काठमाडौं । सरकारले पहिलो पटक स्वदेशी कार्पेटको नेपाल गुणस्तर बनाउने विषयमा छलफल सुरु गरेको छ । सम्बद्ध व्यवसायीले कार्पेटको गुणस्तर बनाउन सरकारसँग माग गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले आवश्यक तयारी थालेको हो ।
उद्योगीको मागअनुसार कार्पेटको नेपाल स्ट्याण्डर्ड बनाउने विषय सरोकारवालासँग छलफल सुरु गरिएको हो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘नेपालमा कार्पेटको बजार ठूलो रहेको र यसका लागि नेपाल स्ट्याण्डर्डसमेत आवश्यक भएकाले सरकारले त्यसबारेमा छलफल सुरु गरिएको हो ।’
नेपाल बाहेक अन्य देशमा कार्पेटको गुणस्तर तोकिएको छ । तर, नेपालमा अहिलेसम्म गुणस्तर निर्धारण भएको छैन । उद्योगीले सरकारसँग गुणस्तर निर्धारण गर्न माग गरेपछि आवश्यक प्रक्रिया थालनी गरिएको हो ।
यो पनि हेर्नुहोस
८० प्रतिशत बजारहिस्सा ओगट्ने कार्पेटको छैन ‘नेपाल गुणस्तर’, लोगोलाई गुणस्तर भनेर बेच्न बाध्य
यो क्षेत्रमा भएको लगानी, उत्पादन हुने परिणाम र विदेश निर्यातको सम्भावनालाई हेरेर पनि मापदण्ड आवश्यक रहेको उनको भनाइ छ ।
८० प्रतिशतभन्दा बढी आयात प्रतिस्थापन गरेको कार्पेटको अहिलेसम्म नेपाल गुणस्तर नभएको पाइएको छ । नेपालका आधा दर्जनभन्दा बढी उद्योग सस्तोदेखि महँगोसम्म कार्पेट बनाउन थालेपछि विदेशबाट कार्पेट आउन बन्द भएको उद्योगीले बताएका छन् ।
पछिल्लो समय उद्योगीले नयाँ–नयाँ प्रविधि भित्र्याएर कार्पेट बनाउन थालेका छन् । विश्वस्तरीय उत्पादन भएकाले नेपालबाट पनि विश्वका विभिन्न देशमा कार्पेट निर्यात भइरहेको सम्बद्ध उद्योगीहरूले बताएका छन् ।
तर, सरकारले अहिलेसम्म कार्पेटको नेपाल स्ट्याण्डर्ड बनाउन नसकेको उद्योगीहरूले बताएका छन् । हाल नेपालमा ७ वटा कार्पेट उद्योग छन् । ती उद्योगले नेपालको सम्पूर्ण माग पूरा गरिरहेका छन् भने विदेश पनि निर्यात गरिरहेका छन् । सरकारले नेपाल स्ट्याण्डर्ड बनाएको अवस्थामा नेपाली कार्पेटले विश्व बजारमा सशक्त उपस्थिति जनाउने प्रेस्टिज ग्रुपका अध्यक्ष विनय साहले बताए ।
हाल नेपालमा हेरिटेज, एसटी, यती, जेन्टा, हाइटेक्स, प्रेस्टिज कार्पेट र यती पोलिकेन उद्योग छन् । यी उद्योगीले पीभीसीदेखि सबै प्रकारका कार्पेट बनाउँछन् । स्वदेशी उद्योगले सस्तोभन्दा सस्तो र महँगो कार्पेट पनि बनाउन सुरु गरेका छन् ।
पाँचतारे होटलले प्रयोग गर्नेदेखि सामान्य परिवारले प्रयोग गर्नेसम्म कार्पेट नेपालमै बन्न थालेको उद्योगीहरू बताउँछन् । स्वदेशी उद्योगबाट सबैखाले कार्पेट बन्दा पनि सरकारले त्यसको गुणस्तर निर्धारण गरेको छैन ।
आयात प्रतिस्थापन मात्रै होइन्, नेपालमा उत्पादन भएको कार्पेट विश्वका विभिन्न मुलुकमा समेत गइरहेको छ । नेपाली कार्पेटको विश्वबजारमा समेत माग छ ।