काठमाडौं । माल्टको सट्टा कनिकाको मात्र बढी मिसावट गरेको गोर्खा ब्रुअरीले नयाँ रेसिपीभन्दै डिप्याच्च रोकिएको पुरानै बियर बजारमा पठाएको छ ।
आन्तरिक राजश्व विभागका केही कर्मचारीसँगको मिलेमतोमा कम्पनीले नयाँ रेसिपीभन्दै पछिल्लो पटक तोेकेको अन्तःशुल्क नतिरी पुरानै अन्तःशुल्कमा नयाँ बियर बजारमा पठाएको हो ।
गोर्खा ब्रुअरीका उत्पादन काल्र्सवर्ग, टुबोर्ग, गोर्खा, सानमिगल बियरमा माल्ट (प्रशोधित जौं) को मात्राभन्दा कनिका धेरै भेटिएपछि आन्तरिक राजश्व विभागले २ साताअघि अन्तःशुल्कको मूल्य बढाइ दिएको थियो । जसको कारण नयाँ बियर बजारमा जान पाएको थिएन ।
यो पनि पढ्नुस
गोर्खा ब्रुअरीको उत्पादनमा माल्टको सट्टा कनिकाको मात्रा बढी, विभागले दिएन बियरको मान्यता
विभागले प्रशोधित जौंको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै बियरको मान्यता नदिई १७ प्रतिशत अल्कोहल सरह अन्तःशुल्क निर्धारण गरेको थियो । तर, कम्पनीको दबाब र विभागका केही कर्मचारीको मिलेमतोमा ल्याब परीक्षण नै नगरी बियरलाई बजारमा जान दिइएको हो ।
बियरमा प्रतिलिटर अन्तःशुल्क १६५ छ । तर, कनिका बढी हालेका कारण विभागले बियरको मान्यता नदिई अन्य सरहको अन्तःशुल्कका लागि कम्पनीलाई निर्देशन दिएको हो ।
अन्य सरह अन्तःशुल्कमा दररेट प्रतिलिटर ४३० रुपैयाँ विभागले कायम गरेको छ । गोर्खा बु्रअरीले प्रतिलिटर ४३० रुपैयाँ दररेट तिर्न आनकानी गरेपछि भित्रभित्रै मिलाएर बजारमा बियर पुर्याइएको विभागका एक अनुसन्धान अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा क्यापिटल नेपाललाई बताए ।
विभागले यसअघि बजारमा पठाइसकेको बियरको पनि नयाँ अन्तःशुल्क कायम गर्न खोजिरहेको थियो । तर, बजारको बियर फिर्ता नमागी र नयाँ बियरमा पनि ल्याब परीक्षण नगरी बजारमा पठाउन स्वीकृति दिएको हो ।
विभागले गोर्खा ब्रुअरी, माउन्ट एभरेष्ट ब्रुअरी, हिमालयन ब्रुअरी, यती ब्रुअरी, शेर्पा ब्रुअरी, सीजी ब्रुअरी, नेपाल ब्रुअरी, टाइगर ब्रुअरी, याक ब्रुअरी र राज ब्रुअरीको उत्पादनमा गुणस्तर परीक्षण गरेको थियो । अरू ९ वटा कम्पनीका उत्पादन ठीक भए पनि गोर्खा बु्रअरीको उत्पादनको बियर गुणस्तरहीन देखिएको थियो ।
गोर्खा ब्रुअरीको विषयलाई हेरिरहेका आन्तरिक राजश्व विभागका निर्देशक शालिग्राम आचार्यले यो विषयबाट तर्किएका छन् । ‘अहिले यो विषयमा कुरा नगरौं,’ उनले भने ।
गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर बैभव शर्माले अहिले गोर्खा ब्रुअरीको बियर बजारमा गइसकेको बताए । ‘हामीले तिर्नुपर्ने अन्तःशुल्क तिरेर नै बजारमा बियर पठाएका छौं,’ उनले भने ।
तर, १० दिनका बीचमा नयाँ रेसिपीमा बियर उत्पादन भएर, ल्याब परीक्षण गरी बियर बजारमा पठाउन सम्भव नभएको अर्काे बियर उत्पादकका एक सञ्चालकले क्यापिटल नेपाललाई जानकारी दिए ।