काठमाडौं । सरकारले ६ महिनापछि अर्थात असोज ५ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गर्यो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो दूरीमा चल्ने सबै सवारी असोज ५ गतेदेखि सञ्चालन अनुमति दिएपछि सर्वसाधारणको टिकट कहिले खुल्छ? र, भाडा कति पर्छ ? भन्ने चासो छ ।
दशैं र तिहारलगायतका महत्वपूर्ण चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा व्यवसाय गर्ने व्यापारी, पेशाकर्मी विद्यार्थी लगायत सर्वसाधारणले उपत्यका छाडेर गाउँ जाने गर्छन् ।
यसअघि झन्डै १५ लाख भन्दा बढी मानिस दशैं मनाउन उपत्यका बाहिर जाने गर्थे । अहिले कोरोनाका कारण लकडाउन हुनुअघि नै अधिकांश गाउँमै छन् । भलैं, त्यो संख्या कमी होला तर, उपत्यकाबाट दशैं मनाउन गाउँ भनेर कुरेर बस्ने सर्वसाधारण पनि धेरै छन् ।
अहिले सरकारले छाटो दुरी तथा अन्तर जिल्लामा चल्ने सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली कायमै गरेको छ । असोज ५ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी खुल्दा कोरोना संक्रमणको जोखिम उत्तिकै छ ।
उपत्यका छाड्ने मानिस टिकट काट्न बसपार्क र यातायातका काउन्टरमा भीड हुने देखिन्छ । त्यसका बारेमा सरकार र यातायात व्यवसायीले ठोस मापदण्ड र सुरक्षा सावधानी अपनाएको देखिँदैन् ।
उपत्यकामा सञ्चालन भएका भाडाका सवारीसाधन सरकारले तोकेको सुरक्षा मापदण्ड पुरा नगरी खुलेआम सञ्चालन भएको अबस्थामा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले कसरी सुरक्षा मापदण्ड अपनाउँलान ? यो सोचनीय बिषय बनेको छ ।
हरेक वर्ष यातायात व्यवस्था विभागले चाडपर्वका बेला १० देखि १५ प्रतिशत भाडा बढाएकै हुन्छ । तर, अहिले सरकारले उपत्यका भित्रका सार्वजनिक सवारीलाई ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था लागू गरेको छ । लामो दुरीको सवारी भाडाको बिषयमा कुनै निर्णय नभएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवसायीले कडाईका साथ स्वास्थ्य मापदण्ड अपनाएर उपत्यकाका सार्वजनिक सवारीमा लागू भएको अधिकांश नियम मोडालिटी लागु हुने यातायात विभागका महानिर्देशक गोगन हमालले बताए ।
‘लामोदुरीको हकमा हामी स्वास्थ्य सुरक्षाको बिषय कडाईका साथ लागु गछौं’ उनले भने, ‘लामो दुरीको बिषयमा अन्तिरिक छलफमा जुटेका छौं’ ।
लामोदूरीका बस सञ्चालन गर्दा बस व्यवसायीले कुल सिटमध्ये ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने छन । दुईजना बस्ने एउटा सिटमा एकजना यात्रु मात्रै राखेर यात्रा गराउने हमालले बताए ।
आधा क्षमतामा यात्रु चढाउँदा यातायात व्यवसायीले भाडा तोकिएको भन्दा बढी तोक्ने निश्चित छ । तर, कति तोक्ने भन्नेबारेमा विभागले भाडा निर्धारण गरेको छैन् । प्रत्येक गाडीमा सेनिटाइजर राख्नुपर्ने भने यात्रुले माक्स र ग्लोभ्सको प्रयोग अनिर्वाय गर्नुपर्ने बताइएको छ ।
यातायात व्यवसायी पनि सरकारको निर्णय पश्चात लामो दुरी तथा दशैं बिशेष सार्वजनिक यातायातको बिषयमा छलफलमा जुटेका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले अग्रिम टिकट बुकिङ्, भाडादर, स्वास्थ्य मापदण्ड तोक्ने प्रक्रिया अघि बढेको बताए ।
कहिले खुल्छ टिकट बुकिङ् ?
विगतका बर्षहरुमा दशैं आउनुभन्दा डेढ महिना अघिदेखि नै यातायात व्यवसायीले अग्रीम टिकट बुकिङ् खुलाउने गरेका थिए । तर, यस बर्ष कारोना भाइरसको कारण ६ महिनासम्म थलिएको सार्वजनिक यातायात सेवाको तयारी अहिलेसम्म पनि अघि बढ्न सकेको छैन् ।
व्यवसायीहरु कुन माध्यमबाट टिकट बुकिङ् प्रक्रियालाई अगाडी बढाउने भन्ने बिषयमा अन्योलमा छन् । काउन्टरमा टिकट बुकिङ्को क्रममा अत्याधिक भीडभाडलाइ कमी कसरी गर्ने भन्ने बिषयमा यातायात व्यवसायीहरुले तयारी गरेका छन् ।
कोरोना भाइरस महामारीको जाखिम बढ्दो अवस्थामा यातायात व्यवसायीहरुले अनलाइन टिकट बुकिङ्लाई प्राथमिकता दिने योजना बनाइरहेका छन् । तर, कहिलेबाट टिकट खुल्छ भन्ने अन्यौलता भने कायमै रहेको व्यवसायीको भनाई छ ।