रीय बैंकले अतिप्रभावित उद्योगभित्र पर्यटन, हवाइ तथा पर्यटकीय यातायात, मनोरञ्जन, चलचित्र उत्पादक, कुखुरापालन, तयारी पोसाक, हस्तकला, सीपयुक्त व्यवसाय, शैक्षिक परामर्शगरी १० ओटा परे पनि जुत्ता÷चप्पललाई समावेश गरिएको छैन् । लकडाउनका कारण जुन सबैभन्दा बढी प्रभावित भएको उद्योगभित्र पर्ने उद्योगीहरु बताउँछन् ।
एसोसिएसनका पूर्वअध्यक्ष रबिनकुमार श्रेष्ठले केन्द्रीय बैंकको नेतृत्वसँग भन्न नगएकाले छुटाएको हुनसक्ने बताए । सबैलाई थाहा छ, जुत्ता÷चप्पल उद्योग अति प्रभावित भएको छ,’ उनले भने, ‘तर, केन्द्रीय बैंकले यसलाई देखेन ।’
आत्मनिर्भर भएको र ठूलो संख्यामा रोजगारी प्रदान गरिएको क्षेत्र कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पूर्ण रुपमा प्रभावित भएको हो । तर, पुर्नकर्जाका लागि यो क्षेत्रलाई अतिप्रभावितमा नराखिएको उनको भनाइ छ । यसमा केन्द्रीय बैंकले पुनर्विचार गर्नुपर्ने बताए ।